विकासन्युज

सीजीले गर्‍याे ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक

काठमाडौं । चाैधरी ग्रुप (सिजी)ले दशैं-तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । ग्राहकले सामान खरिद गर्दा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्ने सिजीले जनाएकाे छ । सिजी तथा सिजी मेरिडियाका सामानको खरिदमा ६०,५०० रुपैयाँसम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ । ६५ र ७५ इन्चकाे सिजी टिभी किन्दा २.१ स्पिकर फ्री क्यूलेड (५५ इन्चमाथि) को खरिदमा २.१ स्पिकर फ्री रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री रेफ्रिजरेटर (साइड बाई साइड/मल्टी डोर) को खरिदमा मेरिडिया भ्याकुम फ्री माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट फ्री फ्रन्ट लोड वाशिङ मेशिनको खरिदमा एरियल (६ किलो) फ्री सेमी र टप लोड वाशिङ मेशिनको खरिदमा एरियल (३ किलो) फ्री डिशवाशरको खरिदमा डिशवाशर किट फ्री साथै ग्राहकहरूले सिजी टिभी (३२ इन्चदेखि ५५ इन्चसम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै यो योजनाअन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । यो योजना भाद्र २३ बाट सीमित अवधिको लागि देशभर लागू हुनेछ । आफ्ना ग्राहकहरूलाई मध्यनजर गरी सिजीले सिजी मेरिडिया नामक प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरू मात्र उपलब्ध हुनेछ ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीताले गरिन् पदबहाली

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदबहाली गरेकी छन् । अर्यालले आइतबार पदबहाली गरेकी हुन् । भदाै २० गते बसेकाे मन्त्रिपरिषद्को बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेकाे थियाे । उनकाे नियुक्तिको पदावधि चार वर्ष रहेकाे छ । यसअघि प्रबन्ध निर्देशक अर्यालले नेपाल टेलिकमकाे निमित्त प्रबन्ध निर्देशककाे जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् । उनी २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् । यसैगरी, अर्याल २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण ऊर्जा खर्चिने बताइन् ।

कोरोना बीमाको दाबी रकमसम्बन्धी मुद्दाको पेशी अब्दुल अजीजको इजलासमा

काठमाडाैं । नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी माग गर्दै सर्वाेच्च अदालतमा दायर गरेको मुद्दाको पेशीको सुनुवाइ सोमबार हुने भएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा सो पेशी परेको छ । रिटको पेशी इजलासको १० औं नम्बरमा रहेको छ । बीमा कम्पनीहरूको तर्फबाट संघका महासचिव अशोककुमार खड्काले सर्वाेच्चमा रिट दायर गरेका थिए । संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल बीमा प्राधिकरण (साविक बीमासमिति)लाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो । सरकारले कोरोना बीमावापतको ११ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । विगत ४ वर्षदेखि सो भुक्तानी माग गर्दा पनि सरकारले उपलब्ध नगराएपछि संघ अदालत गएको हो । याे पनि पढ्नूहाेस् : कोरोना बीमाको रकम माग गर्दै बीमक संघद्वारा सर्वोच्चमा मुद्दा दायर

केयूमा बिवाईडीको सहकार्यमा चार्जिङ स्टेशन सञ्चालन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) धुलिखेलमा ३३ किलोवाटको डीसी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएकाे छ । काठमाडौं विश्वविद्यालय र साइमेक्स इंक प्रालि (बीवाईडी)को सहकार्यमा चार्जिङ स्टेशन सञ्चालनमा आएकाे हाे । चार्जिङ स्टेशनको औपचारिक उद्घाटन केयूका उपकुलपति प्रा.डा भोला थापा र बीवाईडीको एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ ज्युलियाङले संयुक्त रूपमा गरे । बीवाईडीले इलेक्ट्रिक सवारीसाधनहरूको कम्पोनेन्टहरू पनि प्रदान गर्ने जनाएकाे छ । कम्पोनेन्टहरू केयूको प्रयोगशालामा राखिनेछ । यसले विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई आधुनिक ईभी प्रविधिसँग जाेडिन सहयाेग पुर्‍याउने बताइएकाे छ । बीवाईडीको एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक ज्युलियाङले पृथ्वीकाे तापक्रम घटाउने लक्ष्यमा वातावरणमैत्री सवारीसाधन बढाउने लक्ष्य लिएकाे बताए । ‘हाम्रो लक्ष्य पृथ्वीलाई १ डिग्री सेल्सियसमा चिसो बनाउन मद्दत गर्नु हो । हामी वातावरणमैत्री सवारीसाधनहरूकाे संख्या बढाउने लक्ष्य राखेका छाैं,’ उनले भने । उनले बीवाईडीले प्रभावकारी रूपमा कार्बन उत्सर्जनको मुद्दालाई सम्बोधन गरेको पनि बताए । यस सहकार्यमार्फत धेरै लाभान्वित हुने अपेक्षा केयूले गरेकाे छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले यस सहकार्यले नेपालमा हरित प्रविधिकाे भविष्यमा याेगदान दिने बताए । केयूका प्राज्ञिक औद्योगिक सहकार्य विभागका संयोजक डा. राम लामाले पनि साझेदारीको भविष्यको बारेमा आफ्नो धारणा राखेका थिए ।

