ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै
काठमाडौं । आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ ८ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो
फाइल फोटो काठमाडौं । खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले बताए ।
५.२६ % लाभांश पारित गर्न आशुतोष इनर्जीले डाक्यो साधारण सभा
काठमाडौं । आशुतोष इनर्जीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ५.२६३ प्रतिशतका दरले २ करोड ५२ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले सातौं वार्षिक साधारण सभा असोज २० गते बोलाएको छ । कम्पनीको सभा नक्साल काठमाडौंमा बिहान साढे ८ बजे बस्नेछ । कम्पनीको सभाले संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
महसुल भुक्तानी गर्दा नेपाल टेलिकमले शतप्रतिशत जरिवाना छुट
काठमाडौं । नेपाल टेलिकमले महसुल भुक्तानीमा जरिवाना छुट दिने भएको छ । कम्पनीले विभिन्न सेवाहरूको महसुल भुक्तानी गरेमा जरिवाना छुट दिने जनाएको छ । विभिन्न सेवाहरू पीएसटीएन, जीएसएम मोबाइल, सीडीएमए मोबाइल, एडएसएल, एफटीटीएच, लिज लाइन, प्रयोग गरेबापत भुक्तानी गर्न बाँकी बक्यौता समयमै तिर्न कम्पनीले ग्राहकहरूलाई अनुरोध गरेको छ । पुरानो बक्यौता भुक्तानी गर्ने ग्राहकहरूलाई जरिवाना छूट प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७८÷७९ सम्मको बक्यौता २०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने सम्पूर्ण जरिवाना छुट दिइनेछ । आर्थिक वर्ष २०७९÷८० को बक्यौता २०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवानाको ५० प्रतिशत छुट दिने कम्पीले जनाएको छ । पुरानो बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशन गर्ने र कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले बताएको छ ।
कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने
काठमाडौं । कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने भएको छ । कोषको भदौ ३१ गते बाह्य कारोबार बन्द हुने जनाएको छ । कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव कार्यक्रम हुने भएकाले भोलि भदौ ३१ गते एक दिन कारोबार बन्द हुनेद्ध । कोषले भोलि भदौ ३१ गते ६३औँ वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्दैछ । कोषको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अपरान्ह ४ बजे हुने भएकाले कोषका पूर्वकर्मचारीलाई निमन्त्रणा गरेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको मूल्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ तोकेको छ । आज एक युरोको खरिददर १४८.४९ रुपैयाँ र बिक्रीदर १४९.१६ रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.७० रुपैयाँ र बिक्रीदर १७६.४८ रुपैयाँ कायम छ । यस्तै फ्रान्सको स्वीस फ्रयाङ्क एकको खरिददर १५८.११ रुपैयाँ र बिक्रीदर १५८.८२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.६५ रुपैयाँ र बिक्रीदर ९०.०५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.५५ रुपैयाँ र बिक्रीदर ९८.९९ रुपैयाँ, सिङ्गापुरे डलर खरिददर १०३.०७ रुपैयाँ र बिक्रीदर १०३.५४ रुपैयाँ, जापानिज येनको खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९६ रुपैयाँ कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६९ रुपैयाँ र बिक्रीदर ३५.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, थाई भाट एकको खरिददर ४.०१ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३१.१४ रुपैयाँ र बिक्रीदर ३१.२८ रुपैयाँ तोकिएको छ ।
