विकासन्युज

सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन् । चीन भ्रमण पूरा गरी आइतबार दिउँसो स्वदेश फर्केका उनले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे । उनी विमानस्थलमा ओर्लिएपछि सिधै मन्त्रालय पुगी छलफलमा जुटेका थिए । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा यही असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

बीमा सुधारका लागि डा. शम्भु आचार्यको नेतृत्वमा सुझाव समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेका हुन् । समितिमा विकास अर्थशास्त्री तथा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेसँगै वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा. भगवान कोइराला सदस्य छन् । यसैगरी, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहनेछन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत समितिको सदस्य तोकिएको छ । समितिलाई विद्यमान स्वास्थ्य बीमाको कानुनी अवस्था, सेवाप्रवाहलगायतका विषयका सबल र दुर्बल पक्षबारे विश्लेषणसहितको प्रतिवेदन दिन कार्यादेश दिइएको छ । यसैगरी, नेपालमा हाल कार्यान्वयनमा रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीबाट प्रवाह हुने गरी स्वास्थ्य बीमा कार्यक्रममार्फत लैजान सुझावसहितका उपाय सुझाउन पनि भनिएको छ । समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकको आबद्धता बनाउन सम्भाव्य उपायबारेसमेत सुझाव दिने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनको जेनेभास्थित रणनीति र सहयोग एकाइको महानिर्देशक रहिसकेका आचार्यसँग संगठनमा विभिन्न भूमिकामा तीन दशक बढी काम गरिसकेको अनुभव छ । उनी हालै मात्र नेपालका तर्फबाट विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा उम्मेदवार रहिसकेका छन् । जनस्वास्थ्य सुधारका लागि विभिन्न देशहरुलाई सुझाव प्रदान गरिसकेका आचार्यको अनुभव देशको स्वास्थ्य बीमा सुधारका लागि उपयोग गर्ने अपेक्षा गरिएको मन्त्री पौडेलले बताए । ‘स्वास्थ्य बीमामा सुधार गरेर आम नागरिकको पहुँचमा ल्याउने बनाउने हाम्रो प्रमुख उद्देश्य हो,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमामा सबै नागरिकलाई जोड्ने गरी समस्या समाधानसहितको सुझावलाई कार्यान्वयनमा लैजानेछौं ।’ मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य बीमाको रकम ५ लाखसम्म पुर्‍याउने घोषणा गरेका थिए । मन्त्री पौडेलले बीमा सुधारका स्रोत थप्न सकिने अवधारणा प्रस्तुत गरेका थिए । सोहीअनुसार विज्ञहरूको सुझाव लिन भन्दै मन्त्री पौडेलले समिति गठन गरेका हुन् । आइतबार समितिको पहिलो बैठक बसेको छ । आफूहरुले स्वास्थ्य बीमाका अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययनसँगै देशको अभ्यास र कठिनाइहरुबारे अध्ययन गरेर सुझाव दिने संयोजक आचार्यले बताए ।

भेटायोको दशैं अफर घोषणा, कम मूल्यमै सफा गर्नूहोस् घर

काठमाडौं । भेटायोले दशैंलक्षित अफर घोषणा गरेको छ । भेटायो एक–स्टप सेवा प्लेटफर्म हो जसले घर मर्मत गर्नेदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाइजस्ता काम गर्दै आएकाे छ । काठमाडौं उपत्यकाभित्र छिटो, भरपर्दो र झन्झटरहित सेवाहरू उपलब्ध गराउँदै आएकाे भेटायाेले दशैं लक्षित विभिन्न अफर सार्वजनिक गरेकाे छ । भेटायोले दशैंकाे अवसरमा घरको भान्सा एक हजार ३ सय रुपैयाँ र बाथरुम तीन हजार ३ सय ८० रुपैयाँमा मर्मत गर्ने जनाएकाे छ । यसैगरी, ८५ रुपैयाँ प्रति किलाेमा सामान्य लुगा धाेइने र डबल सिरक ४ सय रुपैयाँमा धाेइने छ । साथै ५ थान भन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था रहेकाे छ । तीन हजार रुपैयाँमा घर सफा गरिने पनि भेटायाेले जनाएकाे छ । १ हजार ५०० रुपैयाँमा (३ फिट सम्म) वा २ हजार ५०० रुपैयाँमा (३–५ फिट) मा चिम्नी सफा गरिनेछ । यसैगरी, टायल्स र मार्बल सफाइ १२ रुपैयाँ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको ६ हजार रुपैयाँमा) गरिनेछ । साथै एउटा निःशुल्क बाथरूम सफाइ गरिनेछ ।

हेटौँडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

मकवानपुर । हेटौँडाबाट काठमाडौं जोड्ने सबै सडक बाढीपहिरोका कारण अवरुद्ध भएको छ । बिहीबारदेखि अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा बाढीपहिरो जाँदा हेटौँडा–काठमाडौं खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–काठमाडौं, कुलेखानी–मातातीर्थ–काठमाडौं र त्रिभुवन राजपथ अवरुद्ध भएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी ९सिडियो० तीर्थराज चिलुवालले त्रिभुवन राजपथ आज साँझसम्म सञ्चालनको तयारीअनुरुप काम भइरहेको बताए । उनका अनुसार त्रिभुवन राजपथबाहेक अन्य सडक भने सञ्चालनमा आउन केही समय लाग्नेछ । प्रहरीले पहिरो पन्छ्याउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको उनले बताए ।

झ्याप्लेखोलाबाट निकालियो २५ जनाको शव

मलेखु (धादिङ) । धादिङ र काठमाडौंको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आइतबार बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप ११ शव निकालेको हो । शनिबार राति एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्धार टोलीले आज बिहान नौ पुरुष र दुई महिलाको शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए । पुरिएका सवारीसाधन धुजाधुजा अवस्थामा रहेको र शव पनि छुट्टाछट्टै भेटिएकाले कुन सवारीसाधनको शव कुन हो भन्ने यकीन गर्न कठिन छ । पुरिएको अवस्थामा फेला परेका सवारीसाधन टुक्राटुक्रा बनेकाले नम्बर पहिचान गर्न कठिन भएको सूचना अधिकारी सिलवालले जानकारी दिए । गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसको भने यकीन भएको छ । एस्काभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको शव देखिएपछि बसको यकीन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिए । पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीन र एक यात्रु रहेको भनिएपछि बीच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ । त्यस्तै, चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौंका लागि छुटेको माइक्रोबस (जम्बो हाइस)पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने यकीन नभएकाले पहिरोमा अझ थुप्रै शव भेटिनसक्ने आशङ्का गरेर उद्धार टोलीले खोजीकार्य तीव्र पारेको छ । शुक्रबार अपराह्न करिब २ बजे मनकामना माई यातायात प्रालिमार्फत सञ्चालित बा २ ख १३४५ नम्बरको बस सम्पर्कविहीन रहेको प्रालिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिए ।

माउन्टेन इनर्जी नेपालका सीईओ श्रेष्ठले दिए राजीनामा

काठमाडौं । माउन्टेन इनर्जी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दामोदर श्रेष्ठले राजीनामा दिएका छन् । असोज ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनकाे राजीनामा स्वीकृत गरेको छ । मंसिर १ गतेबाट लागु हुने गरी श्रेष्ठको राजीनामा स्वीकृत गरिएको कम्पनीका सचिव समबहादुर भट्टले जानकारी दिए ।

सिटिजन्स डिजिटल महिना, प्रत्येक कारोबारमा ‘क्यासब्याक’

