काठमाडौं । मुक्तिनाथ क्यापिटलले असोज १ गते बुधबारदेखि मुक्तिनाथ म्युचुअल फण्ड-२ को इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई बिक्री खुला गरेको हो ।
कम्पनीले कुल १ अर्ब रुपैयाँ बराबरको इकाई निष्काशन गरेको हो । कुल इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंक र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले इकाई खरिदका लागि छिटोमा असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागअनुसार पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज १५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । इकाई खरिदका लागि धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिनेछ । यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
योजना व्यवस्थापकको परिचय
मुक्तिनाथ क्यापिटल लिमिटेड साविकको भिबोर क्यापिटल लिमिटेड हो । कम्पनी ऐन, २०६३ बमोजिम २०६६ माघ २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट २०६७ साउन ११ गते मर्चेन्ट बैंकरका रूपमा कार्य गर्न अनुमति प्राप्त गरेको हो ।
भिबोर क्यापिटलमा मुक्तिनाथ विकास बैंकले २०७६ साउन २६ गते ५८.०२ प्रतिशत सेयर स्वामित्व ग्रहण गरेपछि कम्पनीको नाम परिवर्तन गरी मुक्तिनाथ क्यापिटल कायम गरिएको हो । हाल क्यापिटलमा मुक्तिनाथ विकास बैंकको ६०.२६ प्रतिशत लगानी रहेको छ ।
कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक तथा संस्थागत परामर्श सेवासहितका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपाल धितोपत्र बोर्डबाट २०७१ असोज १४ गते निक्षेप सदस्यको अनुमति प्राप्त गरेको क्यापिटलले २०७१ कात्तिक २३ गते सीडीएस एन्ड क्लियरिङ लिमिटेडको निक्षेप सदस्यता पनि प्राप्त गरेको थियो ।
त्यस्तै, २०८० असार १७ गते नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा कार्य गर्न अनुमति पाएपछि क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत योजनाहरू व्यवस्थापन गर्दै आएको छ । हाल सञ्चालनमा रहेको मुक्तिनाथ म्युचुअल फण्ड-१ पछि मुक्तिनाथ म्युचुअल फण्ड-२ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको दोस्रो बन्दमुखी योजना हो ।
भावी योजना
मुक्तिनाथ क्यापिटलले आगामी दिनमा बजारको अवस्था र लगानीका अवसरलाई ध्यानमा राख्दै विभिन्न खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजना सञ्चालनमा ल्याउने रणनीति बनाएको छ । क्यापिटलले यसअघि सञ्चालनमा ल्याएको मुक्तिनाथ म्युचुअल फण्ड-१ को इकाई नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार भइरहेको छ । उक्त योजना १० वर्ष अवधिका लागि सञ्चालन गरिएको हो । सुरुमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्ने स्वीकृति पाएको योजनामा लगानीकर्ताबाट बढी माग आएपछि योजनाको आकार २५ प्रतिशतले वृद्धि गरी १ अर्ब २५ करोड रुपैयाँ पुर्याइएको छ ।
मुक्तिनाथ क्यापिटलले चालु आर्थिक वर्ष २०८२/८३ मा मुक्तिनाथ म्युचुअल फण्ड-२ सञ्चालनमा ल्याउने र त्यसपछि खुलामुखी म्युचुअल फण्डसमेत सञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ । क्यापिटलले आफ्नो सेवा प्रविधिमैत्री बनाउँदै डिम्याट तथा मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने र लगानी व्यवस्थापनसम्बन्धी सेवा अनलाइनबाटै उपलब्ध गराउने व्यवस्था विस्तार गर्ने जनाएको छ । आगामी दिनमा क्यापिटलका अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउँदै देशभर सेवा विस्तार गर्ने रणनीति रहेको कम्पनीको भनाइ छ । त्यस्तै, इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा नयाँ सेवा तथा योजना सञ्चालन गर्ने, लगानीका अवसर पहिचान गरी बजारको अवस्थाअनुसार लगानी रणनीति तयार गर्ने र त्यसको नियमित समीक्षा तथा समायोजन गर्ने योजना क्यापिटलले अघि सारेको छ ।
कहाँ-कहाँ लगानी गर्नेछ ?