११ जलविद्युत् आयोजनाका करोडौँका उपकरण प्रयोगविहीन
कठमाडौं । पर्वत जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् । विगत साढे २ दशकभन्दाअघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा आयोजना अहिले पूर्ण रूपमा बन्द भएका हुन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन बनेका छन् । ७ वर्षअघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेका भए पनि केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द भएका हुन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएको हो । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, वडा नं ४ हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, वडा नं. ७ भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुँवाकोट, फलेवास नगरपालिका वडा नं ११ पाङराङको साढे सात किलोवाट क्षमताको गढिसिद्ध र ११ किलोवाटको बाच्छाखोला, मोदी गाउँपालिका वडा नं ४ क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत आयोजना पूर्ण रूपमा बन्द रहेका छन् । त्यस्तै विहादी गाउँपलिका-१ बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनामा पनि उत्पादन गर्न छाडेका छन् । मोदी गाउँपालिका-१ भुकताङ्गलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघुजलविद्युत् आयोजना पनि सात वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र छ । उता महाशिला गाउँपालिका-२ भोक्सिङमा छ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि पाँच वर्षअघि गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् । मर्मतको अभाव र थोरै क्षमता हुने भएपछि स्थानीयले मर्मतमा पनि बेवास्ता गरेका हुन् । तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेट अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् । शिलाकारले गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताए । पछिल्लो समय स्थानीय तहहरूले पनि उक्त लघुविद्युत् मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हुँदै गएको बाच्छाका भीमबहादुर खड्काले बताए । जिल्लाका ११ लघुजलविद्युत् आयोजनाबाट १५६.५ किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट १ हजार ४०३ घरका ९ हजार बासिन्दा लाभान्वित भएका थिए । ‘२५ वाट क्षमताको बल्ब महिनाभर चलाएको २५ रुपैयाँ तिरे पुग्थ्यो, केन्द्रीय लाइनभन्दा लघुजलविद्युत्बाट उत्पादित बिजुली सस्तो भए पनि ग्रामीण बासिन्दाले यसलाई बेवास्ता गर्न थालेका छन्,’ तत्कालीन ऊर्जा अधिकृत शिलाकारले भने । युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्नावशेष बनेका छन् । एघारवटा आयोजनाका लागि २ करोड २५ लाख रुपैयाँ खर्चिए पनि केन्द्रीय प्रसारणको विस्तार, स्थानीय तह र उपभोक्ताको बेवास्ता तथा मर्मत अभावले प्रयोगविहीन बनेका हुन् ।
सगरमाथा हवाई मैदान निर्माण कार्य अलपत्र
कठमाडौं । त्रियुगा नगरपालिका–१ जोगीदहस्थित मोथ्याइमा निर्माण सुरु भएको सगरमाथा हवाई मैदान निर्माणमा ढिलाइ भएको छ । १२ वर्षअघि यहाँ हवाई मैदान निर्माणको प्रक्रिया अघि बढाइएको हो । सदरमुकाम गाईघाट वा त्रियुगा नगरपालिका–७ चुहाडेमा हवाई मैदान निर्माण गर्ने भनेर तीन दशकसम्म अध्ययन तथा वादविवाद सँगसँगै चलेको थियो । ‘त्रियुगा नगरपालिका–१ जोगीदहमा उपयुक्त जग्गा प्राप्त भएको र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्राविधिकले उक्त क्षेत्रमा हवाई मैदान निर्माण गर्न उपयुक्त हुने भनेर प्रतिवेदन दिएपछि १२ वर्षअघि जोगीदहमा हवाई मैदान निर्माण प्रक्रिया