नेप्सेमा गिरावट आएपनि कारोबार रकम बढ्यो, यी ४ कम्पनीमा पोजेटिभ सर्किट
काठमाडौं । दिनभरिको उतारचढावपछि पुँजी बजारमा गिरावट आएको छ । निरन्तर ६ दिन ओरालो लागेको नेप्से सातौं दिन बिहीबार भारी अंकले बढेको थियो । तर त्यो रौनकता दोस्रो दिन मत्थर देखिएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८८ प्रतिशत अर्थात् ५०.७३ अंक घटेर २ हजार ६३७.७९ अंकमा बन्द भएको छ । यसअघि बिहीबार नेप्से परिसूचक २.९९ प्रतिशत अर्थात् ७८.१७ अंक बढेर २ हजार ६८८.३८ अंकमा बन्द भएको थियो । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार कित्ता १ लाख १९ हजार पटक खरिदबिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घेटेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज २१९ कम्पनीको सेयर मूल्य घट्दा २४ कम्पनीको सेयर मूल्य बढेको छ । बैंकिङ समूह ०.९३ प्रतिशत, विकास बैंक समूह २.५१ प्रतिशत, फाइनान्स समूह ३.५३ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६८ प्रतिशत, जलविद्युत समूह १.४८ प्रतिशत, लगानी समूह २.८० प्रतिशत, जीवन बीमा समूह २.७४ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह १.७९ प्रतिशत, लघुवित्त समूह १.८८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.६१ प्रतिशत, निर्जीवन बीमा समूह २.१६ प्रतिशत, अन्य समूह २.२३ प्रतिशत र व्यापार समूहको ०.९० प्रतिशत घटेको छ । बजारमा गिरावट आएपनि आज विभिन्न ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट, इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको हो । तर, थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशत नकारात्मक सर्किट लागेको छ । यस्तै, ग्रनीलाइफ हाइड्रोपावरको ९.४० प्रतिशत र सीईडीबी हाइड्रोको ९.१५ प्रतिशतले सेयर मूल्य घटेको छ । नेप्सेकाअनुसार आज सीईडीबी हाइड्रो सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६४ करोड ३८ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३५ करोड २८ लाख ८४ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २८ करोड ३० लाख ३३ हजार रुपैयाँ, अपि पावरको २५ करोड ४३ लाख ५५ हजार रुपैयाँ र सिंगटी हाइड्रो इनर्जीको २४ करोड ४१ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
सांसद दाहालको प्रश्न: हवाईसम्बन्धी महत्त्वपूर्ण दुई विधेयक कहिले कार्यान्वयनमा आउँछ?
राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सहभागीहरू । तस्बिर: रत्न श्रेष्ठ/रासस काठमाडौं । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद तुलसाकुमारी दाहालले हवाई व्यवस्थापन गर्न बन्न लागेका ‘नेपाल हवाई सेवा प्राधिकरण, २०७६’ र ‘नेपाल नागरिक उड्डयन विधेयक, २०७६’ यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिएकी छन् । आजको बैठकको शून्य समयमा सांसद दाहालले राष्ट्रियसभाले २०७८ साउन १८ गते छलफल गरी प्रतिनिधिसभामा उक्त दुई विधेयक पठाएको जानकारी गराउँदै प्रतिनिधिसभाको अघिल्लो समयावधि सकिएकाले ती विधेयक शून्यमा गएको भन्दै चिन्ता व्यक्त गरिन् । नेपालमा