ह्वात्तै घट्यो मुद्रास्फीति, बागमतीमा भन्दा सुदूरपश्चिममा महँगी उच्च
काठमाडाैँ । गएको भदौ महिनामा समग्रह मुद्रास्फीति ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष २०८० को भदौ महिनाको तुलनामा २०८१ को भदौ महिनामा महँगी आधा भन्दा धेरैले घटेको छ । गत वर्षको भदौ महिनामा समग्रह मुद्रास्फीति ८.१९ प्रतिशत थियो । तर, यस वर्षको भदौ महिनामा यस्तो मुद्रास्फीति ३.८५ प्रतिशत मात्र रहेको छ । यसैगरी, खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ५.०३ प्रतिशत रहेको छ भने गैर खाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । गत वर्ष खाद्य क्षेत्रमा ९.७७ र गैर खाद्यमा ७.१९ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ । प्रदेशगत रुपमा गएको भदौमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेश प्रदेशको ३.८२ प्रतिशत, बागमती प्रदेशको ३.२९ प्रतिशत, गण्डकी प्रदेशको ३.५० प्रतिशत, लुम्बिनी प्रदेशको ३.५३ प्रतिशत, कर्णाली प्रदेशको ३.५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.९० प्रतिशत रहेको छ । अर्थात बागमतीमा महँगी सबैभन्दा कम रहेको देखिन्छ । काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत, तराईको ४.०९ प्रतिशत, पहाडको ३.६१ प्रतिशत र हिमालको ४.१९ प्रतिशत रहेको छ । २०८० भदौ महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ९.८३ प्रतिशत, ७.०३ प्रतिशत, ८.०९ प्रतिशत र ११.३२ प्रतिशत रहेको थियो ।
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, साढे २१ खर्ब पुग्यो
काठमाडौं । विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति साढे २१ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्म कुल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशत बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । गत असारसम्म विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारसम्म १५ अर्ब २७ करोड रहेकोमा २ महिनामा ५.० प्रतिशत बढेर १६ अर्ब ४ करोड पुगेको छ । कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैंकमा १९ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ थियो । भदौसम्म बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१÷८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेका छन् ।
दाउन्ने एग्रो फार्मले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । दाउन्ने एग्रो फार्मले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्ध नियुक्ति सम्बन्धी सम्झौतामा मंगलबार सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच हस्ताक्षर भएको हो । सम्झौतापत्रमा दाउन्ने एग्रो फार्मका तर्फबाट कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सिटिजन्स क्यापिटलले दाउन्ने एग्रो फार्मको साधारण सेयर निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
दुई महिनामा भित्रियो साढे २ खर्ब बढी रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा साढे २ खर्ब बढीको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्म २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार ४ रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २ खर्ब ८६ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ५१ अर्ब ६५ करोड रहेको थियो ।
कार्तिक ८ गतेसम्म कायम सेयरधनीले मात्र एलआईसीको हकप्रदमा आवेदन दिन पाउने
काठमाडाैँ । कार्तिक ८ गतेसम्म कायम सेयरधनीले मात्र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालकाे हकप्रदमा आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रद निष्कासनका लागि कार्तिक ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले ८८.४५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत पाइसकेको छ । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम हकप्रद निष्कासनको तयारी थालेका हुन् । प्राधिकरणले निर्जीवन बीमा कम्पनीको हकमा २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको हकमा ५ अर्ब चुक्ता पुँजी पु्र्याउनु पर्ने वाध्यकारी व्यवस्था गरेपछि कम्पनीहरु हकप्रदका लागि तातिएका हुन् । एलआईसी नेपालको हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । अब २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ हकप्रदबाट थपिँदा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ लाख रुपैयाँ हुन जान्छ । अर्थात, हकप्रद जारी पश्चात प्राधिकरणले तोके अनुसार कम्पनीको चाक्ता पुँजी पुग्छ ।
ग्लोबल आइएमई बैंकले र महालक्ष्मी विकासलाई गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर सम्पत्र भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन् ।
जनप्रतिनिधिको भत्ता रकम विकास-निर्माणमा खर्च
तनहुँ । बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास-निर्माणका काममा खर्च गरेका छन् । पालिकाका ३४ जना जनप्रतिनिधिले भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन् । विसं २०७९ मा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक भत्ता नलिइएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । ‘हामीले कार्यपालिकाबाट निर्णय गरेका छैनौँ,’ उनले भने, ‘निर्णय नगरे पनि हामीले आजसम्म कुनै भत्ता लिएका छैनौँ ।’ एक वर्षमा बैठक भत्तामा १८ लाख रुपैयाँ खर्च हुने बन्दीपुर–१ का वडाध्यक्षसमेत रहेका उनले बताए । त्यसैगरी, अवलोकन भ्रमणबापत एक वर्षमा खर्च गरिने रु १५ लाखसमेत विकास निर्माणमा उपयोग भएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । ‘जनप्रतिनिधिका लागि भ्रमण भत्ताबापत छुट्याइएको ६ लाख रुपैयाँ खर्च भएको छैन’, उनले भने, ‘विकास–निर्माणका काममा भत्ता रकमबाट ठूलो सहयोग मिलेको छ ।’
सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री
अत्तरिया । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख रुपैयाँ मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो । सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना बिष्टले जानकारी दिए । डडेल्धुरास्थित गोदामबाट एक सय ५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट दुई सय २६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट एक सय सात क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उनले जानकारी दिए । कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो पाँच छुट रुपैयाँ दिएर बिक्री गरिरहेको उनले बताए । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने तथा दुई हजार क्विन्टल उनले जानकारी दिए ।