महासंघ भन्छ- ५ अर्बको चिया निर्यात रोकिँदा उद्योगको ‘क्यास फ्लो’ ठप्प
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाली चिया निर्यातमा गम्भीर अवरोध उत्पन्न भएकाले समग्र चिया उद्योग क्षेत्र नै संकटमा परेको भन्दै तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । भारतीय चिया बोर्डले गत मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिज’ (एसओपी) र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यवहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा गम्भीर अवरोध उत्पन्न भएको हो । नेपाल चिया उत्पादक संघबाट प्राप्त पछिल्लो वस्तुस्थिति र मागहरूलाई मध्यनजर गर्दै महासंघले चिया क्षेत्रको रक्षाका लागि सरकारसँग जोडदार माग गरेको हो । नेपालको चिया क्षेत्र कृषि, उद्योग, निर्यात र ग्रामीण रोजगारीका दृष्टिले एक रणनीतिक र बलियो खम्बाको रूपमा स्थापित छ । यस क्षेत्रले वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारततर्फ निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिँदै आएको महासंघले जनाएको छ । महासंघका अनुसार राज्यलाई वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व बुझाउने र ६० हजारभन्दा बढी कर्मचारी तथा मजदुरहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको यो संवेदनशील क्षेत्र छिमेकी मुलुकको अव्यवहारिक नीतिगत परिवर्तनका कारण अहिले पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगेको छ । छिमेकी देशले लागू गरेको नयाँ मापदण्डअन्तर्गत झन्झटिलो गुणस्तर परीक्षण, रिपोर्ट आउन लाग्ने २० देखि २५ दिनको लामो अवधि, अनिवार्य गोदाम शुल्क र रिपोर्ट कमजोर आएमा चिया नै नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियमहरूका कारण निर्यात पूर्ण रूपमा ठप्प भएको महासंघले जनाएको छ । चिया निर्यात हुन नसक्दा उद्योगहरूको नगद प्रवाह रोकिएको छ, जसका कारण उद्योगहरूले किसानलाई हरियो पत्तीको भुक्तानी गर्न, मजदुरको पारिश्रमिक दिन र राज्यलाई कर तथा विद्युत महशुल बुझाउन समेत असमर्थ भएका छन् । यसले गर्दा चिया क्षेत्रमा आश्रित हजारौं किसान, मजदुर र उद्यमीहरूको भविष्य नै संकटमा परेको छ । नेपाली वस्तुहरूको निर्यातमा बारम्बार आउने गुणस्तरसम्बन्धी अवरोधहरू हटाउन नेपालमै अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त एक्रिडिटेड ल्याब स्थापना गर्न आवश्यक रहेको महासंघको भनाइ छ ।
जेठमा ब्रोकर कमिसन ३६.६२ करोड, अग्रस्थानमा नासा, मनी वर्ल्डको ५१५ मात्रै
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार जेठ महिनामा ९१ वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले कुल ३६ करोड ६२ लाख २९ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । नेप्सेले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त महिनामा ब्रोकर कम्पनीहरूको कमिसन आम्दानी उल्लेख्य देखिएको छ । सबैभन्दा बढी कमिसन नासा सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले आर्जन गरेको छ । उक्त कम्पनीले जेठमा २ करोड ८७ लाख १४ हजार रुपैयाँ कमिसन कमाएको हो । यस्तै, सानी सेक्युरिटीज कम्पनी लिमिटेड (ब्रोकर नं ४२)ले १ करोड ४४ लाख २४ हजार रुपैयाँ, इम्पेरियल सेक्युरिटीज कम्पनी (ब्रोकर नं ४५)ले १ करोड २३ लाख ९१ हजार रुपैयाँ, अनलाइन सेक्युरिटीज प्रालि (ब्रोकर नं ४९)ले १ करोड १३ लाख ५२ हजार रुपैयाँ, भिजन सेक्युरिटीज (ब्रोकर नं ३४)ले १ करोड ४ लाख ८ हजार रुपैयाँ, त्रिशक्ति सेक्युरिटीज पब्लिक (ब्रोकर नं ४८)ले १ करोड २ लाख ४७ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । यस्तै, अन्य उल्लेखनीय आम्दानी गर्ने ब्रोकरहरूमा डायनामिक मनी म्यानेजर सेक्युरिटीजले १ करोड १७ हजार रुपैयाँ, आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीजले ९३ लाख ६५ हजार रुपैयाँ, दीपशिखा धितोपत्र कारोबार कम्पनीले ८४ लाख ६३ हजार रुपैयाँ र क्यापिटल म्याक्स सेक्युरिटीजले ८० लाख ८२ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । यस्तै, सबैभन्दा कम कमिसन भने मनी वर्ल्ड सेयर एक्सचेन्जले गरेको छ । जेठमा मनि वर्ल्डले ५१५ रुपैयाँ मात्रै कमिसन आर्जन गरेको नेप्सेले जनाएको छ । बेनी सेक्युरिटीज (ब्रोकर नं. ९३) ले ३९ हजार ३०७ रुपैयाँ, पाही लगानी (ब्रोकर नं. ७९) ले ४९ हजार १२२ रुपैयाँ, भोले गणेश सेक्युरिटीज लिमिटेड (ब्रोकर नं. ६१) ले ३ लाख ८१ हजार १५० रुपैयाँ, गरिमा सेक्युरिटीज लिमिटेड (ब्रोकर नं. ७८)ले ४ लाख १६ हजार ८२५ रुपैयाँ, माछापुच्छ्रे सेक्युरिटीज लिमिटेड (ब्रोकर नं. ७६)ले ५ लाख ४८ हजार ७४५ रुपैयाँ कमिसन आर्जन गरेका छन् । ट्रेडमो सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ९८)ले ५ लाख ४९ हजार २ रुपैयाँ, सजिलो ब्रोकर लिमिटेड (ब्रोकर नं. ९०)ले ८ लाख ४३ हजार ३५४ रुपैयाँ, ग्लोबल आइएमई सेक्युरिटीज लिमिटेड (ब्रोकर नं. ८९)ले ८ लाख ८८ हजार ३३२ रुपैयाँ र आर.बी.बी. सेक्युरिटीज कम्पनी लिमिटेड (ब्रोकर नं. ९७)ले ९ लाख ५१ हजार ७८९ रुपैयाँ कमिसन आर्जन गरेको नेप्सेको तथ्याङ्कमा उल्लेख छ ।
इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले पदभार ग्रहण गरेका छन् । इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले नवनियुक्त अध्यक्ष डाँगीलाई कार्यालयमा स्वागत गर्दै पदबहाली गराएका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष डाँगीले अधिवेशनको समयमा साथीहरू फरक कित्तामा देखिए पनि साधारणसभाबाट सर्वसम्मत नेतृत्व चयन भएपछि अहिले समग्र ऊर्जा क्षेत्र एक ढिक्का भएर अघि बढेको विश्वास व्यक्त गरे । ‘चुनावको बेला जे भयो, सकियो । अब हामी एक ढिक्का भएर काम गर्नेछौं । सबै जना एक ठाउँमा हुनु अवसर र चुनौती दुवै हो । कार्यसमितिमा आउनुभएका सबै साथीहरूलाई पूर्ण अधिकारसहित विभिन्न जिम्मेवारी दिएर कार्यविभाजन गरेर काम गर्नेछौं,’ अध्यक्ष डाँगीले भने । यस अघिका तीनवटा कार्यसमितिमा बसेर काम गरिसकेका डाँगी चौथो कार्यकालमा अध्यक्ष बनेका हुन् । इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले इप्पानमा आवद्ध भइसकेपछि जुनसुकै पदमा बसेको भएपनि बोल्दा सधैं ध्यान दिनुपर्ने बताए । ‘कार्यसमितिको सदस्यले बोल्दा पनि अध्यक्षले जिम्मा लिनुपर्छ । त्यसैले बाहिर बोल्दा सल्लाह गरेर मात्रै बोल्नुपर्छ । कुनै कुराको पूर्ण जानकारी छैन भने यसबारेमा पछि कुरा गरौंला भनेर भन्नसक्नुपर्छ,’ कार्कीले भने, ‘बोलीमा सजगता अपनाउन सकिएन भने १५ खर्ब रुपैयाँ लगानी भएको सिंगो क्षेत्रले नै त्यसको मूल्य चुकाउनुपर्छ । निवर्तमान अध्यक्ष कार्कीले हिजो आफ्नो कार्यसमितिले उठाएका मुद्दाहरू सबैजसो राजनीतिक दलका घोषणापत्रमा समेटिनु ठूलो सफलता भएको र अबको कार्यसमितिले त्यसलाई कार्यान्वयनका लागि झकझक्याइरहनुपर्ने पनि बताए । इप्पानका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले हिजो र आज बस्ने आसन परिवर्तन भएपनि ऊर्जा क्षेत्रका मुद्दाहरूमा हिजोकै जसरी सँगै हुने बताए । ‘निवर्तमान अध्यक्षज्यूको आफ्नै लिगेसी छ । यो कार्यसमितिले त्यो लिगेसी सतप्रतिसत बहन गर्न नसक्ला कि भन्ने लागिरहेको छ । त्यसैले सिट परिवर्तन भए पनि ऊर्जा क्षेत्रको बृहत्तर हितका लागि हामी सधै संगै हुने विश्वास छ,’ भ्लोनले भने । ७०० ऊर्जा उत्पादक कम्पनीहरू सदस्य रहेको इप्पानको नयाँ नेतृत्व गत जेठ २९ गते चयन भएको थियो ।
