ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टरस्केलको भूकम्प भएको हो । यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ रिक्टरस्केलको भूकम्प भएको थियो ।
नेशनल लघुवित्तबाट एकैपटक ९ जना संस्थापक बाहिरिँदै
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाबाट एकैपटक ९ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो स्वामित्वको सेयर बिक्री गरेर ९ जना संस्थापक बाहिरिन लागेका हुन् । लघुवित्तका अनुसार लक्ष्मी प्रसाद सिटौलाको नाममा रहेको १६ हजार कित्ता, प्रेम बस्नेतको ७ हजार कित्ता, खेमराज भेटुवालको ५ हजार कित्ता, गणेशमान मुखियाको २ हजार कित्ता, सिता कार्कीको १० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । यस्तै चक्र प्रसाद खरेलको ५ हजार कित्ता, इन्द्र प्रसाद शर्माको २ हजार ७७ कित्ता, राम प्रसाद खरेलको ५ हजार कित्ता र टंक बहादुर पाण्डेको १ हजार ८३७ कित्ता सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको उक्त संस्थापक सेयर सर्वसाधारण जोकोहीले पनि खरिद गर्न पाउनेछन् ।
सीईडीबी हाइड्रोको लाभांश घोषणा, ५४.५ प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले लाभांश र हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भखौ २९ गते बैठकले सेयरधनीहरूलाई लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ । यस्तै कम्पनीले बोनस सेयर जारी गरेपश्चात् चुक्ता पुँजीको ५४.५ प्रतिशत अर्थात् १ः०.५४५ अनुपातमा हकप्रद सेयर जारी गर्ने कपनीले जनाएको छ । लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा असोज २१ गते बिहान १० काठमाडौंमा बस्नेछ ।
मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण
काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो । साङ्तामा तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि सौर्य ऊर्जा जडान गरिएको मुक्तिक्षेत्र–५ का वडासदस्य छिरिङपासाङ गुरुङले बताए । ‘४४ लाख रुपैयाँ बजेटमा १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको हो, साङ्ताका १३ घर लाभान्वित भएका छन्,’ उनले भने । विद्युत् सुविधा भएपछि स्थानीयवासीको जनजीवन सहज भएको छ । मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन हेर्न, ल्यापटप चलाउन सहज भएको छ । स्थानीयवासीले उज्यालोका लागि यसअघि घरघरमा थोरै क्षमताको सोलार सेट जडान गरेका थिए । गाउँ नजिकैको डाँडामा सोलारका प्यानल राखिएका छन् । सोलार प्यानल नजिकै घर बनाएर ब्याट्री भण्डारण गरेर राखिएको छ । प्यानल र ब्याट्री भएको घर परिसरलाई तारको घेराबार बनाइएको छ । पोल गाडेर तारमार्फत घर–घरमा विद्युत् आपूर्ति गरिएको छ । कर्णाली प्रदेशको डोल्पा जिल्लाको सिमानामा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ को फल्याक गाउँबाट साङ्ता २८ किलोमिटर टाढा छ । साङ्तालाई मुस्ताङको कान्छो गाउँका रूपमा चिनिन्छ । सबैभन्दा पछि पहिचान भएकाले साङ्तालाई कान्छो बस्ती भनिएको हो । साङ्तामा हालसम्म मोबाइल र इन्टरनेटको सुविधा पुुगेको छैन । सूचना अदानप्रदानका लागि दुई घण्टा पैदल हिँडेर झमटङ डाँडामा पुग्ने गर्छन् । वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले नेपाल टेलिकमसँग समन्वय गरेर साङ्तामा मोबाइल फोन सेवा विस्तारको तयारी गरेको बताए । १० वर्षअघि सडक सुविधा पुुगेको साङ्तामा हालै एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण गरिएको छ ।
संसद्का दुवै सदनको बैठक बस्दै, बैंकिङ कसुर संशोधन विधेयक पारित गर्ने
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९/८०’ पेस गर्ने र सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । राष्ट्रियसभामा अर्थमन्त्रीले जवाफ दिने राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘विकास आर्थिक मामिला तथा सुशासन समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन’ र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्नेछन् । यस्तै राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पाण्डेयले जानकारी दिए । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ र ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
