विकासन्युज

वीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार मधेश प्रदेशको वीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पत्रकारहरूलाई नागरिकको हितमा बीमाका बारेमा बोल्न र सत्यतथ्य लेख्न आग्रह गरे। अध्यक्ष सिलवालले केही बीमालेखमा समस्या रहेको बाहेक बीमा कम्पनीहरूले लाखौं दाबी भुक्तानी दिएको उल्लेख गर्दै भने, ‘बीमा गर्दा बीमालेखका प्रावधान र शर्तहरू राम्रोसँग पढ्नुपर्छ, आफ्नो हितमा छ कि छैन बुझ्नुपर्छ । झुठो बोलेर तथा सत्यतथ्य लुकाएर गरेको बीमाको दाबी लाग्दैन भन्ने थाहा पाउनु पर्छ । विदेशी बीमा कम्पनीसँग बीमा गर्नु गैरकानुनी हो, गर्न मिल्दैन ।’ सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिएकाले स्थानीय सरकारले त्यसमा अनुदान थप्नुभन्दा विपन्न तथा गरिव बर्गको बीमा गर्नु उपयुक्त हुने र त्यसबाट उनीहरूको कल्याण हुने उनकाे भनाइ छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विद्यमान अवस्था, बीमाको विकास एवम् विस्तारमा पत्रकारहरूको भूमिकालगायत बीमासम्बन्धी समग्र विषयमा प्रस्तुति गरेका थिए । कार्यक्रममा सहभागी पत्रकारहरूले बीमा कम्पनीहरूले देशको भूगोलअनुसार बीमालेख ल्याउनुपर्ने, मधेश प्रदेशमा न्यून रहेको बीमाको पहुँच बढाउन जोड दिनुपर्ने, सीमापारिका बीमा कम्पनीहरूमा बीमा हुन नदिन विशेष ध्यान दिनुपर्ने, बीमा कम्पनीहरूले सञ्चार माध्यममार्फत बीमा सचेतना अभिवृद्धिका लागि बजेट छुट्याउनुपर्ने लगायतका धारणा राखेका थिए । साथै उनीहरूले बीमा गर्न सजिलो तर दाबी भुक्तानी पाउन बीमतिले निकै दुःख पाउने गरेको, कोरोना बीमाको बाँकी दाबी भुक्तानी अझै नभएको र बीमाप्रतिको आकर्षण बढाउन सचेता अभिवृद्धि आवश्यक भएको विचार व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष तथा पदाधिकारी, विभिन्न सञ्चारमाध्यमका पत्रकार र बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।

सेञ्चुरी फुडको दशैं बहार: थकाली लङ ग्रेन बासमती चामल किन्दा कार, मोटरसाइकल र अन्य उपहार

काठमाडौं । सेञ्चुरी फुडले दशैं-तिहारकाे उपलक्ष्यमा नयाँ याेजना सार्वजनिक गरेकाे छ । उक्त याेजनाअनुसार सेञ्चुरीले थकाली लङ ग्रेन बासमती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरूले हात खाली नजानेगरी उपहार पाउने छन्। भाग्यशाली ग्राहकले चामलको बोरा खरिदमा मोटरसाइकलदेखि कारसम्म पनि पाउन सक्ने सेञ्चुरीले जनाएकाे छ । कम्पनीको अनुसार हरेक बोरामा आकर्षक उपहार राखिएका छन् । ग्राहकले उपहारकाे रूपमा माइक्रोवेभ ओभन, वासिङ मेशिन, फ्रिज, स्मार्टफोन, स्मार्टवाचलगायतका विभिन्न प्रकारका उपहार पाउन सक्नेछन्। सेञ्चुरीले डिलर्स मिटमार्फत उक्त योजनाको घोषणा गरेको हो। आफ्ना डिलरहरूको दक्षताअनुसार थाइल्याण्ड, बाली तथा सिंगापुर भ्रमणलगायत एशियाकै लक्जरी क्रुजको आनन्द लिने व्यवस्था मिलाएको पनि कम्पनीले जनाएको छ। उक्त भ्रमण अवधिभरको खाने-बस्ने सम्पूर्ण खर्च पनि कम्पनीले नै बेहाेर्नेछ ।

भारतबाट ५ महिनामा ५ अर्ब डलरको आईफोन निर्यात, वार्षिक ५ करोड बढी उत्पादन लक्ष्य

काठमाडौं । मोबाइल फोन उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी एप्पलले सोमबार विश्वव्यापी रूपमा आफ्नो नयाँ मोबाइल फोन आईफोन-१६ लन्च गरेको छ । आईफोन- १६ सिरिज भारतका साथै विश्वभरका देशमा एकैसाथ लन्च गरिएको छ । अहिले भारतमा बनेको आइफोनको निर्यात ५० प्रतिशतले बढेको बताइएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भारतले ५ अर्ब डलरको आईफोन निर्यात गरेको छ । समाचार एजेन्सी (आईएएनएस) को रिपोर्टले उत्पादन-लिङ्क्ड इन्सेन्टिभ (पीएलआई) योजनाको सहयोगमा भारतबाट विशाल टेक कम्पनी एप्पलको आईफोन निर्यात तीव्र गतिमा बढिरहेको देखाएको छ । यो चालु आर्थिक वर्षको अप्रिलदेखि भदौसम्मको अवधिमा बढेर ५ अर्ब डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा ५० प्रतिशतले बढेको औद्योगिक तथ्यांकले देखाएको छ । उद्योग विश्लेषकहरूले एप्पलको आईफोन प्रो र आईफोन प्रो म्याक्स मोडेलको उत्पादन भारतमा सुरु हुन लागेको बताएका छन् । जसका कारण भविष्यमा आईफोन निर्यातको मूल्य अझै बढ्ने सम्भावना छ । नयाँ आईफोन सिरिज सेप्टेम्बर २० देखि भारतमा उपलब्ध हुनेछ । केन्द्रीय रेलवे र इलेक्ट्रोनिक्स तथा आईटीमन्त्री अश्विनी वैष्णवले आईफोन- १६ भारतीय उत्पादन कारखानामा निर्माण भइरहेको बताए । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक इन इन्डिया’ पहलअन्तर्गत विश्वका लागि प्रतिष्ठित उत्पादनहरू भारतमा बनिरहेको बताएका छन् । प्रत्येक महिना एक अर्ब डलरको आईफोन निर्यात अहिले भारतबाट हरेक महिना कम्तीमा एक अर्ब डलर बराबरको आइफोन निर्यात भइरहेको छ । यसको मुख्य कारण भारतको पीएलआई योजनालाई मानिएको छ । २०२३/२४ मा १२.१ अर्ब डलरको आईफोन निर्यात भएको थियो । यस्तै, २०२२/२३ मा ६.२७ अर्ब डलरको आईफोन निर्यात भएको थियो । वित्तीय वर्ष २०२३/२४ मा एप्पलको भारत सञ्चालनको मूल्य २३.५ अर्ब डलर थियो । सन् २०२४ मा भारतमा एप्पलको राजस्व वार्षिक आधारमा १८ प्रतिशतले बढ्न सक्छ । नयाँ आईफोन सार्वजनिक भएसँगै कम्पनीको देशमा स्थिति पहिलेभन्दा बलियो हुनेछ । गत वर्ष एप्पलले भारतमा करिब एक करोड आईफोन बिक्री गरेको थियो । यो वर्ष यो बढेर १.३ करोड पुग्ने अनुमान छ । एप्पलले भारतमा हरेक वर्ष ५ करोडभन्दा बढी आईफोन उत्पादन गर्ने लक्ष्य राखेको छ । एजेन्सी

यातायात व्यवसायी सिटौला भन्छन्- स्पष्ट नीति नहुँदा यातायातमा अस्वस्थ प्रतिस्पर्धा बढ्यो

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले यातायातसम्बन्धि प्रष्ट नीती नल्याउँदा यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । बुधबार पोखरामा पोखरा यातायात प्रालिको छैटौं वार्षिक साधारणसभामा उपाध्यक्ष सिटौलाले सरकारले कुनै अध्ययन र अनुसन्धानबिना यातायात समितिहरूलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भएको बताएका हुन् । सरकारले सिण्डिकेटको नाममा अनुसन्धानबिना कम्पनीमा रुपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धराशायी भएको उल्लेख गर्दै उनले यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावकविहीन अवस्थामा रहेको बताए । सवारी बीमाको विषयमा पनि स्पष्ट नीति नभएकाले व्यवसायीहरू मर्कामा परेको उनको भनाइ छ । ‘राज्यले कानूनमा भएका व्यवस्थालाई व्यवहारमा लागू गरेको छैन, जसकारण यातायात क्षेत्र अस्तव्यस्त बनेको छ,’ उनले भने, ‘सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाएर अनुसन्धानबिना कम्पनीमा रूपान्तरण गर्ने निर्णय गर्‍याे, त्यो निर्णयले यातायात क्षेत्र क्षतविक्षत भएको छ ।’ उपाध्यक्ष सिटाैलाका अनुसार यातायात क्षेत्र कम्पनीमा गएपछि विधि र कार्यविधि बनेको छैन । अहिलेसम्म सरकारले कुनै कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खडा भएको उनको भनाइ छ । स्पष्ट नीति नभएकाले यातायात क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा बढेको उनले बताए । उपाध्यक्ष सिटाैलाले सरकारले कम्पनीको रूपमा कुनै पनि कार्यविधि नबनाएकाले नागरिकताको आधारमा कम्पनी खोल्ने प्रवृत्ति बढ्दा अस्वस्थ प्रतिष्पर्धा बढेको आरोप पनि लगाए । उनले सरकारसँग कुन सवारीसाधन कहाँ जाने भन्ने कुनै विधि पद्धति नभएको दाबी गर्दै विधि र पद्धति नभएका कारण पनि सडक दुर्घटना बढिरहेको पनि बताएका थिए ।

असोज १३ गतेदेखि सुकिला नोट बाँड्दै राष्ट्र बैंक, बैंकमा पनि पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले दशैंका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ । दसैंमा माग हुने साना दरका नोट सटहीको लागि केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरूबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । साथै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसपटक राष्ट्र बैंकले दशैंका लागि भनेर नयाँ नोट भने वितरण गर्ने भएको हो ।

निरन्तर ओरालो लाग्दै नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ । दिनभरि उतारचढाव हुँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.७३ अंक घटेर २ हजार ६१०.२१ अंकमा बन्द भएको छ । हिजो मंगलबार नेप्से परिसूचक १३.०९ अंक घटेर २ हजार ६३२.९४ अंकमा बन्द भएको थियो । आज दिनभरिमा ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ८७ हजार ३६ पटक खरिद-बिक्री हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो मंगलबार ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार कित्ता सेयर १ लाख ११ हजार पटक खरिद-बिक्री हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । फाइनान्स समूहको ०.४३ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०२ प्रतिशत र व्यापार समूहको ०.१६ प्रतिशत बढेको छ । बैंकिङ समूहको ०.९४ प्रतिशत, विकास बैंक समूहको १.०.२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, जलविद्युत समूहको ०.९२ प्रतिशत, लगानी समूहको १.१९ प्रतिशत, जीवन बीमा समूहको १.८५ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहको १.०१ प्रतिशत, लघुवित्त समूहको ०.५४ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४३ प्रतिशत, अन्य समूहको ०.४७ प्रतिशत घटेको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयर १० प्रतिशत अर्थात् २१८ रुपैयाँ बढेर २ हजार ४०३.५० रुपैयाँ पुगेको छ । यस्तै थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.४८ प्रतिशत, समाज लघुवित्तको ६.८१ प्रतिशत, कालिका लघुवित्तको ६.६६ प्रतिशत र सीईडीबी हाइड्रोपावरको ५.८२ प्रतिशत सेयर मूल्य बढेको छ । नेप्सेका अनुसार आज सीईडीबी हाइड्रो सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ हजार २५४ रुपैयाँका दरले ३४ करोड ७३ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनएलजी इन्स्योरेन्सको २१ करोड १० लाख रुपैयाँ, ग्रीन लाइफ हाइड्रोको १९ करोड २७ लाख रुपैयाँ, समृद्धि फाइनान्सको १८ करोड १६ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमनेन्ट कम्पनी (एचआईडीसीएल) को संस्थापक सेयर १५ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

योगेश भट्टराईले बोलेको ‘हिंसा’ भन्ने शब्द असंसदीय ठहर भएन, अभिलेखबाट हटाउनु नपर्ने

सभामुख देवराज घिमिरे । फाइल तस्बिर । तस्बिर: रत्न श्रेष्ठ/रासस काठमाडौं । एमाले सांसद योगेशकुमार भट्टराईले गत भाद्र १२ गते प्रतिनिधिसभा बैठकमा बोलेको हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको भन्दै संसदको अभिलेखबाट नहट्ने भएको छ । बुधवारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले भाद्र १२ गते बोलेको हिंसा भन्ने शब्द अंसदीय नभएको ठहर भएको बताएका हुन् । उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताए। सभामुख घिमिरेले सो शब्द संसदको अभिलेखबाट हटाउनु नपर्ने पनि बताए । उनले पछिल्लो समय प्रतिकात्मक शब्द प्रयोग गर्दापनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको भन्दै सांसदहरूलाई संसदमा प्रस्तुत हुँदा शब्द चयनमा सचेत रहन रुलिङसमेत गरे ।

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक संजाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार पोष्टम एप, पोष्टम इन्फोसिसद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरूको सृजना गर्न सक्छन् र ती सृजना गरिएका प्रस्तुतिहरूलाई विभिन्न माध्यम मार्फत मोनिटाइज गर्न सक्नेछन् । यो एप मार्फत सृजनाकर्ताहरूले विभिन्न विधामा जस्तै यात्रा, मनोरञ्जन, सेवा, मोटर वाहन, जानकारीमूलक , रचनात्मक र अन्य चुनौतीहरूमा केन्द्रित रहेर कन्टेन्ट निर्माण गर्न सक्नेछन् । यसरी सामाग्री बनाएर आय सृजना गर्ने पोष्टमका प्रयोगकर्तालाई प्रभावकारी वित्तीय पहुँच सिटिजन्स बैंकले दिलाउँनेछ । प्रयोगकर्ताहरुले आफ्नो कमाईलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याएर सुरक्षित राख्न सक्नेछन् । यस सहकार्यले सृजनाकर्ताहरूलाई उनीहरूको आम्दानी सिधै उनीहरूको सिटिजन्स बैंक खातामा जम्मा गरी झिक्न अनुमति दिएर वित्तीय प्रक्रियालाई सरलीकृत र सुव्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।