हालसम्म ७१ पटक हवाई दुर्घटना भएको जानकारी दिँदै हवाईसम्बन्धी महत्त्वपूर्ण मानिएका दुई विधेयक यथाशीघ्र ल्याएर कार्यान्वयन गर्नुपर्ने सांसद दाहालले उल्लेख गरिन् । ‘यी दुई विधेयकमाथि कहिले छलफल हुन्छ र कार्यान्वयनमा आउँछ?,’ उनले प्रश्न गरिन् । सांसद गङ्गाकुमारी बेल्बासेले उपसभामुख इन्दिरा रानाले माफी मागिसकेको अवस्थामा उक्त विषयमा फेरि सदनमा उठाउनु गलत रहेको धारणा राखिन् । सांसद गोपीबहादुर सार्की अछामीले महाप्रबन्धक नहुँदा उदयपुर सिमेन्ट कारखाना सञ्चालनमा समस्या आएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा तीन सय शय्याको अस्पताल र मेडिकल सञ्चालन गर्न अनुपतिपत्र दिनुपर्ने विषयमा सरकारसमक्ष निवेदन गरे । सांसद मायाप्रसाद शर्माले मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्ड र चौझारी खण्डको पुल मर्मत गर्न सरकारलाई ध्यानाकर्षण गराए । सांसद सुमित्रा विसीले तरकारी र फलफूलमा विषादी प्रयोग भइरहेकाले जनस्वास्थ्यमा असर परेको विषयमा कृषि मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै समस्या समाधानको पहल गर्न आग्रह गरिन् ।
नियमित खानूहोस् दही, यस्ता छन् फाइदा
काठमाडौं । के तपाईं आफ्नो आहारमा दही कत्तिको समावेश गर्नुहुन्छ ? के तपाईंलाई दहीको फाइदाबारे थाहा छ ? आज दहीका फाइदाका बारेमा छलफल गरौं । दही पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ । यसले शरीरलाई पोषण प्रदान गर्छ । दहीमा उच्च मात्रामा क्याल्सियम पाइन्छ । जसले हड्डीलाई मजबुत बनाउन सहयाेग गर्छ । यसले शरीरमा बढ्दो बोसोको मात्रालाई पनि नियन्त्रण गर्छ । दहीकाे दैनिक सेवनले मुटुको समस्यालाई हटाउन मद्दत गर्नुका साथै कोलेस्ट्रोलको स्तर घटाउन पनि मद्दत गर्छ । दहीमा पाइने प्रोबायोटिक्सले मेटाबोलिज्म बढाएर तौल घटाउन मद्दत गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मुटुरोग (सीभीडी) विश्वव्यापी मृत्युको प्रमुख कारण हो । जसका कारण बर्सेनि धेरै मानिसको मृत्यु हुने गरेको छ । नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार आहारमा दही समावेश गरेमा मुटु रोगबाट बच्न सकिन्छ । दहीकाे फाइदाहरू: आहारविज्ञ मनिषा गोयलले दहीमा क्याल्सियमको मात्रा बढी हुनुका साथै बी कम्प्लेक्स पनि प्रचुर मात्रामा पाइने बताउँछिन् । यसमा पाइने भिटामिन बी १२ र रिबोफ्लेविनको सहयोगले न्युरल ट्युब जन्मदोषका साथै मुटुसम्बन्धी रोगबाट पनि राहत मिल्ने उनकाे भनाइ छ । दहीको सेवनले शरीरलाई संतृप्त बोसो र केही मात्रामा मोनोस्याचुरेटेड फ्याट प्राप्त हुन्छ । यसको सेवनले शरीरमा राम्रो कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ । युएसडीएका अनुसार १ कप दहीको सेवनले शरीरलाई २८ प्रतिशत फस्फोरस, १० प्रतिशत म्याग्नेसियम र १२ प्रतिशत पोटासियम प्राप्त हुन्छ । यसबाहेक दहीमा सेलेनियम र जिंक पनि पाइन्छ । यसले प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्छ । कोलेस्ट्रोल राम्रो बनाउँछ ब्रिटिस जर्नल अफ न्यूट्रिशनको रिपोर्टका अनुसार दहीमा पाइने स्याचुरेटेड फ्याटले शरीरमा बोसोको मात्रा