लक्ष्मी सनराइज क्यापिटलको ‘एलएस होराइजन १२’ नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको बन्दमुखी सामूहिक लगानी कोष ‘एलएस होराइजन १२’ सूचीकृत भएको छ । नेप्से र लक्ष्मी सनराइज क्यापिटलबीच सम्झौता सम्पन्न भएपछि प्रतिइकाइ अंकित तथा चुक्ता मूल्य १० रुपैयाँ कायम भएका १५ करोड इकाइ नेप्सेमा सूचीकृत गरिएको हो । सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको उक्त योजनाका सबै १५ करोड इकाइ सूचीकृत गरिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार ‘एलएस होराइजन १२’ को दोस्रो बजार कारोबार साउन २१ गतेदेखि सुरु हुनेछ । सूचीकृतिपछि आरटीएस सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत उपलब्ध गराइनेछ ।
मुख्यसचिवको तलब ९० हजार, कार्यालय सहयोगीको २८ हजार ९८४
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको नयाँ तलबमान तथा सेवा–सुविधा कार्यान्वयनमा ल्याएको छ । नयाँ व्यवस्था साउन १ गतेदेखि लागू हुनेगरी मन्त्रिपरिषदले स्वीकृत गरेको हो । साउन ६ गते बसेको बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा मासिक प्रोत्साहन भत्तासम्बन्धी व्यवस्था स्वीकृत गरेको हो । निर्णयअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि अनुसूची–१ देखि अनुसूची–८ सम्म नयाँ तलबमान निर्धारण गरिएको छ । उक्त व्यवस्था निवृत्तिभरण प्रयोजनका लागि समेत लागू हुने उल्लेख गरिएको छ । नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब ९० हजार ४२५ हुनेछ । उक्त तलबमा कर्मचारीको ग्रेड थपिँदा तलब यसभन्दा धेरै हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ । सबैभन्दा धेरै तलब पाउने मुख्यसचिवले ९० हजारभन्दा माथि तलब लिँदा सबैभन्दा कम कार्यालय सहयोगीको तलब हुनेछ । नयाँ तलबमानअनुसार कार्यालय सहयोगीको तलब २८ हजार ९८४ रुपैयाँ कायम भएको छ ।
मल्टिपर्पस फाइनान्सले लाभांश नदिने
काठमाडौं । मल्टिपर्पस फाइनान्स लिमिटेडले सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा नगद लाभांश तथा बोनस सेयर वितरण नगर्ने प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिने कम्पनीले जनाएको छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा उक्त प्रस्ताव पेश गरिनेछ ।
अमेरिका जान झुटो बोली अन्तवार्ता दिए सधैंका लागि प्रवेशमा रोक
काठमाडौं । अमेरिकन दूतावासले भिसा अन्तवार्ताका क्रममा झुटो नबोल्न आग्रह गरेको छ । झुटो बोलेमा अमेरिकाको भिसा सधैंका लागि नलाग्ने दूतावासले चेतावनीसमेत दिएको छ । ‘भिसाको अन्तवार्ताको क्रममा सधैँ सत्य बोल्नुहोस्,’ दूतावासले भनेको छ, ‘झुटो बोलेमा तपाईंलाई भविष्यमा भिसा वा अमेरिका प्रवेशका लागि स्थायी रूपमा प्रतिबन्ध लाग्न सक्नेछ ।’ कन्सुलर अधिकारीहरूले विगतमा अध्यागमनसम्बन्धी नियम उल्लङ्घनबारे गरिएका गतिविधिका बारेमा जानकारी राख्ने पनि दूतावासले बताएको छ । त्यसैगरी, दूतावासबाहिर कसैले ‘दूतावासमा आफ्नो चिनजान छ’ भन्दै भिसा अन्तर्वार्ताको समय छिटो मिलाइदिने भने गरेको पाइएमा त्यो ठग हो भनेर बुझ्न पनि दूतावासले आग्रह गरेको छ । अन्तर्वार्ताको समय लिन वा परिवर्तन गर्न चाहेमा अमेरिकी दूतावासको आधिकारिक वेबसाइटमा जानुपर्ने पनि दूतावासले जनाएको छ ।
