बीमा बोर्डले भन्यो- ५ लाखको स्वास्थ्य बीमाका लागि २० हजार बीमाशुल्क लाग्छ
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ५ लाख रुपैयाँ बीमांक पुर्याउन के गर्नुपर्छ भन्नेबारे राय पेश गरेको छ । बोर्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई राय पेश गरेको हाे । बाेडले पेश गरेको रायमा ५ लाख बीमांक रकम कायम गर्दा बीमितबाट २० हजार रुपैयाँ बीमाशुल्क संकलन गर्नुपर्ने राय दिएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले केही साताअघि स्वास्थ्य बीमाको बीमांक रकम एक लाख रुपैयाँबाट ५ लाख रुपैयाँ पुर्याउने घोषणा गरेका थिए । मन्त्रीको सो घोषणासँगै ५ लाख पुर्याउन के गर्नुपर्छ भनेर मन्त्रालयले बोर्डसँग योजना माग गरेको थियो । मन्त्रालयले यस्तो योजना तथा राय माग गरेपछि बोर्डले एक्चुरियल भ्यालुएसन गराएको बोर्डका कार्यकारी निर्देशन डा. दामोदर बसौलाले बताए । एक्चुरियल भ्यालुएसन अनुसार ५ लाख बीमांक पुर्याउन २० हजार बीमाशुल्क संकलन गर्नुपर्ने उल्लेख भएको र सोहीअनुसार राय पेश गरेको उनले बताए ।
लक्ष्मी सनराइज बैंकले गर्यो वीरगञ्जमा सेवा विस्तार
काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगञ्ज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित लिंक रोड ९अघिल्लो शाखा स्थानबाट करिब १ केमी मिटर उत्तर(पूर्वतर्फ) मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्ने बैंकले बताएको छ ।
बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ४० अर्ब तान्न लागेको हो । निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । यसरी तानिएको रकमको साँवा र ब्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले असोज १६ गते भुक्तानी दिनेछ ।
काँचो केरामै विषादीको मात्रा भेटियो
झापा । विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा आज बिहान इलामको दानाबारीका किसान कमल मगरले ल्याएको ७० घरी काँचो केराको तीन नमुना परीक्षण गरिएको थियो । ती नमुनामध्ये दुई नमुनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रा फेला परेको प्रयोगशालाका प्रमुख अम्बिका बोहोराले बताए । उनका अनुसार काँचो केराको दुई नमुनामा कार्बामेटको रोकावट प्रतिशत ५२.८५ र ५३.११ पुष्टि भएको छ । अर्को एक नमुनामा भने ४४.७६ प्रतिशत कार्बामेट भेटिएको छ । तरकारी तथा फलफूलमा कार्बामेटको रोकावट प्रतिशत ४५ भन्दा उच्च फेला परेमा उपभोग अयोग्य ठहरिने हुँदा त्यसलाई विसर्जन गरिनुपर्ने प्राविधिक बोहोराले बताए । विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको तरकारी तथा फलफूललाई केही दिन क्वारेन्टाइनमा राखेर पर्खेर हेर्नुपर्ने उनले जानकारी दिए । काँचो केराको विषादी अवशेष जाँच गर्दा अर्गानो फस्फेट कीटनाशक विषादीको मात्रासमेत उच्च पाइएको छ । अर्गानो फस्फेटको मात्रा २७ देखि ३५ प्रतिशतसम्म फेला परेको छ । विर्तामोड नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक नगेन्द्र सङ्ग्रौलाले उपभोग अयोग्य पुष्टि भएका तरकारी तथा फलफूललाई नष्ट गरिने र पर्खेर हेर्नुपर्ने भएमा कृषि थोक बजारकै क्वारेन्टाइनमा केही दिन राखेर पुनः विषादी अवशेष परीक्षण गरिने बताए । केहीदिन अघि कृषि थोक बजारमा बेच्न ल्याइएको लट्टे सागमा पनि खान अयोग्य हुनेगरी विषादीको अवशेष पुष्टि भएको उनले जानकारी दिए । रासस
लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौं । ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरू को लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा अवस्थित रहेको कम्पनीले बताएको छ । सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ । केईको शोरुम नक्शाल भाटभटेनीमा सञ्चालनमा आई सकेको छ । हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडी को लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्रि चेक जाँच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्रि बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ । सेन्टरमा सबै प्राविधिकहरू इभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न् । सर्भिस सेन्टरमा ईभि चार्जिङ पोइन्ट, यथेष्ठ पार्किंग सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिसबेहरू जडान गरिएको छ । ग्राहकको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै लक्ष्मी न्यू इनर्जी सर्भिसले आफ्ना ग्राहकहरूको सहजता र सहुलियतताको लागि सोस्टेसन सञ्चालनमा ल्याएको हो ।
खाद्यले दशैंलक्षित सुपथ मूल्य पसल असोजको पहिलो सातादेखि सञ्चालन गर्ने
