विकासन्युज

दशैंका लागि सुकिला नोट साट्न सर्वसाधारण पुगे राष्ट्र बैंक (तस्बिरहरू)

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट वितरण गरेकाे छ । राष्ट्र बैंकले दशैंका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्न लागेकाे हाे । दसैंमा माग हुने साना दरका नोट सटहीको लागि केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरूबाट सुकिला नोट सटहीको व्यवस्था गरेकाे राष्ट्र बैंकले जनाएको छ । प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्न पाइने छ । कुल १८ हजार ५ सय रुपैयाँको नोटमात्र साट्न पाइने छ । ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसपटक राष्ट्र बैंकले दशैंका लागि भनेर नयाँ नोट भने वितरण नगर्ने भएको हो ।  

बाढी पहिरोका कारण २० आयोजना प्रभावित, १५ आयोजनामा २ अर्ब बढीकाे क्षति

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी-पहिरोका कारण २० आयाेजना प्रभावित भएका छन् । बाढी-पहिराेले २० वटा हाइड्रोपावर कम्पनीमा क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जानकारी दिएको छ । इप्पानका अनुसार बाढीबाट १५ आयाेजनामा २ अर्ब ३१ कराेड रुपैयाँ बराबरकाे क्षति भएकाे छ । अन्यकाे विवरण आउन बाँकी रहेकाे इप्पानले जनाएकाे छ । मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित मकवानपुरकाे २२ मेगावाट क्षमताकाे बागमती साना जलविद्युत आयोजनाकाे पावर हाउस पूणरूपमा डुबेको छ भने बाँध क्षेत्रमा पनि क्षति भएकाे छ । यहाँ करिब १ अर्ब रुपैयाँ बराबरको क्षति भएकाे हाे । माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित पाँचथरकाे २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाकाे पावर हाउस डुबानमा परेकाे छ । करिब २५ कराेड रुपैयाँ बराबरकाे क्षति भएकाे छ । याे आयाेजना गत वर्षकाे बाढीबाट पनि प्रभावित भएकाे थियाे । यसैगरी, पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजानामा पनि क्षति पुगेकाे छ । यहाँ कति क्षति भएकाे छ भन्ने कुराकाे यकिन हुन बाँकी नै छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएकाे हाे । साहस ऊर्जाद्वारा प्रवर्द्धित साेलुखुम्बुकाे ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाकाे हेडवर्क्समा क्षति भएसँगै उत्पादन बन्द भएकाे छ । क्षतिकाे यकिन हुन बाँकी नै छ । त्यस्तै, सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित इलामकाे ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाकाे बाँध र टेलरेसमा क्षति भएकाे छ । याेसँगै उत्पादन बन्द भएकाे छ । करिब ५ करोड रुपैयाँ बराबरकाे क्षति भएकाे जनाइएकाे छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित इलामकाे ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाकाे बाँध र प्रसारणलाइनमा क्षति भएकाे छ । करिब ७ करोड रुपैयाँ बराबर क्षति भएकाे हाे । त्यस्तै, पाँचथरकाे १ मेगावाटकाे फेमे खोला जलविद्युत आयोजनाकाे बाँध र विद्युतगृह पूणरूपमा क्षति भएकाे छ । करिब १० करोड रुपैयाँ बराबर क्षति भएकाे इप्पानले जनाएकाे छ । लमजुङकाे ५ मेगावाट क्षमताकाे सिउरीखोला जलविद्युत आयोजनाकाे टेलरेस, इन्टेक र टनेलमा बाढीले क्षति पुर्‍याएकाे छ । करिब २ करोड रुपैयाँ बराबरकाे क्षति भएकाे हाे । लमजुङकाे ४० मेगावाट क्षमताकाे सुपरन्यादी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा क्षति (प्रोटेक्सन वाल) भएकाे छ । क्षतिकाे यकिन हुन बाँकी नै छ । धादिङकाे २५ मेगावाटकाे इलेप खोला तातोपानी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा ठूलो क्षति भएकाे छ । क्षतिकाे यकिन हुन बाँकी नै छ । नुवाकाेटकाे २१६ मेगावाटकाे माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाकाे क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको छ । करिब १० करोड रुपैयाँ बराबर क्षति भएकाे जनाइएकाे छ । पाँचथरकाे ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट) को हेवाखोला जलविद्युत आयोजनाकाे क्रसर पुरिएको छ । त्यसैगरी, पहुँचमार्गमा क्षति पुग्नुका साथै प्रसारण लाइनको टावर ढलेको इप्पानले जनाएकाे छ । पावर हाउसमा जडान गर्न ल्याइएका सामग्रीहरू पनि बगाएको छ । यहाँ करिब १० करोड रुपैयाँ बराबर क्षति भएकाे छ । पाँचथरकै १५.१ मेगावाटकाे सभाखोला बी जलविद्युत आयोजनाकाे पहुँचमार्ग, पावरहाउस, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ । यहाँ करिब ७ करोड रुपैयाँ बराबर क्षति भएकाे छ । पाँचथरकै ६.३ मेगावाटकै सभाखोला सी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा क्षति पुगेकाे छ । करिब ३ करोड रुपैयाँ बराबर क्षति भएकाे छ । कास्कीकाे ८६.५९ मेगावाटकाे लान्द्रुक मोदी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा क्षति पुगेकाे छ । करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएकाे जनाइएकाे छ । नुवाकाेटकाे १०० मेगावाटकाे सुपर त्रिशूली जलविद्युत आयोजनाका दुई-दुईवटा स्काभेटर र लोडर अनि तीनवटा ट्रिपर बगाएको छ । यहाँ बेलीब्रिज बगाउनुका साथै पावर हाउस स्काभेसन पुरिएको छ । यहाँ करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएकाे छ । रसुवाकाे २० मेगावाटकाे लाङटाङ खोला जलविद्युत आयोजनामा बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति भएकाे छ । क्षतिको रकम यकिन हुन बाँकी छ । ललितपुरकाे २ मेगावाटकाे खानीखोला जलविद्युत आयोजनाकाे पावर हाउस डुब्नुका साथै प्रसारण लाइनको टावर ढलेको छ । यसैगरी, स्वीचयार्ड, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद भएकाे छ । यहाँ करिब १० करोड रुपैयाँ बराबरको क्षति भएकाे छ । ललितपुरकै ४.३६ मेगावाटकाे टुङ्गुन ठोस्ने जलविद्युत आयोजनाकाे पावर हाउस डुब्नूका साथै प्रसारण लाइनको टावर ढलेको छ । स्वीचयार्ड, ड्याम र हेडरेस टनेलमा क्षति पुगेकाे छ । यहाँ करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएकाे छ । संखुवासभाकाे १४.९ मेगावाटकाे माया खोला जलविद्युत आयोजनामा बाँध र पहुँचमार्गमा क्षति भएकाे छ । यहाँ करिब २ करोड रुपैयाँ बराबरको क्षति भएकाे हाे ।