मुक्तिनाथ म्युचुअल फण्ड-२ को लगानी तथा वित्तीय प्रक्षेपण सामूहिक लगानी कोष नियमावली, २०६७ मा तोकिएको व्यवस्था र लगानी सीमालाई आधार बनाएर गरिएको छ । योजनाले स्थिर आम्दानीतर्फ बैंकको मुद्दती निक्षेपमा योजनाको आकारको १५ प्रतिशतसम्म र डिबेञ्चरमा २० प्रतिशतसम्म लगानी गर्ने प्रक्षेपण गरेको छ ।
त्यस्तै, प्राथमिक तथा दोस्रो बजारमा योजनाको आकारको अधिकतम ७७ प्रतिशतसम्म लगानी गर्ने अनुमान गरिएको छ । माग तथा अल्पसूचनामा परिचालन गर्नुपर्ने रकमतर्फ अधिकतम ४३ प्रतिशतसम्म लगानी गर्ने प्रक्षेपण गरिएको छ। बजारको अवस्था र लगानीका अवसरअनुसार उक्त लगानीको अनुपात घटबढ गर्न सकिने योजना व्यवस्थापकले जनाएको छ ।
साधारण सेयरमा लगानीका लागि छुट्याइएको रकम उच्च आम्दानीको सम्भावना भएका कम्पनीमा लगानी गर्ने प्रक्षेपण गरिएको छ । योजनाको आम्दानी तथा खर्चसम्बन्धी अनुमान पनि सामूहिक लगानी कोष नियमावली, २०६७ मा उल्लेखित प्रावधानका आधारमा गरिएको छ ।
योजनाको वित्तीय विवरण तथा लगानीसम्बन्धी प्रक्षेपण सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को उपनियम (१) र (२) मा तोकिएको लगानी क्षेत्र र सीमाभित्र रहेर गरिएको कम्पनीले जनाएको छ । योजनाको रकम नियमित रूपमा लगानी गर्ने क्रममा बजारको अवस्था र लगानीका अवसरअनुसार लगानी संरचनामा परिवर्तन गर्न सकिने भए पनि यस्तो परिवर्तन नियमावलीमा तोकिएको सीमाभित्रै रहनेछ ।
१० वर्षमा १२१.५ प्रतिशत प्रतिफल दिने प्रक्षेपण
मुक्तिनाथ क्यापिटलले ‘मुक्तिनाथ म्युचुअल फण्ड-२’ का इकाईधनीलाई १० वर्षको अवधिमा कुल १२१.५ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । फण्डबाट संकलित रकम विभिन्न क्षेत्रमा लगानी गरी त्यसबाट प्राप्त आम्दानीबाट खर्च कटाएर इकाईधनीलाई प्रतिफल वितरण गर्ने योजना व्यवस्थापकले जनाएको छ ।
कम्पनीको प्रक्षेपणअनुसार पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष ११.५ प्रतिशत तथा तेस्रो, चौथो र पाँचौं वर्ष १२-१२ प्रतिशत प्रतिफल दिने अनुमान गरिएको छ ।
त्यस्तै, छैटौं र सातौं वर्ष १५-१५ प्रतिशत, आठौं वर्ष १६ प्रतिशत र नवौं वर्ष १८ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरिएको छ । कम्पनीले गरेको वित्तीय प्रक्षेपण योजनाको भविष्यको अनुमानमा आधारित भएकाले वास्तविक प्रतिफल भने लगानीको प्रदर्शन तथा बजार अवस्थाअनुसार फरक पर्न सक्नेछ ।
मुक्तिनाथ क्यापिटलले यसअघि ‘मुक्तिनाथ म्युचुअल फण्ड-१’ नामक बन्दमुखी योजना सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार मुक्तिनाथ म्युचुअल फण्ड-१ ले आर्थिक वर्ष २०८१/८२ मा ३.८ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा २.२ प्रतिशत प्रतिफल वितरण गरेको थियो ।
संचालन पूर्व खर्च विवरण
मुक्तिनाथ क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्ड-२ को इकाई निष्काशन तथा बिक्रीका क्रममा लाग्ने अनुमानित खर्च विवरणसमेत सार्वजनिक गरेको छ । कम्पनीले निष्काशनपूर्व तथा निष्काशनपश्चात् हुने विभिन्न खर्च इकाईधनीलाई जानकारी गराएको हो ।
कम्पनीका अनुसार निष्काशन तथा बिक्री प्रबन्धक शुल्कबापत २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यस्तै, विवरणपत्र प्रशोधन शुल्क ४५ हजार रुपैयाँ, मार्केटिङ तथा प्रचारप्रसार खर्च १२ लाख रुपैयाँ र वित्तीय प्रक्षेपण प्रमाणित गर्ने लेखापरीक्षकसम्बन्धी शुल्क ५६ हजार ५ सय रुपैयाँ रहनेछ ।
