विकासन्युज

खाडी मुलुकको मुद्राको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.५४ रुपैयाँ र बिक्रीदर १३४.१४ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.९३ रुपैयाँ र बिक्रीदर १४९.६० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.६७ रुपैयाँ र बिक्रीदर १७९.४७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.५२ रुपैयाँ र बिक्रीदर १५८.२३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.९१ रुपैयाँ र बिक्रीदर ९२.३२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.२० रुपैयाँ र बिक्रीदर ९९.६५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.९३ रुपैयाँ र बिक्रीदर १०४.४० रुपैयाँ, जापानी येन १० को खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०४ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६० रुपैयाँ र बिक्रीदर ३५.७६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, थाई भाट एकको खरिददर ४.११ रुपैयाँ र बिक्रीदर ४.१३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३६ रुपैयाँ र बिक्रीदर ३६.५२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.२२ रुपैयाँ र बिक्रीदर ३२.३६ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.०७ रुपैयाँ र बिक्रीदर १०.१२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.१८ रुपैयाँ र बिक्रीदर १३.२४ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.९७ रुपैयाँ र बिक्रीदर २०.०६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१६ रुपैयाँ र बिक्रीदर १७.२४ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.६२ रुपैयाँ र बिक्रीदर ४३९.५९ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.२६ रुपैयाँ र बिक्रीदर ३५५.८६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिनेछ । दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार दिवसलाई भव्य र सभ्य रूपमा मनाउनका लागि तीन तहका सरकारको सहकार्यमा निजी क्षेत्रका पर्यटन व्यवसायी, गैरसरकारी संस्था र समुदायको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । मूल समारोह समितिले राष्ट्रिय नाचघरमा आयोजना गर्ने औपचारिक समारोहमा विभिन्न मन्त्री, सरकारी उच्च अधिकारी, विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहनेछ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिध्यतामा कार्यक्रम हुनेछ । पर्यटनसम्बद्ध विशिष्ट व्यक्तित्वहरूबाट शुभकामना आदनप्रदान गरिनेछ । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिने कार्यक्रम छ । यस्तै बिहान ठमेलमा प्रभातफेरी गरिनेछ । उक्त कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ । दिवसकै सन्दर्भमा प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेलमा आज ‘ठमेल नखः’ महोत्सव हँुदैछ । ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । ठमेल पर्यटन विकास परिषद् र दी काठमाडौँ पोष्टको सहकार्यमा हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको अद्धितीय संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताए । पर्यटन दिवसलाई लक्षित गरेर ‘नेपाल हस्पिटालिटी कन्क्लेभ’को दोस्रो संस्करण काठमाडौँमा बिहीबार सुरु भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो । विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । दिवसको उद्देश्य अन्तर्राष्ट्रिय समुदायको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक मूल्यहरूलाई प्रभाव पार्न पर्यटनको महत्वबारे चेतना जगाउनु रहेको जानकार बताउँछन् । नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक छः पर्यटनमन्त्री विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताए । ‘नेपाल प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरूले शोभायमान छ । हाम्रो संस्कृति, प्रकृति, सम्पदा र इतिहासलाई पर्यटकीय गतिविधिसँग आबद्ध गर्दै नेपाललाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक छ,’ उनले भने, ‘पर्यटकलाई नेपालमा आकर्षित गरी उनीहरूको सुखद् भ्रमणको अनुभूति हुने वातावरण सृजना गर्नु हामी सबैको कर्तव्य हो ।’ पर्यटनमन्त्री पाण्डेले तीन तहका सरकारका साथै निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पर्यटन प्रवर्द्धन र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजनासहित मन्त्रालयबाट कार्यहरू अगाडि बढाइएको जानकारी दिनुभयो । त्यसैगरी, पर्यटनको लाभ दुर्गम तथा ग्रामीण भेगसम्म पुर्याउन ग्रामीण पर्यटन, पर्यावरणमैत्री पर्यटन र समुदायमा आधारित पर्यटनसँग आबद्ध गर्दै अघि बढ्न उपयुक्त हुने बताउनुभयो । दिवसले नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको विश्वास छ । २५ विधामा सम्मान दिवसका अवसरमा पर्यटन क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता लामिछानेले बताए । यसमा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न २५ विधामा सम्मान गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । दिवसकै सन्दर्भमा पर्यटनको विकास प्रवर्द्धन कार्यक्रमलाई सघाउन र त्यस्ता कार्यक्रम देशैभर आयोजना गर्न र वर्षभरि पर्यटकीय गतिविधि सञ्चालन गर्ने मन्त्रालयले निर्णय गरेको छ । दिवसका अवसरमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) हालै रक्तदान कार्यक्रम गरेको थियो । दिवसलाई भव्य रूपमा मनाउन पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा अन्य कार्यक्रम पनि हुने नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले बताए । कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किएको छ । कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता दिएको छ । सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । बोर्डका अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउने क्रम जारी छ । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले नेपालको पर्यटन प्रवर्द्धनमा विश्व पर्यटन दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘विश्व पर्यटन दिवसले देश, समाजलाई पर्यटनबाटै आर्थिक समृद्धिको महत्व अनुभूत गराउन प्रेरित गर्छ, पर्यटनको अध्ययन, अनुसन्धान र यसको सम्भावना र भावी रणनीति बनाउन पनि मद्दत पुग्छ,’ उनले भने । अध्यक्ष शाहले पर्यटन क्षेत्रको सम्भावनाको अधिकतम उपयोग गरेर बढीभन्दा बढी लाभ लिनसक्नुपर्नेमा जोड दिए । अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् । नेपाल अनुपम प्राकृतिक विविधता, भौगोलिक, सांस्कृतिक, धार्मिक तथा विविधभाषा र वेशभूषाले भरिपूर्ण आफैँमा एउटा पर्यटकीय गन्तव्य हो । परम्परागत सांस्कृतिक सम्पदाको सङ्गम यहाँ हिमशृङ्खला, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत आनन्द लिन हरेक वर्ष लाखौँ सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । खासगरी मनोरञ्जन, पर्वतारोहण, पदयात्रा, धार्मिक पर्यटन आदि पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।

