विकासन्युज

जनप्रतिनिधिको भत्ता रकम विकास-निर्माणमा  खर्च

तनहुँ । बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास-निर्माणका काममा खर्च गरेका छन् । पालिकाका ३४ जना जनप्रतिनिधिले भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन् । विसं २०७९ मा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक भत्ता नलिइएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । ‘हामीले कार्यपालिकाबाट निर्णय गरेका छैनौँ,’ उनले भने, ‘निर्णय नगरे पनि हामीले आजसम्म कुनै भत्ता लिएका छैनौँ ।’ एक वर्षमा बैठक भत्तामा  १८ लाख रुपैयाँ खर्च  हुने बन्दीपुर–१ का वडाध्यक्षसमेत रहेका उनले बताए । त्यसैगरी, अवलोकन भ्रमणबापत एक वर्षमा खर्च गरिने रु १५ लाखसमेत विकास निर्माणमा उपयोग भएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । ‘जनप्रतिनिधिका लागि भ्रमण भत्ताबापत छुट्याइएको ६ लाख रुपैयाँ खर्च भएको छैन’, उनले भने, ‘विकास–निर्माणका काममा भत्ता रकमबाट ठूलो सहयोग मिलेको छ ।’

सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

अत्तरिया । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख रुपैयाँ मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो । सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना बिष्टले जानकारी दिए । डडेल्धुरास्थित गोदामबाट एक सय ५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट दुई सय २६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट एक सय सात क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उनले जानकारी दिए । कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो पाँच छुट रुपैयाँ दिएर बिक्री गरिरहेको उनले बताए । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने तथा दुई हजार क्विन्टल उनले जानकारी दिए ।

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

मन्थली । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौंबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् । रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन् । नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एअरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन् । मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिए । पर्यटकहरु शरद ऋतुका बेला सगरमाथा आधार शिविर पदयात्राका लागि जाने गर्दछन् ।

दशैँ पछिको पहिलो कारोबारः बजार ३१ अंकले बढ्यो, २ कम्पनीको मूल्यमा सकरात्मक सर्किट

काठमाडाैँ । दशैँ पछिको पहिलो कारोबार भएको दिन आज मंगलबार सेयर बजार परिसूचन नेप्से १.१७ प्रतिशतले वृद्धि भएको छ । आज ३१.४८ अंकले वृद्धि भएर नेप्से परिसूचक २ हजार ६ सय ९९.६६ बिन्दुमा रोकिएको छ । यस दिन ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेचबाट ३ अर्ब ६ करोड २३ लाख बढीको कारोबार भएको छ । आज २०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटाको मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य यथावत रहेको छ । आज जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यसैगरी, मल्टिपर्पाेज फाइनान्स, समृद्धि फाइनान्स र एनआईबीएल समृद्धि फण्ड २ को सेयर मूल्य क्रमशः ९.३२, ६.८४ र ६.७४ प्रतिशतले वृद्धि भएको छ । यस दिन मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र एनआरआईसी इन्फ्राइस्टक्चर डेभलपमेन्ट कम्पनीको कारोबार सर्वाधिक भएको छ ।

भारतीय सेयर बजार इतिहासमै ठूलो आईपीओ, हुण्डाईले तोड्यो एलआईसीको रेकर्ड

काठमाडौं । हुण्डाई मोटर्सको सहायक कम्पनी हुण्डाई मोटर्स इन्डीयाले प्राथमिक सेयर निष्काशन (आईपीओ) खुला गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार कम्पनीले आज अक्टोवर १५ तारिखदेखि करिब ३ खर्ब भारतीय रुपैयाँ बराबरको आईपीओ खुल्ला गरेको हो । हुण्डाई मोटर्स इन्डीयाको आईपीओ भारतीय सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो दाबी गरिएको छ । साथै कम्पनीको आईपीओ एशियाकै ठूला आईपीओहरूको सूचीमा समेत रहेको बताइएको छ । यसअघि भारतमा सबैभन्दा ठूला आईपीओ ल्याएको रेकर्ड लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी)को नाममा थियो । एलआईसी इण्डीयाले दुई वर्षअघि अर्थात् सन २०२२ मा २ खर्ब १० अर्ब भारुको आईपीओ निष्कासन गरेको थियो । तर, एलआईसीको रेकर्ड ब्रेक गर्दै हुण्डाई मोटर्स इन्डीयाले हालसम्मकै ठूलो आईपीओ जारी गर्न लागेको हो । करिब २ दशकपछि भारतीय सेयर बजारमा अटो क्षेत्रको आईपीओ आएको बताइएको छ । जसलाई लिएर लगानीकर्ता निकै उत्साहित बनेका छन् । कम्पनीले २ खर्ब ७८ अर्ब ७९ करोड १६ लाख भारुको १४ करोड २१ लाख ९४ हजार ७ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओको मूल्य प्रतिकित्ता १ हजार ८६५ रुपैयाँदेखि १ हजार ९६० रुपैयाँ तोकिएको छ । हुण्डाई इन्डियाले आईपीओमार्फत् आफ्नो १७.५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । जसमध्ये क्यूआईपीका लागि ५० प्रतिशत, एनआईआईका लागि १५ प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि २५ प्रतिशत सेयर छुट्याइएको छ । साथै कम्पनीका कर्मचारीका लागि ७ लाख ७८ हजार ४ सय कित्ता सेयर छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम ७ कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । सो आधारमा कम्पनीको आईपीओ खरिद गर्न कम्तीमा १३ हजार ७२० रुपैयाँ लगानी गर्नुपर्ने देखिन्छ । हुन्डाई इन्डियाका कर्मचारीलाई भने प्रतिकित्ता १८६ रुपैयाँ छुट दिइएको छ । उक्त आईपीओका लागि अक्टोवर १७ तारिखसम्म आवेदन दिन सकिने बताइएको छ ।

