चिनियाँ समाजवादको मोडल सफल, चीनबाट धेरै सिक्न चाहन्छाैं : सचिव भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराई । फाइल तस्बिर । काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज)लाई अंगीकार गर्दै शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ नेपाल अघि बढिरहेको बताएका छन् । चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा भएको १४औं विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले शान्तिपूर्ण प्रक्रियामार्फत आमजनताको समर्थनसहित समाजवादको बाटोमा नेपाल अघि बढेको स्पष्ट गरे । ‘नेपालमा हामी समाजवादी उन्मुख संविधान स्वीकार गर्दै सामाजिक–आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौं, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ । जननेता मदन भण्डारीको नेतृत्वमा एमालेले जनताको बहुदलीय जनवादको सिद्धान्त विकास गरेको छ,’उनले भने, ‘हामी नेपाली अभ्यास र नेपाली भूमिमा मार्क्सवादको रचनात्मक प्रयोगमा आधारित जबजको मार्गदर्शनसहित शान्तिपूर्ण माध्यमबाट समाजवाद हासिल गर्न चाहन्छौं ।’ एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारले छिमेकी देशसहित सबै मित्रराष्ट्रको साथ, सहयोग र ऐक्यबद्धताको अपेक्षा गरेको सचिव भट्टराईले बताए । उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्दै देश र जनताको पक्षमा कसैसँग सम्झौता नगरी आर्थिक समृद्धिका पक्षमा नेपाल जुटिरहेको उल्लेख गरे । एमाले नेता भट्टराईले पारस्परिक लाभ र भाइचाराको सम्बन्धलाई जोड दिँदै विश्व शान्ति र एकताको पक्षमा नेपाल रहेको स्पष्ट गरे । चीनबाट धेरै कुरा सिक्न चाहन्छौं सचिव भट्टराईले चिनियाँ समाजवादको मोडल सफल रहेको भन्दै चीनबाट अझ धेरै कुरा सिक्न चाहेको बताए । उनले भने, ‘चिनियाँ समाजवादको मोडेल सफल छ । हामी चीनबाट अझ धेरै कुरा सिक्न चाहन्छौं । म तपाईं चिनियाँ कमरेडहरूलाई चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा हासिल गरेको ठूला सफलताका लागि धन्यवाद दिन चाहन्छु ।’ उनले भने, ‘नेपाल भू–राजनीतिक रूपमा संसारका पहिलो र दोस्रो जनसङ्ख्या भएका देश चीन र भारतको बीचमा रहेको छ । चीन तीव्र रूपमा समृद्धितर्फ अघि बढिरहेको छ । हामी यो अवसरलाई नेपाली जनताको समृद्धि र खुसीका पक्षमा उपयोग गर्न चाहन्छौं ।’ सचिव भट्टराईले नेपालले सन् २०१७ मा समृद्धि र विकासको अपेक्षासहित बिआरआईमा हस्ताक्षर गरेको उल्लेख गर्दै बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)बाट ठोस लाभ प्राप्त गर्नेमा आशावादी रहेको बताए । ‘समाजवादी देशहरूबीच सहयोग अपरिहार्य’ सचिव भट्टराईले मानव सभ्यता र पृथ्वीलाई जोगाउन समाजवादी देशहरूबीच सहयोग अपरिहार्य रहेको धारणा राखे । उनले भने, ‘समाजवादी देशहरूको सङ्ख्या कम छ, वित्तीय रूपमा त्यति सबल छैनन् । यस्तो अवस्थामा समाजवादी मुलुकहरूका बीच सहयोग र सहकार्य आवश्यक छ ।’ बेइजिङमा जारी १४ औं विश्व समाजवाद फोरममा ३० देशका कम्युनिष्ट नेता, मार्क्सवादी बुद्धिजीवी, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता गरी एक सय ५० भन्दा बढी प्रतिनिधिको सहभागी छन् ।
याम सुरु हुँदै गर्दा पर्यटकीय राजधानीको यस्तो छ तयारी, के हुन् पोखराका आकर्षण ?
