११ जलविद्युत् आयोजनाका करोडौँका उपकरण प्रयोगविहीन

<p>कठमाडौं । पर्वत जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् । विगत साढे २ दशकभन्दाअघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा आयोजना अहिले पूर्ण रूपमा बन्द भएका हुन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द [&hellip;]</p>

कठमाडौं । पर्वत जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् । विगत साढे २ दशकभन्दाअघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा आयोजना अहिले पूर्ण रूपमा बन्द भएका हुन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन बनेका छन् ।

७ वर्षअघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेका भए पनि केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द भएका हुन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएको हो ।

दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, वडा नं ४ हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, वडा नं. ७ भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुँवाकोट, फलेवास नगरपालिका वडा नं ११ पाङराङको साढे सात किलोवाट क्षमताको गढिसिद्ध र ११ किलोवाटको बाच्छाखोला, मोदी गाउँपालिका वडा नं ४ क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत आयोजना पूर्ण रूपमा बन्द रहेका छन् ।

त्यस्तै विहादी गाउँपलिका-१ बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनामा पनि उत्पादन गर्न छाडेका छन् । मोदी गाउँपालिका-१ भुकताङ्गलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघुजलविद्युत् आयोजना पनि सात वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र छ ।

उता महाशिला गाउँपालिका-२ भोक्सिङमा छ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि पाँच वर्षअघि गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् । मर्मतको अभाव र थोरै क्षमता हुने भएपछि स्थानीयले मर्मतमा पनि बेवास्ता गरेका हुन् ।

तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेट अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् । शिलाकारले गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताए ।

पछिल्लो समय स्थानीय तहहरूले पनि उक्त लघुविद्युत् मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हुँदै गएको बाच्छाका भीमबहादुर खड्काले बताए ।

जिल्लाका ११ लघुजलविद्युत् आयोजनाबाट १५६.५ किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट १ हजार ४०३ घरका ९ हजार बासिन्दा लाभान्वित भएका थिए ।

‘२५ वाट क्षमताको बल्ब महिनाभर चलाएको २५ रुपैयाँ तिरे पुग्थ्यो, केन्द्रीय लाइनभन्दा लघुजलविद्युत्बाट उत्पादित बिजुली सस्तो भए पनि ग्रामीण बासिन्दाले यसलाई बेवास्ता गर्न थालेका छन्,’ तत्कालीन ऊर्जा अधिकृत शिलाकारले भने ।

युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्नावशेष बनेका छन् । एघारवटा आयोजनाका लागि २ करोड २५ लाख रुपैयाँ खर्चिए पनि केन्द्रीय प्रसारणको विस्तार, स्थानीय तह र उपभोक्ताको बेवास्ता तथा मर्मत अभावले प्रयोगविहीन बनेका हुन् ।

Share News