पद नहेरेकी भाग्यमानी संगीता, विदेशी कम्पनीसँग टक्कर
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल । फाइल तस्बिर । काठमाडौं । ‘एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौंला,’ कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल आफ्नो स्कुले जीवन सम्झिन थालिन् । नेपाल टेलिकमको सुरुआती जागिरे जीवनमा हिम्मतका साथ ५० मिटर अग्लो ट्रान्समिटर चढेर टेलिफोन सेवा दिएकी अर्याल जिम्मेवारीसहितको अग्लो कुर्सीप्रति भने अलि संवेदनशील रहेको बताउँछिन् । अग्लो कुर्सीमा बसेर भूइँसम्मै सेवा पुर्याउनुपर्छ भन्ने उनको मानसपटलमा स्पष्ट छ । त्यसैले उनी भन्छिन्, ‘मैले कहिल्यै पद हेरिनँ, कर्म हेरें । कर्मले डोर्याउँदै यहाँसम्म ल्याइपुर्यायाे ।’ काठमाडौंको पुतलीसडकमा जन्मिएकी अर्यालले डिल्लीबजारस्थित पद्म कन्या विद्याश्रम विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन् । दुई दाजु र दुई दिदीकी कान्छी बहिनी भएकाले सबैले पुलपुलाएर हुर्काएको क्षण उनका लागि सुनौलो समय थियो । बुबा अधिवक्ता हुनुहन्थ्यो भने आमा गृहिणी । तर, लगभग चार दशकअघिको नेपाली समाजमा उनलाई इञ्जिनीयर बन्छु भन्ने सोंच कसरी आयो? उनी यसको सबै श्रेय आफ्ना दुई इञ्जिनीयर दाजुलाई दिन चाहन्छिन् । उनीहरू त्यतिबेला इञ्जिनीयर भइसकेका थिए । स्कुल पढ्दापढ्दै भविष्यमा दाजुहरूको जस्तै पेसा अँगाल्ने रहर पलायो उनमा । छोरीले देखेको सपनामा मलजल लगाउने काम परिवारले पूरा रूपमा निर्वाह गरेकै कारण आफू आज नेृतत्व तहमा पुग्न सफल भएको अर्याल बताउँछिन् । प्रवेशिका परीक्षा पास गरेपछि अर्यालले त्रिचन्द्र कलेजमा विज्ञान संकायको भौतिकशास्त्र विषयमा इन्टरमिडियट गरिन् । उनका अनुसार त्यतिबेला फिजिक्स पढ्ने युवती जम्मा तीन जनामात्रै थिए । तिमीहरूले पढेर के हुन्छ? भन्दै नाक खुम्चाउने समाज थियो । यद्यपि उनले अर्काले के भन्छ भन्ने कुराको पछाडि कहिल्यै लागिनन् र कर्ममै जोड दिइन् । अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बिई गरिन् । त्यतिबेला इञ्जिनीयरिङ पढ्न जाने नेपाली विद्यार्थीमा उनी मात्रै एक महिला थिइन् । ‘उतिबेला छोरीहरू विद्यालय जान त मुस्किल हुन्थ्यो, भारतसम्म जाने कुरा सजिलो थिएन,’ अर्याल भन्छिन्, ‘म भाग्यमानी थिएँ, पढ्न खुलेर पाएँ ।’ भारतबाट अध्ययन गरी फर्किएलगत्तै २०४९ चैत २३ गतेदेखि उनी तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनीयर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरिन् । २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिइन् । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको शिखरबाट तल नियाल्नुपर्दा अर्याललाई उही पहिलो पटक छाउनीमा पोष्टिङ भएको समय फ्ल्यासब्याक हुन्छ । ३२ वर्षअघिको जागिरे जीवन सम्झिँदै उनी भन्छिन्, ‘ट्रान्समिटरमाथि चढ्नुपर्छ भनेर छाउनीमा महिला कर्मचारी जान मान्दा रहेनछन्, मैले आफैले त्यो पोष्टिङ रोजेकी थिएँ ।’ नेपाल टेलिकममा उतिबेला ट्रान्समिसन विभाग, कम्युटर विभाग, स्वीचिङ विभाग थिए । अर्यालका अनुसार छाउनीमा ‘ट्रान्समिसन विभाग’ मा जाँदा कार्यरत हुँदा ट्रान्समिटरमा चढ्नुपर्थ्याे । त्यसबेला ककनी, धुलिखेल, नगरकोटदेखि दोलालघाटसमेत ट्रान्समिटरको काम गर्न पुग्नुपर्थ्याे । पाटनमा ५० मिटर अग्लो टावरमा चढ्ने कर्मचारीमा महिला अर्याल मात्रै थिइन् । त्यसैले अहिले पनि उनलाई चिनजानहरूले ‘टावर चढ्ने महिला’ भन्दै सम्झाउँछन् । ट्रान्समिटर चढेर कर्मचारीको बहादुरी देखाउन मात्रै होइन, अर्यालले मोबाइल एक्पर्टको रूपमा बौद्धिक क्षमतासमेत प्रदर्शन गर्न अब्बल थिइन् । महिलाले के गर्न सक्छन् र? धेरैको मनमा उठेका प्रश्नमाथि अर्यालले व्यवहारबाटै उत्तर दिँदै आएकी छन् । उनलाई लाग्छ, कुनै पनि विज्ञता लैङ्गिकताले मापन गर्न सक्दैन । ‘मैले यो सुरुदेखि नै कर्मबाट सिद्ध गर्दै आएकी छु,’ उनले भनिन् । २०५६ सालदेखि मोबाइल सञ्चालन सुरु भयो । एक वर्षअघिदेखि नै मोबाइल सेवा ल्याउने योजनाबद्ध समूहमा आबद्ध अर्यालले थिङ्कट्याङ्कको समूहमा काम गरिन् । साथै, यससम्बन्धी प्रविधि ल्याउने योजनाकारका रूपमासमेत उनले धेरै समय बिताइन् । सुरुमा ५० हजार लाइनबाट सुरु भएको मोबाइल सेवा अहिले तीन करोडभन्दा बढी विस्तार भएको छ । मोबाइलमा काम गर्ने इञ्जिनीयर पनि कम थिए उतिबेला । अहिले जनशक्तिमासमेत वृद्धि भएको छ । निजीस्तरका टेलिकम विश्वमा अनुभव बटुलेर नेपालमा अभ्यास गरेका थिए । उनीहरू बराबर नेपाल टेलिकमले प्रतिस्पर्धा गर्न योग्य बनाउनु भनेको कर्मचारीको मेहनत नै भएको अर्याल बताउँछिन् । जसमा अर्याल पनि त्यो सङ्घर्षको एउटा योद्धा हुँ भन्न रुचाउँछिन् । २०७० सालअघिसम्म नेपाल टेलिकम हार्डकपी सिस्टममा काम गर्थ्याे । जिल्लाभरिको नक्शा ल्याएर काम गर्दा झन्झटिलो प्रक्रिया हुन्थ्यो । त्यसपछि नेपालभरको नक्सालाई सफ्टवेयरमा राखेर कार्य सुरु गरेको अर्याल सम्झन्छिन् । नेपाल टेलिकमका जे-जति प्रगति भएका छन्, यी सबै कर्मचारीले अनुभव बटुल्दै आफ्नै क्षमता प्रदर्शन गरेर भएको उनी बताउँछिन् । ‘नेपाल टेलिकम सरकारको भए पनि अरू देशको कम्पनीसँग प्रतिस्पर्धा गर्न योग्य बनेको छ,’ उनी भन्छिन्, ‘बाहिरी कुनै खाले प्रशिक्षण नलिई अनुभवकै आधारमा हामी यहाँसम्म आयौं । जुन गर्वको विषय हो ।’ अहिले नेपाल टेलिकमको सेवा तीव्र रूपमा विस्तार भएको अर्यालले बताइन् । ‘अहिले ट्रान्समिटरबाट सातवटै प्रदेशमा अप्टिकल फाइबर पुर्याउन सकेका छौं भने अब गाउँघरमै फाइबर पुर्याउने काममा टेलिकम लागेको छ । माइक्रोवेभ टेक्नोलोजीबाट पनि देशभर सेवा सञ्चालित छ,’ उनले भनिन् । दुर्गम ठाउँमा जहाँ विद्युतकाे सुविधा छैन त्यहाँ सोलारबाट सेवा पुर्याउँदै आएको अर्यालले जानकारी दिइन् । टेलिकमको केन्द्रीय कार्यालयअन्तर्गत विभिन्न विषय र क्षेत्रगत छवटा चिफ अफिसर्स हुन्छन् । उनले चिफ कर्मसियल अफिसरको रूपमा पनि दुई वर्ष काम गरिन् । त्यस पदमा रहँदा नेपाल टेलिकमको व्यापारलाई विस्तार गर्ने मुख्य जिम्मेवारी उनले सम्हालिन् । त्यसपछि चिफ कर्मसियल अफिसरसँगै केही समय मिडिया म्यानेजमेन्टको भूमिका निर्वाह गरिन् । प्याकेज