पर्यटन प्रबर्द्धनमा सहयोगी बन्दै बन्दीपुर केबलकार, चलपहल बढ्यो
काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित केबलकार सञ्चालनमा ल्याइएको बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा केबलकार बन्दीपुरको पर्यटन प्रर्द्धनमा कोशेढुङ्गा हुने बताउँछन् । ‘यहाँ पहिलो चरणमा केबलकार, जीपलाइन र साइक्लिङि सञ्चालनमा आएको छ । सबै सेवा प्रयोगमा हाल ६० प्रतिशत छुट दिइएको छ, करिब ३ महिनामा आन्तरिक पर्यटकको चहलपहलले उत्साहित बनाएको छ,’ उनले भने, ‘देश तथा विदेशमा परिचित बन्दीपुरमा नयाँ नयाँ पर्यटकीय पूर्वाधार थपिनु राम्रो हो । यसले पक्कै पनि यहाँका पर्यटकीय सम्भावनालाई आर्थिक गतिविधिसँग जोडेर लाभ लिन सघाउ पुग्ने छ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार पोखरेलले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरी केबलकार सञ्चालनमा ल्याइएको र अब यसको प्रचारप्रसारको काम भइरहेको सुनाए । केबलकारबाट यहाँको प्रसिद्ध खड्गदेवी मन्दिरको दर्शनसमेत गर्न सकिन्छ । यसअघि वर्षको नवरात्रको नौ दिन मात्र खुला हुने मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने व्यवस्था मिलाइएकाले पनि धार्मिक पर्यटकलाई थप सहज भएको छ । प्रतिघण्टा ५ सय यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्ने, साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६ वटा रेष्ट्रो क्याबिन रेस्टुरेण्ट एवं आराम कक्ष सञ्चालन गर्ने योजनासमेत कम्पनीको छ । यहाँ जङ्गली म्युजियम, चिल्डे«न जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा आइसकेको छ । यहाँ कूल ६२९ करोड रुपैयाँमध्ये हालसम्म ४३३ करोड रुपैयाँको काम सम्पन्न भइसकेको अध्यक्ष शर्माले जानकारी दिए । समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । यस्तै निर्माणाधीन १७ तले कुइन टावर नामक पाँच तारे होटल आगामी पाँच महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ । यस्तै, दुई वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दावी गरिएको २९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिपलाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकारलगायत संरचनाको काम पनि हुने हुने कम्पनीले जनाएको छ ।
आरविविको १८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न नवौं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको साधारण सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा दिउँसो २ बजे बस्नेछ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।
उच्च बिन्दुमा अमेरिकी डलरको मूल्य, यस्तो छ अन्य देशको मुद्रा भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरसहित खाडी मुलुकको मुद्राको भाउ बढाएको छ । साथै अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुगेको हो । तर, नयाँ रेकर्ड भने बनेको छैन । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.३४ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ तोकेको छ । आज एक युरोको खरिददर १४७.९५ रुपैयाँ र बिक्रीदर १४८.६२ रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.५८ रुपैयाँ र बिक्रीदर १७६.३७ रुपैयाँ कायम छ । यसअघि हिजो अमेरिकी डलर एकको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६४ रुपैयाँ, युरोको खरिददर १४७.९६ रुपैयाँ र बिक्रीदर १४८.६२ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.३६ रुपैयाँ र बिक्रीदर १७६.१४ रुपैयाँ तोकेको थियो । यस्तै फ्रान्सको स्वीस फ्रयाङ्क एकको खरिददर १५८.१७ रुपैयाँ र बिक्रीदर १५८.८७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.४१ रुपैयाँ र बिक्रीदर ८९.८१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.८१ रुपैयाँ र बिक्रीदर ९९.२५ रुपैयाँ, सिङ्गापुरे डलर खरिददर १०२.७५ रुपैयाँ र बिक्रीदर १०३.२१ रुपैयाँ, जापानिज येनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ कायम छ । हिजो फ्रान्सको स्वीस फ्रयाङ्क एकको खरिददर १५७.