कुरियर, इकाई बाँडफाँड, सफ्टवेयर तथा अन्य भैपरी आउने खर्चका लागि १३ लाख १० हजार रुपैयाँ छुट्याइएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडसँग सम्बन्धित दर्ता शुल्कबापत १ लाख ५० हजार रुपैयाँ, छपाइ तथा सूचना प्रकाशन खर्च २ लाख ५० हजार रुपैयाँ र नेपाल धितोपत्र बोर्डमा योजना सञ्चालन स्वीकृति तथा दर्ता शुल्कबापत १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणसम्बन्धी निवेदन तथा सूचीकरण शुल्कबापत १ लाख १५ हजार रुपैयाँ खर्च हुने कम्पनीले जनाएको छ । उल्लेखित खर्चहरू जोड्दा फण्ड निष्काशनसम्बन्धी यी शीर्षकमा मात्रै करिब ६१ लाख २६ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मार्केटिङ, प्रचारप्रसार तथा छपाइसम्बन्धी केही खर्च भने वास्तविक खर्चका आधारमा फरक पर्न सक्ने कम्पनीले जनाएको छ ।
क्यापिटलको संचालक र व्यवस्थापक टिम
मुक्तिनाथ क्यापिटल लिमिटेडको सञ्चालक समितिमा ६ जना सदस्य रहेका छन् । क्यापिटलको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ रहेका छन् । अध्यक्ष श्रेष्ठसँग औषधि व्यापार व्यवसायमा ३० वर्ष तथा विभिन्न वित्तीय एवं व्यावसायिक क्षेत्रमा सञ्चालकका रूपमा १४ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ ।
क्यापिटलको सञ्चालकमा डण्डपानी ढकाल, उमेश रेग्मी, लीलानाथ ढकाल, दिपाञ्जली खकुरेल र सुमन कोइराला रहेका छन् ।
डण्डपानी ढकालसँग विभिन्न वित्तीय क्षेत्रमा तथा मुक्तिनाथ विकास बैंकमा विभिन्न तहमा रही २२ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ ।
त्यस्तै, उमेश रेग्मीसँग लेखापरीक्षण तथा वित्तीय क्षेत्रमा २२ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ । लीलानाथ ढकालसँग विभिन्न वित्तीय संस्थाको सञ्चालकका रूपमा तथा व्यापार, व्यवसाय र पूँजी बजार क्षेत्रमा २२ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ ।
दिपाञ्जली खकुरेलसँग बैंक तथा वित्तीय क्षेत्रमा २६ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ भने सुमन कोइरालासँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा आबद्ध रही लेखापरीक्षण तथा परामर्श सेवामा २० वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कबिन्द्र विक्रम ध्वज जोशी कार्यरत छन् । जोशीसँग मुक्तिनाथ क्यापिटलमा ६ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ। यसअघि उनले एनआईएमबि एस क्यापिटलमा ५ वर्ष, प्रभु क्यापिटलमा ५ वर्ष, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (साबिकको एस डेभलपमेन्ट बैंक) मा २ वर्ष तथा लक्ष्मी सनराइज क्यापिटलमा ९ वर्ष काम गरेको अनुभव छ ।
क्यापिटलमा सहायक महाप्रबन्धक तथा प्रमुख सञ्चालन अधिकृतका रूपमा अनिल महर्जन र प्रमुख लगानी अधिकृतका रूपमा नितेश जंग जोशी कार्यरत छन् ।
योजना व्यवस्थापकको रेटिङ
मुक्तिनाथ क्यापिटल लिमिटेडलाई इक्रा नेपालले ‘इक्रा एनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले योजना व्यवस्थापकसँग सम्पत्ति तथा कोषको उचित व्यवस्थापन गर्न पर्याप्त आधार रहेको संकेत गर्छ।
कोष सुपरिवेक्षक
मुक्तिनाथ म्युचुअल फण्ड-२ को कोष सुपरिवेक्षकमा डा. नरहरी ढकाल, त्रिलोचन पंगेनी, वरिष्ठ अधिवक्ता मोतीराज गौतम, चार्टर्ड एकाउन्टेन्ट अनिल पौडेल र सुनिता सिग्देल रहेका छन् ।
ढकालसँग बैंक तथा वित्तीय संस्थासम्बन्धी अध्ययन तथा अनुसन्धान क्षेत्रमा ४० वर्षको कार्यअनुभव रहेको छ । त्यस्तै, पंगेनीसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षको कार्यअनुभव रहेको छ । वरिष्ठ अधिवक्ता गौतमसँग कानुनी व्यवसायमा ३० वर्षभन्दा बढीको अनुभव रहेको छ ।
चार्टर्ड एकाउन्टेन्ट पौडेलसँग लेखापरीक्षण तथा वित्तीय परामर्श सेवामा १६ वर्षभन्दा बढीको अनुभव रहेको छ भने सिग्देलसँग विभिन्न सहकारी संस्थामा १८ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ ।