विकासन्युज

नेप्से सूचकसँगै कारोबार पनि घट्यो, सर्वाधिक कारोबारमा एचआईडीसीएलपी

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारले मंगलबार पनि निरन्तरता पाएको छ । दिनभरि उतारचढाव हुँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.०९ अंक घटेर २ हजार ६३२.९४ अंकमा बन्द भएको छ । हिजो सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २ हजार ६४६.०३ अंकमा बन्द भएको थियो । आज दिनभरिमा ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार कित्ता सेयर १ लाख ११ हजार पटक खरिद–बिक्री हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो सोमबार ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार कित्ता सेयर १ लाख ११ हजार पटक खरिद–बिक्री हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार कित्ता सेयर ९३ हजार ४५९ पटक खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज १६९ कम्पनीको सेयर मूल्य घटेको छ भने ६७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । बैंकिङ समूहको ०.११ प्रतिशत, विकास बैंक समूहको ०.६९ प्रतिशत, फाइनान्स समूहको ०.९९ प्रतिशत, जलविद्युत समूहको ०.७१ प्रतिशत, लगानी समूहको ०.५३ प्रतिशत, जीवन बीमा समूहको ०.७६ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहको ०.६८ प्रतिशत, लघुवित्त समूहको ०.९१ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३० प्रतिशत, निर्जीवन बीमा समूहको ०.४० प्रतिशत, अन्य समूहको ०.४४ प्रतिशत घटेको छ । तर, व्यापार समूहको ०.७९ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन समूहको स्थिर रहेको छ । आज मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयर १० प्रतिशत अर्थात् १७३ रुपैयाँ बढेर १ हजार ९०३ रुपैयाँ पुगेको छ । यस्तै थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.९० प्रतिशत, अपर स्याङ्गे हाइड्रो ७.५४ प्रतिशत बढेको छ । नेप्सेका अनुसार आज हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमनेन्ट कम्पनी (एचआईडीसीएल) को संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १७७ रुपैयाँका दरले २९ करोड ८१ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँ, सीईडीबी हाइड्रोको सेयर २० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताएका छन् । आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उदेश्यले यस्तो कानुन बनाउन खोजिएको प्रधानमन्त्री अल्बानिजले भने । सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उनले भने ‘हामी बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने छौं ।’ उनले भने ‘अधिकांश आमाबाबुले मलाई सामाजिक सञ्जाल प्रयोग गर्न आफ्ना बच्चाहरूको उमेर कति हुनुपर्छ भन्ने प्रश्न गर्दछन् । हामी संसदमा सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्महरूका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानून पेश गर्नेछौँ । ‘ गत वर्ष अगस्ट २१ मा, मिशिगन स्वास्थ्य विश्वविद्यालय आयोजित ‘सी. एस मोट चिल्ड्रेन हस्पिटल्स नेसनल पोल अन चिल्ड्रेन हेल्थ’ मा भाग लिएका आधाभन्दा बढी अभिभावकले आफ्नो बच्चाको मानसिक स्वास्थ्य शीर्ष स्वास्थ्य चिन्ताको विषय रहेको बताएका छन् । ‘आमाबाबुले अझै पनि शारीरिक स्वास्थ्यलाई प्रत्यक्ष रूपमा असर गर्ने समस्या जस्तै अस्वास्थ्यकर खाना र मोटोपनालाई बच्चाहरूको प्रमुख स्वास्थ्य समस्याहरूका रूपमा हेर्ने गरेका छन् । तर अहिलेको समयमा अधिकतम सामाजिक सञ्जाल र डिजिटल उपकरणको प्रयोगले निम्त्याएको मानसिक स्वास्थ्यको चिन्ताले यसलाई उछिन्दै गएको छ’, मोट पोलका सह–निर्देशक र मोट बालरोग विशेषज्ञ सुसान वुलफोर्डले भने । ‘बालबालिकाले कम उमेरमै डिजिटल उपकरण र सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् र आमाबाबुले सुरक्षा, आत्मसम्मान, सामाजिक सम्बन्ध आदी क्षेत्रमा पर्ने नकारात्मक प्रभावहरू रोक्न कसरी उचित निगरानी गर्ने भनेर सङ्घर्ष गरिरहेका छन्’, बालरोग विशेषज्ञ वुलफोर्डले भने । रासस