३ दिन उच्च भारी वर्षा हुने, कुन नदीमा कुन दिन अति उच्च जोखिम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो । असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ । यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ । यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ । विपद् प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयानुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको पनि जानकारी दिए ।

सिद्धार्थ बैंकले ल्यायो दशैंमा ‘डबल रिवार्ड्स अफर’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दशैंकाे उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ । बैंकले ‘डबल रिवार्ड्स अफर’ ल्याएकाे हाे । यस अफर अन्तर्गत बैंकका ग्राहकहरूले असाेज ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन् । ग्राहकले सिद्धार्थ बैंकको कार्ड र माेबाइल बैंकिङ प्रयाेग गरी आर्जन गरेकाे पाेइन्ट्सलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदिजस्ता विभिन्न सेवा लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् । सिद्धार्थ बैंकले यो अफरमार्फत ग्राहकहरूको डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षा लिएकाे छ । यस अफरको बारेमा थप जानकारी लिन बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र र ‘सिद्धार्थ केयर’ मार्फत सकिनेछ ।

एनएमबि बैंकद्वारा ‘एनएमबी नेक्स्टजेन बैंकिङ लिडर स्कलरशीप’ घोषणा

काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबी नेक्स्टजेन बैंकिङ लिडर स्कलरशीप’ घोषणा गरेको छ । बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सातजना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थीहरूमा अग्रिमरूपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ । यस छात्रवृत्तिको मूल उद्देश्य प्रतिभावान विद्यार्थीहरूमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो । विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरू उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पुर्‍याउने लक्ष्य एनएमबि बैंकले लिएको छ । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चारपटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

दराज नेपालको दशैं धमाका क्याम्पेन: ७०% सम्म छुट, फ्री डेलिभरी र प्रिपेमेन्टमा छुट सुविधा

काठमाडौं । दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दै बहुप्रतीक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ । यस अभियानअन्तर्गत उपभोक्ताले ७०% सम्मको फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा २ हजार रुपैयाँसम्मको नगद छुट प्राप्त गर्नसक्ने दराजले जनाएकाे छ । अभियान असोज ११ गतेदेखि कार्तिक १ सम्म चल्नेछ । साथै, क्याम्पेनमा सहभागी एक जना भाग्यशाली खरिदकर्ताले वानप्लस नर्ड सीईथ्री फाइभजी जित्नेछन् । त्यसैगरी, अन्य तीन जनाले सेटाफिलका तर्फबाट १० हजार रुपैयाँ बराबरको आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ । क्याम्पेन अवधिभर डेबिट कार्डमार्फत आफ्नो अर्डरको लागि अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १ हजार ५ सय रुपैयाँसम्म १५% छुटको मजा लिन सक्नेछन् । साथै, क्रेडिट कार्ड प्रयोग गर्नेहरूले २ हजारसम्म २०% सम्मको छुटबाट लाभ उठाउन सक्नेछन् । यो अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डहरूमा मान्य हुनेछ । त्यसैगरी ईसेवा, आईएमई पे वालेट प्रयोगकर्ताहरूले आफ्नो अर्डरमा १५% छुट सुविधा पाउनेछन् । खरिदकर्ताहरूलाई दराज भाउचरहरू प्रयोग गरी कुल २ करोड सम्मको छुट पाउन सकिने सुविधाका साथै आफ्ना खरिदमा फ्ल्याट १० हजार छुट प्राप्त गर्ने अवसरसमेत उपलब्ध गरिनेछ । ‘फ्री डेलिभरी’ सुविधाको उपभोग गर्न दराज एपको होमपेजमा रहेको ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गर्नुपर्ने हुन्छ ।

काेशी ब्यारेजबाट बस खस्याे, २० जनाको उद्धार

काठमाडौं । विराटनगरबाट गाईघाट सप्तरीतर्फ जाँदै गरेकाे बस काेशी ब्यारेजबाट सप्तकाेशी नदीमा खसेकाे छ । बिहीबार साँझ करिब ६ बजेतिर बस पुलबाट नदीमा खसेकाे हाे । को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस खसेकाे हाे । बसमा सवार २० जनाकाे घाइते अवस्थामा उद्धार गरिएकाे छ । बसमा कतिजना थिए भन्ने यकिन तथ्यांक नआइसकेकाे जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएकाे छ । घाइतेहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

दशैंको बेला आइएमई पेबाट मात्र १ रुपैयाँमा हवाई टिकट पाउने मौका

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आउँदै गरेको दशैंतिहार र छठलाई लक्षित गरी मात्र १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने यस योजनाअन्तर्गत आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राहीमध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीले १ रुपैयाँमा टिकट प्राप्त गर्नेछन् । भाग्यशाली विजेताहरूले खरिद गरेको हवाई टिकटको १ रुपैयाँकाे अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरूप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन् । साथै आइएमई पेमार्फत हवाई टिकट खरिद गर्दा ८१ रुपैयाँ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ । यसैगरी हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउने कम्पनीले जनाएकाे छ । चाडपर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीहरूलाई लक्षित गरी आइएमई पेले याे अफर सार्वजनिक गरेको हाे। आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरूमाझ महान चाडपर्वको अवसरमा कृतज्ञता र उपहारस्वरूप समर्पण गरिएको जानकारी दिए । साथै आइएमई पेमार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीले आफ्नो हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता गरेर आफ्नो लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ताबिना आफ्नो यात्राको आनन्द लिन सक्छन् । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।