८७ रुपैयाँ र बिक्रीदर १५८.५८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.२२ रुपैयाँ र बिक्रीदर ८९.६२ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.८५ रुपैयाँ र बिक्रीदर ९९.२९ रुपैयाँ, सिङ्गापुरे डलर खरिददर १०२.५४ रुपैयाँ र बिक्रीदर १०३ रुपैयाँ, जापानिज येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ तोकेको थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७३ रुपैयाँ र बिक्रीदर ३५.८९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९५ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.८७ रुपैयाँ र बिक्रीदर ३१.०१ रुपैयाँ तोकिएको छ ।
मसानघाट नै अतिक्रमणमा
काठमाडौं । मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलालगायत दर्जन बढी खोलाहरू छन् । तीमध्ये अधिकांश खोला किनार अतिक्रमण भएको जनगुनासो छ । खोला किनार साँघुरो बन्दै गएपछि मसानघाट नै पुरिएका छन् । वर्षौँ अगाडिदेखि मसानघाटका रूपमा प्रयोग हुँदै आएका खोला किनारमा हिजोआज कतै खेत बनेका छन् त कतै घर तथा भवन बनेका छन् । डेढ दशक अगाडिसम्म सुनसान रहेको गलकोट नगरपालिकास्थित दरमखोला र गौदीखोला किनारमा पनि ठूलो बस्ती बसेको छ । गलकोटको हटिया बजार पनि खोला किनारमै बनेको छ । गौदीखोला किनारमा हटिया, नरेठाँटीसहितका बस्ती छन् । पहिले गौदीखोला र दरमखोला किनारका थुप्रै स्थानमा रहेका दाहसंस्कार गरिने ठाउँ अचेल अतिक्रमणमा परेका गलकोट नगरपालिका प्रवक्ता हिमबहादुर भण्डारीले बताउँछन् । उनकानुसार कतिपय दाहसंस्कार गर्ने ठाउँ सडकले त कतिपय व्यक्तिगत संरचनाले गर्दा मासिएको हुन् । प्रवक्ता भण्डारीले भने, ‘पहिले हटिया बजार छेउमा दाहसंस्कार गर्ने ठाउँ थियो, अहिले बजार बस्यो । पहिलेका धेरै ठाउँ सार्वजनिक ठाउँ अतिक्रमण भएका छन्, त्यसमा मसानघाटसमेत बाँकी नरहनु दुःखको विषय हो । यसैले नगरपालिकाले अतिक्रण रोक्नका लागि निरन्तर प्रयास गरिरहेका छ ।’ प्रवक्ता भण्डारीले हाल नगरपालिकाका विभिन्न १० स्थानमा व्यवस्थित मसानघाट बनाइएको जानकारी दिए । निसीखोला गाउँपालिका पूर्णबहादुर क्षेत्रीले मसानघाट रहेका स्थानमा व्यक्तिगत तथा अन्य संरचना निर्माण गरिँदा समस्या भएको गुनासो गरे । ‘निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौँमुरेलगायत दर्जन बढी घाट अहिले पुरिएर खेत बनेका छन् । कतिपय ठाउँमा सडक, सार्वजनिक तथा व्यक्तिगत संरचना बनेका छन् । मान्छेले आफ्नो अन्तिम गन्तव्यस्थानसमेत बाँकी नछोड्न जस्तो लाजमर्दो कुरा अरू के होला !,’ उनको कथन छ । निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले खोलाका केही घाट अतिक्रमण र केही बाढीले बगाउँदा समस्या देखिएको बताउनुभयो । गाउँपालिकाले हाल तीन स्थानमा व्यवस्थित घाट निर्माण गरेको र अतिक्रमित अन्य ठाउँ खाली गर्ने विषयमा पनि आवश्यक तयारी भइरहेको उनले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले मसानघाटसहित सार्वजनिक जग्गा अतिक्रण भएको मौखिक गुनासो सुनिए पनि उजुरी नआउँदा कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको बताए । उनले जिल्लाका १० वटै पालिकामा अक्रिमण भएका जग्गाको विवरण उपलब्ध गराउन पत्राचार गरे पनि उपलब्ध हुन नसकेको जानकारी दिए । ‘धेरै ठाउँका नदी किनारमा सार्वजनिक जग्गा अतिक्रमण भएको देखिन्छ तर कसैले पनि लिखित रूपमा उजुरी गरेको अवस्था छैन । त्यसैले कारबाही प्रक्रिया अगाडि बढाउन सकेका छैनौँ,’ सहायक प्रजिअ बरालले भने, ‘उजुरी आउनेवित्तिकै नाप जाँच गरी सार्वजनिक जग्गा फिर्ता लिने काम अगाडि बढाउछौँ ।’
काठमाडौंका यी स्थानमा काटिदैछ बिजुली