व्यवसायीको एउटै स्वर : शून्य कर सुविधा हुँदा पनि निर्यात बढेन

काठमाडौं । नेपालती व्यवसायीहरूले अमेरिका निर्यात हुने ७७ वस्तुमा हुँदै आएको कर छुट सुविधालाई निरन्तरता दिन आग्रह गरेका छन् । अमेरिका निर्यात हुने ७७ वस्तुमा कर छुटको सुविधा नेपालले पाइरहेको छ । २०१५ मा भूकम्प गएसँगै अमेरिकाले नेपालका वस्तु निर्यात प्रवर्द्धन गर्नका लागि ७७ वस्तु निर्यात गर्दा शून्य महशुल लगाउने नीति ल्याएको थियो । जुन सुविधा अर्को वर्ष (सन् २०२५मा) सकिँदैछ । उक्त सुविधा सकिनुअघि नै व्यवसायीहरूले म्याद थप गर्न सरकारसमक्ष आग्रह गरेका हुन् । नेपालमा नेपाली वस्तु तथा सेवा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको ‘व्यापार एवं लगानीसम्बन्धी सम्झौता’ (टिफा) परिषद्को बैठकमा उक्त प्रस्ताव लैजान व्यवसायीले आग्रह गरेका छन् । काठमाडौंमा आयोजित नेपाल–अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रममा बोल्दै सरोकारवालाहरूले अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता आवश्यक रहेको बताएका छन् । कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ, तयारी पोसाक संघ, नेपाल–अमेरिका चेम्बर अफ कमर्स, यूएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्यधिक माग भएका नेपाली तयारी पोशाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम थप गर्न सरकारले पहल गर्नुपर्ने बताए । उनले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी)मा समावेश ७७ वस्तुमा तयारी पोशाकलगायत अमेरिकामा अत्यधिक माग भएका वस्तु थप गर्न आवश्यक रहेको बताएका छन् । अध्यक्ष ढकालले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शून्य भन्सार महशुल सुविधा प्रदान गर्दै आएको बताए । उनले नेपाल र अमेरिकाबीच व्यापारमा चुनौतीहरू रहेको बताउँदै एनटीपीपीबाट नेपालले उच्च प्रतिफल लिन नसकेको दाबी गरे । उनले (एनटीपीपी) को म्याद २०२५ डिसेम्बरमा सकिन लागेको भन्दै म्याद थपको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गरे । ‘७७ वस्तु अमेरिका निर्यात गर्दा शून्य महशुल छ । २०१६ बाट सुरु भएकाे २०२५ डिसेम्बरमा सकिँदै छ’, अध्यक्ष ढकालले भने,  ‘नेपालबाट धेरै निर्यात हुने वस्तुमा सूचीमा नपरेको गुनासो आएको छ भने छुटको अवधि नै सकिन लागेकाले आगामी टिफा बैठकमा हाम्रा विषय स्पष्ट राख्नुपर्छ ।’ उनले अल्पविकसितबाट विकासोन्मुख मुलुकमा २०२६ मा स्तरोन्नति हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक देखिएको धारणा राखे । उनले नेपालबाट निर्यात हुने वस्तु गलैंचा पहिलो नम्बरमा रहेको भन्दै नेपाली तयारी पोशाकमा ७७ प्रतिशतबाट खुम्चिएर १४ प्रतिशतमा झरेको बताए । उनले नेपाली तयारी पोशाकको माग अमेरिकामा दिनप्रतिदिन बढी रहेको पनि दाबी गरे । अमेरिकामा नेपालले निर्यात गर्ने वस्तुमा गलैंचा बढी छ । अहिले दोस्रो वस्तुको रूपमा