अन्तर व्यवस्थापिका संघसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

काठमाडौं । अन्तर व्यवस्थापिका संघको १४९औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघका अध्यक्ष डा तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । दुवै भेटमा नेपालको संघीय संसद् र अन्तर व्यवस्थापिका संघसंगको आपसी सहकार्य, सहयोग आदानप्रदान, लोकतन्त्रको सुदृढीकरणका लागि संसदीय भूमिकालगायत विषयमा छलफल भएको थियो । जेनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठहरुका लागि नेपालको स्थायी नियोगले जनाएको छ । अध्यक्ष दाहालले आइपियूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तीकरण, दिगो विकासलगायत विषयमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदानप्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए । अध्यक्ष दाहालले संसदीय अभ्यासलाई अझ परिस्कृत तुल्याउन तथा लोकतान्त्रिक संस्थाहरुलाई सुदृढ बनाउन अन्तर व्यवस्थापिका संघसँग नेपालले घनिभूत सहकार्य गर्न चाहेको बताए । आइपियूसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिएको बताउँदै उनले यसको सचिवालयमा नेपालको पनि सहभागिता आवश्यक भएको विचार व्यक्त गरे । साथै उनले त्यसनिम्ति गृहकार्य गर्न अनुरोध पनि गरे । संविधानसभाबाट जारी संविधानमार्फत नेपालले महिला, अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको जानकारी दिँदै अध्यक्ष दाहालले संघीय संसद्मा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधिका रुपमा सहभागी रहेका बताए । अध्यक्ष अक्सनले नेपाल विगतदेखि नै आइपियूमा सक्रिय सहभागी भएकामा त्यसको सराहना गर्दै नेपालको संघीय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिताको प्रशंसा गरे । साथै उनले आइपियू सचिवालयमा नेपाललाई समावेश गर्न आफू सकारात्मक रहेको बताए । संघको बैठक आगामी कात्तिक १ गते समापन हुनेछ ।

हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदा हुँदै वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् । धरानको उपप्रमुख अइन्द्रविक्रम बेघासँग सम्बन्ध बिग्रिएपछि साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् । हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् । साम्पाङले असोज २३ गते नै वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि पाँच बुँदामा उल्लेख गरेर यी काम गर्न नपाउने उल्लेख गर्दै मेयरको कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र दिएका छन् ।

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान

काठमाडौं । आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुन सक्ने चेतावनी दिँदै मंगलबार र विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्नसक्ने चेतावनी दिएको छ । वित्तीय नीति सम्बन्धि पछिल्लो प्रतिवेदनमा, आइएमएफले यस वर्ष विश्वव्यापी सार्वजनिक ऋण कुल ग्राहयस्थ उत्पादन (जीडीपी) को ९३ प्रतिशत र सन् २०३० सम्ममा जीडीपीको १०० प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ । यो तथ्यांक कोभिड–१९ महामारी आउनु भन्दा पहिले को तुलनामा १० प्रतिशतले बढी हो । विश्वव्यापी सार्वजनिक ऋण उच्च भएको आइएमएफको ‘फिस्कल अफेयर्स डिपार्टमेन्ट’का उप निर्देशक एरा डाब्ला–नोरिसले प्रतिवेदन प्रकाशन हुनुअघि पत्रकार समक्ष बताएका हुन् । ऋणको बोझ अपेक्षाभन्दा बढी हुने धेरै कारण भएको बताउँदै उनले जलवायु परिवर्तन, अत्यधिक आशावादी ऋण अनुमान तथा ठूलो मात्रामा अज्ञात ऋणको सम्भावना जस्ता सवाललाई सम्बोधन गर्न हालको खर्च सन्तुलित नरहेको उल्लेख गरेका छन् । त्यसैले सन्तुलन कायम गरी रिऋको बोझ घटाउन देशहरूले आफ्नो वित्तीय व्यवस्थापनलाई मझभुत गराउनु पर्ने समय आएको उनले बताएका छन् । आइएमएफको प्रतिवेदनले ऋण अनुमानको जोखिम मूल्यांकन गर्न नयाँ ‘ऋण-मा-जोखिम’ दृष्टिकोण प्रस्तुत गरेको छ । प्रतिवेदनमा खराब अवस्थामा, विश्वव्यापी सार्वजनिक ऋण सन् २०२६ सम्ममा जीडीपीको ११५ प्रतिशतमा पुग्न सक्ने अनुमान गरिएको छ । यो तथ्यांक कोषको आधारभूत अनुमान भन्दा लगभग २० प्रतिशत बढी हो । प्रतिवेदनले विश्वव्यापी कारकहरूले देशहरूमा सरकारी उधारो लागतमा बढ्दो उतार चढाव निम्त्याउँने जनाउदै ऋणको उच्च स्तरले अरूका लागि सार्वभौम उत्पादन र ऋण जोखिमको अस्थिरता बढाउने चेतावनी दिएको छ । अर्थव्यवस्थामा मध्यम मुद्रास्फीति र ब्याज दर कटौतीको अर्थ देशले आफ्नो वित्तीय व्यवस्थापन पुनर्निर्माण गर्ने ‘उपयुक्त’ समय भएको आईएमएफले जनाएको छ । विश्वव्यापी सार्वजनिक ऋण नियन्त्रणमा ल्याउन वित्तीय समायोजनको आकार जीडीपीको औसतमा ३–४.५ प्रतिशतको बीचमा रहन आवश्यक रहेको आईएमएफले जनाएको छ जुन विगतका समायोजनहरूको आकार भन्दा लगभग दोब्बर हो । रासस