काठमाडौं । काठमाडौंको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ । भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि बिजुली काटिन लागेको सूचनामा उल्लेख छ । रत्नपार्क वितरण केन्द्रअन्तर्गत महाबौद्ध फिडरअन्तर्गत पर्ने न्यूरोड गेट, रञ्जना हल, विशालबजार सवस्टेशनभित्र, विशाल बजार अगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६.३० देखि ११ बजेसम्म लाइन काटिनेछ । यस्तै, रत्नपार्क बगैचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्लीमोडसम्म पनि सोही समय सीमाभित्र बिजुली काटिनेछ । लैनचौर सवस्टेशनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय, केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जय नेपाल हल, हात्तीसार चोक, काठमाडौँ प्लाजा, मेरियट होटल, नागपोखरी र नारायणचौरसम्म बिहान ६ः३० देखि ११ बजेसम्म बिजुली आप्रवाह बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ । ती स्थानमा काम नलाग्ने पोल हटाउने तथा वितरण ट्रान्सफर्मरको मर्मतको काम पनि हुने भएकाले लाइन काटिन लागेको सूचनामा उल्लेख छ । ‘तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिल्यै बिजुली आउन सक्ने छ । बिजुली काटिन गई सेवाग्राहीमा पर्न गएको मर्काप्रति प्राधिकरण क्षमायाचना गर्दछ,’ सूचनामा भनिएको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र भूमिगत गरेको प्रसारण लाइनमार्फत बिजुली प्रवाहका लागि आवश्यक प्राविधिक तयारी गरिरहेको छ ।
बोनस बाँडेर हकप्रद सेयर घटाउँदै बीमा कम्पनी
काठमाडौं । दुई बीमा कम्पनीले घोषणा गरेको हकप्रद सेयर संशोधन गर्ने अर्थात् घटाउने भएका छन् । पुँजी बजारमा सूचीकृत प्रभु महालक्ष्मी लाइफ र एनएलजी इन्स्योरेन्स कम्पनीले जारी गर्ने भनेर घोषणा गरेको हकप्रद सेयर संशोधन गर्ने निर्णय गरेका हुन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउन हकप्रद सेयर जारी गर्ने घोषणा गरेका कम्पनीहरू संशोधन गर्दै घटाउन थालेका हुन् । प्रभु महालक्ष्मी लाइफले चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले प्रस्तावित हकप्रद सेयर घटाउँदै अब ७ प्रतिशत मात्रै निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस सेयर वितरण गर्ने भएपछि कम्पनीले हकप्रद सेयर घटाउने निर्णय गरेको कम्पनीले जनाएको छ । १० प्रतिशत बोनस सेयर ७ प्रतिशत हकप्रद सेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी प्राधिकरणले तोकेबमोजिम ५ अर्ब ५ करोड ६३ लाख रुपैयाँ पुग्ने कम्पनीको भनाइ छ । यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा भएकाले चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । प्रस्ताव गरेको उक्त हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । तर, बोर्डले अनुमति नदिँदा हालसम्म हकप्रद सेयर जारी गर्न सकेको छैन । यसबीचमा कम्पनीले ५.५ प्रतिशत बोनस सेयर वितरण गर्याे । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । उक्त बोनस घटाउँदै कम्पनीले हकप्रद सेयर संशोधन गरेको छ । अब कम्पनीले चुक्ता पुँजीको ६२.५६ प्रतिशत मात्रै हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न अनुमति नदिएपछि बोनस सेयर वितरण गरेका कारण संशोधन गरेको कम्पनीहरू बताउँछन् । तर, हकप्रद सेयर संशोधन हुँदैमा कुनै असर नपर्ने बीमा कम्पनीका सीईओहरूको भनाइ छ । तर, पुँजी बजारमा लगानीकर्ताको मनोविज्ञानमा भने असर पर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुली बताउँछन् । ‘कम्पनी र लगानीकर्ताले सोंच्ने तरिका फरकफरक हुन्छ, कम्पनीले प्राविधिक रूपमा सही व्याख्या गरेपनि त्यसले लगानीकताको मनोविज्ञानमा केही न केही असर पुगेको हुन्छ । तर, सकरात्मक असर पुग्छ वा नकरात्मक असर पुग्छ त्यो लगानीकर्तामा निर्भर हुन्छ,’ उनले भने, ‘कस्तो असर गर्छ भनेर सेयर मूल्यमा हुने परिवर्तनका आधारमा मात्र भन्न सकिन्छ ।’
खाद्यले दशैंका लागि १५ सय खसी र ३ सय काला च्याङ्ग्रा ल्याउने