तयारी पोसाक छ । पछिल्लो समय छुर्पीको समेत निर्यात बढ्दै गएको छ । तयारी पोसाक धेरै निर्यात गर्ने बंगलादेशमा राजनीतिक अस्थिरता हुँदा त्यहाँको उद्योगमा असर पर्न थालेको अध्यक्ष ढकाल बताउँछन् । त्यस्तै, नेपाल–अमेरिका वस्तु व्यापारबारे बोल्दै डा. पारस खरेलले केही वर्षअघि २०० मिलियन डलर रहेकोमा २०२२ मा १५० मिलियन डलरमा सीमित रहेको उल्लेख गरे । नेपालबाट लुगाको व्यापार घट्दा कार्पेट, पस्मिना बढे पनि तयारी पोसाक लगायतको निर्यात घट्दा समग्र व्यापार घटेको उनले बताए । ‘अमेरिका भारतपछि नेपालको दोस्रो ठूलो बजार हो । नेपालबाट निर्यात हुने  दुई तिहाइ वस्तु महशुल लाग्दैन’, उनी भन्छन्, ‘अमेरिकाले नेपाली वस्तु निर्यातमा छुट दिए पनि बढाउन सकिएको छैन । घट्दै गएको छ ।’ अमेरिकामा अहिले निर्यात हुने केही टेक्सटाइल र जुत्ताहरूमा कर लगाइरहेको डा. खरेलले बताए । नेपाल अमेरिका व्यापार बढाउने जीएपी, नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम, टिफा काउन्सिल भए पनि निर्यात वृद्धि गर्न नसकेको उनको भनाइ छ । नेपालले २२३ वस्तु निर्यात गर्न सक्ने देखिएको बताउँदै त्यसमा ७५ वस्तुमा मात्रै बढी कर रहेको उनले बताए । ‘कर लाग्ने वस्तुमा औसतमा ११–१२ प्रतिशत कर लाग्ने रहेको छ । यी वस्तुमा अफ्रिकाबाट आयात हुँदा कर छुट रहेको छ’, उनी भन्छन्, ‘आगामी टिफा बैठकमा अरू देशले पाएका छुट नेपालले पनि पाउने माग राख्नुपर्छ ।’ महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक रहेको बताए । अमेरिका निर्यात हुने केही सामानहरूमा शून्य करमा हुँदा पनि तिनीहरूको निर्यात बढाउन नसकेको उनले बताए । ‘शून्य करमा सामानहरू निर्यातको सुविधा हुँदासमेत हामीले उल्लेख्य मात्रामा निर्यात बढाउन सकेनौं,’ उनी भन्छन्, ‘निर्यात बढनउनको लागी जीएपी र एनटीपीपी सुविधालाई निरन्तरता दिन एकदमै जरुरी छ ।’ त्यस्तै, नेपाल तयारी पोसाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘केही सम्झौताहरू भए तर तिनिहरूको निरन्तरता भएन निरन्तरता दिन जरुरी छ ।’ नेपाल–अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथ साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए । त्यस्तै, कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझावअनुरूप अमेरिकासँग छलफल गरिने बताए । आन्तरिक उत्पादनलाई विशेष जोड दिनुपर्ने आवश्यक्ता रहेको उनकाे भनाइ छ । साथै उनले निर्यात बढाउने उदेश्यले पुराना विद्येकहरू संशोधन गर्ने काम पनि मन्त्रमलयले गरिरहेको उनले बताए । ‘पुराना विद्येकहरू अहिलेको समय सान्दर्भिक भएनन् । त्यसैले निर्यात बढाउने उदेश्यले कानुनहरू परिमार्जन गरिरहेका छौं, ‘ उनले भने । त्यस्तै, प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताएका छन् । साथै उनले कार्यक्रममा उठेका जिज्ञाशा र प्रश्नहरूलाई मन्त्रालयले गम्भीर रूपमा लिएको पनि  बताए ।