ईभीमय र पेट्रोलियम पदार्थ घटेका बेला निगमले भन्यो- १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिन्छ

काठमाडौं । पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका बेला नेपाल आयल निगमले १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने बताएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको पेट्रोलियम पदार्थमा इथानोल मिश्रणसम्बन्धि कार्यक्रममा केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले २०६० सालमा नै नेपालले आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेको बताइन् । उक्त व्यवस्था बमोजिम पेट्रोलियम पदार्थमा इथानोल प्रयोग गर्न सम्भव रहेको उनको भनाइ छ । ʻ२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका इथानोल मिश्रणसम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ । इथानोल बर्निङ पावरयुक्त तत्व हो । यसले पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्‍याउँछ भने देशबाट बाहिरिने विदेशी मुद्रालाई समेत बचत गराउँछ,ʼ प्रयाेगशाला प्रमुख  महर्जनले भनिन् । छिमेकी मुलुक भारत र चीनले समेत १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोगलाई कार्यान्वयन गर्ने नीति बनाएकोमा नेपालले १० प्रतिशतलाई सहजै मिश्रण गर्न सकिने उनको भनाइ छ । उनका अनुसार इथानोल मिश्रण अमेरिकामा १० प्रतिशत, ब्राजिलमा २७ प्रतिशत, भारतमा १५ प्रतिशत र चीनमा १० प्रतिशत कार्यान्वयनमा रहेको छ । भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । जसका लागि भारत सरकारले इथानोल उत्पादन र ढुवानीका लागि निःशुल्क व्यवस्था गरेको समेत प्रयाेगशाला प्रमुख महर्जनले  जानकारी दिइन् । नेपालले पनि वातावरणमैत्री इथानोल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने उनको भनाइ छ । पेट्रोलियम पदार्थमा इथानोलाको प्रयोगमा बहस चलिरहेपनि सम्भावना र प्रयोगलाई ख्याल गर्नुपर्ने कियान केमिकल विज्ञ दिनेश पौड्याल बताउँछन् । २०६० सालमा नै नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेपनि यो बहसमा नै सीमित रहेको उनको भनाइ छ । ‘इथानोलको उत्पादन सम्भावना के हो ? नेपालमा यो उत्पादन गर्न सकिन्छ सकिँदै ? फेरि उत्पादन भएपनि बजारको माग धान्न सक्छ कि सक्दैन ?, ’ उत्पादन र प्रयोगको सम्भावनालाई अध्ययन नगरी लहटका भरमा इथानोल प्रयोगमा जोड दिन नहुने पौड्यालले बताए । आयाल निगमले पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोललाई १० प्रतिशत सहजै मिश्रण गर्न सकिने बताएपछि पौड्यालले खण्डन गर्दै वृहत अध्ययन गरेर मात्र कार्यान्वयनमा ल्याउनुपर्नेमा जाेड दिए । पेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले पेट्रोलियम पदार्थमा इथानोलको मिश्रण बहसमाथि नै प्रश्न उठाए । ईभी (विद्युतीय गाडी) को प्रयोगसँगै दैनिक रूपमा पेट्रोलियम पदार्थको आयात घट्दो क्रममा रहेको बेला इथानोल मिश्रण किन र कति आवश्यक हो ? भन्ने उनकाे प्रश्न छ । ‘केही समय अघिसम्म नेपालले ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्दै थियो । सो परिणाम अहिले घटेर २ हजार किलोलिटर हाराहारीमा झरिसकेको छ । यसरी आधा नै आयात घट्दैगर्दा थप पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको किन आवश्यक पर्‍याे ?, ’ उनले जिज्ञासा राखे । आफूहरू पेट्रोलियम पदार्थको ढुवानीकर्ता भएकाले सरकारले भनेको पेट्रोलियम पदार्थ बोक्ने (ढुवानी गर्ने) र ढुवानी भाडा बढाउनुपर्ने बताए । नेपालमा जुनकुनै नीति तथा योजना बन्ने तर लामो समयसम्म पनि कार्यान्वयन नहुने समस्या रहेको अध्यक्ष प्रधानले बताए । ‘भारतदेखि नेपालसम्म पेट्रोलियम पदार्थ पाइपबाट ल्याउने योजना २०३९ सालमा नै बनेको थियो । यसको झण्डै ४० वर्षपछि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन ल्याउन सफल भयौं । अब इथानोल मिश्रणको योजना कहिले साकार हुने हो? ,’ उनले भने । यता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पेट्रोलियम पदार्थमा इथानोल मिश्रको नीतिमा धेरै अघि बढिसकेको बताउँछन् । बहस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्नो धारणा राख्दै मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पुरा गरिसकेको बताए । ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एक महिनाभित्र टुंग्याउछौं, ’ उनले भने । इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत मन्त्री भण्डारीले बताए । इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उनले बताए । पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्ने सन्दर्भमा पछिल्लो समय निकै चर्चा चलेको छ । २०६० सालमा नै इथानोल उत्पादन र प्रयोगमा नीति बनेपनि हालसम्म कार्यान्वयनमा जान सकेको छैन । तर, नेपालमा इथानोल उत्पादन र मिश्रण सम्भव रहेको जनाउँदै आयल निगमले आवश्यक तयारीका साथ उत्पादनमा जाने प्रतिवद्धता जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफले गर्‍यो वार्षिक साधारणसभा आह्वान, हकप्रद संसोधन गर्ने

  काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २३ गतेका लागि साधारण सभा आह्वान गरेको हो । उक्त सभामा १० प्रतिशत बोनस सेयर जारी गर्ने तथा कर प्रयोजनको निमित्त ०.५२६ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पेश हुनेछ । यसैगरी, कम्पनीले १७ प्रतिशत हकप्रद जारी गर्ने गरेको निर्णयलाई संशाेधन गर्ने भएको छ । आगामी साधारणसभामा १७ प्रतिशत हकप्रद जारी गर्ने निर्णयलाई संशाेधन गरेर बोनस सेयर जारी गरेपश्चात कायम चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पेश गर्ने जनाइएको छ ।

ह्वील स्टेरिङ लक भएपछि श्री एयरलाइन्सको विमान ‘डाइभर्ट’

फाइल तस्बिर । काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’ गरिएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको हो । ‘काठमाडौँबाट सुर्खेतका लागि आज विहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो,’ उनले भने, ‘ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो । अहिले विमानस्थलबाट हुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ ।’ श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पुर्‍याइएको जानकारी दिए ।

अनलाइन भुक्तानीमा मदिरा, चमेनागृह र होटल व्यवसायीले भ्याटको १० प्रतिशत फिर्ता गर्नुपर्ने

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्याम (अनलाइन) बाट गर्दा १० प्रतिशत रकम फिर्ता दिनुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले उपभोक्ताले सेवा खरिद गरी तिरेको मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम फिर्ता गर्न निर्देशन दिएको हो । विभागले निर्धारण गरेका वस्तु तथा सेवा खरिदको मूल्य विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्न विभागले निर्देशन दिएको हो । ‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरि निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गर्नुपर्नेछ,‘ मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा व्यवस्था उल्लेख छ । मूल्य अभिवृद्धि कर ऐनअनुसार विभागको भदौ २१ गतेको निर्णय बमोजिम मदिरा पिउने केन्द्र (वार) बाट प्रदान गरिने सेवा, चमेनागृहबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, माेटल, लज, गेष्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गरेमा करको १० प्रतिशत रकम फिर्ता गर्नुपर्नेछ ।