नियन्त्रण गरेर राम्रो कोलेस्ट्रोलको स्तर बढाउन मद्दत गर्छ। जर्नल अफ हेयरी साइन्सको २०१७ को रिपोर्टअनुसार घरमा बनाएको दही खाने मानिसमा अरूकाे तुलनामा राम्रो कोलेस्ट्रोलको मात्रा बढी हुन्छ । यसबाहेक ट्राइग्लिसराइड्सको स्तर पनि नियन्त्रणमा रहन्छ । रक्तचाप नियन्त्रण दहीमा भिटामिन ए, बी ६, बी १२ र रिबोफ्लेभिन जस्ता धेरै पोषक तत्वहरू पाइन्छ । नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार दहीको नियमित सेवनले उच्च रक्तचापको जोखिम कम गर्छ । यसमा पाइने क्याल्सियम र पोटासियमको मात्राले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । अर्को अध्ययनका अनुसार दिनमा तीन पटक दही खाँदा उच्च रक्तचापको जोखिम १३ प्रतिशतले कम हुन्छ । हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ हार्ट फाउन्डेसनको अनुसन्धानका अनुसार बिना स्वादको दहीको सेवनले रक्तनलीमा हुने कडापनलाई कम गर्न सकिन्छ । खानेकुरामा दही समावेश गर्नाले धमनीमा हुने अवरोध हटाएर मुटुमा रक्तसञ्चारलाई सन्तुलनमा राख्न मद्दत गर्छ । यसको सेवनले शरीरलाई म्याग्नेसियम र पोटासियम प्राप्त हुन्छ । यसले हृदयघात र स्ट्रोकको जोखिमलाई नियन्त्रण गर्न मद्दत गर्छ । उत्तम प्रोबायोटिक्स पेटको माइक्रोबायोमले मुटुको सही स्वास्थ्य कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । दही खाँदा पेटमा राम्रो ब्याक्टेरियाको वृद्धि हुन्छ । माइक्रोबायोटाले एथेरोस्क्लेरोसिस, उच्च रक्तचाप र सूजन कम गर्न सक्छ । -एजेन्सीकाे सहयाेगमा
बालबालिकाको अवैध ओसारपसार कायमै
काठमाडौं । गरिब, अशिक्षा र आधारभूत सेवासुविधाको अभावमा कर्णाली प्रदेशका हिमाली जिल्लाबाट अहिले पनि सयौँको सङ्ख्यामा बालबालिकाको ओसारपसार हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न तीनै तहका सरकारहरू गम्भीर हुनुपर्नेमा जोड दिइएको छ । ६० औँ बाल दिवसको अवसरमा आधार विकास नेपाल र हिमाली नवीन समाजद्वारा यहाँ आयोजित नेपालमा संस्थागत हेरचाहमा हुने बालबालिकाको ओसारपसार विषयक गोष्ठीका सहभागी वक्ताहरूले सो धारणा राखेका हुन् । नेपालमा संस्थागत हेरचाहसँग जोडिएर हुने बालबालिकाको बेचबिखन तथा ओसारपसारको नियन्त्रण तथा रोकथाम र कानूनी व्यवस्था नभएकाले देशका दुर्गम जिल्लाहरुबाट विभिन्न बहानामा वर्षेनी सयौंको सङख्यामा बालबालिकाहरु आफ्ना परिवार समाजबाट बिछोडिनुपरेको छ । यसले ती बालबालिकाको अभिभावकसँग बिताउन पाउने नैसर्गिक अधिकारबाट बञ्चित हुनुको साथै उनीहरूले शारिरीक, मानसिक यातना सहनु परेकाले यसतर्फ ध्यान दिनुपर्ने वक्ताहरुको भनाइ छ । सो अवसरमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश जडीबुटी र खाद्यान्न उत्पादनको अपार सम्भावना रहेपनि त्यसको उपयोग गर्न नसक्दा गरिबीको अवस्था देखिएको उल्लेख गर्दै सामाजिक सोच र व्यवहारले पनि कर्णाली उपेक्षामा परेको बताए । उनले विगतमा धनीका छोराछोरी बालमन्दिरहरुमा राखिने गरेपनि अहिले विपन्न र अशिक्षित परिवारका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी राख्ने गरिएको र त्यहाँ रहेका बालबालिकाको