सेवा ग्राहकसमक्ष विस्तार गर्न उनको नेतृत्वले कदम चालेको थियो । अर्याल मिडिया समन्वय गर्नसमेत अब्बल थिइन् । फलस्वरूप एनटिसीले चिफ टेक्निकल अफिसरको रूपमा काम गर्ने जिम्मेवारी दियो । यसैक्रममा तत्काल प्रबन्ध निर्देशकको पद खाली भयो । आइपरेका हरेक जिम्मेवारी सम्हाल्दासम्हाल्दै उनी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त भइन् । तत्काल प्रबन्ध निर्देशकको पद रित्त भएको परिस्थितिलाई पुन: उनले सम्हाल्नुपर्ने भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० असोज १७ को निर्णय (मन्त्रीस्तर) बमोजिम उनले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आइन् । एघार महिनासम्म निमित्त प्रबन्ध निर्देशक भई टेलिकमको सेवा गर्दै आएकी अर्यालले भदौ २२ गते प्रबन्ध निर्देशकमा पदवहाली गरिन् । संस्थाले आवश्यक परेको खण्डमा ट्रान्समिटरसमेत चढ्न सक्ने अर्याल अहिले सबै जिम्मेवारी सम्हाल्न सक्ने काँध बलियो भएको छ । काम गर्नेहरूको लागि चुनौती सहज बन्दै जान्छ भन्ने उनको भोगाइले बुझाएको छ । अन्तर्राष्ट्रियस्तरमै दूरसञ्चारमा विप्रेषण घट्दो छ । इन्टरनेट भाइवर, ह्वाट्स एपजस्ता एपले फोन कल घट्दै गए । नेपाल टेलिकमलाई जनस्तरसम्म सुलभ तरिकाले पुर्याउनु मुख्य सेवा रहेको अर्याल बताउँछिन् । सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य पूरा गर्न एनटिसीले सक्दो प्रयासमा जुटेको उनले सुनाइन् । उनका फाइवर टु द होम १ अर्थात अप्टिकल फाइबरबाट सेवा पुराउनमा एनटिसीले जोड दिएको छ । अर्यालले ९० प्रतिशत कपरको सिस्टम विस्तापित भएर अहिले अप्टिकल फाइबरबाट देशभर सेवा प्रवाह भइरहेको बताइन् । उनी भन्छिन्, ‘हामी इन्टरनेट सेवा गाउँगाउँमा पुर्याउन चाहन्छौं । जसको लागि निरन्तर प्रयत्नरत छौं ।’ परिस्थितिले दिएका जिम्मेवारी कुशलताका साथ निभाउन अर्याल अनुभवी छिन् । कार्यालयको जिम्मेवारी, परिवार सम्हाल्दै उनले पढाइमा पनि निरन्तरता दिइन् । यसै दौरान उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरिन् । संघर्ष गरेरै ट्रान्समिटर र मोबाइल एक्पोर्टको रूपमा आफूलाई अब्बल बनाएकी उनले महिलाले के गर्न सक्छ र ? भन्नेहरूका लागि शब्दले होइन, व्यवहारबाटै उत्तर दिँदै आएकी छन् । उनलाई लाग्छ, कुनै पनि विज्ञता लैङ्गीकताले मापन गर्न सक्दैन । मैले यो सुरु देखि नै कर्मबाटसिद्ध गर्दै आएकी छु ।’ रासस
साल्ट ट्रेडिङ ६२औं वर्षमा प्रवेश, कारोबार र सेवा क्षेत्र अझै बिस्तार गर्ने
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ६२औं वर्षमा प्रवेश गरेको छ । उपभोग्य वस्तु र रासायनिक मललगायतका वस्तुको कारोबार गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशन बिहीबारबाट ६१ वर्ष पुरा गर्दै ६२औं वर्षमा प्रवेश गरेको हो । स्थापना दिवसको अवसरमा कम्पनीले विशेष समारोह आयोजना गरेको थियो । समारोहमा बोल्दै कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले अब कारोबार र सेवा क्षेत्र झनै विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । कर्पोरेशनले