विकासन्युज

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलको मूल्य १५९ रुपैयाँसम्म

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा १४८.५० रुपैयाँ, दोस्रो वर्गमा १५० रुपैयाँ र तेस्रो वर्गमा १५१ रुपैयाँ कामय भएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै

काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका व्यक्तिको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन थालिएकोे समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउँछन् । माता दुर्गाका तीनवटा रुपमध्येका एउटा रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ ।

बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका नागरिक मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैँको सार्वजनिक बिदा सोमबार सकिएर मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् । टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ । यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसँै समापन हुन्छ ।

आज देशभरको मौसम कस्तो छ ?

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनामा जानकारी दिए । प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भुटान र बङ्गलादेश सहभागी छन् । उक्त प्रतियोगिताको लागि पाकिस्तान, माल्दिभ्स र बङ्गलादेशको टोली नेपाल आइसकेका छन् भने भारत र भुटानको टोली भोलि काठमाडाँै आइपुग्ने एन्फाले जनाएको छ । सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले जानकारी दिए । उक्त प्रतियोगिताको टिकेटिङ्ग अधिकार भने माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्सलाई प्रदान गरिएको छ । प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण प्याराफिटतर्फ रु तीन सय र भीआइपीतर्फ रु पाँच सय तोकिएको छ । त्यस्तै नकआउट चरणका खेलहरूको टिकट दर साधारण प्याराफिटतर्फ रु पाँच सय र भीआईपीतर्फ रु एक हजार कायम गरिएको छ । यसैगरी प्रतियोगिताको खेल हेर्न १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइने एन्फाले जनाएको छ ।

निक्षेपको ब्याजदर ३१% र कर्जाको २४% ले घट्यो, यस्तो छ नयाँ ब्याजदर

काठमाडौं । एक वर्षको अवधिमा वाणिजय बैंकको कर्जाको ब्याजदर ३१.३८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.५३ प्रतिशत छ । २०८० भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.०६ प्रतिशत रहेकोमा अहिले घटेर ५.५३ प्रतिशतको बिन्दुमा पुगेको हो । यस्तै, हाल विकास बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.३१ प्रतिशत र वित्त कम्पनीहरुको ७.५५ प्रतिशत रहेको छ । २०८० को सोही अवधिमा विकास बैंकहरुको ९.४३ प्रतिशत र वित्त कम्पनीहरुको १०.२७ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८१ भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत, विकास बैंकहरुको १०.८९ प्रतिशत र वित्त कम्पनीहरुको १२.१४ प्रतिशत रहेको छ । यो एक वर्षको अवधिमा वाणिज्य बैंकको कर्जाको ब्याजदर २१.४२ प्रतिशतले घटेको छ । २०८० भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशत, विकास बैंकहरुको १३.९९ प्रतिशत र वित्त कम्पनीहरुको १४.६८ प्रतिशत रहेकोथियो । २०८० भदौमा ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ५.९५ प्रतिशत रहेकोमा २०८१ भदौमा २.८९ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० भदौमा ५.८८ प्रतिशत रहेकोमा २०८१ भदौमा ३.०० प्रतिशत रहेको छ । २०८१ भदौमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.४९ प्रतिशत, विकास बैंकहरुको ९.१५ प्रतिशत र वित्त कम्पनीहरुको १०.६५ प्रतिशत रहेको छ । २०८० भदौमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.१४ प्रतिशत, विकास बैंकहरुको १२.१२ प्रतिशत र वित्त कम्पनीहरुको १३.५२ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकको नजरमा कस्तो भइरहेको छ सेयर बजार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारको पछिल्लो एक वर्षको उतारचढावको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै सेयर बजारको उतारचढावको विषयमा पनि बोलेको छ । राष्ट्र बैंकको तथ्यांकमा २०८० भदौ मसान्तमा १९६४.९२ रहेको नेप्से सूचकाङ्क २०८१ भदौ मसान्तमा २५८०.७६ कायम भएको छ । २०८१ भदौ मसान्तमा धितोपत्र बजार पँुजीकरण ४१ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । २०८० भदौ मसान्तमा बजार पुँजीकरण २९ खर्ब ६१ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । २०८१ भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० भदौमा सूचीकृत कम्पनीहरूको संख्या २५५ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ भदौ मसान्तमा सूचीकृत ८ अर्ब ३५ करोड शेयरको चुक्ता मूल्य रु.८२८ अर्ब २४ करोड रहेको छ । आर्थिक वर्ष २०८१÷८२ को दुई महिनामा २ अर्ब ५४ करोड बराबरको बोनस सेयर, १ अर्ब ७२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ४७ लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल ४ अर्ब २६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको यो चालु आर्थिक वर्षको दुई महिनाको हो । दशैंपछिको पहिलो कारोबार भएको दिन आज मंगलबार सेयर बजार परिसूचक नेप्से १.१७ प्रतिशतले वृद्धि भएको छ । आज ३१.४८ अंकले वृद्धि भएर नेप्से परिसूचक २ हजार ६ सय ९९.६६ बिन्दुमा रोकिएको छ ।

दोब्बर बढ्यो सोधनान्तर स्थिति, १ खर्ब १ अर्ब रुपैयाँले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा सोधनान्तर स्थिति दोब्बरले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्म शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५५ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड ७० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड ७९ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ४९ अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १८ करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३७ करोड १ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब २० करोड रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्वीटी मात्र) २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर ८५ करोड ८ लाख रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्वीटी मात्र) ३ अर्ब रुपैयाँ रहेको थियो ।