विकासन्युज

परिश्रम गर्ने युवालाई दैशमै अवसर, अकबरे खुर्सानी बेचेर ६ महिनामै १० लाख आम्दानी

ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे । बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा लागेका छन् । पाँच वर्ष अगाडि गाउँ फर्किएर सुरुमा कुखुरापालन गरेका कार्की व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लागेका थिए । उनी बाख्रापालनसँगै गत वैशाखदेखि अकबरेखेतीमा लागेका हुन् । कार्कीले अकबरेखेतीमा राम्रो आम्दानी देखेपछि अहिले यसको खेतीतर्फ जोड दिएका छन् । वैशाखमा लगाएका अकबरेका बिरुवाले अहिले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्यै बनेका छन् । छ महिनामै १० लाख रुपैयाँको अकबरे बिक्री गरेकाका कार्की खेती विस्तार गर्ने योजनामा छन् । बढ्दो बसाइँसराइ र युवाको विदेश मोहले गर्दा अहिले गाउँका खेतीयोग्य जमिन बाँझोमा परिणत भएका छन् । बसाइँसराइ गरेर गएको १० वर्षपछि फर्किएर व्यवसाय थालेका कार्कीले गाउँमा ठूलो सम्भावना देख्छन् । अहिले उनले गाउँका बाँझो जमिनलाई उत्पादनसँग जोड्न थालेका छन् । अकबरेको मागसमेत बढेको हुँदा उत्पादन बढाउनुपर्ने दबाबमा कार्की छन् । करिब १० रोपनी क्षेत्रफलमा करिब छ हजार अकबरेका बिरुवा सप्रिएर फल दिएपछि उनी बिहानदेखि साँझसम्मै बारीमा व्यस्त छन् । करिब तीन लाख रुपैयाँ लगानी गरेर सुरु गरेको खुर्सानी खेतीबाट यो याममा २० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहे पनि सुरुआती चरण भएको हुँदा सोचेअनुसार नभएको कार्कीले बताए । प्रतिकिलो दुई सय रुपैयाँमा करिब पाँच हजार किलो अकबरे बिक्री गरिसकेको उनको भनाइ छ । अझै केहीमात्रामा खुर्सानी टिप्न बाँकी रहेको उनी बताउछन् । अकबरेको बजारका लागि कुनै समस्या नभएको भन्दै अहिले बागलुङसहित चितवन पठाउने गरेको कार्कीले बताए । चितवनमा बुबाआमा रहेको हुँदा उनीहरुले बिक्री गर्ने गरेको कार्की बताउँछन् । ‘हाम्रो परिवारले धेरै वर्ष अगाडि चितवन बसाइँसराइ गरेको थियो, म पनि धेरै वर्ष उतै बसेँ, पछि गाउँ धेरै सम्भावना देखेर आएको हुँ, सुरुमा कुखुरापालन गरियो, राम्रो भएन, पछि बाख्रापालन थाले राम्रो हुँदै गयो, अहिले अकबरेलाई जोड दिएको छु, यसबाट धेरै राम्रो भयो’, कार्कीले भने, ‘सुरुमा धेरै सोच भएन, अलि धेरै आम्दानी गर्न सकिन्छ कि भन्ने लागेको थियो, त्यो हुन सकेन, विस्तारै ज्ञान हुँदै गएको छ, अर्को वर्षबाट राम्रो हुने आशा गरेको छु, गाउँमा जग्गा जति पनि छ, मान्छेहरु कोही बजार झरेका छन्, कोही विदेश गएका छन् ।’ कार्कीलाई उनकी श्रीमती सन्दीपाले साथ दिँदै आएका छन् । चार वर्षदेखि बाख्रापालन गर्दै आएकी कार्कीले यसबाट पनि राम्रो आम्दानी गर्दै आएकी छन् । अब अकबरे खेतीलाई नै बढी समय दिने उनको भनाइ छ । हाल उनको बाख्रा फार्ममा ६० खसीबोका छन् । बढ्दो बसाइँसराइले गाउँ रित्तिएपछि सुनसान बन्दै गएको छ । गाउँमा व्यवसाय गरेर अरुलाई पनि यहाँ धेरै सम्भावना रहेको देखाउनेगरी काम गर्ने कार्की बताउँछिन् । नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले पछिल्लो समय गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि पालिकाले युवालाई उद्यमसँग जोड्नेगरी काम गर्न थालेको बताउँछन् । कार्कीले सिँचाइका लागि पाइप माग गरेको हुँदा केही समयमै उपलब्ध गराउने उनको भनाइ छ । कार्कीलाई आवश्यक कृषि अनुदानका साथै आवश्यक प्राविधिक सहयोग पनि गर्दै जाने प्रवक्ता भण्डारीले बताए । खुर्सानीखेती पहिलो पटक गर्न लागेको हुँदा बजारलगायत अन्य समस्या परे नगरपालिकाले सहजीकरण गर्ने उनी बताउँछन् । प्रवक्ता भण्डारीले भने, ‘नगरपालिकाले व्यावसायिक रुपमा कृषि गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदानसहित प्राविधिक सहयोग गर्दै आएका छौँ, गलकोटमा नयाँ व्यवसायी थपिनु हाम्रा लागि राम्रो पक्ष हो, यस्ता पौरख गर्ने किसानलाई नगरपालिकाबाट सक्दो सहयोग हुन्छ, उनीहरुलाई प्रेरित हुनेगरी काम गर्नेमा हामी प्रतिबद्ध छौँ ।’ रासस

बाढी-पहिरोबाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो, ६४ जना बेपत्ता

काठमाडौं । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोसी प्रदेशमा १७ र मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ । त्यसैगरी, विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट तीन हजार छ सय २६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आज बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको एक सय ९३ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले बढी जोखिममा फसेका नागरिकको उद्धारका लागि दुई दिनदेखि खटिरहेको छ । विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक नियमित गर्न सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेको उपचारका लागि अस्पताल पुर्‍याउनेलगायत कार्यमा सुरक्षाकर्मी सक्रिय भएर लागिपरेका छन् ।

नेप्सेमा आज भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून

काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छभने कारोबार रकम पनि घटेको छ । आज परिसूचक २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज तीन सय २७ कम्पनीको एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता सेयर ५८ हजार चार सय एक पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब पाँच करोड छ लाख ५८ हजारमा खुम्चिएको छ । नेप्सेमा आज भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो । आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक एक दशमलव ०३ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह दुई दशमलव ९७ र जलविद्युत् समूह दुई दशमलव ३६ प्रतिशले घटेको छ । बैंकिङ शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ८९, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन एक दशमलव ४७ र लगानी समूह एक दशमलव ४० प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा समूह शून्य दशमलव ३१, म्युचुअल फण्ड एक दशमलव २१, निर्जीवन बिमा शून्य दशमलव १५ र अन्य समूह एक दशमलव ०२ प्रतिशतले घटेको छ । आजको कारोबारमा ४६ कम्पनीको सेयर मूल्य बढ्दा एक सय ९३ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव ६६ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ । आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको रु १५ करोड ९२ लाख ३० हजार आठ सय २० बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको चार लाख ८७ हजार चार सय ४१ कित्ता सेयर किनबेच भएको छ ।