आफ्नाे सेवा प्रारम्भ गर्दादेखि नै सुपथ मूल्य, गुणस्तरीयता एवं सर्व सुलभतालाई मूलमन्त्रको रूपमा लिँदै त्यही मूल्य-मान्यताअनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको उनले बताइन् । यही मूल्य-मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रूपमा आम उपभोक्ताको सेवामा सक्रिय रहने प्रतिवद्धता उनकाे छ । राष्ट्रमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा पुऱ्याउने यात्रालाई निरन्तरता दिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठकाे भनाइ छ । उनका अनुसार कर्पोरेशन आफ्नाे सेवाका साथै नेपाल सरकारले समय समयमा सुम्पिएका जिम्मेवारी पुरा गर्नसमेत प्रतिवद्ध हुँदै आएको छ । ‘हामीलाई विश्वास गरी थप दायित्व प्रदान गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौं । यो विश्वासले हामीलाई थप सेवा प्रवाहमा हौसला प्राप्त भएको छ,’ उनी भन्छिन्, ‘कर्पाेरेशनले आम उपभाेक्ताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्याससमेत सामान्य अवस्थामा आफ्नै आउटलेटबाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलोसम्म पुऱ्याएर भए पनि सेवाप्रवाहलाई निरन्तरता दिएको छ ।’ साथै प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले २०८१ सालको दशैं-तिहार, नेपाल संवत तथा छठको पूर्वसन्ध्यामा समस्त उपभोक्ता वर्गका साथै सबैमा शुभकामनासमेत व्यक्त गरेकी छन् । उक्त समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताए । उनले कर्पोरेशनले आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको समेत बताए । प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले खेलेको भूमिका उल्लेखनीय रहेको उनले बताए । उनी भन्छन्, ‘नेपाल सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरून् भन्ने चाहन्छ ।’ मन्त्री रिजालले सरकारले आवश्यकताअनुसार गरेको निर्देशन पालनामा कर्पोरेशनले देखाएको सक्रियतालाई सकारात्मक रूपमा लिएको उल्लेख गरे । त्यस्तै, कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको बताए । कर्पोरेशनले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घर दैलोमा सेवा पुर्याउन थप पहल गर्नुपर्ने श्रेष्ठले बताएका छन् । वार्षिकोत्सवको अवसरमा कर्पोरेशनले उत्कृष्ट सेवा दिने कर्मचारीहरूलाई प्रशंसापत्र र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोरारछोरीहरूलाई छात्रवृत्तिसमेत प्रदान गरेको छ । उक्त समारोहमा बालबालिकाहरूको संरक्षणमा सक्रिय संस्थाहरूलाई बालहितकारी पुरस्कारसमेत प्रदान गरिएको छ ।
सी-चेक गरेर इटालीबाट काठमाडौं फर्कियो नेपाल एयरलाइन्सको वाइडबडी