बाढीमा व्यापार : ७० प्रतिशत बढ्यो हवाई भाडा, ७ हजार पर्ने टिकटको मूल्य १३ हजार बढी

काठमाडौं । हवाई सञ्चालकहरूले बाढीको समयमा हवाइ टिकट मूल्य बढाएका छन् । बिहीबार साँझदेखि परेको निरन्तरको वर्षाले देशको विभिन्न क्षेत्रमा बाढीपहिरो जाँदा सवारीसाधन आवागमन प्रभावित भएको छ । सोही समयको फाइदा लिँदै हवाई सञ्चालकले हवाई टिकटको मूल्य बढाएका हुन् । दुई दिनअघि मात्रै काठमाडौंदेखि धनगढीको हवाई भाडा ७ हजार ९ सय रुपैयाँ पर्नेमा आज १३ हजार ३ सय रुपैयाँसम्म कायम गरेका छन् । एकदिनमै हवाई सञ्चालकले ६८ प्रतिशतले टिकटको मूल्य बढाएका हुन् । योसँगै काठमाडौंबाट विभिन्न ठाउँमा जाने हवाई टिकट ७० प्रशित बढेको छ । हवाई सञ्चालकले एकतर्फी रूपमा भाडा बढाएपछि अहिले चौतर्फी रूपमा आलोचना भइरहेको छ । बाढीको समयमा ठूलो धनजनको क्षति भइरहेको बेला हवाइ सञ्चालकले हवाइ टिकट बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको हो । वायुसेवा सञ्चालक संघले भने यात्रुको चाप बढ्दा मूल्य बढ्ने र चाप घट्दा घट्ने प्रावधानअनुसार नै टिकटको मूल्य निर्धारण गरेको बताएको छ । हवाइ भाडाको मूल्य बढाएको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै एयरलाइन्सका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाइएको बुझिएको छ । बाढीसँगै अब दशैं सुरु हुन पनि केही दिनमात्रै बाँकी छ । हवाइ सेवा सञ्चालकहरूले दशैंमा पनि टिकटको मूल्य बढाउने गरेका छन् । अहिले पनि सवारीसाधनको आवागमन प्रभावित भएसँगै अब दशैंमा घर जानेहरूले महँगो मूल्यमा हवाइ टिकट काटेर जानुपर्ने बाध्यता देखिएको छ । यसले यात्रुलाई थप आर्थिक भार हुने भएको छ । विगतमा पनि दशैंको समयमा काठमाडौंदेखि धनगढीसम्मको टिकट मूल्य १७ हजार पुग्ने गरेको थियो ।

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी मुख्य एजेण्डा

काठमाडौं । सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री कार्यालयमा सुरु भएको हो । बैठकमा बाढीपछिको विषयमा छलफल हुनेछ । बिहीबार साँझदेखिको निरन्तर वर्षाको कारण विभिन्न ठाउँमा आएको बाढीपहिरोले सय जना बढीको मृत्यु भएको छ भने सयौं बेपत्ता छन् । बैठकमा राजनीतिक दलका प्रतिनिधि र सरकारका मन्त्रीहरूको सहभागिता रहेको छ ।