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोजको पहिलो सातादेखि दशैंलक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले देशभर ४२ जिल्लाका ६० स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ । काठमाडौं उपत्यकामा भने ४ स्थानमा यस प्रकारको पसल सञ्चालन हुने कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदिले बताइन् । उनका अनुसार काठमाडौंको थापाथली र रामशाह पथ, ललितपुरको नख्खु र भक्तपुरमा यस पसल सञ्चालन हुनेछ । पसलमा सामान्य मूल्यभन्दा ५ देखि १० रुपैयाँसम्म सस्तो सूचना अधिकारी सुवेदीले बताइन् । खाद्यले हरेक वर्ष चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । गत वर्ष पनि ४९ स्थानमा पसल सञ्चालन गरेको थियो । उपभोक्ताको हितलाई मध्यनजर गरेर यसवर्ष गतवर्षभन्दा ११ वटा स्थानमा पसल थप गरिएको उनले बताइन् । यसवर्ष स्थानीय तहसँग पनि समन्वयन गर्ने सम्भावना रहेको भएकाले ६० भन्दा धेरै स्थानमा पसल सञ्चालन हुनसक्ने उनले उल्लेख गरिन् । स्थानीय सरकारले इच्छा देखाएर खाद्यको सामग्री बिक्री गर्न चाहेमा खाद्यले समन्वयन गर्ने सूचना अधिकारी सुवेदीले स्पष्ट पारिन् । सामग्रीहरूको मूल्य मन्त्रालयले तय गर्ने भएकाले कुन सामग्रीको मूल्य कति पर्छ भनेर अहिले नै भन्न नसकिने उनले बताइन् ।
एफएनसीसीआई र सिमिटको सहकार्यमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ । प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको समारोहमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता रह्यो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रामनाथ अधिकारीले मुलुकको अतिनै महत्वपूर्ण विषय लघु साना तथा मझौला कृषि उद्यमका अवसर र चुनौती विषयक कार्यशाला गोष्ठी आयोजनाको लागि आभारी रहेको बताए । सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१र२०९१ मनाउन लागेको जानकारी गराउदै मन्त्री अधिकारीले कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भएको जानकारी गराए । महासंघ कृषि उद्यम केन्द्रकोद्वारा आयोजित गोष्ठीको निष्कर्ष कृषि दशकको लागि मार्ग दर्शक बन्न सकोस भन्ने कामना मन्त्री अधिकारीले व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरूले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याहरूको निराकरण गर्न सबैपक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताए । महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीहरूलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरूकालागि, स्थापना काल देखि नै कार्य गर्दै आईरहेको बताए । युएसएआइडीको सहयोगमा सीवाइएमएमवाइटीद्धारा सञ्चालित नेपाल सेड एण्ड फटीलाइजर प्रोजेक्टले लघु, साना तथा मझौला उद्यमहरूलाई सहयोग कार्यक्रम सञ्चालनका लागि एफएनसीसीआइ र एसीइसँग सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरे । एनएसएफ परियोजनाले नेपालको कृषि रुपान्तरणका लागि महत्वपूर्ण योगदान गरिरहेको, यसले मकै लगायतका बालीहरुलाई गर्ने प्रवद्धनबाट देशमा वर्षेनी बढ्दै गएको मकैको मागलाई सम्बोधन गर्न योगदान पुर्याइरहेकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गर्दै यस्तोमा सीआइएमएमवाइटीले नेपालमा मकैको बिऊ सुधारका साथै उत्पादन र उत्पादकत्व वृद्धिकाागि कार्य गर्ने गरी एनएसएएफ परियोजना सञ्चालन गर्नु सुखद रहेकोले यस्ता परियोजनाहरू निरन्तर सञ्चालित हुनपर्ने बताए । नीजि क्षेत्रको प्रतिनीधको रुपमा आवश्यक पर्ने सहयोगका लागि सदैव तत्पर रहको बताउँदै अध्यक्ष ढकालले व्यवसाय मैत्री वातावरण श्रृजनाकालागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने आजको आवश्यकता लाई नीजि क्षेत्रको तर्फबाट सहकार्यकालागि आह्वान समेत गरे । कृषि व्यवसाय मात्र होईन सबै क्षेत्रमा नीजि उद्यमीहरु व्यवसायिक वातावरणको अपेक्षा गर्दछन् । त्यसकालागि सबै पक्ष मिलेर काम गर्न अनुरोध सहित कार्यशालाले यसै दिशातीर निश्कर्ष निकाल्न सफल हुने विश्वास लिँदै निमन्त्रणालाई स्विकार गरी यस उदघाटन सत्रमा सहभागि लिन सबैलाई आयोजकको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दै उद्घाटन सत्रको समापन गरे । कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कृषि उद्यम केन्द्रका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डिबी बस्नेतले एईसीले गरेको कामहरुको बारेमा उल्लेख गरे । २०४८ सालमा नेपाल उद्योग वाणिज्य महासँघको कृषिसँग सम्बन्धित एकाईको रुपमा स्थापना भएको कृषि उद्यम केन्द्र स्थापनामा नेपालस्थित अमेरिकन सहयोग नियोग यूएसएआडीको ठूलो भूमिका रहेको बताए ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगदरहित बीमा सम्बन्धी सम्झौता
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगदरहित बीमा सम्बन्धी सम्झौता भएको छ । महिन्द्रा फोर व्हीलरको विराटनगर, ईटहरी, धरानका आधिकारीक बिक्रेता रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, ईष्टन अटो प्वाईन्टले नगद रहित दावीका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) सँग सम्झौता गरेको छ । सो सम्बन्धी आधिकारीक बिक्रेताकोतर्फबाट ईष्टन अटो प्वाईन्टका सञ्चालक किरण भट्टराई, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतापश्चात महिन्द्राका ग्राहकहरुले सवारी साधन मर्मत सम्भार वा बीमा दावी गर्दा छिटो, सहज, पहुचयोग्य र झन्झटमुत्त सेवाहरु पाउने छन् । उक्त अवसरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख नारायण गौतम तथा प्रतिनिधीहरु, इस्टर्न मोटर्सका सञ्चालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधीहरू, स्थानिय बैंकका प्रतिनिधीहरू, बीमा सर्भेयरहरू लगाएतको उपस्थिती रहेको थियो ।