आज यी ३ प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ। यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी बागमती र गण्डकी प्रदेश एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।
डेढ करोड बढी लगानीमा निर्माण गरिएको कृषि बजार भाडामा लिन कोही आएन
फाइल फाेटाे झापा । बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाइ खोलाको किनारमा डेढ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको कृषि बजार सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सरकारद्वारा एक करोड ६८ लाख रुपैयाँ तत्कालीन भूटानी शरणार्थी शरणार्थीको शिविर रहेको स्थानमा सो कृषि बजार निर्माण गरिएको थियो । कृषि बजारका लागि १२ सटरसहितको कोठा, एउटा मण्डी, घेराबेरा र सार्वजनिक शौचालय निर्माण गरिएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले कृषि बजार सञ्चालनका लागि पटकपटक सूचना प्रकाशित गर्दा कोही भाडामा लिन नआएपछि समस्या भएको बताए । उनले भने, ‘राज्यको लगानी खेर गइरहेको छ, यसलाई प्रयोगमा ल्याउन पालिकाले ठेक्का लगाउन धेरैपटक सटरको सस्तो मूल्य राखेर सूचना प्रकाशित गरिसक्यो । भाडामा लिन कोही आउँदैनन् ।’ उनले अघिल्लो जनप्रतिनिधिकै कार्यकालमा सो कृषि बजार निर्माण भएको बताए । उनले स्थानीय सङ्घसंस्था, बजार व्यवस्थापन समिति, सहकारीलाई सो स्थान सञ्चालनका लागि सूचनामा प्रकाशित गरेको मूल्यभन्दा २५ प्रतिशत छुटमा दिने पालिकाकाले निर्णय गर्दा सञ्चालन हुन नसकेको बताए । भूटानी शरणार्थीलाई संयुक्त राष्ट्रसङ्घले तेस्रो मुलक आप्रवाशनमा लगेपछि खाली रहेको जग्गा मध्ये करिब एक बिघा जमिनमा सब्जीमण्डी सञ्चालनका लागि घेराबारासहितको पक्की संरचना निर्माण गरिएको छ । बुद्धशान्ति गाउँपालिका तरकारी उत्पादनका लागि जिल्लामै अग्रणी मानिन्छ । यहाँ उत्पादित तरकारी मेचीनगर, विर्तामोड र दमकलगायतका सहरमा बिक्री हुने गरेको छ । सङ्घीय सरकारले बजारीकरणका लागि उक्त स्थानमा आर्थिक वर्ष २०७६/७७ देखि कृषि बजार निर्माण अगाडि बढाएको थियो । गाउँपालिका अध्यक्ष प्रसाईंका अनुसार कृषि बजार योजनामा हालसम्म आव २०७६/७७ र २०७७र७८ मा एक करोड २० लाख ३२ हजार रुपैयाँ खर्च भएको र आव २०७८/०७९ मा रु ४७ लाख ७८ हजार रुपैयाँ गरी कुल एक करोड ६८ लाख १० हजार रुपैयाँ खर्च भएको छ । उनले प्रति सटर मासिक रु आठ सय मूल्यमा भाडामा लगाउन पालिका तयार रहेको बताए । उनले सो स्थानमा चिस्यान केन्द्र निर्माणका लागि गत वर्ष बजेट आएको बताए । ‘कृषि बजारस्थल भाडामा लगाउन सकिएको छैन । यहाँ चिस्यान केन्द्र बनाउँदा राज्यको लगानी खेर जान्छ भनेर बजेट नै फिर्ता गरिदिऔं’, उनले भने, ‘यहाँ एउटा पसल छैन, बजार लगाउन सकिएको छैन अनि किन चिस्यान केन्द्रका नाममा सरकारको फेरि करोडौँ लगानी गर्नु भन्ने लाग्यो ।’ कृषि बजार स्थल भाडामा लगाउन पालिकाले लामो समयदेखि प्रयास गरिरहेको र यस बर्ष लगाउने नै उनको दाबी छ । स्थानीयवासीले भने जनप्रतिनिधिको उदासिनताका कारण बजारस्थल सञ्चालनमा आउन नसकेको आरोप लगाएका छन् ।
नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति : प्रधानमन्त्री ओली
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति भएको बताएका छन् । ज्यापु समाज यलको ३१औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेवाः संस्कृतिकै कारण नेपाल सांस्कृतिक हिसाबले सम्पन्न भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले नेवार समुदायमा पाइने खानाका अनेकौँ परिकार, मन्दिरहरूका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यता गरिमायुक्त रहेको बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौँ वर्षसम्म पनि बनाउन नसकिने उल्लेख गरे । ‘राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ । संस्कृति र सभ्यता बिग्रीएमा फेरि जगेर्ना गर्न सकिँदैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरूले कामना गरिरहनुभएको छ । संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो । यस दायित्वमा ज्यापु समाजको योगदानलाई म धन्यवाद भन्न चाहन्छु ।’ प्रथम महिला राधिका शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्यापु समाजका सदस्य रहेर समाजका विभिन्न पेसा र क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गरेका थिए ।