शैक्षिक, स्वास्थ्य अवस्था राम्रो नभएकाले उनीहरूलाई परिवारमै बस्ने वातावरण् बनाउनुपर्नेमा जोड दिए । आधार नेपालका देशीय प्रतिनिधि प्रल्हाद ढकालले केही बालबालिकालाई उनीहरुको गुणस्तरीय शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सुविधा दिने नाममा सहरमा ल्याउनुभन्दा जिल्लामै त्यो अवसर दिन सकिएमा परिवार, समाज र संस्कृतिसँगको सम्बन्धबाट उनीहरु विमुख हुन नपर्ने बताए । हिमाली नवीन समाजकबा कार्यकारी निर्देशक धनबहादुर लामाले देशका अधिकांश बालगृहहरु राज्यको मापदण्डअनुसार नरहेको उललेख गर्दै ती बाल गृहहरुमा राखिएका बालबालिका थुप्रै समस्याहरुबाट पीडित रहेकाले उनीहरुलाई परिवारमै पुनस्थापित गर्न संस्थाले पहल गरिरहेको उल्लेख गरे । सो अवसरमा राष्ट्रिय बालअधिकार परिषदका कार्यक्रम प्रबन्धक नमूना भुसाल, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता गौतम मिश्र, कानुन व्यवसायी डा शिव पौडेल र आधार नेपालका प्रज्ञा लम्सालले बालबालिकासम्बन्धी विद्यमान कानुन, वालगृहको अवस्था र राज्यले अवलम्बन गर्नुपर्ने नीतिका बारेमा प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा केही वर्षअघि रुकुम टक्सेराबाट काठमाडौं ल्याइएकी वर्मा बुढामगरले आफूले ११ वर्षसम्म बालगृहमा रहँदा भोग्नुपरेका पीडाका बारेमा बोलेकी थिइन् । सो अवसरमा हाम्रो घर हाम्रो परिवार नामक पुस्तकको पनि लोकार्पण गरिएको थियो । रासस
आयोगको संस्थागत क्षमता, विकास र कर्मचारीको व्यावसायिक दक्षता वृद्धि गर्नुपर्छ : पौडैल
राष्ट्रपति रामचन्द्र पाैडेल । फाइल तस्बिर । काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्त्वपूर्ण भएको उल्लेख गरे । यसका लागि आयोगको संस्थागत क्षमता, विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अत्यावश्यक रहेको उनले बताए । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको यस भूमिकालाई निर्वाह गर्ने क्रममा आयोगले भ्रष्टाचार नियन्त्रणका विभिन्न रणनीति अवलम्बन गर्दै आएको र कार्यसम्पादन गर्दा आम नागरिक तथा राष्ट्रिय हितलाई मध्यनजर गरी सदाचार, निष्पक्षता र निर्भिकताको मूल मन्त्रलाई आत्मसात गरेकामा खुसी व्यक्त गरे । उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पुरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाही समेटेर पेस गरेको यो प्रतिवेदनमा उठाइएका महत्त्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे । याे पनि पढ्नूहाेस्: अख्तियारमा २६ हजार ९ सय बढी उजुरी, साढे ८ अर्ब रुपैयाँ बिगो माग
पढेको शिक्षण संस्थामा मात्र इन्टर्न गर्न भनेपछि एमबीबीएसका विद्यार्थी असन्तुष्ट
