विकासन्युज

एप्पलको आईफोन १६ सिरिजमा के छ खास ?

काठमाडौं । एप्पलले आईफोन-१६ सिरिज लन्च गरेको छ । सोमबार कम्पनीको क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा आयोजित कार्यक्रमबीच आईफोन-१६ सिरिज लन्च गरिएको हो । यस पटक कम्पनीले कार्यक्रमको नाम ‘इट्स ग्लोटाइम’ राखेको थियो । आईफोन-१६सँगै धेरै नयाँ एप्पल उपकरणहरू पनि लन्च गरिएको छ । जसमा एप्पल वाच सिरिज-१०, एयरपड्स-४, एप्पल वाच अल्ट्रा-२, एयरपड्स म्याक्स छन् । यस शृङ्खलामा कुल चार मोडलहरू लन्च गरिएका छन्, जुन हुन्- आइफोन-१६, आइफोन-१६ प्लस, आइफोन-१६ प्रो र आइफोन-१६ प्रोम्याक्स । कम्पनीले नयाँ एआई सपोर्टसँगै टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट उपलब्ध हुने जनाएको छ । यसबाहेक उत्पादकत्व बढ्नेछ । साथै, सिरी पहिलेभन्दा धेरै प्रभावकारी भएको कम्पनीकाे दाबी छ । तर, एप्पल इन्टेलिजेन्स सुविधा केही महिनापछि मात्र उपलब्ध हुनेछ । पहिले यो केही देशहरूमा बिटा संस्करणमा लन्च हुनेछ । आइफोन १६ मा के छ खास आईफोन १६ मा ४८ मेगापिक्सेलको डुअल क्यामेरा प्रणाली छ । साथै, टेलिफोटो लेन्समा २ एक्स जुम गर्ने क्षमता रहेको छ । जहाँ आईफोन १६ प्रोमा ५ एक्स जुमको क्षमता छ । नयाँ श्रृंखलामा क्यामेरा कार्य नियन्त्रणको लागि साइड प्यानलमा बटन छ । यसको प्रयोग गरेर प्रयोगकर्ताहरूले क्यामेरा एप खोल्ने, फोटो क्लिक गर्ने, भिडियो बनाउन, जुम, एक्सपोजर, डेप्थ, फिल्ड कन्ट्रोल जस्ता काम गर्न सक्छन् । यसले आईफोनबाट भिडियो बनाउन र तस्बिर क्लिक गर्न सजिलो हुने कम्पनीको दाबी छ । केही महिनामा एप्पल इन्टेलिजेन्सको सुरुवातसँगै, प्रयोगकर्ताहरूले क्यामेरा नियन्त्रणहरू मार्फत भिजुअल इन्टेलिजेन्स पनि प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरूले यस सिरिजमा एक्शन बटन पनि पाउनेछन् । यो प्रयोग गरेर, प्रयोगकर्ताहरूले सजिलैसँग एकल प्रेसको साथ धेरै प्रकार्यहरू बीच स्विच गर्न सक्षम हुनेछन् । जस्तै, प्रयोगकर्ताहरूले यसलाई प्रयोग गरेर फ्ल्यासलाइट, क्यामेरा वा नियन्त्रण खोल्न सक्छन् । घण्टी वा मौन मोड स्विच गर्न सक्नेछन् । यसबाहेक, नयाँ विकल्पहरू पनि उपलब्ध हुनेछन् । आईफोन-१६ मा २७ घण्टासम्म भिडियो प्लेब्याक गर्ने क्षमता रहेको कम्पनीको दाबी छ । जबकि आईफोन १६ प्रोमा ३३ घण्टासम्म भिडियो प्लेब्याक गर्ने क्षमता छ । आईफोन १६ र आईफोन १६ प्लस कालो, सेतो, गुलाबी, टेल, अल्ट्रामारिन गरी जम्मा पाँच रंगमा उपलब्ध छ । जबकि आईफोन १६ प्रो र प्रो म्याक्स कालो टाइटेनियम, सेतो टाइटेनियम, नेचुरल टाइटेनियम, डेजर्ट टाइटेनियम गरी चार रंगमा उपलब्ध छ । डिस्प्लेको साइजको कुरा गर्दा आइफोन-१६ को साइज ६.१ इन्च र आइफोन–१६ प्लसको साइज ६.७ इन्च छ । जहाँ आईफोन-१६ प्रोको साइज ६.३ इन्च र आइफोन-१६ प्रो म्याक्सको साइज ६.९ इन्च छ । क्षमताको हिसाबले आइफोन-१६, आइफोन-१६ प्लस-१२८ जीबी, २५६ जीबी र ५१२ जीबीका तीनवटा भेरियन्ट छन् । आइफोन-१६ प्रोका चार भेरियन्ट (१२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी) छन् । आइफोन प्रोम्याक्स तीन भेरियन्ट (२५६ जीबी, ५१२ जीबी र १ टीबी) मा उपलब्ध छन् । आईफोन १६ को मूल्य अमेरिकी बजारमा ७९९ डलर (करिब एक लाख सात हजार रूपैयाँ) र आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ डलर (करिब एक लाख २० हजार रुपैयाँ) रहेको छ । त्यस्तै, आईफओन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर (करिब एक लाख ३३ हजार रूपैयाँ) र आईफोन–१६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर (करिब एक लाख ६० हजार रुपैयाँ) कायम गरिएको छ । एजेन्सी