कांग्रेसले विपद्जन्य घटनाका पीडितलाई राहतस्वरूप ५० लाख दिने

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले विपद्जन्य घटनाका पीडितलाई राहतस्वरूप ५० लाख दिने दिने भएकाे छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि बोल्दै नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताए । उनले ५० लाखमा सहयोग गर्न कांग्रेस सांसदहरूले १५ दिनको तलव उपलब्ध गराउने पनि निर्णय भएको बताए । कांग्रेसले पार्टीको भ्रातृ, शुभेच्छुक संघटन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन निर्देशनसमेत दिएकाे छ । यसैगरी, बैठकले स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले राष्ट्रिय विपतीमा समग्र पार्टी, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुन पनि आह्वान गरेको छ ।

ह्वाइट फेदर्स ज्वेलरीको दशैं अफर सार्वजनिक, हीराको गहनामा ५० प्रतिशत छुट

काठमाडौं । काठमाडौंको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैंतिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । ‍याेजनाअन्तर्गत २४ क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरूले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ । मंसिर ३ सम्म चल्ने यस योजनामा डायमण्डका गरगहनामा ५० प्रतिशत छुट दिइनेछ । यस्तै, चाँदीका भाडावर्तनमा प्रतितोला १२० रुपैयाँ ज्याला मात्रै लाग्ने छ । सामान्यतया, चाँदीका भाडावर्तनमा प्रतितोला २ सय रुपैयाँ ज्याला लाग्ने गर्दछ । २ महिने यस योजनामा बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली विजेताले आइफोन १६ जित्ने मौका पनि पाउनेछन् । यसका लागि २ महिनामा कम्तीमा २ पटक गरगहना खरिद गरेको हुनुपर्नेछ । २ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहकमध्येबाट लक्की ड्रमार्फत विजेता छनोट गरिने ज्वेलरीका संस्थापक स्किनर रसाइली बताउँछन् । यस्तै, प्रत्येक महिना १ जोडी (दम्पती)लाई लक्की ड्रमार्फत चितवन वा पोखराको टूर प्याकेज उपलब्ध गराइनेछ । यसअन्तर्गत २ महिनामा २ दम्पत्तिले यो अफर पाउनेछन् । यस्तै, प्रत्येक महिना १ दम्पत्तिलाई लक्की ड्रमार्फत नै पाँचतारे होटलमा ‘वान नाइट स्टे’समेत प्रदान गरिनेछ । २ महिनासम्म चल्ने यस अफर योजनाअन्तर्गत २ महिनामा २ दम्पत्तिले यो मौका पाउनेछन् । यसैगरी, प्रत्येक महिना प्रतिष्ठित नेपाली जुत्ता ब्राण्ड ‘योलो’को तर्फबाट २ जना सेवाग्राहीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् । ह्वाइट फेदर्स ज्वेलरीले हरेक हप्ता ग्राहकहरूले विभिन्न उपहार जित्ने स्किम पनि सँगसँगै ल्याएको छ । यसअन्तर्गत २ महिनासम्म हरेक हप्ता एक एक जनाले ‘गिगी मेकअप स्टुडियो’को तर्फबाट १० हजार बराबरको ‘हाइड्रो फेसीयल’ गर्न पाउनेछन् । यस्तै, प्रत्येक हप्ता एक जनाले स्कुटर ब्राण्ड भेष्पाको आधिकारिक विक्रेता डेल्टा अटोकर्पको तर्फबाट आकर्षक ‘गिफ्ट ह्याम्पर’ पाउनेछन् । साथै यसअन्तर्गत नै ह्वाइट फेदर्स ज्वेलरीबाट गरगहना किनेका ग्राहकहरूले भेष्पा स्कुटर खरिदमा आकर्षक छुट पनि प्राप्त गर्नेछन् । यी सबै उपहार योजना सबै खालका गरगहना खरिदमा लागू हुनेछन् । काठमाडौंको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरूको सेवामा समर्पित छ ।

सानिमा बैंकले पायो आइटी सेवाका लागि आईएसओ प्रमाणपत्र

काठमाडौं । सानिमा बैंकले आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आइटी सेवाका लागि प्रतिष्ठित आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राख्दै आएकाले याे प्रमाणपत्र प्राप्त गरेकाे जनाएकाे छ । आईएसओ २७००१:२०२२ प्रमाणीकरण प्रक्रियाले बैंक सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) मा कति कडा छ भन्ने मूल्यांकन गरेकाे जनाइएकाे छ । मूल्यांकन एएमटीआईभीओ समूहले गरेकाे थियाे । बैंक यसको सूचना सुरक्षा मापदण्डहरू कायम राख्न र सुधार गर्न समर्पित रहने पनि बैंकले उल्लेख गरेकाे छ । सानिमा बैंकले ७ वटै प्रदेशमा १३३ कार्यालय र १२४ एटीएम सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार

काठमाडौं । गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आज बिहानसम्म काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । शनिबार नै त्यहाँ हेलिकप्टर पठाइए पनि उद्धार गर्न सकिएको थिएन ।काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ । मन्त्रालयका अनुसार शनिबार काठमाडौंं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए । मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानबाट हालसम्म एक सय सात जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक यथाशीर्घ सञ्चालनमा ल्याउन तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका छन् ।