डिपसिकको मूल्यांकन ५० अर्ब डलर नाघ्यो
काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष संकलन चरणमै ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यांकन प्राप्त गरेको छ र यसले विश्व एआई बजारमा कम्पनीको तीव्र उदयलाई थप बल दिएको छ । लगानीकर्ताहरूले हालै सम्पन्न फन्डिङ राउन्डमा कम्पनीलाई उक्त मूल्यांकन दिएका हुन् । यससँगै डिपसिक एआई क्षेत्रमा तीव्र गतिमा उदीयमान नयाँ शक्तिका रूपमा स्थापित भएको देखिएको छ । कम्पनीले यसअघि सन् २०२५ मा कम लागतमा तयार गरिएको च्याटबोटमार्फत विश्वलाई चकित पारेको थियो र त्यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धी क्षमता देखाएको थियो । यस वर्ष अप्रिलमा कम्पनीले आफ्नो नयाँ एआई मोडेल सार्वजनिक गरेको थियो । वाल स्ट्रिट जर्नल र ‘द इन्फर्मेसन’ का अनुसार कम्पनीले पछिल्लो चरणमा ५० अर्ब युआन ९करिब सात अर्ब ४० करोड डलर० भन्दा बढी पूँजी जुटाएको छ । सो फन्डिङ राउन्डले कम्पनीको मूल्यांकन ५० अर्ब डलरभन्दा माथि पुर्याएको बताइएको छ । डिपसिकले भने यस विषयमा टिप्पणी गर्न एएफपीको अनुरोधको जवाफ दिएको छैन । एआई उद्योगमा अत्याधुनिक मोडेलहरूको विकास र सञ्चालन अत्यन्त खर्चिलो मानिन्छ । यसका लागि विशाल कम्प्युटिङ पूर्वाधारमा अर्बौं डलर लगानी आवश्यक पर्छ । तथापि, विश्वका प्रमुख एआई कम्पनीहरू अझै नाफामा पुग्न नसकेका र भविष्यमा व्यावसायिक मोडेल स्पष्ट बनाउन सङ्घर्षरत रहेको विश्लेषण गरिएको छ । यसैबीच वासिङ्टनले डिपसिकको नयाँ एआई मोडेललाई चीनकै सबैभन्दा उन्नत प्रविधिमध्ये एक भए पनि अमेरिकी कम्पनीहरूको तुलनामा करिब आठ महिना पछाडि रहेको मूल्यांकन गरेको बताइएको छ । अमेरिकामा एआई क्षेत्रमा सक्रिय स्टार्टअप एन्थ्रोपिकको मूल्यांकन हालैको फन्डिङ राउन्डपछि करिब ६५ अर्ब डलर पुगेको छ भने च्याटजीपीटी निर्माता ओपनएआईको मूल्यांकन मार्चमा करिब आठ खर्ब ५२ अर्ब डलर रहेको उल्लेख छ । यी दुवै कम्पनीले हालै सार्वजनिक सूचीकृत हुने तयारी थालेका छन् र यसले निजी एआई लगानी बजारको विस्तार सीमामा पुग्न लागेको संकेत गरेको विश्लेषकहरूले बताएका छन् । रिपोर्टअनुसार डिपसिकका संस्थापक लियाङ वेनफेङले व्यक्तिगत रूपमा करिब २० अर्ब युआन लगानी गरेका छन् । उनले सीमित साझेदारी संरचना प्रयोग गरी कम्पनीमाथिको नियन्त्रण कायम राख्ने अनौठो लगानी संरचना तयार पारेको पनि जनाइएको छ । यसैगरी चीनको सरकारी समर्थन प्राप्त नेसनल आर्टिफिसियल इन्टेलिजेन्स इन्डस्ट्री इन्भेस्टमेन्ट फन्डले करिब एक अर्ब युआन लगानी गरेको छ । टेनसेन्ट, जेडी डटकम र नेटइज जस्ता ठूला चिनियाँ प्रविधि तथा उद्योग कम्पनीहरू पनि लगानीकर्ताका रूपमा सहभागी रहेको बताइएको छ । ती कम्पनीहरूले भने यसबारे सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेका छन् वा प्रतिक्रिया दिएका छैनन् । रासस
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको जिम्मेवारी सिटौलालाई सुम्पिँदै बिदा भए स्वाँर