काठमाडौं । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा असोज-मङ्सिर र चैत-जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिइन्छ । यी दुई याममा पोखरालगायत देशभरका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्छ । नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधासहित लाखौँ आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आउँदो पर्यटकीय याममा थप पर्यटक भित्राउने योजना के छन् त ? पर्यटकीय राजधानी हुनुले पोखरामा हुने पर्यटकको आवागमनमा यसपालि वृद्धि होला त ? होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘प्रर्वद्धनात्मक कार्यक्रममा हामी बढी केन्द्रित छौँ, पर्यटकीय राजधानी घोषणा लगत्तै होटलमा छुट अफरसहित विभिन्न प्याकेजहरु सार्वजनिक गरेका थियौँ ।’ उनले ‘अफ सिजन’मा होटलहरुले ५० प्रतिशतसम्म छुट दिने गरेको बताए । आन्तरिक पर्यटकलाई पोखरा भित्राउन देशका विभिन्न सहरमा ‘जाऔँ है पोखरा’ कार्यक्रम सञ्चालन गर्ने गरेको उनको भनाइ छ । ‘अहिलेको वर्षायाममा पर्यटक आगमन ज्यादै न्यून रह्यो, आन्तरिक पर्यटक पनि पोखरा-मुग्निल राजमार्गको नाजुक अवस्थाका कारण पोखरा आउन चाहेनन्,’ सङ्घका अध्यक्ष सुवेदीले भने, ‘अब असोज लागेपछि पर्यटक आवागमन बढ्छ, पदयात्राका लागि आउने विदेशी पर्यटक पनि यही याममा बढी आउँछन् ।’ भारतीय बजारलाई लक्षित गरी ‘चलिए पोखरा’ र चीनमा पनि सोही प्रकृतिको प्रवर्द्धनात्मक कार्यक्रम बर्सेनि हुँदै आएको उनको भनाइ छ । ‘पोखरामा धेरैभन्दा धेरै पर्यटक कसरी भित्राउन सकिन्छ भनेर होटल सङ्घलगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाहरु लागिपरेका छन्, पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा पोखराको पर्यटन विकासमा राज्यका नियकाले पनि विशेष ध्यान दिनुपर्छ, पूर्वाधारमा लगानी बढाउनुपर्छ,’ सङ्घका अध्यक्ष सुवेदीले भने । लामो प्रयास र बहसपछि गत चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरेका थिए । घोषणाका क्रममा उहाँले पोखरा प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गमका रुपमा रहेको उल्लेख गरेका थिए । प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका पर्यटन शाखा प्रमुख डम्बर जिसीले पर्यटन पूर्वाधार र प्रवद्र्धनका कार्यक्रम भइरहेको बताए । पोखरालगायत यस क्षेत्रका गन्तव्यस्थलको वृत्तचित्र र प्रचार सामग्री तयार पारी प्रकाशन/प्रसारण गरिएको उनको भनाइ छ । ‘आउँदो पर्यटकीय यामलाई लक्षित गरी पोखरामा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने सोच मन्त्रालयले बनाएको छ, अन्य प्रवद्र्धनात्मक कार्यक्रम पनि तय गरिएको छ, पोखराको नयाँ गन्तव्यका रुपमा विकास भइरहेको राउण्ड फेवा-भ्यू फेवा ट्रेकिङ ट्रेलको काम आधा सकिएको छ, यो वर्ष थप ५० लाख बजेट उक्त योजना छ,’ उनले भने । प्रदेश सरकारले बेगनास तालमा क्रुज सिप सञ्चालनको योजना पनि अगाडि बढाएको उनले बताए । प्रदेश सरकारले आधुनिक बसपार्क निर्माण, विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस सेवा, ध्यान केन्दल निर्माणलगायत पर्यटनलक्षित योजना घोषणा गरेको छ । पर्यटन व्यवसायी एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकीय राजधानीका रुपमा विश्व पर्यटन बजारमा पोखराको थप ‘ब्राण्डिङ’ भइरहेको बताए । ‘पोखरा यसैपनि पूर्वाधारसम्पन्न पर्यटन गन्तव्य हो, पर्यटकीय राजधानी घोषणाले पोखराको समग्र विकासमा थप मद्दत पुग्छ, तीनै तहका सरकारको वार्षिक बजेट तथा कार्यक्रममा प्राथमिकता दिनुपर्छ, यो घोषणाले पोखरा मात्रै नभएर सिङ्गो देशकै आर्थिक समृद्धिमा दुरगामी महत्व राख्छ,’ उनले भने । पोखरामा उल्लेख्य संख्यामा विदेशी पर्यटक भित्राउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका नियमित सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष बित्न लाग्दासमेत अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पर्यटन व्यवसायी श्रेष्ठका अनुसार पोखराको पर्यटनमा झण्डै छ खर्बको लगानी छ । साधारणदेखि पाँच तारेसम्म गरी झण्डै १२ सय होटल पोखरामा सञ्चालित छन् । बहुआयमिक विशेषता र सम्भावनाले भरिएको पर्यटकीय राजधानी पोखराको समग्र विकासमा सरकार र निजी क्षेत्रबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्ने उनको भनाइ छ । पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास र विविधिकरण, मापदण्ड, सेवाको गुणस्तरलगायत २० सूचकमा टेकेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो । उक्त घोषणासँगै पोखराको पर्यटन विकासमा ३ वर्षे, ५ वर्षे र दीर्घकालीन योजना तय गरिएको छ । अल्पकालीन रणनीतिअन्तर्गत पूर्वाधार विकास तथा विस्तार, सांस्कृतिक सम्पदाको प्रवर्द्धन र ‘ब्राण्डिङ’ तथा बजारीकरणमा जोड दिइएको छ । मध्यमकालीन रणनीतिमा विशिष्कृत पर्यटन विकास, बसोबासका विकल्पको विविधिकरण र व्यवसायिक जनशक्तिको उपलब्धतालाई समेटिएको छ । दिगोपना, समावेशीता, विद्युतीय पर्यटनलगायत विषय दीर्घकालीन रणनीतिमा उल्लेख छन् । पर्यटनको राजधानी घोषणा गरेर मात्र नहुने भन्दै पूर्वाधार, सेवाको गुणस्तर, दक्ष जनशक्ति र लगानी विस्तारमा सम्बद्ध पक्षको ध्यान जान जरुरी रहेको पर्यटन विज्ञहरुले बताउँदै आएका छन् । के हुन् पोखराका आकर्षण ? पोखरा हिमाल र तालतलैयाको सहरले चिनिन्छ । हिमशृङ्खलाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जी जम्प, केबुलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन् । फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन् । प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ । प्राचिन कला, सभ्यता र साँस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ पोखरा । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका साँस्कृतिक धरोहर हुन् । साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ । पर्यटकस्तरका ५ सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास (होमस्टे), सुविधायुक्त रेष्टराँ, कफी सप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन् । हवाई र सडक दुर्व मार्गबाट सहज रुपमा पोखरा आउजाउ गर्न सकिने सुविधा छ । पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा पोखरामा उपलब्ध छ । पर्वतारोहण र पदयात्रामा निस्कने पर्यटकका लागि चाहिने उपकरण, पोशाक आदि किनमेलका लागि पसल र डिपार्टमेन्टल स्टोर पनि प्रयाप्त रहेका छन् । बैंक, एटीएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउण्टर उपलब्ध छन् । सङ्कटमा परेका पर्यटकको उद्धार र राहतका लागि हेलिकप्ट सेवासहित स्तरीय अस्पताल पोखरामै सञ्चालित छन् । पर्यटकहरुको सेवाका लागि सञ्चालित ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सीलगायत व्यावसायिक सङ्गठनहरु क्रियाशील छन् । पर्यटन क्षेत्र हेर्ने राज्यका निकाय पनि पोखरामै केन्द्रित छन् । प्रदेश सरकारमा छुट्टै विभागीय मन्त्रालय छ । नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधा पर्यटकले पोखरा घुम्ने गरेको सरकारी तथ्याङ्कले देखाउँछ । आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगट्छ । बर्सेनि करिब दस लाख आन्तरिक पर्यटकले पोखरा घुम्ने गरेको अनुमान गरिन्छ । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको पोखरा ७५ वर्षको दौरानमा पर्यटकीय राजधानी बन्न सफल भएको छ । प्रदेश राजधानीसमेत रहेको पोखरा आउँदा आसपासका जिल्लामा रहेका गन्तव्यमासमेत पुग्न सकिन्छ । पोखरामा फेवाताल, बेगनासताल, रुपाताललगायत गरी विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्व शान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् । पोखरादेखि दुई घण्टाको दुरीमा पर्ने बागलुङका गन्तव्यस्थल पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन् । त्यहाँ कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत छन् । तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाली जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकको रोजाइमा पर्छ । हिमालपारिको जिल्ला मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, प्राचिन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन् । म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् । पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ । निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ । पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, शाल्मे–डाँडा जस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् । व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन् । लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनाश्लु हिमाल, मनाश्लु संरक्षण क्षेत्र जस्ता गन्तव्यले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् ।
