विकासन्युज

एनआईसी एशिया बैंकको ब्याजदर ०.१९ प्रतिशत घट्यो, कुन खातामा कति ?

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ प्रतिशत र संस्थागततर्फ ५.९९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्यानदर तोकेको थियो । बैंकले एक महिनामा ०.१९ प्रतिशत ब्याज घटाएको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपको ब्याजदर घटाएपनि अन्य ब्याजदर पनि यथावत नै राखेको छ । बैंकका अनुसार अन्य बचत खाता र कर्जाको ब्याजदर असोज महिनाको नै कात्तिकमा लागू हुनेछ । बैंकले साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि अधिकतम ५.२७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

सिटिजन्स बैंकको ब्याजदर घट्यो

काठमाडौं । सिटिजन्स बैंकले कात्तिकमा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत, संस्थागततर्फ ४.५० प्रतिशत र रेमिट्यान्स खातामा ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । तर, बैंकले हाम्रो कर्णाली मुद्दती योजना र डिजिटल मुद्दतीमा भने ६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत, संस्थागततर्फ ५ प्रतिशत र रेमिट्यान्स खातामा ७.१५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकको आधार दर ८.२५ प्रतिशत रहेको छ । बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा ४ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

एभरेष्ट र कुमारी बैंकले कात्तिकमा स्थिर राखे ब्याजदर

काठमाडौं । एभरेष्ट बैंकले कात्तिकमा ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी असोज महिनामा तोकेको ब्याजदर नै यथावत राखेको जनाएको छ । बैंकले विभिन्न बचत, मुद्दती खाता र कर्जाका खाताहरूमा असोजको ब्याजदर नै लागू हुने बताएको छ । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत तोकेको छ । यस्तै बैंकले कात्तिकमा साधारण बचत खातामा ३.०५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यस्तै, कुमारी बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले असोजको ब्याजदर नै कात्तिकमा लागू हुने जनाएको छ । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत तोकेको छ । साधारण बचत खातामा ४.५१ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

चार महिनादेखि ग्लोबल आइएमई बैंकको ब्याजदर स्थिर

काठमाडौं । चार महिनादेखि ग्लोबल आइएमई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिकमा सार्वजनिक गरेको ब्याजदर चार महिनादेखि स्थिर राखेको हो । बैंकले मुद्दती निक्षेपको ब्याजदर साउनदेखि स्थिर राख्दै आएको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि पनि बैंकले सोही ब्याजदर प्रदान गरेको थियो । बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल रेमिट बचत खातामा भने ४.५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

नबिल बैंकले घटायो निक्षेपको ब्याजदर, स्थिर कर्जाको ८.४९ प्रतिशतमा झार्याे

काठमाडौं । नबिल बैंकले ब्याजदर घटाएको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको थियो । साथै बैंकले कात्तिकमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि सबै बचत खातामा सोही ब्याजदर नै थियो । बैंकको आधारदर ७.२४ प्रतिशत छ भने स्प्रेडदर भने ४ प्रतिशत रहेको छ । यसअघि बैंकको आधारदर ७.४२ प्रतिशत छ भने स्प्रेडदर भने ३.९९ प्रतिशत रहेको थियो । बैंकको आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्ने देखिन्छ । बैंकले कर्जा प्रवाह गर्दा ०.२५ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । साथै बैंकले स्थिर कर्जाको ब्याजदर ८.४९ प्रतिशत तोकेको छ ।

सानिमा बैंकले बढायो निक्षेपको ब्याजदर, कर्जाको भने घट्यो

काठमाडौं । सानिमा बैंकले कात्तिकमा ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर बढाएर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स खातामा ७.१५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ५.९० प्रतिशत, संस्थागततर्फ ४.३० प्रतिशत र रेमिट्यान्स खातामा ६.९० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३.०४ प्रतिशतदेखि अधिकतम ५.०४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ७.८३ प्रतिशत रहेकोमा घटेर ७.६५ प्रतिशतमा झरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलको मूल्य १५९ रुपैयाँसम्म

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा १४८.५० रुपैयाँ, दोस्रो वर्गमा १५० रुपैयाँ र तेस्रो वर्गमा १५१ रुपैयाँ कामय भएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै

काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका व्यक्तिको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन थालिएकोे समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउँछन् । माता दुर्गाका तीनवटा रुपमध्येका एउटा रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ ।