मुक्तिनाथ विकास बैंकका ग्राहकले बुद्ध एयरको टिकट किन्दा छुट पाउने
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बुद्ध एयरको टिकट किन्दा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरूलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको छ । एक कार्यक्रमबीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ विभाग प्रमुख विनय रत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ सेल्स्का निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता बमोजिम अगामी दिनमा मुक्तिनाथ विकास र्बैकको मोबाईल बैंकिङ तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरुले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने छन् । बुद्ध एयरका मार्केटिङ सेल्स्का निर्देशक रुपेश जोशीले अब केहि दिन भित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत सो सुविधा लिन सक्ने व्यवस्था मिलाउने जानकारी दिए ।
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
काठमाडौं । नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा बिहीबार काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए । उनले भने, ‘त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ ।’ यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताए । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत दक्षिणकालीमा तरकारीखेती गरिएको थियो । त्यहाँका किसानले उत्पादन गरेका तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानलाई प्रोत्साहन हुने विश्वास लिइएको छ । तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानलाई विशेष तालिमका साथै आवश्यक कृषि सामग्रीसमेत उपलब्ध गराएको थियो । कतारमा नेपाली ताजा तरकारी निर्यात समारोहमा चीनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालको कृषि विकासमा महत्वपूर्ण पहल भएको बताइएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टको कृषि प्रवद्र्धन कार्यक्रमद्वारा समर्थित किसानले खेती गरेका विभिन्न बाली समावेश भएका जनाइएको छ । बिहीबार कतार पठाइएका तरकारीमा रातो चेरी मिर्च खुर्सानी (अकबरे), फ्ल्याट बीन्स र करेला लगायतका रहेका छन् । दक्षिणकाली नगरपालिकाका स्थानीय किसानले खेती गरेका उत्पादनले ताजापन र गुणस्तर सुनिश्चित गर्दै कतारको बजारमा मनपर्ने नेपालका लागि कतारी राजदूत अन्सारीले बताए । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सिएफआरडि) नेपालको कार्यालय चीनबाट सफल ग्रामीण विकास अभ्यासलाई नेपाली समुदायमा हस्तान्तरण गर्न अग्रपङ्क्तिमा रहेको छ । नेपाली समुदायभित्र जीवनस्तर उकास्ने मुख्य लक्ष्यका साथ सिएफआरडिले सुरुमा प्लम्बिङ र इलेक्ट्रीशियनको व्यावसायिक तालिममार्फत सीप विकासमा ध्यान केन्द्रित गरेको जनाइएको थियो । यसैगरी २०२३ मा उक्त फाउन्डेसनले काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकामा बेमौसमी तरकारी उत्पादनमा विशेष तालिम प्रदान गरेर दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग गरेको बिहीबारको कार्यक्रममा जानकारी दिइएको थियो । रासस
कोइका नेपाल कार्यालयद्वारा ‘फोटो प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना
काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपाल कार्यालयले कोइका आईसीटी सेन्टर, इन्जिनियरिङ इन्स्टिच्युट (आईओई) पुल्चोक क्याम्पसमा ‘२०२४ कोइका नेपाल कार्यालय फोटो प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गरेको छ । सन् १९७४ मा गणतन्त्र नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको उपलक्ष्यमा कोइकाले यस कार्यक्रमको आयोजना गरेको हाे । यो कार्यक्रम दुई राष्ट्रबीचको गहिरो सम्बन्धलाई उजागर गर्न आयोजना गरिएको कोइकाले जनाएकाे छ । दुई दिनसम्म चलेको कार्यक्रममा ‘नेपालमा समृद्धि, सुख र मानवता’ भन्ने नारासहित नेपालमा कोइकाको विकास सहयोगमा केन्द्रित आकर्षक गतिविधि र प्रदर्शनीहरू राखिएको थियो । प्रदर्शनीमा कोरियाका केही सांस्कृतिक पक्षहरू जस्तै खाना, परम्परागत खेलहरू, क्यालिग्राफी र के–पप राखिएको थियो । उद्घाटन कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत ताए–योङ पार्क, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदी, संयुक्त राष्ट्रसंघीय निकाय तथा कोरियाली संघका प्रतिनिधि, विभिन्न मन्त्रालयका उच्चस्तरीय सरकारी अधिकारी, कोइका साझेदारहरू उपस्थित थिए । कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर माेह्युन कङले कोइकाको मिसनलाई अगाडि बढाउनमा महत्त्वपूर्ण सहयोग गरेकोमा नेपाल सरकार र सबै साझेदारहरूप्रति आभार व्यक्त गरे । उनले प्रदर्शनी तस्बिरको प्रदर्शनी मात्र नभई साझा विकास यात्रा, समृद्धि र मानवताको साझा आकांक्षाको झल्को रहेको बताए । यस्तै, परराष्ट्र मन्त्रालय, उत्तर पूर्व एसिया डिभिजनका उपसचिव मणिरत्न शर्माले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन सांस्कृतिक आदानप्रदानको महत्त्वमा जोड दिँदै नेपाललाई कोरिया सरकारले गरेको समग्र सहयोग र समर्थनलाई प्रकाश पारे । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत ताए–योङ पार्कले आफ्नो मन्तव्यमा पारस्परिक सहयोग कार्यक्रमले कोरिया र नेपालबीचको घनिष्ठ सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेमा जोड दिए । राजदूत पार्कले कोइकामार्फत नेपाललाई विशेषगरी स्वास्थ्य, शिक्षा, कृषि र सूचना प्रविधि क्षेत्रमा निरन्तर विकास सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (मोफागा) का सचिव भरतमणि सुवेदीले नेपाललाई वैदेशिक रोजगारी, शिक्षा र जनस्तरको आदानप्रदान जस्ता विभिन्न विकास क्षेत्रमा कूटनीतिक माध्यमबाट निरन्तर सहयोग गरेकोमा कोइका र कोरियाली सरकारलाई धन्यवाद ज्ञापन गरे । उनले विशेषगरी अर्थतन्त्र र लगानीका क्षेत्रमा निरन्तर सहयोगको आशा व्यक्त गर्दै द्विपक्षीय रोजगारी सहयोग सुचारु रूपमा अगाडि बढिरहेको उल्लेख गरे। कार्यक्रममा जनता, शान्ति, समृद्धि र साझेदारीको विषयवस्तुमा विकास सहयोगका तस्बिरहरू प्रदर्शन गरिएको थियो जसमा कोइकाले वर्षौंदेखि निर्माण गरेका भवनहरूको प्रदर्शनी गरिएको थियो । त्यस्तै, के–कल्चर बुथ स्थापना गरिएको थियो, जसले आगन्तुकहरूलाई क्यालिग्राफी, परम्परागत कोरियाली कपडा र परम्परागत कोरियाली खेलहरू जस्ता गतिविधिमार्फत प्रामाणिक कोरियाली संस्कृतिको अनुभव गराएको थियो । यस्तै, कार्यक्रममा आगन्तुकहरूले विभिन्न प्रकारका कोरियाली परिकारहरूको आनन्द पनि लिएका थिए । कार्यक्रमको अर्को महत्त्वपूर्ण आकर्षण कोइका फोटो प्रतियोगिताका विजेताहरूको घोषणा थियो । कोइका नेपाल कार्यालयले जुलाई २२, २०२४ मा विकास सहयोगमा केन्द्रित रहेको ‘नेपालमा समृद्धि, सुख र मानवता’ भन्ने नाराका साथ फोटो प्रतियोगिताको घोषणा गरेको थियो । कार्यक्रममा तीन उत्कृष्ट फोटोहरूलाई पुरस्कृत गरिएको थियो। भलम आधारभूत विद्यालय, कास्कीका कोइका स्वयंसेवक अशोक तिवारीले ग्रान्ड पुरस्कार जिते । कोरियाली गैरसरकारी संस्था डोरुन नेपालकी परियोजना प्रबन्धक जिन ही लीले रजत र कोरिया नेपाल फ्रेन्डसिप नगरपालिका अस्पतालकी सरिता श्रेष्ठले कास्य पुरस्कार हात पारे । याे पनि पढ्नूहाेस्: कोइकाद्वारा बर्दिया जिल्लाकाे समावेशी ग्रामीण विकासका लागि १ अर्ब बढीको सहयोग
मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई
काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२४’ को ताज सम्पदा घिमिरेले जितेकी छिन् । यो विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको पाचौं नेपाली संस्करण हो । २२ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम पनि गर्दै आएकी सम्पदा मोडलिङ पनि गर्दै आएकी छन्। ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनी पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्छिन् । उनले आगामी नोभेम्बरमा मेक्सिकोमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । हिजो साँझ ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करेन मुर्रे र चौथो रनर अप सुजल बम भए । प्रतियोगीतालाई नेसनल कोरियोग्राफर दिक्पाल कार्कीले कोरियोग्राफी गरेका थियो भने निर्णायक मण्डलमा गोल्डस्टारका कार्यकारी निर्देशक विदुषी राणा, शिवम सिमेन्टका अध्यक्ष गौरव गोयल र समिक्षा श्रद्धा सांघाइ, पुर्व मिस नेपाल इशानी श्रेष्ठ, पूर्व मिस युनिभर्स सोफिया भुजेल, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेतृ डिना उपाध्यायको सहभागिता रहेको थियो । कार्यक्रममा अरु विभिन्न उपशीर्षकमा विजेता पनि छानिएको थियो । करेन मुर्रेले हिल्टन मिस एलिगेन्स, स्मृति सिंहले टिभिएस् मिस स्मार्ट, समृद्धि केसीले वाउ मिस फ्री एण्ड फियरलेस, श्रेयङ्का थापाले ग्लोबल आएमई मिस इको फ्रेन्ड्ली, करेन मुर्रेले डिकस्मो मिस द मोस्ट ब्युटिफुल स्किन त्यस्तै गरी स्मृति सिंहले एक्स एज मिस फोटोजेनिक, अस्मि ढकालले मिस मल्टीमिडिया र रेनाता कट्टेलले मिस फ्रेन्ड्ली उपाधि जित्न सफल भएका छन् ।
निरन्तर ओरालो लागेको बजार ६ दिनपछि बढ्यो, ५ कम्पनीको सेयरमा सर्किट
काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजार साताको अन्तिम दिन भने उच्च अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.९९ प्रतिशत अर्थात् ७८.१७ अंक बढेर २ हजार ६८८.३८ अंकमा बन्द भएको छ । यसअघि हिजो नेप्से परिसूचक २७.७३ अंक घटेर २ हजार ६१०.२१ अंकमा बन्द भएको थियो । निरन्तर ६ दिन ओरालो लागेको नेप्से सातौं दिनमा भने भारि अंकले बढेको हो । आज दिनभरिमा ३१८ कम्पनीको १ लाख ९४ हजार ३३ लाख १५४ कित्ता सेयर १० लाख ३ हजार ४६३ पटक खरिद–बिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ८७ हजार ३६ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबार अधिकांश कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज २२९ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ समूह २.६६ प्रतिशत, विकास बैंक समूह २.७० प्रतिशत, फाइनान्स समूह ३.४० प्रतिशत, होटल तथा पर्यटन समूह २.५० प्रतिशत, जलविद्युत समूह ४.२४ प्रतिशत, लगानी समूह ३.७२ प्रतिशत, जीवन बीमा समूह ३.४६ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह २.१४ प्रतिशत, लघुवित्त समूह १.५८ प्रतिशत, निर्जीवन बीमा समूह २.०१ प्रतिशत, अन्य समूह ३.८२ प्रतिशत र व्यापार समूहको ०.६३ प्रतिशत बढेको छ । तर, म्युचुअल फण्ड समूह ०.०९ प्रतिशत घटेको छ । आज विभिन्न पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रनी भेन्चर्स, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट र एशियन हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेको हो । तर, थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशत नकारात्म सर्किट लागेको छ । नेप्सेका अनुसार आज सीईडीबी हाइड्रो सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४७ करोड ६५ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २४ करोड १२ लाख रुपैयाँ, अपि पावरको १८ करोड ८२ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमनेन्ट कम्पनी (एचआईडीसीएलपी) को संस्थापक सेयर १७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