स्वदेशमै रोजगारी चाहन्छन् भारतमा मजदुरी गर्ने नेपाली

राँझा । कामको खोजीमा भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेशमै रोजगारीको पर्खाइमा रहेका छन् । छ महिनाअघि कामको खोजीमा भारतको सिमला पुगेका सुर्खेत सिम्ता गाउँपालिका–५ का महेन्द्र खत्री दसैँ र तिहार मनाउन बिहीबार घर फर्किएका छन् । नेपालगञ्जस्थित जमुनाह नाका हुँदै घर फर्किएका खत्रीले नेपालमा कुनै रोजगारी नपाएपछि दसैँ र तिहारको खर्च जोहो गर्न भारत जानुपर्ने बाध्यता रहेको बताए । ‘नेपालमा काम पाइँदैन, चाडबाड मनाउनका लागि कमाउन भारत जानुपर्छ, त्यहाँ पनि सजिलो छैन’, खत्रीले भने, ‘सिमलामा पनि भनेजस्तो काम पाइँदैन तलब थोरै हुन्छ, अलिअलि लत्ताकपडा र दसैँ खर्च लिएर फर्किएको छु, आफ्नै देशमा काम पाए यहीँ पसिना बगाउने हो ।’ स्याउको बगैँचामा काम गरेर फर्किएको उनले बताए । नेपालमा रोजगारी नपाएपछि घरपरिवारको खुसीका लागि काम खोज्दै भारतको सिमला पुगेको उनको भनाइ छ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट महेन्द्र जस्तै हजारौँ नेपाली रोजगारीका लागि भारत जान बाध्य छन् । रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैँ खर्च जोहो गरेर पर्व मनाउन यतिबेला घर फर्किने गरेका छन् । दसैँ मनाउन घर फर्कने नेपालीको सीमानाका जमुनाहमा लर्को लाग्ने गरेको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका रमेश परियारले वर्षभरि परदेशमा काम गरेर दिन बितेपनि दसैँमा भने सधैँ घर फर्किने गरेको बताए । धेरै पैसा कमाउन नसके पनि जसोतसो खर्च जोहो गरेको उनको भनाइ छ । उनीसँगै भारतको सिमलामा मजदुरी काम गर्ने जाजरकोट र सल्यानका मात्रै २५ घरपरिवार दसैँ मनाउन बिहीबार घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायत जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपाली दसैँ नजकिएसँगै घर फर्किनेक्रम सुरु भएको छ । पछिल्लो १० दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै ३० हजार नेपाली घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए । भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ । दैनिक करिब तीन हजार बढी भारतमा काम गर्ने नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको उनको भनाइ छ । ‘अहिले भारत जानेभन्दा आउनेको भीडभाड बढी छ, सोह्रश्राद्ध सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेक्रम ह्वात्तै बढेको छ’, बुढाथोकीले भने, ‘बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ ।’ दसैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । रिक्सा, इ–रिक्सा, बस, मिनीबस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाह नाका इञ्चार्ज बुढाथोकीले बताए । रासस

सिटिजन्स बैंकद्वारा बाढी-पहिरो पीडितका लागि २५ लाख सहयाेग

काठमाडौं । सिटिजन्स बैंकले बाढी-पहिरो पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेकाे छ । विगत दुई दिनदेखि परेको अविरल वर्षाले नेपालको धेरैजसो स्थान नराम्ररी प्रभावित भएको छ । अधिक वर्षा, बाढी, ढुवान, पहिरोका कारण देशका विभिन्न स्थानहरूमा ठूलो धनजनको क्षति भएको छ । सहरी विकास मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमबीच कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले २५ लाख रुपैयाँकाे चेक हस्तान्तरण गरे । समाहरोमा सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बैंकका सीईओ गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायणराज अधिकारीलगायतको उपस्थिति रहेको थियो । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थलाभका लागि कामनासमेत गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्ण जनहरूप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ । सिटिजन्स बैँकले यस अघि पनि २०७२ सालको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरूप १ करोड रुपैयाँ प्रदान गरेको थियो । यसैगरी, जाजरकाेटकाे भूकम्पबाट पीडितहरूकाे उद्धार तथा राहतका लागि बैंकले २५ लाख रुपैयाँ सहयाेग गरेकाे थियाे ।