काठमाडौं । कोरोना महामारीपछि डिजिटलाइजेशनले ठूलो फड्को मार्‍यो । विगतमा कुनै बैठक तथा छलफल गर्नुपर्‍यो भने भौतिक उपस्थिति अनिवार्य थियो । तर, पछिल्लो समय जुम, टिमलगायत विभिन्न अनलाइन माध्यमबाट सामूहिक छलफल हुँदै गरेका छन् । डिजिटल माध्यमको विकासले लागतसँगै समयको पनि बचत भएको छ । डिजिटलको भ्यालू दिनप्रतिदिन बढ्दै गएपछि बैंकहरू पनि यसतर्फ मोडिएका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा कुनै पनि काम गर्नुपर्दा डिजिटल माध्यमलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् । बैंकको आन्तरिक प्रणालीमा भइरहने कागज प्रिन्टदेखि डकुमेन्टमा हस्ताक्षरका काम डिजिटलबाटै हुन थालेका छन् । जबकि विगतमा कुनै डकुमेन्टमा हस्ताक्षर गर्नुपर्‍याे भने शाखा कार्यालयबाट केन्द्रीय कार्यालयमा पुग्नपर्ने बाध्यता थियो । तर, त्यो झण्झटबाट मुक्त हुँदै शाखा कार्यालयबाटै आन्तरिक काम पनि भइरहेका छन् । जसको प्रभाव बैंकको लागत र समयमा परेको देखिन्छ । साथै कुनै ऋणीलाई कर्जा चाहिएमा बैंकको शाखा कार्यालयमा जानुपर्ने अवस्था पनि निरन्तर कम भइरहेको छ । बैंकले कर्जा प्रवाह प्रक्रियामा ठूलो लगानी गरेर सफ्टवेयर सञ्चालनमा ल्याएको छ । कर्जासम्बन्धि सबै काम पनि डिजिटल माध्यमबाट हुने गरेको छ । ग्राहकलाई पनि डिजिटलमा रूपान्तरण गर्न बैंकले धेरै काम गरिरहेको छ । ग्राहकले बैंकमा नआई घरबाटै सेवा लिन सकिने गरी बैंकका प्रणाली डिजिटलाइजेशन भएका छन् । ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहित गर्न सिटिजन बैंकले असोज महिनामा बृहत्तर योजना ल्याएको छ ‘सिटिजन्स डिजिटल महिना अर्थात सिटिजन्स डिजिटल मन्थ’ । बैंकका डिपोजिट मार्केटिङ हेड पारस विक्रम थापाका अनुसार डिजिटल प्रमोनसनका लागि बैंकले लाखौं रुपैयाँ बजेट छुट्याएको छ । ‘बैंकका ग्राहकलाई डिजिटल कारोबारमा बानी बसाल्ने मुख्य उद्देश्य हो, निक्षेप संकलनका लागि मात्रै नभई ग्राहकलाई डिजिटलमैत्री बनाउन पनि अफर ल्याएका हौं,’ उनले भने । खाता खोलेपछि डिजिटलबाट कारोबार गराउने उद्देश्य बैंकको रहेको थापाको भनाइ छ । उनका अनुसार १८ लाख खाता छन् । तर, सबै खातामा सक्रिय कारोबार भइरहेका छैन । त्यसैले डिजिटल कारोबारमा प्रोत्साहन गर्न डिजिटल मन्थ योजना ल्याएको उनले बताए । सिटिजन्स बैंकमा ७५ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने गरेको उनले जानकारी दिए । ‘यी योजना निरन्तर चलिरहन्छन् । तर, क्यासब्याकको सुविधा भने असोजमा मात्रै हो । यस्ता अफरहरू अन्य चाडपर्वको समयमा पनि