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि बिहीबार काठमाडौं आइपुगेको छ । गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी–चेक) का लागि इटाली गएको एन एएलवाई कलसाइनको उक्त विमान करिब साढे दुई महिनापछि बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए–३३० (अन्नपूर्ण) विमान बिहीबार बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौं अवतरण गरेको हो । निगमको अर्को वाइडबडी विमान पनि सी-चेकका लागि इटाली गएको छ । निगमले २२ जुन (असार ८) मा इटलीमा मर्मतका लागि पठाएको थियो । निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका ४ एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए । एक वाइडबडी थपिएपछि अब तीन विमानमार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख गरेको छ ।
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउनुपर्छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी रहेको बताएका छन् । सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज उनले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने भन्ने विषयमा स्पष्ट हुन समितिमा अझ बढी छलफल हुनुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने, जाने हो भने कतिसम्म जाने भन्ने कुरामा स्पष्टता भयो भने लेख्ने कुरामा गाह्रो हुन्न’, लेखकले भने, ‘पहिले प्रिन्सिपल सेट हुनु पर्यो, प्रिन्सिपल सेट भए सोहीअनुसार भाषा लख्ने हो, भाषा लेख्ने कुरा कठिनाइ होइन ।’ उनले छलफलका क्रममा निजी क्षेत्रमा जानु हुन्न भन्ने कुरामा आम सहमति देखिएको बताए । ‘अझै एउटा कुरा टुङ्गिन बाँकी रहेको जस्तो के देखियो भने सरकारी पैसा निजीमा गएको छ भने फेरि हेर्नुपर्छ भन्ने पनि विषय छ’, उनले भने, ‘सरकारी पैसा निजीमा गएमा कस्तो गएको हो ? ऋण गएको कि अनुदान गएको अथवा जाने प्रक्रियालाई समात्ने कि ? जुन सरकारी पैसा गएको छ त्यो हकसम्म मात्रै हेर्ने हो कि, यो कुरामा समिति पहिले सिद्धान्तः स्पष्ट होस् ।’ उनले निजीमा प्रवेश गर्दा कति गर्ने भन्ने कुरामा पनि समिति सैद्धान्तिक रुपले स्पष्ट हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई पनि अख्तियार दूरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा ल्याउने प्रावधानमाथि समितिमा सांसदले छलफल सुरु गरेका छन् ।
विमानस्थलमा खादा र माला प्रयोगमा रोक
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफूले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । यात्रुहरूले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्याइरहेकाले उक्त जाँचका क्रममा खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्ध जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, ‘सुरक्षा जाँचका क्रममा यात्रुले लगाएका खादा र माला नलगाउन आज एक सूचना जारी आग्रह गरेका छौँ, अन्य बेला लगाए पनि सुरक्षा जाँचका क्रममा खादा र माला झोलामा राख्नुपर्ने छ ।’ यसैगरी यात्रुले लगाएको खादा र माला विमानस्थलका विभिन्न भागमा अलपत्र छाडी जाने गर्नाले समेत विमानस्थलको सौन्दर्यतामा नकारात्मक असर पुग्ने गरेको महाप्रबन्धक निरौलाको भनाइ छ । खादा र माला आफैसँग लैजानै परे यात्रुले झोलाभित्र राखेर लैजानसक्ने विमानस्थल कार्यालयले जनाएको छ ।
यो हो संसारकै धनी बिरालो, कति छ सम्पत्ति ?
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा रहेको ‘नाला’ नाम गरेको एउटा बिरालो विश्वकै धनी बिरालो हो । उसको कुल सम्पत्ति ९ अर्ब २२ करोड रुपैयाँबराबर छ । नालाले इन्स्टाग्राममा एउटा पोस्टबाट करिब १३ लाख रुपैयाँ कमाउँछ । नालाको कथा एनिमल सेन्टरबाट सुरु भएको हो । नालाकी मालिक वारिसिरी माथाचित्तीफन उर्फ पुकी हुन् । उनले नालालाई लस एन्जलसको एक उद्धार केन्द्रबाट ग्रहण गरेकी थिइन् । पुकीले पहिलो पटक नालालाई देख्नासथ नै मन पराएकी थिइन् । पुकीले इन्स्टाग्राममा नालासँग आफ्ना तस्बिरहरू सेयर गर्न थालिन् । केही समयमै नाला सामाजिक सञ्जालमा चर्चित बन्यो । इन्स्टाग्राममा नालाका ४५ लाखभन्दा बढी फलोअर्स छन् । नालाको कुल सम्पत्ति ८ करोड ४० लाख पाउन्ड छ । यस हिसाबले एक पोस्टको औसत लागत १२ हजार पाउन्ड (लगभग १३ लाख रुपैयाँ) छ । नाला इन्टरनेटमा आफ्नो पोस्टमार्फत ‘कुरा’ गर्ने पहिलो बिरालामध्ये एक भएको पुकीले भर्खरै एउटा टिभी कार्यक्रम ‘दिस मर्निङ’ मा बताएकी थिइन् । यसकै कारण नालाले आफ्नो छुट्टै पहिचान बनाएको हो । मानिसहरूले उसलाई मन पराउन थाले । नालाको लोकप्रियता सामाजिक सञ्जालमा मात्रै सीमित छैन । यो बिरालोको आफ्नै बिरालो फुड ब्रान्ड पनि छ। उसको आफ्नै मर्चेन्डाइज ब्रान्ड पनि लन्च भएको छ । यी सबैबाट राम्रो आम्दानी हुन्छ । नालाले इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने बिरालोका रूपमा गिनिज वर्ल्ड रेकर्ड पनि राखेको छ । उसले चार जनालाई हराएर ‘टिकटकर अफ द इयर’ को उपाधि पनि जितेको छ । ‘नालाको इन्स्टाग्राम खाता व्यवस्थापन गर्नु मेरो फुल टाइम जब भएको छ,’ पुकी भन्छन् । नालाको अप्रत्याशित लोकप्रियताबाट पुकी धेरै खुसी छिन् । एजेन्सी
शून्यबाट सफलता, साना उद्यमीलाई नबिल बैंकको साथ
काठमाडौं । यदि ५ रुपैयाँबाट सुरु गरेर ६ रुपैयाँ पुग्यो भने त्यति धेरै सफल भएको देखिँदैन । जब शून्यबाट सुरु भएर १ रुपैयाँ पुग्छ, त्यतिबेला ठूलो सफलता हासिल गरेको महसुस हुन्छ । हो, नबिल बैंकले पनि कर्पाेरेट कर्जामा मात्रै जोड दिन्थ्यो, ठूलो रकम कर्पाेरेट कर्जामा प्रवाह भइरहेको पनि छ । पछिल्लो समय बैंकले आफ्नो कर्जालाई विविधिकरण गर्दै नयाँ उद्यमी जन्माउन साना तथा मझौला र विपन्न वर्ग कर्जामा जोड दिन थालेको हो । बैंकहरूले कुल कर्जाको ५ प्रतिशत अनिवार्य विपन्न वर्ग कर्जाका रूपमा प्रवाह गर्नुपर्ने नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छ । राष्ट्र बैंकको सो व्यवस्थालाई नबिल बैंकले पूर्ण रूपमा पालना गरेको छ । तर, अब बाध्यकारी व्यवस्थाबाट नभई आफै अग्रसर भएर अघि बढ्नेगरी विपन्न वर्ग कर्जामा जोड दिन थालेको बैंकका केन्द्रीय व्यापार सञ्चालक प्रमुख मनोज यादव बताउँछन् । ‘पहिला कर्पाेरेट लेण्डिङ मात्रै गर्थ्याे किनभने त्यतिबेला ठूलो नेटवर्क थिएन, ठूला ग्राहकलाई कर्जा दिन्थ्यौं । साना ग्राहकलाई कर्जा दिन खासै चासो हुँदैनथ्यो,’ उनले भने, ‘अब राष्ट्र बैंकको प्रावधान पुरा गर्न मात्रै होइन, बैंक आफै पनि सानासाना कर्जामा जोड दिइरहेको छ ।’ देशभर नबिल बैंकका २६८ वटा शाखा छन् । शाखा कार्यालयको पहुँचसँगै व्यवसाय वृद्धि गर्न साना कर्जामा बैंकले लगानी गर्नुपर्ने बाध्यता जस्तै छ । नयाँ उद्यमी जन्माउने र साना ग्राहकलाई ऋण दिएर ठूला ग्राहक बनाउन बैंकले मुख्य भूमिका खेलिरहेको छ । बैंकहरूले विपन्न वर्ग कर्जा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई तरिकाले प्रवाह गरिरहेका छन् । बैंक आफैले प्रत्यक्ष २० लाखसम्म कर्जा दिन्छन् भने अप्रत्यक्ष रूपमा लघुवित्त संस्थाका माध्यमबाट गाउँघरका ऋणीहरूलाई लगानी पनि गरिरहेका छन् । यादवका अनुसार बैंकले आफैले प्रत्यक्ष रूपमा १० हजार बढी ग्राहकलाई २० लाखसम्म कर्जा दिएको छ । उक्त कर्जाको आकार ७ अर्ब ८ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए । साथै अप्रत्यक्ष रूपमा लघुवित्त संस्थामार्फत प्रवाह भएको कर्जाको आकार १२ अर्ब बढी रहेको उनको भनाइ छ । विपन्न वर्ग, साना तथा मझौला उद्यमी ग्राहकहरूको आवश्यकता परिपूर्ति गर्न बैंकले १७/१८ वटा प्रडक्ट सञ्चालनमा ल्याएको छ । साथै सहुलियतपूर्ण कर्जातर्फ ब्याज अनुदानका १० वटा प्रडक्टमा पनि बैंकले कर्जा दिइरहेको यादवले बताए । विदेशमा लामो समय काम गरेर स्वदेश फर्केर उद्यम गर्न चाहने व्यक्तिका लागि स्किल माइग्रेन्ट प्रडक्ट सञ्चालनमा छ । विदेशमा सिकेको सीप र अनुभवका आधारमा सो प्रडक्टअन्तर्गत कर्जा दिइरहेको पनि उनले बताए । साथै वैदेशिक रोजगारमा गएका व्यक्तिको परिवारले उद्यमशीलता वा स्वरोजगार गर्न चाहेमा स्किल माइग्रेन्ट फेम्ली प्रडक्ट पनि रहेको उनले जानकारी दिए । ‘विदेशबाट फर्किएको व्यक्तिले कस्तो किसिमको व्यापार व्यवसाय गर्न खोजेको हो, उसको अनुभव, ज्ञान कति हो, सो आधारमा कर्जा दिइन्छ, यदि परिवारको सदस्यले पनि उद्यम गर्न चाह्यो भने उनीहरूलाई पनि कर्जा दिन्छौं,’ यादवले भने । स्किमको प्रभावकारिता बैंकले सञ्चालन गरिरहेका स्किमको प्रभावकारिता राम्रो देखिएको यादवकाे भनाइ छ । उनका अनुसार १० जना मान्छेका १० किसिमका आवश्यकता हुन्छन् । लक्षित समूहमध्ये विपन्न वर्ग, कृषक, किराना पसल गर्ने व्यक्तिका आवश्यकता फरकफरक हुन्छन्, सोही अनुसारका प्रडक्ट रहेको उनी बताउँछन् । ‘१ करोड कर्जा दिनु र १ लाख दिनुमा फरक छ, व्यापार व्यवसाय गरेर सफल हुँदा कहाँबाट कर्जा लिएको भनेर कसैले सोध्दा नबिल बैंकबाट लिएर व्यवसाय गरेको भन्नुहुन्छ, त्योबेला जति सन्तुष्टि अरू बेला हुँदैन, त्योबेला गर्व लाग्छ, सफल भएको जस्तो लाग्छ,’ उनले भने । नबिल दीगो बैंकिङ तपाईं घर निर्माणको योजनामा बनाएर बैंकबाट कर्जा लिन चाहनुहुन्छ ? अब बैंकहरूले सहजै कर्जा दिने छैनन् । किनभने घर बनाउँदा नवीकरण ऊर्जा (सोलार) प्रयोग, आकाशे पानी संकलन (रेन वाटर हार्विस्टिङ प्रविधि) गरी प्रयोग, फोहर व्यवस्थापनलगायत मापदण्ड पुरा गरेको हुनुपर्छ । घर बनाउँदा यी सामान्य मापदण्ड पुरा गर्नु भयो भने नबिल बैंकले सहजै कम ब्याजदरमा घरकर्जा उपलब्ध गराउँदै आएकाे छ । जसलाई बैंकले दिगो बैंकिङको अवधारणामा राखेको छ । उद्यमशीलता दीर्घकालसम्म सञ्चालन गर्नुका साथै वातावरणलाई समेत