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ-अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केबलकार कोसेढुंगो साबित हुने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केबलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गरे । उनले पाथीभरा केबलकारमा स्थानीयहरूलाई सतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताए । संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उनले बताए । सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने जनाए । उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राखे । उनले पाथीभरामा केबलकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताए । उनले स्थानीयहरूलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताए । एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको जनाए । उनले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको बताएका छन् । केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताए । उनले पाथीभरा केबकार आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको जानकारी दिए । उनले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यवसायीक गतिविधि र राजस्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन शुरुवात गरेको जनाए । उनले भने, ‘पाथीभरा केबलकार बनाउँदा स्थानीयहरुलाई के गर्नुपर्छ । त्यो गर्न तयार छौं । स्थानीय मानिसहरुलाई के सुविधा दिनुपर्छ त्यो भन्नुपर्यो । केबलकारले स्थानीय, बालबालिका तथा वृद्धवृद्धाहरुलाई दिने सुविधाको बारेमा उल्लेख गर्दै थप सेवा सुविधा आवश्यक परे छलफल गर्न तयार छौं ।’ ‘हामी एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलर निर्माण गरी मुलुकमा पर्यटन विकास गर्ने र रोजगारी सिर्जना गर्ने अभियानमा छौं । समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा केवकारले ठूलो भुमिका निर्वाह गर्छ । अहिले नेपालमा वैदेशिक लगानी भित्र्याउनको लागि ठूलो खर्च गरिरहेका छौँ’, उनले भने, ‘तर हामी स्वदेशी लगानी विकास गर्छौं भनेर निजी क्षेत्र ताप्लेजुङ जाँदा चन्द्र ढकालको व्यक्तिगत फाइदाको लागि भनियो । मैले मेरो फाइदालाई मात्रै हेर्ने भए अन्य ठाउँमा पाँच तारे होटल खोल्ने थिए ।’

दशैंका लागि सुकिला नोट साट्न सर्वसाधारण पुगे राष्ट्र बैंक (तस्बिरहरू)

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट वितरण गरेकाे छ । राष्ट्र बैंकले दशैंका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्न लागेकाे हाे । दसैंमा माग हुने साना दरका नोट सटहीको लागि केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरूबाट सुकिला नोट सटहीको व्यवस्था गरेकाे राष्ट्र बैंकले जनाएको छ । प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्न पाइने छ । कुल १८ हजार ५ सय रुपैयाँको नोटमात्र साट्न पाइने छ । ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसपटक राष्ट्र बैंकले दशैंका लागि भनेर नयाँ नोट भने वितरण नगर्ने भएको हो ।  

