विकासन्युज

सेन्ट्रल फाईनान्सको सीईओमा पुन: श्रेष्ठ नियुक्त

काठमाडौं । सेन्ट्रल फाईनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: रजोज मान श्रेष्ठ नियुक्त भएका छन् । भदौ २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी असोज ३ गतेदेखि लागु हुने गरी ४ वर्षको दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको कम्पनीका सचिव गोबिन्द प्रसाईले जानकारी दिए ।

चार वर्षअघि जमिन भासिएपछि अस्पतालको निर्माणाधीन भवन अलपत्र

कुश्मा- जिल्ला अस्पताल, पर्वतको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो । सहरी विकास कार्यालयले भवनका लागि रु २८ करोड विनियोजन गरेर काम थालेको थियो । अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकामा जमिन भासिएपछि ‘इ’ ब्लकको काम पनि अधुरै छ । कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ रहेको ‘इ’ ब्लक निर्माणको काम चलिरहेका बेलामा जमिन भासिएपछि पछिल्ला चार वर्षदेखि काम अघि बढ्न नसकेको पर्वत अस्पतालले जनाएको छ । भवनको निर्माण चलिरहेको बेलामा भुइँतलाको भागमा ‘बीम’ रहेको ठाउँ बाहेकको जमिन भासिँदै गएपछि भवनको काम अघि बढ्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताए । विसं २०७७ असारदेखि भासिन सुरु गरेको भवनको ‘बीम’हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि काम पूर्ण रूपमा ठप्प छ । यस वर्ष अरू दुई ठाउँमा जमिन भासिएको छ । भूगर्वविद्हरूले जमिन भासिनुको कारण र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन अस्पताललाई बुझाउने भनिए पनि हालसम्म त्यो प्रतिवेदन प्राप्त नहुँदा भवनको काम अगाडि नबढेको अध्यक्ष गिरीले बताए । चार वर्ष अगाडि निर्माणाधीन भवन भासियो, त्यसपछि कोभिडको महामारी सुरु भएकाले काम अगाडि बढ्न नसकेको उनले बताए ।

अन्जु श्रेष्ठ बनिन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओ

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमख कार्यकरी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गरेको हो । ललितपुर महानगरपालिका १० ज्वागल निवासी श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले जानकारी दिए । उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएकी हुन् । गत असार १३ गते विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बर्खास्त गरेपछि श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी जिम्मेवारी दिइएको थियो । यसअघि श्रेष्ठ सोही कम्पनीमा डेपुटी सीईओको भूमिकामा थिइन् । लामो समयदेखि बीमा क्षेत्रमा आवद्द श्रेष्ठ साविक हिमालयन जनरल इन्स्योरेन्समा विभिन्न पद रहेर काम गरेकी हुन् । उनको पुनर्बीमामा विशेष दख्खलता रहेको छ ।

कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

ललितपुर । शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो । मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताए ।

सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई दियो अपरेशन थिएटर टेबल

काठमाडौं । सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा।डा। दीपकबहादुर भण्डारीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् । त्यसैगरी, कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालाका निर्देशक डा. दिपेन्द्र कुमार यादव लगायतको पनि उपस्थिति रहेको थियो । यस सहयोगले बिरामीहरूले स्तरीय उपचार सेवा पाउने विश्वास लिँदै बैंकले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राख्ने जनाएको छ ।

सिद्धार्थ बैंकद्वारा विद्यालयमा निर्मित बहुउद्देश्यीय हलको औपचारिक हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हल विद्यालयलाई हस्तान्तरण गरेको छ । हलको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले गरेका थिए । बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जस्तै सोलार, यूपीएस र ब्याट्री पनि प्रदान गरेको छ । यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पुरा गर्दै उनीहरुको आत्मविश्वासमा पनि वृद्धि ल्याउने छ भन्ने विश्वास बैंकले लिएको छ । यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरहरु मार्फत विद्यार्थीहरुलाई आधुनिक प्रविधिमा पोख्त्त बनाउन, शैक्षिक सामग्री अनलाइन मार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्मा भए पनि मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसँगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गरेका हुन् । ‘नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ,’ उनले भने, ‘सोही अनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाइ हुन्छ’ । ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको, र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको कुरा पनि बताए । उनले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको कुरा बताउँदै, अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने बताए । ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गरे । ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठवटा कानुनमा संशोधन भएको र द्विपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराए । यसै गरी उच्च विदेशी विनिमय सञ्चिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवर्द्धनमा सहयोग पुर्‍याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो । भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताइन् । निजी क्षेत्रलाई महत्त्व दिनुपर्ने विषयमा कोष सदैव सकारात्मक रहेको पनि उनको भनाई थियो ।