एक महिना कोटिहोम लगाउँदा पौने २१ करोड रुपैयाँ खर्च, ७२ लाख घाटा
काठमाडौं । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको आयोजकले बताएको छ । आयोजकले एक महिनासम्म पशुपतिमा लागेको महायज्ञको हिसाबकिताब सार्वजनिक गर्दै घाटा भएको बताएको हो । आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको बताएका छन् । त्यस्तै, कोटिहोम सञ्चालन गर्नको लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले जानकारी दिए । यसरी संकलन भएको रकम र खर्चलाई हेर्दा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमूर्तिले दाबी गरेका छन् । महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको उनले बताए । ‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि एक महिनाभर कोटिहोम सञ्चालन भएको थियो । कोटिहोम सकिएको करिब एक महिनापछि हिसाबकिताब सार्वजनिक गर्दै घाटा भएको आयोजकले जनाएको हो ।
स्वास्थ्यकर्मीहरूको मागबमोजिम समायोजन संशाेधन हुने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । यसअनुसार फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई उनीहरूकै मागबमोजिम समायोजन संशाेधन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीहरूको समस्या समाधानका लागि चालु आर्थिक वर्षभित्र एक पटकका लागि त्यस्तो संशाेधन गर्नेगरी कर्मचारी व्यवस्थापन कार्यविधि तयार गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यससम्बन्धी प्रस्ताव लगेकामा मन्त्रिपरिषदले पारित गरेको हो । मन्त्री पौडेलले पर्याप्त स्वास्थ्यकर्मी दरबन्दी नभएको अवस्थामा समायोजनका क्रममा जिम्मेवारी पाउन नसकेका चिकित्सकलाई आवश्यक नीतिगत व्यवस्था गरेर कार्यक्षेत्रमा खटाउने र समायोजन समस्या समाधान गर्ने घोषणा गरेका थिए । उनले गत साउन २७ गते योजना तथा प्राथमिकता सार्वजनिक गर्ने बेला गरेको घोषणाअनुरूप समायोजनका कारण समस्यामा परेका स्वास्थ्यकर्मीहरूको समस्या समाधान हुने देखिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । यसअघि वैकल्पिक व्यवस्था नहुँदा फाजिलमा रहेका एक हजार बढी कर्मचारीले समस्या भोग्दै आएका थिए । प्रस्ताव स्वीकृत भए पछि अब समायोजनका क्रममा रहेका तर पत्राचार हुन बाँकी कर्मचारीहरूका हकमा मन्त्रालयले समायोजनपत्र जारी गर्न सिफारिस समेत गर्ने भएको छ । मन्त्रालयले अब संघ पुल र मेडिकल बोर्डमा सिफारिसमा संघ पुलमा समायोजन भएका स्वास्थ्यकमीहरूलाई चालु आर्थिक वर्षभित्रै दरबन्दी मिलान गर्न सिफारिस गर्ने भएको छ । अब मन्त्रालयले प्रदेश तथा स्थानीय सेवामा समायोजन भएका स्वास्थ्यकर्मीहरूलाई दोहोरो सहमतिका आधारमा दरबन्दी तथा तलबको सुनिश्चितता हुनेगरी संघबाट प्रदेश तथा स्थानीय तह र एक प्रदेशबाट अर्को प्रदेशमा र एक प्रदेशको स्थानीय तहबाट अर्को तहमा काजमा खटाउने भएको छ । मन्त्रालयले स्थानीय तहमा समायोजन भएका तर एमडी एमएस विशेषज्ञता हासिल गरेका चिकित्सकलाई उनीहरू कार्यरत तह वा प्रदेशको सहमतिका आधारमा प्रदेशमा कामकाजमा खटाउन सिफारिस गर्ने भएको छ । मन्त्रालयले स्वीकृत प्रस्तावअनुसार अब प्रदेश तथा स्थानीय तहहरूमा दरबन्दीभन्दा बढी भएका स्वास्थ्यकर्मीहरूका हकमा स्वीकृत दरबन्दीभन्दा बढी नहुने गरी प्रदेशभित्र अन्तर स्थानीय तह समन्वय गरी व्यवस्थापन गर्न प्रदेशमा सिफारिस गर्ने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारी बने पवन रेग्मी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान गरिएकाे छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिको भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हाे । बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।