पर्यटन बोर्डको सीईओमा जोशीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी । फाइल तस्बिर । काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशीको नियुक्तिविरुद्ध सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रेग्मीले प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरे पनि नियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । उनले उक्त रिटमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले सर्टलिष्टमा दोस्रो नम्बरमा रहेका जोशीलाई सीईओ नियुक्त गरेको थियो । बोर्डको पूर्वसीईओसमेत रहेका रेग्मीले जोशी सीइओ नियुक्त भएपछि असन्तुष्टि जनाउँदै फेसबुकमा ६ जना पूर्वसचिवहरू संलग्न भई लिएको परीक्षामा आफू पहिलो नम्बरमा सिफारिस भएको तर बोर्ड सञ्चालक समितिले पूर्वाग्रही भएर दोस्रो नम्बरमा रहेका जोशीलाई सीईओ बनाएको दाबी गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री बद्री पाण्डेको ठाडो निर्देशनमा दुई नम्बरमा सिफारिस भएका जोशीलाई नियुक्ति गरिएको आरोप रेग्मीको छ ।

उपसभामुख रानालाई पदबाट राजीनामा दिन एमालेले गर्‍यो आग्रह

नेकपा एमालेका सांसद गाेकुल बास्काेटा । फाइल तस्बिर । काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । आफूमाथि पदीय आचरणको प्रश्न उठेपछि त्यसलाई गलत प्रमाणित गर्न पनि उनले मार्ग प्रशस्त गर्न उपयुक्त हुने उनको सुझाव थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले आफूले पनि सञ्चारमन्त्री हुँदा ७० करोड भिडियो प्रकरणबारे प्रश्न उठेपछि पदबाट राजीनामा दिएर लोकतन्त्रलाई सुदृढ बनाउन योगदान दिएको उल्लेख गर्दै उपसभामुख रानाले पनि सोही अनुसार अघि बढ्दा हुने बताए । उनले पदीय आचरणमाथि प्रश्न संसदमा पटक पटक उठेपछि त्यसलाई स्पष्ट पार्न पनि उपसभामुख रानाले पदीय दायित्व छोडेर छानविनका लागि सहयोग गर्नु उचित हुने बताए । सांसद बास्काेटाले सदनमा पटकपटक कुरा उठिसकेकाले मार्गप्रशस्त गरे के बिग्रिन्छ भन्दै प्रश्नसमेत गरे । उनले आफ्नाे उदाहरण दिँदै प्रश्न उठेपछि राजीनामा दिएकाे पनि बताए । सांसद बास्कोटाले लोकतन्त्रको दुहाई दिनेहरूले आफूमाथि उठेको हरेक प्रश्नको जवाफ दिने आँट गर्न सक्नुपर्नेमा जाेडसमेत दिए । याे पनि पढ्नूहाेस् : भिसा आवेदन प्रकरण: उपसभामुख रानामगरलाई पदबाट हटाउने तयारी

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानाकरी दिए । आइएफसीले गत वर्ष नेपालमा  सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले हरित उर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताउँदै नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरे ।

म खुला किताब हुँ, जसले जताबाट अनुसन्धान थाले पनि हुन्छ: उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानविन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरेका हुन् । उपसभापति गुरुङले आफूमाथि आशंका भए तत्काल छानविन गर्न पनि सरकार र संसदको ध्यानाकर्षण गराए । उनले आफूले निष्ठा, नैतिकता र सुशासन प्रर्दशन गर्दै आएको भन्दै त्यसमा प्रतिवद्ध रहेको पनि दोहोर्‍याए । उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग मागसमेत गरे । उनले आफू खुला किताब भएकाले जसले जताबाट अनुसन्धान थालेपनि हुने बतए । साथै उपसभापति गुरुङले आफूले श्रीमती ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेको पनि बताए । याे पनि पढ्नूहाेस् : सञ्चारमाध्यममा कपाेलकल्पति समाचार सम्प्रेषण भए, यसमा कुनै सत्यता छैन: उपसभापति गुरुङ  

भिसा आवेदन प्रकरण: उपसभामुख रानामगरलाई पदबाट हटाउने तयारी

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई सत्तारूढ दलहरूले पदबाट हटाउने तयारी गरेका छन् । सत्तागठबन्धनले पदको दुरुपयाेग गरेकाले उनलाई उपसभामुख पदबाट हटाउने तयारी गरेकाे हाे । उपसभामुख रानामगरले पाँचजना असम्बन्धित व्यक्तिलाई अमेरिकामा लग्नेगरी पत्र लेखेको सार्वजनिक भएको थियो । अनधिकृत व्यक्तिको भिसा प्रक्रिया आफै अघि बढाएकाले उनी विवादमा तानिएकी हुन् । संयुक्त राष्ट्र संघको ‘संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र’ मा भाग लिन जान थालेकी सभामुख रानामगरले आफूसँग ४ पुरुष र एक महिलालाई लान प्रक्रिया अगाडि बढाएकी थिइन् । गत साउन ४ गते अमेरिकी दूतावावासलाई लेखेको पत्रका सम्बन्धमा संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी थिइन् । उपसभामुख रानामगरले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको पनि बताएकी थिइन् । उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद हुन् । सत्तागठबन्धनले संविधानको धारा ९१ मा टेकेर उपसभामुख रानाविरुद्ध प्रतिनिधिसभामा प्रस्ताव दर्ताको तयारी गरेका हुन् । साेमबार बसेकाे सत्तारूढ दलकाे बैठकमा पनि उपसभामुखकाे बारेमा छलफल भएकाे थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गरी मार्गप्रशस्त्र गर्न अनुराेध गरिसकेका छन् । राजीनामा नदिए  सत्तारूढ दलहरूले उनीविरुद्ध महाभियाेग प्रस्ताव अगाडि बढाउने बताएकाे छ । यता प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिइ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाए सरकार र सत्तारूढ दल विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् । उनले उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र भएको जिकिर गर्दै सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताए । प्रमुख सचेतक परियारले सत्तारूढ दलहरूले संख्याको बलमा जे पनि गर्न खोज्छ भने आफूहरुले त्यस्ता सत्ता र शक्तिलाई ढालिदिने समेत बताएका छन् । आफ्नो पार्टीसँग द्वेष साँधेर सत्तारुढ दलहरुले उपसभामुख रानालाई पदबाट हटाउने हो भने त्यो मान्य नहुने उनको भनाइ छ ।