ल्याउँछौं, लगत्तै तिहारमा पनि अन्य अफर आउन सक्छन्,’ थापाले भने । डिजिटल लन्ज बैंकले केन्द्रीय कार्यालयमा स्मार्ट हब सञ्चालनमा ल्याएको छ । जसमा एटीएम मेसिन, क्यास डिपोपजट मेसिन र चेक डिपोजिट मेसिन सञ्चालनमा छन् । चेक डिपोजिट र क्यास डिपोजिट गर्न अब काउन्टरमा लाइन लागिरहनु पर्दैन । यी मेसिन २४औं घण्टा खुला रहन्छन् । जतिबेला ग्राहकलाई सहज हुन्छ त्यही बेला गएर चेक र क्यास डिपोजिट गर्न सकिन्छ । क्यास डिपोजिट भने ५ सय र १ हजार रुपैयाँका नोट मात्रै जम्मा गर्न सकिन्छ । दशैं क्याम्पेन दशैंको समयमा अधिकांश मान्छे कर्मभूमि छाडेर जन्म घर जान्छन् ।  बैंकले दशैंमा मोबाइल बैंकिङ प्रयोग गरेर हवाईजहाजको टिकट काट्दा ४ सय रुपैयाँ फिर्ता दिने भएको छ । ‘दशैंको लहर, सिटिजन्ससँग घर जाने रहर’ नाराका साथ यो अफर ल्याएको हो । उक्त अफर असोज ६ गतेदेखि लागू भएर असोज १७ गतेसम्म कायम रहने थापाले बताए । सिटिजन्स डिजिटल दक्षिणा विगतमा नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण गर्थ्याे । तर, यसपटक भने राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । त्यसैले बैंकले डिजिटल माध्यमबाटै दक्षिणा दिन प्रोत्साहित गर्न डिजिटल दक्षिणा योजना ल्याएको हो । मोबाइल बैंकबाट क्यूआर स्क्यान गरी दक्षिणा दिँदा १ सय रुपैयाँ फिर्ता पाउनेछन् । तर, दक्षिणा रकम भने न्यूनतम ५ सय रुपैयाँ हुनुपर्नेछ । जस्तो सिटिजन्स बैंकको मोबाइल बैंकिङबाट ५ सय रुपैयाँ दक्षिणा दियो भने १ सय रुपैयाँ फिर्ता पाइनेछ । यो अफर टीकाको दिनदेखि सुरु भएर दशैं नसकिँदासम्म सञ्चालन रहने  मार्केटिङ हेड थापाकाे भनाइ छ । मोबाइल बैंकिङ कारोबार दशैं नजिकै आइसकेको छ । अधिकांश मान्छे दशैंका लागि सपिङ पनि गरिरहेका छन् भने सपिङ गर्ने योजना पनि बनाइरहेका छन् । सपिङ गर्दा सिटिजन्स बैंकको मोबाइल बैंकिङबाट कारोबार गर्‍याे भने १० प्रतिशत अथवा १ सय रुपैयाँसम्म फिर्ता दिनेछ । ‘दशैंमा डिजिटल कारोबार, सिटिजन्स बैंकको क्यास ब्याकको बहार’ नारा रहेको यस योजनामा कसैलाई रकम पठाउनुपर्‍याे भने पनि क्यास ब्याक पाइनेछ । यो अफर असोज १ गतेदेखि असोज ३० गतेसम्म कायम लागू हुनेछ । मोबाइल बैंकिङ, फण्ड ट्रान्सफर र मोबाइल टपअप गर्दा यो लागू हुनेछ । डिजिटल कार्ड यसपालीको दशैंमा बैंकले डिजिटल कार्ड प्रयोगकर्ताका लागि पनि स्किम ल्याएको छ । ‘चलाऊँ सिटिजन्स काड, पाऊँ क्यासब्याकको उपहार’ नारा रहेको यस स्किममा दशैं अवधिभर कार्ड प्रयोग गरेर कारोबार गर्दा बैंकले २ सय रुपैयाँ फिर्ता दिने डिपोजिट मार्केटिङ हेड थापाले बताए । क्यूआर टेलर रकम झिक्न शाखा कार्यालयमा जाँदा चेक छुट्यो भने अब चिन्ता लिनुपर्दैन । किनभने बैंकको क्यूआर टेलरमा स्क्यान गरी नगद झिक्न सकिन्छ । जसरी मर्चेन्ट वा पसलमा गएर क्यूआर स्क्यान गरेर रकम माग्न सकिन्छ, त्यसैगरी बैंकको शाखा कार्यालयमा गएर नगद झिक्न सकिन्छ । क्यूआर टेलरबाट कारोबार पाऊँ उपहार नै उपहार नाराका नारा रहेको यस स्किम असोज ६ गतेदेखि असोज ११ गतेसम्म उपत्यकाभित्र लागू हुनेछ । साथै उपत्यका बाहिर भने असोज १३ गतेदेखि असोज १८ गतेसम्म लागू हुनेछ । मोबाइल बैंकिङ सक्रिय कतिपय ग्राहकले मोबाइल बैंकिङको सुविधा लिएका छन् । तर, उनीहरू सक्रिय रूपमा कारोबार गर्दैनन् । उनीहरूका लागि बैंकले ‘पहिलो कारोबार सिटिजन्ससँग, ग्राहक सबै दंग’ स्किम ल्याएको छ । डिजिटलमा कारोबारमा प्रोत्साहित गर्न र निष्क्रिय रहेका ग्राहकलाई सक्रिय गराउन यो येजना ल्याएको हो । निष्क्रिय रहेका ग्राहकले पहिलो कारोबार गर्दा १० प्रतिशत अर्थात् १ सय रुपैयाँ छुटको व्यवस्था गरेको छ । यो स्किम असोज महिनाभरि लागू हुनेछ । साथै मोबाइल बैंकिङ नवीकरण गर्ने ग्राहकले १५० रुपैयाँसम्म छुट पाउने छन् । डिजिटल रेमिट्यान्स मोबाइलबाटै रेमिट्यान्स प्राप्त गर्न सकिने गरी पनि बैंकले रेमिट्यान्स अफर ल्याएको छ । यदि विदेशबाट रेमिट्यान्स पठाएको छ भने मोबाइल बैंकिङबाटै बैंक खातामा ल्याएमा १ सय रुपैयाँ फिर्ता गर्ने बैंकले जनाएको छ । ‘पाऊँ विदेशबाट पठाएको पैसा घर बसीबसी, सिटिजन्सले अझै पैसा थप्दा झन् खुसी’ नाराका साथ यो स्किम असोजभरि लागू हुनेछ । स्मार्ट बचत बैंकको स्मार्ट बचत खाता खोल्दा कागज चाहिँदैन । चेकबुकलगायत अन्य कुनै पनि किसिमका प्रिन्टिङ पेपर पनि बैंकले दिँदैन । यो खाता खोल्दा मोबाइल, इन्टरनेट बैंकिङ र कार्डमा पहिलो वर्ष नि:शुल्क हुनेछ । दोस्रो वर्षदेखि ५० प्रतिशत कम हुनेछ । बैंकले यस योजनालाई ग्रनी प्रडक्टमा रूपमा अघि सारेको छ । यस खाताका ग्राहकहरूको नाममा बैंकले वृक्षारोपण पनि गरिसकेको छ । असोजमा स्मार्ट बचत खाता खोल्नेहरूलाई बैंकले १ सय रुपैयाँ फिर्ता दिनेछ भने लक्की ड्र विजेतालाई पुरस्कारको व्यवस्था रहेको छ । जसमा प्रत्येक प्रदेशबाट २/२ जनालाई अवसर रहेको छ । बैंकले यी अफरका साथै अन्य विभिन्न स्किम पनि ल्याएको छ । भर्चुअल क्रेडिट कार्डमा पनि क्यासब्याकको सुविधा रहेको छ । ग्राहकसँगै बैंकले कर्मचारीलाई पनि प्रोत्साहित गर्न अफरको व्यवस्था गरेको छ । डिजिटलमा राम्रो गर्ने शाखालाई बैंकले रिवार्डको व्यवस्था गरेको बैंकको भनाइ छ ।

नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ सम्पन्न, २ सयभन्दा बढी सहभागी

काठमाडौं । नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन टेवा दिने उद्देश्यका साथ काठमाडाैंमा आयोजित नेपाल हस्पिटालिटी कन्क्लेभ– २०२४ सम्पन्न भएको छ । दुई दिनसम्म चलेको यस कन्क्लेभमा आतिथ्यता क्षेत्रसँग सम्बद्ध २०० जनाभन्दा बढी सहभागी थिए । उनीहरूले हस्पिटालिटी क्षेत्रको वर्तमान चुनौती, अवसर र रणनीतिहरूमाथि घनिभूत छलफल गरेका थिए । यसै छलफलको आधारमा निकट भविष्यमै तयार गरी कार्यान्वयनको लागि पर्यटन मन्त्रालयसमक्ष पेश गरिने बृहत स्वेतपत्रले नेपालको आतिथ्यता क्षेत्रको वृत्तिविकासमा योगदान गर्ने आयोजकहरूले विश्वास लिएका छन् । बिनस्टक एसिया नेपालले वाटरकम र नेपाल ट्राभलरको साझेदारीमा आयोजना गरेको यस कार्यक्रममा होटल एसोसिएसन नेपालको सहकार्य रहेको थियो । नेपाल सरकारले सन् २०२५ लाई ‘विशेष पर्यटन वर्ष’ र विसं २०८० को दशकलाई ‘नेपाल पर्यटन दशक’ घोषणा गरेको परिप्रेक्षमा आयोजित यस कन्क्लेभले सरकारको घोषणालाई कार्यान्वयनमा ल्याइ हस्पिटालीटी क्षेत्रको सम्भावनालाई थप गर्ने उद्देश्यका साथ यस क्षेत्रको नवप्रवर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ, नयाँ गन्तव्यकाे विकास र प्रवर्द्धन, दिगो पर्यटन, लगानी, नीतिगत सुधार तथा अन्तरउद्योग साझेदारीलगायत विविध विषयमाथि रहेर करिब १० वटा सामूहिक छलछल एवं अन्तरक्रिया चलाएको थियो । कन्क्लेभलाई यूएसएडअन्तर्गतको ट्रेन्ड एण्ड कम्पिटेटिवनेस लगायत एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय निजी कम्पनीहरूको सहायता रहेको थियो । कन्क्लेभको समापन समारोहलाई सम्बोधन गर्दै यूएसएड नेपालकी सहायक मिसन निर्देशक करेन वेल्चले यूएसएड नेपाल सरकार, स्थानीय समुदाय तथा निजी क्षेत्रका व्यवसायीहरूलगायतसँग साझेदारी गरी नेपालको पर्यटन क्षेत्रको सुदृढिकरणमा प्रतिबद्ध रहेको जानकारी दिइन् । बिनस्टक एसिया नेपाल लगायतका संस्थाहरूसँग सहकार्य गरी यस्तो महत्त्वपूर्ण कार्यक्रमको आयोजनामा हातेमालो गरी नेपाली आतिथ्यता र समग्र पर्यटन क्षेत्रको विकासमा योगदान गर्न पाउँदा गौरव महसुस भएको होटल एसोसियन नेपालका अध्यक्ष विनायक शाहले बताए । कन्क्लेभका प्रमुख योजनाकार तथा बिनस्टक एसिया नेपालका सहसंस्थापक सुबोध थापाले कन्क्लेभले आउँदा दिनमा पनि यस क्षेत्रको विकास तथा वृद्धिको लागि आवश्यक विषय र मुद्दाहरूको उठान गर्दै सोको समाधानका लागि नेपाल सरकार सरोकारवाला निकायहरूसमक्ष पैरवी गरिरहने जानकारी दिए ।