मधेश प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । मधेश प्रदेश सरकारसँग जनकपुरधाममा बीमासम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन दुई करोड रुपैयाँ छुट्याएको जानकारी दिँदै अन्य प्रदेशमा सुरु गरिएको घर बीमा र दुर्घटना बीमाको प्रभावकारितालाई अध्ययन गरेर त्यसतर्फ अगाडि बढ्ने बताए । उनले बीमा गरेपछि बीमा कम्पनीहरू बीमितसँग सम्पर्कमा नरहने गरेको गुनासाहरू आउने गरेको उल्लेख गर्दै बीमा गराउँदा बीमाका शर्तहरूका बारेमा बीमितलाई राम्रोसँग बुझाउनुपर्ने र बीमा सर्भेयर तथा बीमा अभिकर्ताका कामलाई लिएर आउने गरेका गुनासाहरूलाई सम्बोधन गर्न प्राधिकरणले अनुगमनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा जटिल विषय नभएको उल्लेख गर्दै दैनिक दुई कप चिया घटाउने हो भने त्यसको पैसाले बीमा गर्न पुग्ने बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमा क्षेत्रको विद्यमान अवस्था, प्रदेश बीमा नीतिको आवश्यकता र बीमाको विकास एवम् बिस्तारमा प्रदेश सरकारको भूमिकासम्बन्धि प्रस्तुति गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिव तथा सहसचिव, विभिन्न निकायका प्रतिनिधि र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरूलगायतको सहभागिता रहेको थियो ।

कुमारी बैंकको प्रशिक्षण गर्ने कायक्रम सम्पन्न

काठमाडौं । युसएड सँगको सहकार्यमा ‘देशै भरि वर्षै भरि’ अभियानकैरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ । वित्तिय ज्ञान, सिप, मनोवृद्ध तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरुपमा वित्तिय साक्षरता प्रर्वद्धन हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरू, सचेतनामुलक सन्देशहरू विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ । स्थानियस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तिय साक्षरता सामाग्री विकास गरि समाजमा रहेका ब्यावसायिक एवं उद्यमशिल संभावनाहरुलाई प्रर्वद्धन गर्दै उद्यमशिलता बिकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