सलिकोले सञ्चालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गण्डकी प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले कास्कीको पोखरास्थित अमरसिंहचोकमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त कार्यालय सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री र नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय प्रमुख केशवप्रसाद दाहालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सलिकोको व्यापार र दावी भुक्तानी राम्रो रहेकाले सो साख जोगाइराख्नुपर्ने नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख दाहालले बताए । सीईओ क्षेत्रीले सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ इमान्दारीपूर्वक बीमालेख बुझाएर बेच्न आग्रह गरे । कार्यक्रममा पोखरामा रहेका कम्पनीका शाखा प्रमुखलगायत सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।
आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो
राँझा । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातीत बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेको छ । भारतलगायत तेस्रो मुलुकबाट आयातीत औलो रोगका बिरामीको सङ्ख्या बाँकेमा केही वर्षयता बढ्दै गएको छ । पछिल्ला केही वर्षदेखि जिल्लाका विभिन्न पालिकामा औलो रोगका बिरामीहरु बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोतव्यक्ति दुर्गा गौतमले जानकारी दिइन् । ‘स्थानीय समुदायका व्यक्तिभन्दा बाहिरबाट आएका आयातीत व्यक्तिहरु सङ्क्रमित भएर समुदायमा आउँदा औलो रोगका बिरामीहरु बढी पाइएको छ’, उनले भनिन्, ‘पछिल्ला केही वर्षदेखि जिल्लामा आयातीत बिरामीहरुमा यो रोग बढी पाइएको छ ।’ उनका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बाँके जिल्लामा एक सय ६२ सर्वसाधारणमा औलो रोग पुष्टि भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा एक सय २२ सर्वसाधारणमा सङ्क्रमण देखिएको थियो । जिल्लामा सबैभन्दा धेरै नरैनापुर गाउँपालिका औलोको उच्च जोखिममा रहेको छ । गत आवमा सबैभन्दा धेरै नरैनापुर गाउँपालिकामा नरैनापुरमा एक सय ३१ औलोका बिरामीहरु फेला परेका थिए । यसैगरी, राप्तीसोनारीमा नौ, डुडुवामा आठ, नेपालगञ्जमा सात, कोहलपुरमा तीन, बैजनाथ र खजुरामा दुई/दुईजनामा औलो रोग पुष्टि भएको थियो । जानकी गाउँपालिकामा भने शून्य रहेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि सबैभन्दा धेरै नरैनापुरमा एक सय तीन, नेपालगञ्जमा १०, कोहलपुरमा चार, राप्तीसोनारी र खजुरामा दुई/दुई, जानकीमा एकजनामा औलो रोग पुष्टि भएको थियो । डुडुवा र बैजनाथमा भने शून्य पाइएको थियो । भारतलगायत तेस्रो मुलुकबाट आयातीत औलो रोगका बिरामीको सङ्ख्या बढ्दै गएका कारण जोखिम बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोतव्यक्ति गौतमको भनाइ छ ।
रजिष्ट्रार कार्यालयलाई नयाँ सफ्टवेयर प्रयोगमा सर्वोच्चले रोक लगाएपछि कम्पनी दर्ता बन्द
काठमाडौं । पछिल्लो ३ दिनदेखि कम्पनी दर्ताको काम ठप्प भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले जडान गरेको नयाँ सफ्टवेयर प्रयोगमा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएपछि यही भदौ २४ गतेदेखि कम्पनी दर्ताको काम पूर्णरूपमा ठप्प भएको कार्यालयले जनाएको छ । सर्वोच्चले भदौ १८ मा कम्पनी रजिस्ट्रारको कार्यालयलाई नयाँ सफ्टवेयर प्रयोग कार्यान्वयन नगर्न, नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । कार्यालयले एक सूचना नै जारी गरेर नयाँ सफ्टवेयरमार्फत सेवा बन्द भएपछि पुरानो प्रणाली सञ्चालनमा ल्याउने क्रममा ३ दिनदेखि कम्पनी दर्ताको काम रोकिएको जनाएको छ । कार्यालयले कम्पनी एडमिनिस्ट्रेशन म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (सीएएमआईएस) नामक सफ्टवेयर जडान गरी गत असार २१ गतेदेखि कम्पनी दर्तादेखि अन्य सेवा अनलाइन प्रणालीबाट दिइरहेको थियो । कार्यालयका अनुसार सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकै कारण कम्पनीको अनलाइन दर्ता अनिश्चितकालका लागि बन्द भएको हो । नयाँ सफ्टवेयर छाडेर पुरानै प्रणालीमा फर्कनुपर्दा कम्पनी दर्ताको काम रोकिएको र पुरानो प्रणालीबाट कम्पनी दर्ता लगायतका काम सुरु गर्ने प्रयास भइरहेको कार्यालयको भनाइ छ ।