बचाउनु नबिल बैंकको मुख्य उद्देश्य हो । त्यसैले दीगो बैंकिङअन्तर्गत रहेर नबिल बैंकले बैंकिङ प्रडक्ट ल्याइरहेको छ । सस्टेनेबल हाउजिङ, सस्टेनेबल टुरिजम, सस्टेनेबल इनर्जीलाई बैंकले दिगो बैंकिङअन्तर्गत पर्छन् । नबिल बैंकले वेस्ट म्यानेजमेन्टमा काम गरिरहेको डोकोरी साइकल कम्पनीसँग सम्झौता गरेको छ । सो कम्पनीले बैंकका शाखा कार्यालयमा खेर गएका पेपर (कागज) संकलन गरी कच्चा पदार्थका रूपमा पुनः प्रयोगमा ल्याउने काम गर्छ । जसलाई बैंकले दीगो बैंकिङ अभ्यासका रूपमा अघि सारेको छ । यस्तै, बैंकको केन्द्रीय कार्यालयमा रेन वाटर हार्भेस्टिङ प्रविधि प्रयोगमा ल्याएको छ । जसबाट आकाशे पानी संकलन गरेर पुनः प्रयोगमा ल्याइएको छ । अब यो प्रविधिलाई घरमा पनि प्रयोग गर्न ग्राहकहरूलाई बैंकले आग्रह गरिरहेको छ । कर्जा आवश्यक परेर बैंकमा जानुभयो भने आफ्नो व्यवसाय वृद्धिसँगै वातावरणमा समेत टेवा पुग्ने गरी योजना बनाउनुपर्ने हुन्छ । नबिलले दीगो बैंकिङ अभ्यास सुरुवात गरेको ४ वर्ष भयो । दीगो विकासका १७ वटा लक्ष्यअन्तगर्त रहेर बैंकले उद्यमशीलता विकासमा तल्लो तहतप्काका आवश्यकता पुरा गरिरहेको छ । ‘घर त सबैले बनाउनुहुन्छ, स्थानीय सरकारले पनि विभिन्न मापदण्ड तोकेका छन्, त्यसमा पनि पानी रिजर्भ गर्ने, फोहोर व्यवस्थापनलगायत मापदण्ड पुरा गर्नुभयो भने अन्य कर्जामा भन्दा सहुलियत वा छुटको व्यवस्था छ । त्यस्तै सवारीसाधन खरिद गर्दा वातावरणमैत्री इलेक्ट्रिकल भेइकल (ईभी) किन्दा बैंकले ब्याजमा छुट दिन्छ,’ यादवले भने । निक्षेप संकलन र कर्जा प्रवाह गर्नु मात्रै बैंकको काम हो भनेर अधिकांशको बुझाइ छ । पछिल्लो समय दीगो बैंकिङको अवधारणा आएसँगै बैंकले कर्जा विविधिकरण गरिरहेका छन् । तर, एउटै नबिल बैंकले मात्रै दीगो बैंकिङ अभ्यास गरेर सफल नहुने भएकाले सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । ‘एउटा बिरुवा रोपेपछि त्यसको नतिजा १० वर्षपछि देखिन्छ । त्यसैगरी, सस्टेनबल बैंकिङको नतिजा पनि तत्काल नभई दीर्घकालमा देखिन्छ, अर्थतन्त्रमा ठूलो योगदान बैंकको छ, राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेर दीगो बैंकलाई अनिवार्य गर्नुपर्छ,’ उनले भने ।
विदेश पठाइदिने भन्दै २३ लाख ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै २३ लाख ८५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–९ सिनामङ्गल बस्ने ३० वर्षीय सुशान्त सिंह, कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ घर भई काठमाडौं सिनामङ्गल बस्ने ३६ वर्षीय सल्लउदिन वेग तथा तेह्रथुमको फेदाप गाउँपालिका–८ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार पक्राउ परेकामध्ये सिंहले दुई जनालाई दुबई पठाउने भन्दै आठ लाख ४० हजार रुपैयाँ, वेगले दुई जनालाई कुवेत पठाउने भन्दै सात लाख २० हजार रुपैयाँ तथा दाहालले तीन जनालाई क्रोएसिया पठाउने भन्दै आठ लाख २५ हजार रुपैयाँ रकम लिई विदेश नपठाइ सम्पर्कविहिन भएको पीडितको उजुरीका आधारमा काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।