मनकामना केबुलकारको डिजिटल स्तराेन्नति, असोज १ देखि पुनः सुचारु हुने

मनकामना केबलकार चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन हुँदै आइरहेकाे छ । गत असार ३१ गतेदेखि सेवा राेकेर केबलकार अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति गरिएकाे छ । फाइल तस्बिर । काठमाडौं । देशकै पहिलो यात्रुवाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो । प्रालिले दुई महिना लगाएर केबलकारको स्तरोन्नति गरेको हो । गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो । कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमा आएको परिवर्तनअनुरूप स्तरोन्नति गरेको हो । यो क्रम आगामी दिनमा पनि जारी राख्ने मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठ बताउँछन् । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन हुँदै आइरहेकाे छ । करिब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबुलकार असोज १ गतेदेखि पुनः सुचारु हुनेछ । मनकामना केबुलकार नेपालकै पहिलो यात्रुबाहक केबुलकार सेवा हो । मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो । मनकामना केबुलकार सेवाको सफलताले स्वदेशी उद्यमी व्यवसायीलाई केबुलकार सेवामा लगानी गर्न प्रोत्साहित गर्दा अहिले देशका दर्जनौं स्थानमा केबुलकार सेवा सञ्चालनमा आइसकेका छन् । मनकामना दर्शन प्रालि पर्यटन विधामा सबैभन्दा बढी कर तिर्ने करदाताको रूपमा नेपाल सरकारबाट पटकपटक सम्मानित पनि भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सांसदलाई दियो वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा कोशी प्रदेशसभाका माननीय सदस्यहरूका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सञ्चालन भएको छ । कोशी प्रदेशसभाको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षत्रीले माननीय प्रदेश सभाका सदस्यहरूलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा कोशी प्रदेश सभाका मननीय सभामुख अम्बर बहादुर बिष्टले यस्तो कार्यक्रमको आवश्यकता  बढेको बताउँदै  व्यवसायीहरू ब्याजदरको कारणले पलायन हुन सक्ने जोखिम रहेको त्यसको लागि बैंकहरूको ब्याजदर स्थिर हुनुपर्ने बताए । कोशी प्रदेश सभाका मननीय उपसभामुख सृजना दनुवारले वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले बैंकको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पारेका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर क्षेत्रीले वित्तीय नीति, मौद्रिक नीति तथा करको माध्यमबाट स्रोत परिचालन, बजेट निर्माण, वित्तीय नीति निर्माणको कानूनी आधार बारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारीबीचको सम्बन्ध, विकास आवश्यकता छनौट लगायतका विषयमा प्रदेश सभा सदस्यहरुले जिज्ञासा राखेका थिए । उक्त कार्यक्रममा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कृषि विकास बैंक र केयूको सहकार्यमा भेण्डिङ मेशिनलगायतका सामग्री वितरण

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले तनहुँको भानु नगरपालिका-८ देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयमा भेण्डिङ मेशिनलगायत विविध शैक्षिक सामग्री वितरण गरेकाे छ । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूको सोसल एक्सपेरियन्स प्रोजेक्टले कृषि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोगबाट सामग्रीहरू वितरण गरिएको हो । विद्यालयका छात्राहरूका निम्ति स्यानिटरी प्याडकाे भेण्डिङ मेशिन राखिएकाे हाे ।अब पठनपाठनमा सहजता हुने विद्यालयका छात्राहरू बताउँछन् । नेपाल सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड दिने घोषणा गरेपनि अझैसम्म कैयौं विद्यालयमा प्याड पुगेको छैन । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भानु- ८ का वडाअध्यक्ष ईश्वरबहादुर घिमिरे, निमित्त प्रधानाध्यापक आसबहादुर घिमिरे, कृषि विकास बैंक लिमिटेड, डुम्रे शाखाका प्रबन्धक अरुण पौड्याल, सहायक रामचन्द्र बास्तोला, विद्यालयका शिक्षक, अभिभावकलगायतकाे सहभागिता रहेको थियो ।

सरकारी कार्यालयमा टीएमएस नचल्ने

काठमाडौं । सरकारले सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयलाई पत्र पठाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले टीएमएस नचल्ने व्यवस्था गर्न भनेको हो । साथै सरकारले स्थानीय तहमा पनि टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न अनुरोध गरेको थियो । सोही आधारमा टीएमएस नचल्ने व्यवस्था गर्न भनिएकाे हो । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा टीएमस नचलाउने व्यवस्था सम्बन्धमा नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यालय समयमा टीएमस नचलाउने व्यवस्था गर्न र सो समयमा टीएमस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउनुपर्नेछ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्रमा उल्लेख छ । सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गरेसँगै अब सो समयमा कर्मचारीहरूले सेयर कारोबार गर्न पाउने छैनन् ।