कलाकार ईकु प्रहरीको फन्दामा, कलाकार भिषामा युरोप पठाउँछु भन्दै ठगीको आरोप
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कलाकार सुलेमान शंकर (ईकु)लाई प्रक्राउ गरेको छ । कलाकार भिषामा युरोप पठाउँछु भन्दै रकम असुली गरेको आरोपमा सुलेमान शंकरलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक हबिन्द्र बोगटीले जानकारी दिए । प्रवक्ता बोगटीका अनुसार कलाकार भिषामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनेर ईकुले रकम असुली गर्दै आएका थिए । उनले भौगोलिक रूपमा विकट क्षेत्रका मानिसलाई ठगी गर्ने गरेका थिए । ‘विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रूपमा कलाकार भिषामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनी विशेषगरी भौगोलिक रूपमा विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानीसमेत सोहीअनुरूप आकर्षक हुने प्रलोभन देखाउँथे,’ उनले भने, ‘उनले सञ्चालन गरिरहेको एसएमएस फिल्मस् प्रालिको नाममा बैंक खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म रकम जम्मा गर्न लगाउँथे ।’ प्रहरीका अनुसार विदेश जान तयार मानिसहरूले खातामा रकम जम्मा पठाएपछि कलाकार भिषामा विदेशी मुलुकमा आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेका थिए । तर, रकम पठाएपछि उनी सम्पर्कविहीन हुने गरेका थिए । ‘पीडितहरूले भिषा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ, तयारी भएपछि खबर गर्छु भनी पीडितहरूलाई लामो समयसम्म झुलाई सम्पर्कविहीन रहेर ठगी गर्ने कार्य गर्दै आएका थिए,’ प्रवक्ता बोगटीले भने । साथै ठगिएका व्यक्तिलाई सीआईबीमा सम्पर्क गर्न आग्रह गरेको छ ।
सांसद पोख्रेलको माग- बीमाकर्ताले जुनसुकै उपचार केन्द्रमा उपचार गर्न पाउनुपर्छ
एमाले सांसद ऋषिकेश पोख्रेल । फाइल तस्बिर । काठमाडौं । एमाले सांसद ऋषिकेश पोख्रेलले स्वास्थ्य बीमा भएका व्यक्तिले जुनसुकै स्वास्थ्य केन्द्रमा अनुकूलताअनुसार उपचार गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले स्वास्थ्य बीमामार्फत देशभरि उपचारमा संलग्न बिरामीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘हरेक पालिकाको स्थास्थ्य केन्द्रमा गएका बिरामीले त्यहाँबाट अन्यत्र पठाइदिनुपर्याे भन्दै आएका छन् । स्वास्थ्य बीमाका कारण अहिले हजारौं जनताले दुःख पाइरहेका छन्, यसतर्फ सरकारको ध्यान जान जरुरी छ,’ सांसद पोख्रेलले भने । सांसद हितराज पाण्ड र मनिष झाले पूर्वसभामुख स्व सुवाषचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याएकाे भएको योगदानबारे संसदमा स्मरण गरे । सांसद अब्दुल खानले सुन व्यवसायीले मनोमानी रूपमा कार्यविधि बनाइ सरकार र श्रमिकलाई ठग्ने काम गरिरहेका उल्लेख गर्दै सम्बन्धित निकायले सुनचाँदी बिक्री वितरणसम्बन्धी विधेयक ल्याएर कानुनमार्फत समस्याको निकास दिनुपर्नेमा जोड दिए । सांसद डा. अमरेशकुमार सिंहले चालक अनुमतिपत्र प्रदेशले दिने वा संघले दिने भन्नेबारे स्पष्ट हुनुपर्ने बताए ।
ज्योति विकास बैंकका ग्राहकलाई ‘साइन इखाडाेल फिटनेश’ मा १० प्रतिशत छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ‘साइन इखाडोल फिटनेश एन्ड रिक्रिएशन सेन्टर’ सँग सम्झाैता गरेकाे छ । बैंकका ग्राहकहरूलाई १०% को छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएकाे हाे । सम्झौतापश्चात् अब ज्योति विकास बैंकका ग्राहकले ठुलो भर्याङस्थित शाइन इखाडोल फिटनेस तथा रिक्रिएशन सेन्टरको खानामा १०% छुट प्राप्त गर्नेछन् । उक्त स्विमिङ पुलसहितको फिटनेस तथा रिक्रिएशन सेन्टरमा पौडीसम्बन्धी तालिमको पनि व्यवस्था रहेको छ । हालै बैंकले ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेसालिटी क्लिकिन एन्ड डाइग्नाेस्टिक सेन्टर’मा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । यसका साथै बैंकले काठमाडौंस्थित ‘ट्रान्क्विलिटी स्पा’ का देशभरका १७ वटै आउटलेटहरूमा ग्राहकलाई ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । यसैगरी, बैंकले ‘जास्मिन फिटनेश क्लब एन्ड स्पा’मा २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । ज्योति विकास बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राखी विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याएकाे बैंकले जनाएकाे छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।