दही बिक्री गरेर मनग्य आम्दानी

देउखुरी । टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन । ठाउँ छैन अरु बसमा आउनु भन्दै चालक पन्छिए । गाउँका धेरैजसो किसान आफूले उत्पादन गरेको दही बिक्री गर्न घोराही बजार आउँदाको भोगाइ हो यो । राजपुर गाउँपालिका–३ खर्दरियाका लक्ष्मण यादव ६० वर्षको भए । उनी व्यावसायिक रूपमा भैँसीपालन गर्दै आएका छन् । उनीसँग रहेका २५ भैँसीले दूध दिन्छन । बाबुबाजेले भैँसीपालन गर्दै आएका थिए । त्यही रेखदेख गर्दागर्दै लक्ष्मण पनि भैँसीपालनलाई निरन्तरता दिँदै आएका छन् । पच्चीस भैँसीले दिएको दूध बिक्री गर्न समस्या हुने गरेको उनले बताए । खर्दरियामा यादव समुदायको झण्डै तीन सय घर छन् । हरेकको घरमा १० देखि २० वटासम्म भैँसी छन् । उत्पादन भएको सबै दूध गाउँमा बिक्री गर्न सम्भव छैन । उनीहरुले बेलुकाको दूध जम्मा गरेर दही बनाउने र बजारमा बिक्री गर्ने गरेका छन् । ‘घोराही पुग्नलाई रु एक सय भाडा लाग्छ । दैनिक रु दुई हजारदेखि रु दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ’, यादवले भने । दैनिक २५ लिटरसम्म दही बिक्री हुने र यसबाट मासिक रु ३० हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । यस्तै राजपुर गाउँपालिका–३ खर्दरियाका झाबु यादव ५० वर्षका हुनुभयो । उहाँसँग एक सयवटा दूध दिने भैँसी छन् । राजपुरबाट घोराही, तुलसीपुर, लमहीमा दही बिक्री हुने गरेको छ । भैँसीको दूध–दही बिक्री गरेर उहाँले छोराछोरी पढाउँदै आएका छन् । ‘गाउँमा सबैको घरमा भैँसी छन् । भैँसी नभएकाले पनि सस्तो मूल्यमा किन्न खोज्छन्, त्यसैले गाउँमा दही बिक्री गर्न मन लाग्दैन’, यादव भन्छन्, ‘राजपुरबाट दहीको भाँडो बोकेर दैनिक बजारमा आउने गरेका छौँ ।’ गाउँभरिका भैँसीपालक किसान दही बोकेर बिक्री गर्न बजार जाने गरेका छन् । गाउँघरमा प्रतिलिटर रु २०–२५ मा बिक्री हुने दही बजारमा पुर्यायो भने रु एक सयमा बिक्री हुन्छ । यसरी कमाएको पैसाले छोराछोरीको पढाइ खर्च र घर परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान हुने गरेको यादव बताउँछन् । बिहानको दूध डेरीले लैजान्छन्, बेलुकाको दूध बिक्री गर्ने ठाउँ नहुँदा दही बनाएर बिक्री गर्ने गरेको उनले बताए । दूध राख्नलाई सरकारले डिपफ्रिजको सहयोग गरेमा दूध, दहीबाट आम्दानी गरेर जीविका चलाउन सकिने यादवले बताए । दूध ट्रयाक्टरको व्यवस्थापन गरेमा आफूहरूलाई राहत मिल्ने उनको धारणा छ । व्यावसायिक भैँसीपालनका लागि खरदरिया उपयुक्त स्थान मानिन्छ । यहाँका अधिकांश बासिन्दाले १० देखि एक सयवटासम्म भैँसीपालन गरेका छन् । भैँसीको दूध बिक्रीबाट आएको आम्दानीले छोराछोरी पढाउने र घरखर्च चलाउन सहज भएको छ । सोही ठाउँका भैँसीपालक किसानले गोठ सुधार, घाँस काट्नलाई चारामेसिन, बीउका लागि उन्नत जातको रागा र दूध सङ्कलनका लागि डेरीको माग गरेका छन् । परापूर्वकालदेखि भैँसीपालनबाट जीविका चलाउँदै आएका यादव समुदायले सरकारको सहयोग भएमा व्यवस्थित तरिकाले भैँसीपालन गर्ने सोच बनाएका छन् । रासस