त्यो पहिलो महिनावारी…

‘ह्या उता जा १ जहिले खुट्टा चढाउँछे ।’ निदैनिदमा दिदीले गाली गर्दै खुट्टा फ्याली दिनुभयो । मलाई सम्झना छ, त्यो रात सेतो सुरुवाल र निलो कुर्था लगाएकी थिएँ । सधैँ झैँ खुट्टा चढाउने बानीले दिदीसँग सुत्दा गाली नखाएको दिन हुन्थेन । अटेरी थिएँ । फेरि दिदीतिरै खुट्टा फ्याँलेँ । बालापनको मज्जा नै बेग्लै जति जे गरे पनि माफी पाइन्थ्यो । कान्छी छोरी भएकीले दिदीलाई अलि बढी दुःख दिन्थे । अटेर गरी दिदीतिर फेरि खुट्टा चढाउन खोजेँ । तर खुट्टा होइन, कम्मर पो करक्कै खायो । खासै वास्ता गरिनँ । अर्कोतिर कोल्टे फेर्न खोजेँ । उल्टै तल्लो पेट चस्कियो । दिदीको हात निदैनिदमा दुखिरहेको पेटमा पुर्याएर कानमा फुसफुसाएँ, ‘दिदी सारै पेट दुख्यो !’ उहाँ हत्तपत्त जुरुक्क उठ्नुभयो । मानौँ कुनै गहिरो सपना देख्दादेख्दै ब्युझिनु भए जस्तै झल्याँस्स हुनुभयो । दिदीले मेरो कुर्था माथि सारेर सुरुवालको पछाडितिर आँखा लाउनुभयो । सेतो लुगा भिजेर निथ्रुक्कै थियो नै । ओच्छ्यानसमेत राताम्मै भयो । दिदी चिच्याउँदै आमा बोलाउनुभयो । के भयो ? किन यति आत्तिएको मैले केही पत्तो पाइनँ । सुरुवाल र ओच्छ्यानभरि रगत देखेपछि भने मनमा डर लाग्यो । केको डर त्यो पनि थाहा थिएन । आमा आएपछि दिदीले हस्याङ्फस्याङ गर्दै एउटा शब्द भन्नुभयो, ‘बहिनी त पन्छी (महिनावारी) छ ।’ पन्छिनु अर्थात् महिनावारी हुनु । महिनावारीका थुप्रै ठाउँअनुसारका फरक–फरक बोलीचालीका शब्दहरु छन् । सुदूरपश्चिममा छाउपडी, पश्चिमतिर पन्छिनु, पाखा लाग्नु, पर सर्नु, छुई हुनु आदि । १३ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा खेप्नु परेको सास्ती मानसपटलमा अझै गहिरो रुपमा गडेको छ । भुल्नु सकिँदैन पनि २१ दिनसम्म गोठमा उकुसमुकुस भएको क्षण । स्कूल जान नपाउँदाको दुखेसो । साथीसङ्गीसँग घुम्न र खेल्न कुद्न नपाएको पीडा । यी सबै घाउ सजिलै हराउँदैनन् । त्यो दिन सम्झना छ । बिहानीपख ओच्छ्यानमा पहिलोपटक महिनावारी भएकी थिएँ । दिदीले आफ्नो कुर्थाको सल ल्याएर आमालाई दिनुभयो । आमाले पूरै बेहुलीलाई घुम्टोले छोपे जस्तै गरी ढपक्कै लुकाएर घर बाहिर निकाल्नुभयो । कहाँ राख्ने त यसलाई रु दिदी र आमाले सल्लाह गरेर छिमेकीको गोठमाथि थारोमा राख्ने टुङ्गो लाउनुभयो । उहाँहरुको मप्रतिको अनौठो व्यवहार देखेर म रुन थालेछु । अत्तालिएर घुम्टोभित्रैबाट सुकसुकाउँदै आमालाई सोधेँ, ‘मलाई के भएको हो र ? कहाँ लैजाने ? म घरमै बस्न किन नपाउने ?’ यस्ता थुप्रै प्रश्नहरु अनवरत सोधिरहेँ । उत्तर समग्रमा एउटै आयो, ‘अब तँ ठूली भइस् । यत्ति बुझ् ।’ गोठमा २१ रात माघको चिसोयाम । कुहिरोले मौसम गुम्सुम थियो । उसैगरी म सलभित्र  खुम्चिएकी थिएँ । जतिसक्दो कोठामा लुकाउने हतार थियो । घामको झुल्का नउदाउँदै नजरबन्दमा राख्नुपर्ने थियो । दिदी र आमाले छिमेकीको गोठमा पुर्याउनुभयो । रातो माटोले लिपेको गोठको माथिल्ल्लो तलामा ओच्छ्यान लगाएर तयार पार्नुभएको रहेछ आमाले । ‘थुपुक्क यहीँ बस्नु’, उहाँले निर्देशन दिँदै के गर्न हुने के गर्न नहुने नियम बुझाउन थाल्नुभयो, ‘बाहिर हेर्दै नहेर्नु, भाइले बोलायो भने नबोल्नु । अनि सकेसम्म कान थुनेर बस्नु ।’ फुर्के जामा लगाएर खेतका कान्ला, खोला नाला कुद्ने ममा अचनाक न सुन्नु, नदेख्नु, नबोल्नु जस्ता ‘न’ नियम आइपर्यो । चरा जस्तै उड्ने बालापनमा यी सबै न नियम लाग्दा सजिलो हुने कुरै थिएन, अझै बढी पीडा स्कूल जान नपाउनु थियो । कक्षा ५ मा पढ्थेँ त्यो बेला । स्कुलमा त्यो दिन मेरो सेरोफेरो विषय पढाउने टेकराज सरले सही उत्तर दिने विद्यार्थीलाई पुरस्कार दिने वाचा गर्नुभएको थियो । पढेकी भए पनि उत्तर दिने अवसर महिनावारी भएकै कारण गुमाएकामा मनमनै दुखी थिएँ । मेरो पढाइ निरन्तर २१ दिनसम्म गुमिरह्यो । भारतबाट एक वर्षपछि बुबा घर आउनुभएको थियो । त्यसै दिन भैरवस्थान देवताको पूजा गरेर घरमा उत्सव बनाइएको थियो । चामलको पीठोले बनाइने भैरवस्थान मन्दिरमा चढाएको रोटी मलाई निकै मन पथ्र्यो । आमाले अरू बेला सधैँ अरू दिदी भाइलाई भन्दा अलि बढी खान दिनुहुन्थ्यो । महिनावारी गोठमा बसेको पाँच दिन कष्टकर बिताउँदै थिएँ । भैरवस्थान मन्दिरमा पूजा हुँदैछ र बुबा आउँदै हुनुहन्छ भन्ने हर्षले मनमनै गद्गद् थिएँ । आमाले खाना पुर्याउन आउँदा सुनाउनुहुन्थ्यो, ‘बुबा साता दिन मात्रै बस्ने रे । अनि तैँले भैरवस्थानको प्रसाद खानु हुँदैन पाप लाग्छ, म अचम्मै परेँ ।’ सधैँ भैरवस्थानको प्रसाद मायाले अलि बढी खुवाउने मेरी आमाले आज खान नदिने यति कठोर हृदय कसरी बन्न सक्नुभयो होला रु बुबाले जहिले गीत गाउँदै नाच्न सिकाउनुहुन्थ्यो । आज देख्दैनदेखि कसरी बस्न सक्नुभयो ? पटकपटक शौचालय जाँदा कमजोरीले बेहोस भएर ढल्दा आमाले बोकेर घर गोठमै ल्याउनुहुन्थ्यो । तर मायाले घरमा पुर्याउन कुन संस्कारले रोक्यो होला ? हरेक दिन झगडा नगरी चित्त नबुझाउने मेरो भाइलाई के कुराले मौन बनायो होला ? घामको झुल्कासँगै उदाउने मेरो बिहानी किन अँध्यारोमा गुमसुम छ ? बाल मनोविज्ञानमा यस्ता प्रश्नहरु आइरहे तर उत्तर दिने कोही थिएनन् । २२ दिनपछि स्कूल पुग्दा झिसमिसे बिहानै कठ्याङ्ग्रिँदो जाडोमा थरथर काँप्दै कुलामा नुहाउन पुगेँ । कमजोर शरीरले रिङ्गाटा लागिरहेको हुन्थ्यो । बिहान ५ बजे कसैले नदेख्दै नुहाउनुपर्ने थियो । म आतुर थिएँ, २१ दिनपछि घामको उज्यालो देख्न । आतुर थिएँ, आकाशे रङ्को सर्ट र नीलो जामा लगाएर स्कूल जान । भाइसँग लडीबुडी गरी खेल्न, साथीभाइसँग गफिन् । गोठबासदेखि उन्मुक्त भएर सुर्के झोला बोकेर खुसी हुँदै स्कूल पुगेँ । त्यो पारिलो घामसँग रमाउँदै, फुर्किंदै स्कूलको ढोकानिर टेकैँ । धेरै समयपछि आएर होला विद्यालय नौलो लाग्यो । त्यति मात्रै होइन, साथीभाइले गर्ने व्यवहार पनि फरक पाएँ । कोही मलाई हेर्दै कानेखुसी गर्थे त कोही तलदेखि माथिसम्मै नियाल्थे । मानौँ म २१ दिनमा अर्कै भएकी छु । कुनै पनि किशोरी लामो समयको अन्तरालपछि स्कूल आइनँ भने उसलाई महिनावारी भएकै संज्ञा दिइन्थ्यो र  लाज, घृणा र जिस्क्याउने पात्रका रुपमा व्यवहार गरिन्थ्यो । केटाहरुले त खुलेयाम भन्ने गर्थे, ‘यो केटी त नछुने भइछ ।’ यस्तो अवस्थामा केटीहरुमा मानसिक रुपमा हीनताबोध हुने गथ्र्यो । प्रतिकार गर्ने आँट थिएन । लाज ले रातोपिरो हुनुबाहेक अरू उपाय केही हुँदैन थियो । महिनावारी भएकै कारण विद्यालयमा पढाइको मर्का खेप्नु त छँदैछ, स्कूलमा गरिने बुलिङ (जिस्क्याउने) प्रवृत्तिले कतिपय छात्रा विद्यालय नै छोड्ने गर्थे । २२ दिनपछि खुसी हुँदै स्कूल पुगेकी म पछिल्लो बेन्चको कुनामा रुँदै बसेँ । झन्डै ३० वर्षअघि मैले महिनावारी हुँदा खेप्नु परेको पीडा मेरा बहिनीहरुलाई भोग्नु परेन । महिनावारीमा विभेद हुँदा पर्ने असर महिनावारीले किशोरीमा पार्ने मनोवैज्ञानिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतमा पर्ने असर असीमित हुन्छ । मर्यादित महिनावारीको संस्कार बसाल्न सके छोरीको व्यक्तित्व विकासमा सघाउँछ । विद्यालयमा मर्यादित महिनावारीको शिक्षा नपुगेसम्म धेरै छात्राको पठनपाठनमा प्रत्यक्ष प्रभाव पर्ने मर्यादित महिनावारी अभियान संस्था राधा पौडेल फाउन्डेसनको अध्ययनको निष्कर्ष छ । सरकारले छाउपडीविरुद्धको ‘छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४ जारी छ । फाउन्डेसनले काठमाडौँ, जुम्ला र सर्लाही गरी १८ देखि २५ वर्ष उमेर समूहका चार सय ७१ जनामा गरेको एक अध्ययनमा महिनावारीका कारण छात्रा विभेद, यौन हिंसामा परेको तथ्याङ्क छ । ‘यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी’ विषयक आधारभूत सर्वेक्षण प्रतिवेदनमा महिनावारी हुँदा ५२ प्रतिशत छात्राको पठनपाठन प्रभावित हुने देखाएको हो । त्यसैगरी, १३ प्रतिशत छात्राले विद्यालयमा विभेद भोग्नु परेको बताएका छन्भने नौ प्रतिशत छात्राहरू महिनावारीकै कारण यौन हिंसामा परेको जनाइएको छ । संविधानसभा सदस्य डा बिन्दा पाण्डेले छाउपडी कुप्रथासँग सम्बन्धित बाजुरा–बूढीनन्दा, हिमाली र स्वामीकार्तिक खापर गरी तीन पालिकाका एक सयजनामा गरिएको सर्वेक्षणमा छाउगोठमा बस्ने ५२ प्रतिशत, छाउघरमा बस्ने २३ प्रतिशत, भुइँतलामा बस्ने १८ प्रतिशत र आफ्नै कोठामा सात प्रतिशत बस्ने गरेको तथ्याङ्क छ । छाउगोठमा बस्दा एक्लै सुत्ने महिलाको सङ्ख्या ५७ प्रतिशत रहेको छ । सर्वेक्षणमा महिनावारीको बेला दालभात, रोटी खाने ६१ प्रतिशत छन्भने फलफूल खान पाउने मात्रै १० प्रतिशत छन् । छाउगोठमा बसेकै कारण ५२ प्रतिशतले सामाजिक र सांस्कृतिक कार्यक्रममा असंलग्न हुन नदिने तथ्यांक छ । ‘महिनावारी महिलाको प्राकृतिक अधिकार हो पाप होइन,’ डा पाण्डे भन्छन्, ‘यो कुप्रथा हटाउन सांस्कृतिक र राजनीतिक दुवै पाटोमा समेत जागरण ल्याउन जरुरी छ ।’ रासस