काठमाडौं । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको बंगलादेशले पठाएको पत्रप्रति विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन् । बंगलादेशमा एमबीबीएस गरिसकेका विद्यार्थीले नेपालमै इन्टर्नसिप पाउनुपर्ने माग गर्दै शिक्षा मन्त्रालयलाई आग्रह गरिरहेका विद्यार्थीहरू अन्ततः मन्त्रालयले सार्वजनिक गरेको पत्रप्रति असन्तुष्ट बनेका हुन् । विद्यार्थीहरूले बंगलादेशमा तत्काल फर्किन सक्ने अवस्था नरहेकाले नेपालमै अभ्यास गर्न पाउनुपर्ने बताएपछि शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशमा रहेका विभिन्न शैक्षिक संस्थासँग जवाफ मागेको थियो । बंगलादेशस्थित दूतावासमार्फत् आएको पत्रमा विद्यार्थीलाई पढेकै शिक्षण संस्थामा मात्र अभ्यास गर्न जवाफ आएको पत्र शिक्षा मन्त्रालयले सार्वजनिक गरेपछि विद्यार्थी असन्तुष्ट बनेका हुन् । ‘बंगलादेशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन विदेशी विद्यार्थीहरूले त्यहींस्थित अध्ययन गरेकै मेडिकल कलेजमा इन्टर्नसिप पुरा गर्नुपर्ने भनिएको छ । उता रजिस्टर्ड गर्न नचाहेर आफ्नै देशको मेडिकल काउन्सिलमा रजिस्टर्ड भएर स्वदेशमै इन्टर्नसिप गर्न मिल्ने कि नमिल्ने ? याे प्रश्नको जवाफ देखिएन, यसबाट प्रष्ट हुन्छ कि हाम्राे देशकाे कुटनीतिक कति कमजोर छ,’ विद्यार्थी डा. नविन यादवले भने । उनले १० दिनभित्र प्रतिवेदन पेस गर्ने भनेर गठन गरिएको अध्ययन समितिको कार्यप्रति पनि आपत्ति जनाएको जानकारी दिए । उनले भने, ‘अध्ययन समितिले केही अध्ययन गरेजस्तो देखिएन । यसको हामी घोर निन्दा गर्दछौं । समस्या समाधान गर्ने भनेर विद्यार्थीहरूलाई छल्ने, निरुत्साहित गर्ने काम मात्र देखियो । शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै बंगलादेशस्थित नेपाली राजदूतावासमार्फत बंगलादेशको सम्बन्धित निकायहरूमा मागेको धारणा एवं अध्ययन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरिनुपर्छ ।’ यादवले यस्तो अवस्थामा विद्यार्थी पढाइ छोडेर नबस्ने बताउँदै त्यहाँ कुनै घटना भइ विद्यार्थीलाई केही भयो भने आफूहरू चुप लागेर नबस्ने चेतावनीसमेत दिए । आफ्नै देशको सरकारले विभेद गरेको बताउँदै नेपाली विद्यार्थीहरू बाध्य भएर बंगलादेश फर्कनुपरेको बताएका छन् ।
टीभीएसको दशैं-तिहार अफरअन्तर्गत धनगढीका सञ्जीव चौधरीले पाए ७७ हजार क्याशब्याक
काठमाडौं । धनगढी टीभीएस बाइकको दशैं-तिहार अफरअन्तर्गत धनगढीका एक युवकले २५ प्रतिशत क्याशब्याक पाएका छन् । टीभीएस बाइकले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै दशैं-तिहारको अवसरमा विभिन्न छुटसहित विभिन्न अफर ल्याएको छ । सोही अफरअन्तर्गत धनगढी उपमहानगरपालिका ७ बस्ने सञ्जीत चौधरीले टीभीएस आरटीसी १६० मोडेलको बाइक किन्दा २५ प्रतिशत अर्थात् ७७ हजार बढी क्याशब्याक पाएका हुन् । चौधरीले आफ्ना साथीहरूले टीभीएसको बाइक किनेपछि आफूलाई पनि रहर लागेर बाइक किनेको र धनगढीको बागेश्वरी अटोमोटिभ्सबाट बाइक किन्दा आफूलाई २५ प्रतिशत क्याशब्याक परेको बताए । टीभीएस कम्पनीले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै विभिन्न क्याशब्याक तथा अफरहरू ल्याएको र यसबाट प्रत्येक हप्ता देशभरिबाट नै एकएक जना पर्दै आएको बागेश्वरी अटोमोटिभ्स धनगढीले जनाएको छ । ग्राहकहरूले अहिले दशैंको अवसरमा किन्नुभन्दा अगावै ५ हजारदेखि ५ लाखसम्म र बाइक खरिद गरेपछि एक हजारदेखि १० लाखसम्मको जित्ने मौका रहेको टीभीएसकाे आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्स धनगढीले जनाएको छ । साथै यो दशैं-तिहारको अवसरमा बागेश्वरी अटोमोटिभसले जुनसुकै कम्पनीको पुरानो बाइक तथा स्कुटर सँग नयाँ बाइक तथा स्कुटर साटेर लग्न सकिनेसमेत जनाएको छ ।