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंका लागि १८ सय खसीबोका र च्याङ्ग्रा ल्याउने भएको छ । जसमध्ये १५ सय वटा खसीबोका र ३ सय वटा च्याङ्ग्रा ल्याउन लागेको कम्पनीले जनाएको छ । कम्पनीले हरक वर्ष चाडपर्व लक्षित गरेर खसीबोका तथा च्याङ्ग्रा खरिद गरेर बिक्री वितरण गर्दै आएको थियो । सोही क्रमलाई निरन्तरता दिँदै कम्पनीले यस वर्ष १८ सय वटा खसीबोका तथा च्याङ्ग्रा ल्याउन लागेको कमपनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् । उनका अनुसार उक्त खसीबोका र च्याङ्गा खरिदका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ । उक्त रकम खसीबोका र च्याङ्ग्रा खरिद गर्नका लागि मात्र हो । त्यसको ढुवानी लगायत व्यवस्थापनको खर्च भने यसमा समावेश नगरिएको उनले बताइन् । ढुवानी तथा अन्य व्यवस्थापनका लागि कति खर्च लाग्छ भनेर अहिले नै यकिन गर्न नसकिने पनि बताइन् । कम्पनीले दाङको तुलसीपुर र हेटौंडाबाट खसीबोका ल्याउने भएको छ । त्यसैगरी, मुस्ताङबाट कालो रंगको च्याङ्ग्रा ल्याउन लागिएको सूचना अधिकारी सुवेदीले जानकारी दिइन् । उपभोक्ताले पनि कालो रंगको च्याङ्ग्रा खरिद गर्न चाहेका त्यसअनुसारकै सुझाव पाएकाले पनि यस पटक कालो रंगको च्याङ्ग्रा ल्याउने तयारी कम्पनीले गरेको हो । उक्त खरिबोका र च्याङ्ग्रा घटस्थापनाको आसपासमा काठमाडौँ ओराल्ने तयारी रहेको उनले बताइन् । काठमाडौं ल्याइएको भोलिपल्टदेखि बिक्री सुरु हुनेछ । कम्पनीले बिक्री गरेर नाफा कमाउने उद्देश्य नराखेको सूचना अधिकारी सुवेदीले स्पष्ट पारिन् । बजारलाई व्यवस्थित गर्न, उपभोक्ताहरू नठगिउन् भनेर खाद्यले खसीबोका ल्याउन लागेको हो ।
कोइकाद्वारा बर्दिया जिल्लाकाे समावेशी ग्रामीण विकासका लागि १ अर्ब बढीको सहयोग
काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८ मिलियन अमेरिकी डलर (एक अर्ब सात कराेड बीस लाख) सहयोग गरेकाे छ । कोइका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) मा हस्ताक्षर गरे। कोरिया गणतन्त्र सरकारको तर्फबाट देशीय निर्देशक माेह्युन कोङ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट सहसचिव श्री कालीप्रसाद पराजुलीले हस्ताक्षर गरेका हुन् । कोरिया सरकारले कोइकामार्फत परियोजनाका लागि ८ मिलियन अमेरिकी डलर विनियोजन गरेको छ । परियोजनाको कार्यक्षेत्र बर्दिया जिल्लाका ८ स्थानीय तह हुनेछन् । यस परियोजनाको मुख्य उद्देश्य बर्दिया जिल्लाका समुदायको कृषि उत्पादनको लागि क्षमता अभिवृद्धि, बजार सम्बन्ध स्थापना गरी मूल्य अभिवृद्धिको एकीकरण मार्फत मूल्य शृङ्खलाको स्तरोन्नति गर्ने र पर्यावरणीय पर्यटन पहललाई बढावा दिई दिगो र लचिलो जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको प्रवर्द्धन गर्नु हाे । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट सहसचिव कालीप्रसाद पराजुलीले विशेषगरी ग्रामीण क्षेत्रका समुदायको उत्थानमा कृषि उत्पादकत्व अभिवृद्धिको महत्त्वका बारेमा छलफल गरेका थिए । उनले कोरिया गणतन्त्र सरकारप्रति आभार प्रकट गर्दै यस साझेदारीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले यस परियोजनाको सफल कार्यान्वयनका लागि नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने आश्वासन पनि दिए । कार्यक्रममा कोङले यो परियोजना नेपालको ग्रामीण विकासमा कोरियाली ज्ञान र प्रविधि ल्याउने अवसर हुने बताए । उनले नवलपरासीमा पनि यस्तै परियोजनाको सफल कार्यान्वयनको स्मरण गर्दै नवलपरासीबाट सिकेका पाठलाई समीक्षा गर्दै बर्दियाको परियोजनाले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । कोइकाको समावेशी ग्रामीण विकास परियोजना सन् २०१६-२०२२ सम्म नवलपरासीमा सफलतापूर्वक कार्यान्वयन भएको थियो । जसबाट नेपालका अन्य भागमा पनि त्यस्ता परियोजनाको आवश्यकता महसुस भएकाले दाेस्राे चरणकाे कृषि र ग्रामीण विकास परियोजना कार्यान्वयनमा ल्याइएको हाे । कार्यक्रममा नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको स्मरण समेत गरिएको थियो । राजदूत ताय–योङ पार्कले दुई देशबीचको समानताको चर्चा गर्दै विकास सहयोगका लागि नेपाल प्राथमिकतामा रहेको देश भएको बताए । उनले यस परियाेजनाले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने पनि बताए । कोरिया गणतन्त्र सरकारले सन् १९९१ देखि काेइकामार्फत नेपाल सरकारलाई स्वास्थ्य, कृषि, शिक्षा (प्राविधिक), व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। सन् २०२३ सम्ममा काेइकाको कुल सहयोग रकम २० करोड अमेरिकी डलर नाघेको छ।