बाढी पहिरोका कारण २० आयोजना प्रभावित, १५ आयोजनामा २ अर्ब बढीकाे क्षति

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी-पहिरोका कारण २० आयाेजना प्रभावित भएका छन् । बाढी-पहिराेले २० वटा हाइड्रोपावर कम्पनीमा क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जानकारी दिएको छ । इप्पानका अनुसार बाढीबाट १५ आयाेजनामा २ अर्ब ३१ कराेड रुपैयाँ बराबरकाे क्षति भएकाे छ । अन्यकाे विवरण आउन बाँकी रहेकाे इप्पानले जनाएकाे छ । मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित मकवानपुरकाे २२ मेगावाट क्षमताकाे बागमती साना जलविद्युत आयोजनाकाे पावर हाउस पूणरूपमा डुबेको छ भने बाँध क्षेत्रमा पनि क्षति भएकाे छ । यहाँ करिब १ अर्ब रुपैयाँ बराबरको क्षति भएकाे हाे । माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित पाँचथरकाे २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाकाे पावर हाउस डुबानमा परेकाे छ । करिब २५ कराेड रुपैयाँ बराबरकाे क्षति भएकाे छ । याे आयाेजना गत वर्षकाे बाढीबाट पनि प्रभावित भएकाे थियाे । यसैगरी, पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजानामा पनि क्षति पुगेकाे छ । यहाँ कति क्षति भएकाे छ भन्ने कुराकाे यकिन हुन बाँकी नै छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएकाे हाे । साहस ऊर्जाद्वारा प्रवर्द्धित साेलुखुम्बुकाे ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाकाे हेडवर्क्समा क्षति भएसँगै उत्पादन बन्द भएकाे छ । क्षतिकाे यकिन हुन बाँकी नै छ । त्यस्तै, सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित इलामकाे ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाकाे बाँध र टेलरेसमा क्षति भएकाे छ । याेसँगै उत्पादन बन्द भएकाे छ । करिब ५ करोड रुपैयाँ बराबरकाे क्षति भएकाे जनाइएकाे छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित इलामकाे ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाकाे बाँध र प्रसारणलाइनमा क्षति भएकाे छ । करिब ७ करोड रुपैयाँ बराबर क्षति भएकाे हाे । त्यस्तै, पाँचथरकाे १ मेगावाटकाे फेमे खोला जलविद्युत आयोजनाकाे बाँध र विद्युतगृह पूणरूपमा क्षति भएकाे छ । करिब १० करोड रुपैयाँ बराबर क्षति भएकाे इप्पानले जनाएकाे छ । लमजुङकाे ५ मेगावाट क्षमताकाे सिउरीखोला जलविद्युत आयोजनाकाे टेलरेस, इन्टेक र टनेलमा बाढीले क्षति पुर्‍याएकाे छ । करिब २ करोड रुपैयाँ बराबरकाे क्षति भएकाे हाे । लमजुङकाे ४० मेगावाट क्षमताकाे सुपरन्यादी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा क्षति (प्रोटेक्सन वाल) भएकाे छ । क्षतिकाे यकिन हुन बाँकी नै छ । धादिङकाे २५ मेगावाटकाे इलेप खोला तातोपानी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा ठूलो क्षति भएकाे छ । क्षतिकाे यकिन हुन बाँकी नै छ । नुवाकाेटकाे २१६ मेगावाटकाे माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाकाे क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको छ । करिब १० करोड रुपैयाँ बराबर क्षति भएकाे जनाइएकाे छ । पाँचथरकाे ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट) को हेवाखोला जलविद्युत आयोजनाकाे क्रसर पुरिएको छ । त्यसैगरी, पहुँचमार्गमा क्षति पुग्नुका साथै प्रसारण लाइनको टावर ढलेको इप्पानले जनाएकाे छ । पावर हाउसमा जडान गर्न ल्याइएका सामग्रीहरू पनि बगाएको छ । यहाँ करिब १० करोड रुपैयाँ बराबर क्षति भएकाे छ । पाँचथरकै १५.१ मेगावाटकाे सभाखोला बी जलविद्युत आयोजनाकाे पहुँचमार्ग, पावरहाउस, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ । यहाँ करिब ७ करोड रुपैयाँ बराबर क्षति भएकाे छ । पाँचथरकै ६.३ मेगावाटकै सभाखोला सी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा क्षति पुगेकाे छ । करिब ३ करोड रुपैयाँ बराबर क्षति भएकाे छ । कास्कीकाे ८६.५९ मेगावाटकाे लान्द्रुक मोदी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा क्षति पुगेकाे छ । करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएकाे जनाइएकाे छ । नुवाकाेटकाे १०० मेगावाटकाे सुपर त्रिशूली जलविद्युत आयोजनाका दुई-दुईवटा स्काभेटर र लोडर अनि तीनवटा ट्रिपर बगाएको छ । यहाँ बेलीब्रिज बगाउनुका साथै पावर हाउस स्काभेसन पुरिएको छ । यहाँ करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएकाे छ । रसुवाकाे २० मेगावाटकाे लाङटाङ खोला जलविद्युत आयोजनामा बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति भएकाे छ । क्षतिको रकम यकिन हुन बाँकी छ । ललितपुरकाे २ मेगावाटकाे खानीखोला जलविद्युत आयोजनाकाे पावर हाउस डुब्नुका साथै प्रसारण लाइनको टावर ढलेको छ । यसैगरी, स्वीचयार्ड, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद भएकाे छ । यहाँ करिब १० करोड रुपैयाँ बराबरको क्षति भएकाे छ । ललितपुरकै ४.३६ मेगावाटकाे टुङ्गुन ठोस्ने जलविद्युत आयोजनाकाे पावर हाउस डुब्नूका साथै प्रसारण लाइनको टावर ढलेको छ । स्वीचयार्ड, ड्याम र हेडरेस टनेलमा क्षति पुगेकाे छ । यहाँ करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएकाे छ । संखुवासभाकाे १४.९ मेगावाटकाे माया खोला जलविद्युत आयोजनामा बाँध र पहुँचमार्गमा क्षति भएकाे छ । यहाँ करिब २ करोड रुपैयाँ बराबरको क्षति भएकाे हाे ।