मस्कलाई एकैदिन ८९.६ अर्ब डलर घाटा
काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थमा बुधबार ठूलो गिरावट आएको छ । उनको कम्पनी स्पेशएक्सका सेयरमा बुधबार १३.६१ प्रतिशत गिरावट आएको थियो भने टेस्लाको सेयर पनि १.७७ प्रतिशतले घटेको थियो । ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार सेयर बजारमा आएको गिरावटका कारण मस्कको नेटवर्थ ८९.६ अर्ब अमेरिकी डलरले घटेको छ । यो मुकेश अम्बानीको नेटवर्थ ८५.७ अर्ब डलरभन्दा पनि बढी हो । यससँगै मस्कको कुल सम्पत्ति ६८७ अर्ब डलरमा झरेको छ । यद्यपि, यस वर्ष उनको नेटवर्थ अझै ६८.१ अर्ब डलरले बढेको छ । बुधबार विश्वका शीर्ष १० धनीमध्ये आठ जनाको नेटवर्थमा गिरावट आएको छ । मस्कपछि सबैभन्दा ठूलो क्षति ल्यारी पेजलाई भएको छ । गुगलका सहसंस्थापक पेजको नेटवर्थ ११.५ अर्ब डलरले घटेर ३०९ अर्ब डलरमा झरेको छ । त्यस्तै, उनका सहसंस्थापक सर्गेई ब्रिनको नेटवर्थमा १०.५ अर्ब डलरको कमी आएको छ । उनी २८८ अर्ब डलरको नेटवर्थसहित विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा पुगेका छन् । जेफ बेजोस २९२ अर्ब डलरको नेटवर्थसहित तेस्रो स्थानमा छन् । यस वर्ष सबैभन्दा धेरै ९९.३ अर्ब नेटवर्थ थपेका माइकल डेल २३९ अर्ब डलरसहित पाँचौं स्थानमा छन् । त्यस्तै, मार्क जुकरबर्ग २१० अर्ब डलरसहित छैटौं, ल्यारी एलिसन १९७ अर्ब डलरसहित सातौं, जेन्सेन हुआङ १८२ अर्ब डलरसहित आठौं, स्टिभ बाल्मर १७१ अर्ब डलरसहित नवौं र बर्नार्ड आर्नो १६३ अर्ब डलरसहित दशौं स्थानमा छन् । भारत तथा एसियाका धनीमध्ये अग्रस्थानमा रहेका गौतम अडानी ११३ अर्ब डलरको कुल सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा १७औं स्थानमा छन् । अडानीको सम्पत्तिमा बुधबार २७.२ करोड डलर वृद्धि भएको छ । यस वर्ष उनको कुल सम्पत्ति २८.१ अर्ब डलरले बढेको छ । अर्कोतर्फ, अम्बानीको नेटवर्थमा बुधबार ५१.४ करोड डलरको गिरावट आएको छ । यस वर्ष भने उनको नेटवर्थ २२ अर्ब डलरले घटिसकेको छ ।
एकैदिन तोलामा ८ हजारले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ । एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँ र चाँदीको मूल्य ९५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउ उकालो लागेको व्यवसायीहरूले बताएका छन् ।
सरकारको दबाबपछि तिब्बतीय अध्यन सम्मेलन स्थगित
काठमाडौं । सरकारको दबाबपछि तिब्बतीय अध्ययन सम्मेलन नहुने भएको छ । काठमाडौंमा विश्वभरका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापक, प्राज्ञ तथा शोधकर्ताहरूको सहभागितामा नेपालमा १७ औं अन्तर्राष्ट्रिय प्राज्ञिक गोष्ठी आयोजना हुने तय भएको थियो । तीनदेखि चार वर्षमा विश्वका विभिन्न मुलुकमा आयोजना हुँदै आएको यो अन्तर्राष्ट्रिय गोष्ठी यसपटक सत्रौं संस्करणका रूपमा नेपालमा हुन तयारी भएको थियो । सरकारले वर्तमान अवस्थामा सम्मेलन नगर्न निर्देशन आएकाले सम्मेलन रद्द गरिएको गोष्ठीका संयोजक रहेका प्रा.