कर छलेर ल्याइएका सामान बरामद
वीरगञ्ज । सशस्त्र प्रहरी बलले १० लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् । सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए । यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार आठ सय रुपैयाँ बराबरका कपडा बरामद गरेको थियो ।
अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबीच भेटवार्ता
काठमाडौं । अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुने सिलसिलामा जेनेभा रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच पारस्परिक सम्बन्ध, आपसी हित र साझा चासोका साथै भविष्यमा हनसक्ने सहकार्यबारे छलफल भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तरराष्ट्रिय संगठनहरूका लागि नेपालको स्थायी नियकोगले जनाएको छ । अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबीचको कूटनीतिकसम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबीच बलियो सम्बन्धसेतुका रूपमा काम गरेको बताए । थाई पर्यटकका लागि भगवान् बुद्धको जन्मस्थल लुम्बिनी महत्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तव्यका बनेको बताए । दुवै देशका नागरिक बर्सेनि पर्यटकका रूपमा आउने जाने गरिरहेको भन्दै उनले उच्च शिक्षा, बौद्ध धर्मसम्बन्धी अध्ययन, लगानी, व्यापार, पर्यटनलगायत माध्यमबाट नेपाल–थाइल्याण्डबीच जनस्तरको सम्बन्ध प्रगाढ बनेको अध्यक्ष दाहालले उल्लेख गरे । आफूहरुले नेपाल–थाइल्याण्ड संसदीय मैत्री समूह गठन गरेको बताउँदै अध्यक्ष दाहालले मैत्री समूहमार्फत् दुई देशका संसद्ले संसदीय अभ्यास, कानुन निर्माण, अनुभव आदानप्रदान गरी लाभान्वित हुने विश्वास व्यक्त गरे । साझा सरोकार र आपसी हितका विषयमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले सहकार्य गर्दै आएका उनले बताए । अध्यक्ष सुरसज्जाले बहुसङ्ख्यक थाई जनताले बौद्ध धर्म मान्ने भएकाले बुद्ध जन्मभूमि नेपाललाई उनीहरूले आफ्नो जीवनकालमा एकपटक भ्रमण गर्नुपर्ने स्थलका रूपमा राखेका भएको बताए । नेपालको पर्यटन क्षेत्रमा थाइल्याण्डबाट भएको लगानीले रोजगारीका अवसर सृजनामा योगदान पुगको विश्वास उनले व्यक्त गरे । थाई पर्यटकका लागि लुम्बिनी महत्वपूर्ण पर्यटकीयस्थल भएकाले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन भएमा उनीहरुलाई अझ सहज अध्यक्ष सुरसज्जाले बताए । भेटवार्तामा संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालका स्थायी प्रनिनिधि रामप्रसाद सुवेदीका साथै प्रतिनिधिमण्डलका अन्य सदस्य पनि सहभागी थिए । रासस
थप घट्यो बैंकहरूको ब्याज, १० बैंकले घटाउँदा ९ बैंकले राखे स्थिर
काठमाडौं । कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याजदर घटाएका हुन् । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार कात्तिकमा १० बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । कात्तिकमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ ०.१८ प्रतिशत घटेर औसत ६ प्रतिशतमा झरेको छ । यस्तै संस्थागततर्फ भने औसत ०.२१ प्रतिशत घटेर औसत ४.९७ प्रतिशतमा झरेको हो । कात्तिक महिनाका लागि कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआइसी एशिया बैंक र नबिल बैंकले ब्याजदर घटाएका छन् । यस्तै एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका हुन् । कात्तिकमा अधिकांश अधिकांश बैंकले ब्याजदर स्थिर र केही बैंकले घटाउँदा सानिमा बैंकले भने ब्याजदर बढाएको छ ।
पर्वत र म्याग्दी जोड्ने माझफाँट-लेकफाँट सडक धमाधम कालोपत्र हुँदै
म्याग्दी । बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो । जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक किलोमिटर चार सय मिटर कालोपत्र भइसकेको सडकको थप दुई किलोमिटर पनि कालोपत्र गर्न ‘प्राइम’ र ‘फस्ट कोट’ विच्छ्याइएको जानकारी दिए । माझफाँटको भुरतुलादेखि लेकफाँटको गिद्धेश्वर क्षेत्रसम्मको सात दशमलब आठ किलोमिटर सडक स्तरोन्नतिसहित डिबिएसडी प्रविधिको कालोपत्र गर्न ३३ करोड रुपैयाँमा सम्झौता भएको उनले बताए । दुई लेनको सडकमा एक किलोमिटरभन्दा ढलान भइसकेको छ । छ किलोमिटर आठ सय मिट विस्तारका साथै संरक्षण पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण पनि पूरा भएको छ । गिद्धेश्वरतर्फ एक किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ । यसैबीच, बेनी–भुरतुला खण्डको अप्ठ्यारो ठाउँको सडक ढलानसहित स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन भएको योजना कार्यान्वयनको चरणमा रहेको जलजला गाउँपालिकाले जनाएको छ । रासस
सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल
धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका छन् । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका छन् । उनले भने, ‘सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।’ इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दैआएका छन् । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उनले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दैआएका छन् । उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राखेका छन् । विदेशमा गएर दुःख गर्नुभन्दा यही पुख्र्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दैआएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ’, सन्तराजले भने । सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आएका छन् । ‘कहिले चार/पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हुँदैन’, उनले भने । लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गरेका छन् । सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उनले बताए । व्यापारबाट घर खर्च कटाएर मासिक रु ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिए । उनले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन् । छोराले पनि उनलाई साथ दिँदै आएका छन् । ‘पुख्र्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ’, उनले भने । सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गरेका छन् । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ । उनले एउटा सिलौटो रु चार सयदेखि रु ५ सय ५० सम्ममा बिक्री गर्दैआएका छन् । एक जोर जाँतो रु एक हजारदेखि रु एक हजार तीन सय सम्ममा बिक्री गर्दैआएका छन् । पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उनको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा सङ्कटमा परेको हो । रासस
प्राइम बैंकको ब्याजदर ०.२५ प्रतिशत घट्यो, ४ महिनादेखि माछापुच्छ्रेको स्थिर
काठमाडौं । माछापुच्छ्रे बैंकले चार ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने ब्याजदर ४ महिनादेखि स्थिर राखेको हो । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । साथै बैंकले रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । जुन ब्याज ४ महिनादेखि स्थिर रहेको छ । बैंकका अनुसार साधारण बचत खातामा भने न्यूनतम ३ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै प्राइम बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ४.२५ प्रतिशत, रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ४.४० प्रतिशत, रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले साधारण बचतमा भने न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.९५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
५ महिनापछि ०.५ प्रतिशत घटायो लक्ष्मी सनराइज बैंकले ब्याजदर
काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपमा ५ महिनापछि ब्याजदर परिवर्तन गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । जसमा ५ महिनापछि मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ५ प्रतिशत र रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याज पूदान गरेको थियो । असोज, भदौ, असार र साउनमा पनि सोही ब्याजदर तोकिएको थियो । बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.५० प्रतिशत तोकेको छ । यसअघि बैंकको आधार ८.३९ प्रतिशत रहेकोमा घटेर ८.१७ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेडदर भने ३.९९ प्रतिशत छ ।
डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको निधन, चालक निधाएको प्रहरीको अनुमान
फाइल फोटो काठमाडौं । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो । प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।