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व पुण्यप्रसाद सिटौला (सरोज) ले सम्हालेका छन् । गत वैशाख २७ देखि ३० गतेसम्म कास्कीको पोखरामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिले बुधबार आधिकारिक रूपमा आफ्नो कार्यभार सम्हालेको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्ण ज्ञवालीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए । कार्यक्रममा निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँरले नवनिर्वाचित अध्यक्ष सरोज सिटौला लगायतका पदाधिकारीहरूलाई पद हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । शपथ ग्रहणका क्रममा नवनिर्वाचित पदाधिकारीहरूले सार्वजनिक यातायात क्षेत्रको सुधार, व्यवसायीहरूको हकहित र समग्र यातायात प्रणालीको विकासका लागि विधानको पूर्ण पालना गर्दै इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका थिए । नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्षहरूको जिम्मेवारी सानुकाजी प्रजापति, ऐन कुमार शाही र केदार प्रसाद पौडेलले सम्हालेका छन् । यस्तै, महासंघको महासचिवमा देगनाथ गौतम र सचिवहरूमा उमेश केसी, चेत प्रसाद गौतम ुअर्जुनु र टंक प्रसाद बस्यालले जिम्मेवारी सम्हालेका छन् । त्यसैगरी, कोषाध्यक्षमा राजेन्द्र आचार्य र सह–कोषाध्यक्षमा शोभाखर पौडेलले सम्हालेका छन् । महासंघले सातवटै प्रदेशका लागि प्रादेशिक संयोजकहरू पनि पदस्थापन गरेको छ । जसअनुसार कोशी प्रदेशमा सरोज श्रेष्ठ, मधेस प्रदेशमा हरिनारायण यादव, बागमतीमा सुवर्ण गिरी, गण्डकीमा महेश बहादुर खड्का, लुम्बिनीमा सन्जीव रोका, कर्णालीमा नारायण चपाई र सुदूरपश्चिम प्रदेशमा टेकराज जोशीले संयोजकको जिम्मेवारी सम्हालेका छन् । यसका साथै बस, मिनीबस, ट्रक, ट्याक्सी, माइक्रोबस, ट्याङ्कर लगायतका विभिन्न वर्गीय क्षेत्रका संयोजक र केन्द्रीय सदस्यहरूले पनि सोही अवसरमा शपथ लिएका छन् । पदस्थापन कार्यक्रममा बोल्दै निर्वाचन समितिका संयोजक ज्ञवालीले निर्वाचन प्रक्रिया उत्साहजनक र लोकतान्त्रिक ढंगले सम्पन्न भएको बताउँदै नयाँ नेतृत्वले यातायात क्षेत्रका विद्यमान चुनौतीहरूलाई चिर्दै व्यवसायीहरूको साझा आवाजको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा देशभरका विभिन्न यातायात समिति र संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
आईएमई लाइफद्वारा दृष्टिविहीन विद्यार्थीका लागि ५ लाख सहयोग
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीका अनुसार उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर तथा स्क्रीन रिडर सफ्टवेयरजस्ता आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइनेछ । आईएमई लाइफको सहयोगबाट काठमाडौंको लोलाङ, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । यसले ती विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । समावेशी शिक्षा र समान अवसर समाज विकासको महत्वपूर्ण आधार भएको विश्वाससहित कम्पनीले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताएको छ । दृष्टिविहीन विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराउँदा उनीहरूको शैक्षिक उपलब्धि र आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । फेलोसिप सोसाइटी नेपालले सन् २००० देखि दृष्टिविहीन बालबालिकाको शिक्षा र अधिकारका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको अनुभव र आईएमई लाइफ इन्स्योरेन्सको सहयोगले समावेशी समाज निर्माणमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।
अमेरिकाको सपना देखाएर १५ लाखभन्दा बढी ठग्ने श्रीमान–श्रीमती पक्राउ
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी विवाहको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई पक्राउ गरेको छ । आफू अमेरिकामा रहेको र नेपाली बोल्न नआउने भन्दै टिकटक र ह्वाट्सएपमार्फत पीडितलाई ठगी गर्ने दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर २ लुगाडाँडा घर भई हाल काठमाडौंको माछापोखरी बस्ने ३९ वर्षीय सञ्जीव नेपाली र उनकी श्रीमती ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन् । सरिताको स्थायी ठेगाना काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ रहेको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सञ्जीव नेपालीले टिकटकमा ‘प्रिन्स तामाङ’ नामको नक्कली आईडी बनाएर आफ्नो अनुहार समेत नदेखाई अंग्रेजी भाषामा कुराकानी गर्ने गरेका थिए । उनले पीडितलाई विवाह गरी अमेरिका लैजाने आश्वासन दिँदै आफ्नी बहिनी सरगम तामाङ भन्दै आफ्नै श्रीमती सरिता पराजुलीको ह्वाट्सएप नम्बरमा कुराकानी गर्न लगाएका थिए । यसरी योजनाबद्ध रूपमा पटक–पटक गरी पीडितबाट कुल पन्ध्र लाख दश हजार पाँच सय ठगी गरेको भन्दै ब्यूरोमा निवेदन दर्ता भएको थियो । प्राविधिक अनुसन्धान र विश्लेषणका आधारमा साइबर ब्यूरोबाट खटिएको विशेष टोलीले जेठ २ गते उनीहरूलाई माछापोखरीबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१५ मिनेट स्थगनपछि खुलेको संसदमा कुर्सी भने रित्तै
काठमाडौं । श्रम संस्कृति पार्टीको विरोधपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक बुधबार पुनः सञ्चालनमा भएको छ । तर बैठक पुनः सुरु भएलगत्तै संसद् भवनभित्र देखिएको दृश्यले सभामा सांसदहरूको उपस्थितिमाथि भने प्रश्न उठाएको छ । मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहँदा सदनका अधिकांश कुर्सी खाली देखिएका छन् ।बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन मन्त्रीहरू रोस्ट्रममा उभिएका छन् । तर मन्त्रीहरूको जवाफ सुन्नुपर्ने सांसदहरूको उपस्थिति भने अत्यन्त न्यून देखिएको छ । यसअघि बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका थिए । पार्टीका प्रमुख हर्क साम्पाङसहितका सांसदहरू सभामुखको आसनअगाडि पुगेर नाराबाजी र विरोधमा उत्रिएपछि बैठक सञ्चालन प्रभावित बनेको थियो । लगातारको अवरोधपछि सभामुख डोरप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । स्थगनपछि पुनः बसेको बैठकमा मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भए पनि धेरै सांसदहरू बैठक कक्षमा फर्किएका छैनन् । केही सांसद संसद् परिसरभित्रै विभिन्न छलफल र भेटघाटमा व्यस्त देखिएका छन् भने कतिपय सांसद सिंहदरबार बाहिर नै रहेका छन् । यसका कारण संसद् बैठकको मुख्य कार्यसूची अगाडि बढिरहेका बेला सदनको उपस्थिति फितलो देखिएको एक सांसदले बताए । प्रतिनिधिसभामा बजेट तथा विनियोजन विधेयकमाथिको छलफललाई सरकारको नीति, कार्यक्रम र खर्च योजनामाथि सांसदहरूले निगरानी गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ । सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले औपचारिक जवाफ दिने यो प्रक्रिया संसदीय जवाफदेहिताको महत्त्वपूर्ण अभ्यास मानिन्छ । तर जवाफ दिने समयमै सांसदहरूको उपस्थिति न्यून रहनुले सांसदहरूले मन्त्रीको उत्तरलाई खासै महत्त्व नदिएको रूपमा बुझ्नुपर्ने बताउँछन् नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ । विगतका वर्षहरूमा पनि संसद् बैठकका क्रममा सांसदहरूको न्यून उपस्थितिको विषय पटक–पटक सवाल उठ्दै आएको थियो । विशेषगरी मन्त्रीहरूको जवाफ, विधेयकमाथिको दफावार छलफल तथा बजेटमाथिको विस्तृत छलफलका क्रममा सदन खालीजस्तै देखिने प्रवृत्तिप्रति नागरिक समाज र राजनीतिक वृत्तबाट विगतमा पनि आलोचना हुँदै आएको थियो ।