अख्तियारमा २६ हजार ९ सय बढी उजुरी, साढे ८ अर्ब रुपैयाँ बिगो माग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई राष्ट्रपति रामचन्द्र पाैडेललाई आयोगको प्रतिवेदन बुझाउँदै । तस्बिर: रासस काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ उजुरीहरू परेका छन् । आइतबार शितल निवासमा आयोगको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने क्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सो जानकारी दिएका हुन् । उनले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरीहरू समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेको जानकारी दिए । उनले यस अवधिमा कुल ३६ हजार १ सय ८६ उजुरीमध्ये २७ हजार ७१४ अर्थात ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्राथमिक छानबिनबाट फर्छ्याैट भएको बताए । प्रमुख आयुक्त राईले फर्छ्याैट गरेका उजुरीहरूमध्ये आयोगको क्षेत्राधिकारभित्र नपरेका गोलमटोल प्रकृतिका भइरहने वा दुःख दिने नियतका र कुनै तथ्य प्रमाणबिनाका सामान्य प्रकृतिका १३ हजार ५९३ वटा उजुरीहरू तामेली गरिएको जानकारी दिए । उनले फर्छ्याैट भएकामध्ये १ हजार १३३ वटा उजुरीहरूउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको, १३१ उजुरीउपर सुझाव दिई तामेली गरिएको र १२ हजार ७८६ उजुरी उपर कानून बमोजिम अन्य आवश्यक कारबाही गरिएको पनि जानकारी दिए । उनले उजुरीहरूको संख्या हेर्दा सबैभन्दा बढी उजुरी परेका क्षेत्रहरू क्रमशः संघीय मामिला (स्थानीय तहसमेतको) ३८.९१ प्रतिशत, शिक्षा ( स्थानीय तहसमेत) १५.७९ प्रतिशत, गैरकानूनी सम्पत्ति आर्जनसँग सम्बन्धित ६.९८ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६.४९ उजुरीहरू रहेकाे बताए । त्यस्तै, नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ४.७१, वन तथा वातावरणको ३.८२, स्वास्थ्य तथा जनसंख्याको ३.६, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ३.६१, गृह प्रशासनका ३.५२, अर्थ क्षेत्रसँग सम्बन्धित २.१२, ऊर्जा, जलस्राेत तथा सिँचाइसँग २.१०, खानेपानीका १.६१ प्रतिशत उजुरीहरू रहेका छन् । उल्लेखित क्षेत्र बाहेकका अन्य विविध क्षेत्रसँग सम्बन्धित उजुरीहरू ३.०९ प्रतिशत रहेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा आयोगमा दायर भएका २०१ मुद्दाहरूमध्ये सबैभन्दा बढी ५८ मुद्दा गैरकानुनी लाभ हानीसँग सम्बन्धित रहेका छन् भने घुससम्बन्धी ४८ वटा मुद्दा छन् । प्रमुख आयुक्त राईले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी ३४, सार्वजनिक सम्पत्तिकाे हानी नोक्शानीसम्बन्धी ३३, राजश्व चुहावटसम्बन्धी १३, गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी ११, विभिन्न विषयका ४ वटा मुद्दाहरू रहेको बताए । उल्लेखित आरोप पत्रहरूबाट कुल १ हजार ४५ जनालाई प्रतिवादी बनाई ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ बिगो माग दाबी लिइएको पनि बताए ।