सागर शर्माले जानकारी दिए । ‘हामीले सरकारको निर्देशन मान्नैपर्यो । राज्यभित्र रहने भएकाले राज्यका कानुन तथा निर्देशन मान्नुपर्छ,’ उनले विकासन्युजसँग भने । काठमाडौं विश्वविद्यालयअन्तर्गतको सेन्टर फर बुद्धिस्ट स्टडिज, राङ्जुङ येशे इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको थियो । आगामी भदौको ७ देखि १३ सम्म काठमाडौंमा ‘इन्टरनेसनल एसोसिएसन फर तिब्बती स्टडिज’ को सम्मेलन हुन लागेको थियो । नेपाल प्रहरीका उच्च अधिकृतले सुरक्षा थ्रेटको चुनौतीलाई लिएर पनि तिब्बतीय अध्ययन सम्मेलन रोकिएको बताए । ’सुरक्षा चुनौतीलाई लिएर र देशी–विदेशीले यहाँ खेल्न सक्ने भन्दै चुनौती देखिएको थियो,’ ती प्रहरी अधिकृतले भने । विभिन्न मुलुकका अध्यताहरू आउने र यहाँका वस्तुस्थिति तथा राजनीति विश्लेषण गर्न सक्ने भएकाले पनि सुरक्षाको तहबाट यो उच्च जोखिममा रहेको प्रहरीले निष्कर्ष निकालेको उनको भनाइ छ । परराष्ट्रका एक अधिकारीले सरकारको निर्देशन तथा नियमविपरीत सम्मेलन गर्न लागिएका तत्काल कार्यक्रम रद्ध गर्न अनुरोध गरिएको बताए । ‘कतिपय अवस्थामा भू– राजनीतिलाई पनि ख्याल गर्नुपर्ने भएकाले सम्मेलन रद्द गर्नु परेको हो,’ उनले भने ।
एउटा फोटोले दिलाउन सक्छ नयाँ एथर स्कुटर, नाइमा एक्स्पोमा दिइँदै मेगा अफर
काठमाडौं । एथर इनर्जी नेपालले यही साउन २६ गतेदेखि आयोजना हुने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’लाई लक्षित गर्दै ‘मेगा गिभअवे’ अभियान संचालन गरेको छ । गत वर्ष आयोजना गरिएको यस अभियानमा सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र अपार मायापछि कम्पनीले यस वर्ष पनि यो लोकप्रिय सामाजिक सञ्जाल अभियानलाई निरन्तरता दिएको हो । कम्पनीका अनुसार यस अभियान अन्तर्गत एक भाग्यशाली सहभागीले एथरको नयाँ इलेक्ट्रीक स्कुटर जित्ने अवसर पाउनेछन् । अर्थात् अब सामाजिक संजालमा एउटा फोटो, एउटा पोस्ट सेयर गर्दा लक्की ड्रबाट एथरको नयँँ स्कुटर पाउने छन् । यद्यपि, कम्पनीले विजेताले कुन स्कुटर पाउँछन् भन्ने चाहिँ खुलाएको छैन । कम्पनीका अनुसार यस अभियानमा सहभागी हुन ४ प्रक्रिया पूरा गर्नुपर्नेछ । पहिला एथर इनर्जी नेपालको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्नुपर्नेछ । नाइमा मोबिलिटी एक्स्पोमा एथरेको स्टल (हल सी स्टल नम्बर सी२) भिजिट गरी स्टलमा राखिएको एथर स्कुटरसँग एउटा आकर्षक फोटो खिच्नुपर्नेछ । उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दा @AtherEnergyNepal लाई ट्याग गर्नुका साथै आफ्ना दुई जना साथीहरूलाई पनि ट्याग गर्नुपर्नेछ । यी चरण पूरा गर्ने सहभागीहरू स्वतः लक्की ड्रमा समावेश हुने कम्पनीले जनाएको छ । भृकुटीमण्डपमा आयोजना हुने यस एक्स्पोमा एथरको स्टललाई प्रविधिमैत्री र अन्तरक्रियात्मक बनाइएको छ । जहाँ आगन्तुकहरूले एथरका नवीनतम प्रविधि, स्मार्ट फिचरहरू, तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानहरू प्रत्यक्ष रूपमा अवलोकन तथा अनुभव गर्न पाउनेछन् । विद्युतीय सवारीका पारखी तथा नयाँ ईभी खरिद गर्ने योजनामा रहेका ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले विभिन्न डेमो र गतिविधिहरू प्रस्तुत गर्ने जनाएको छ ।