अगाडि बढाइएको हो,’ सगरमाथा हवाई मैदान निर्माण समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले भने । उनका अनुसार त्रिनपा–१ जोगीदहमा जिल्ला वन कार्यालय उदयपुर र जोगीदह मोथ्याईका १७ परिवारले जग्गाको मुआब्जा समेत नलिई हवाई मैदान निर्माण गर्न जग्गा दिने तयारी गरेपछि २०६७ सालमा पहिलोपटक पर्यटन तथा नागरिक उड्यमन्त्रालयको प्राविधिक टोलीले स्थलगत अध्ययन र वातावरणसम्बन्धी अध्ययन सुरु गरेका हुन् । झण्डै १५६ हेक्टर जग्गामध्ये स्थानीयको १० हेक्टर र बाँकी जिल्ला वन कार्यलयको जग्गा हवाई मैदानका लागि व्यवस्थापन गरिएको अध्यक्ष बस्नेतले बताए । वि.सं २०७८ मा जिल्ला वन र स्थानीयको स्वामित्वमा रहेका जग्गा हवाई मैदानलाई औपचारिक रूपमा प्रदान गरेपछि जोगीदह मैदान निर्माणका लागि रुख कटान सुरु गरिएको निर्माण समितिका सदस्य रुद्र अधिकारी बताउँछन् । हालसम्म १०५ हेक्टर वनक्षेत्रको १३ हजार रुख कटान गरिसकिएको उनले बताए । हवाई मैदान निर्माणका लागि हालसम्म ३ करोड रुपैयाँ बराबर खर्च भइसकेको तथा रुख कटान गरी खाल्डा पुर्ने काम सम्पन्न भएको छ । हवाई कन्ट्रोल टावर निर्माण सुरु हुनलागेका बेला फेरि मैदान निर्माण कार्य रोकिएकाले समस्या आएको निर्माण समितिका पदाधिकारी बताउँछन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा नारायण खड्काले हवाई मैदान निर्माण सुरु हुन लागेका बेला फेरि रोकिनु उदयपुरवासीका लागि दुर्भाग्य भएको बताए । ‘१२ वर्षपछि हवाई मैदान निर्माण सुरु भए पनि अख्तियारमा उजुरी परेपछि निर्माण कार्य राकिएको छ,’ उनले भने । हवाई मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बस्नेतका अनुसार उड्डयन मन्त्रालयले कानुनी रूपमा जग्गा हवाई मैदानका नाममा प्राप्त गरेको र सरकारले यसका लागि गत वर्ष नै ६ करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको हो, तर काम नै नगरी बजेट फ्रिज भएको छ । विसं २०३२ मा पहिलोपटक तत्कालीन उदयपुरबाट राष्ट्रिय पञ्चायतका सदस्य चक्रबहादुर बस्नेतले गाईघाटस्थित हालको थारुहट रङ्गशाला खेलमैदानमा हवाई मैदान बनाउन पहल सुरु गरेको समितिका पदाधिकारी बताउँछन् । त्यसपछि २०५४ सालमा मैदान निर्माणका लागि पुनः पहल आफूले सुरु गरेको डा नारायण खड्का बताउँछन् । हवाई मैदान बन्ने तथा आफ्नै गाउँघरबाट जहाज चढ्न पाइने भन्दै सात कट्ठा जग्गा खुसीले मैदान निर्माण गर्न दिएको तर समयमा नबनेकोबारे जोगीदह मोथ्याईका जग्गादाता कृष्ण प्रधान बताउँछन् । अर्का जग्गादाता हर्कमान प्रधान हवाई मैदान निर्माण गर्न विभिन्न बहाना गरेर जनतालाई निराश मात्र बनाएको तर मैदान बन्ने अवस्था नदेखिएकाले दुःख लागेको उनी बताउँछन् । पूर्व पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले भने, ‘विभिन्न प्राविधिक कारणले गर्दा मैदान निर्माण कार्यमा विलम्ब भएको हुनसक्छ, हालसम्म झण्डै ३ करोड बराबर खर्च भइसकेको छ ।’ प्राविधिकको योजनाअनुसार १ हजार ४ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको हवाई मैदान निर्माण हुने र मध्यमस्तरका जहाज सहज तरिकाले अवतरण गर्न सक्ने खालको मैदान निर्माण गर्ने योजना तयारी भएको समितिका पदाधिकारी बताउँछन् । झण्डै १ अर्ब २० करोड रुपैयाँसम्मको बजेट छुट्याएको मैदान निर्माण समितिका पदाधिकारी बताउँछन् । जोगीदहमा हवाइ मैदान सञ्चालनमा आएपछि सुनसरी, उदयपुर र खोटाङको दक्षिणी क्षेत्र, भोजपुरको दक्षिणी क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्र र सिरहा तथा सप्तरीको उत्तरी क्षेत्रका जनतालाई आवतजावतमा सहज हुने समितिका पदाधिकारी बताउँछन् ।