विकासन्युज

६ कम्पनीका १० लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौँ । विभिन्न ६ बैंक तथा बीमा कम्पनीका १० लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । सम्बन्धित कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ४ लाख २० हजार ९४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । यस्तै, लुम्बिनी विकास बैंककी संस्थापक सेयरधनी गायत्री अधिकारीले २६ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकी छिन् । यस्तै, सानिमा बैंकका संस्थापक सेयरधनी सुधिरकुमार अग्रवालले आफ्नो नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ । यस्तै, कामना सेवा विकास बैंकको २ लाख ७८ हजार २६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । यसैगरी, स्वरोजगार लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी तनुजा अधिकारीले ३७ हजार ७७२ कित्ता र दिपिक पन्थले ८ हजार कित्ता गरी कुल ४५ हजार ७२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको २ लाख ६१ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । सम्बन्धित कम्पनीका विद्यमान संस्थापक सेयरधनीले तोकिएको ३५ दिनभित्र आवेदन नदिएमा प्रचलित व्यवस्था बमोजिम सर्वसाधारण लगानीकर्ताका लागि उक्त संस्थापक सेयर बिक्री खुला गरिने जनाइएको छ ।

प्रतिनिधिसभा र ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ । बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको छ । यसैबीच, आज विभिन्न चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ । निर्धारित कार्यसूचीअनुसार पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ ।   विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको बैठक सञ्चालन कार्यविधिका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

देशभर मनसुन सक्रिय, यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भू-भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भू-भागमा सामान्यतया बदली रहेको छ। मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना छ। पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाका कारण गेग्रानसहितको बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

सुनसरीमा सार्वजनिक स्थानबाट धार्मिक झण्डा हटाइने, डिजे ध्वनि मापदण्ड पालना गराउने सहमति

काठमाडौं । गत साउन १० गते सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न साम्प्रदायिक तनाव अन्त्य गर्दै धार्मिक सद्भाव कायम गर्न सार्वजनिक स्थानबाट धार्मिक तथा साम्प्रदायिक झण्डा हटाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा आइतबार बसेको सर्वपक्षीय एवं धार्मिक अगुवाहरूको बैठकले मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा परिसर र निजी घरबाहेक सार्वजनिक स्थल तथा सडकमा राखिएका एकल जातीय, धार्मिक र साम्प्रदायिक पहिचान झल्काउने झण्डा हटाउने निर्णय गरेको हो ।  देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा डिजे बजाउने विषयमा सुरु भएको विवाद झडपमा परिणत हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । घटनामा घाइते भएका देवानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएपछि जिल्लामा साम्प्रदायिक मनमुटाव बढेको थियो ।  तनाव थप नबढोस् भन्नका लागि प्रशासन र धार्मिक गुरुहरूबीच भएको बैठकले देउसी-भैलो, धार्मिक पूजा वा अन्य कार्यक्रमहरूमा स्वीकृति नलिई डिजे वा माइक बजाउन नपाइने र बजाउनुपरेमा सरकारले तोकेको ध्वनि मापदण्ड पालना गर्नुपर्ने निर्णय गरेको छ । सहमतिअनुसार सहरी क्षेत्रमा दिउँसो ५५ र राति ५० डेसिबल तथा ग्रामीण क्षेत्रमा दिउँसो ४५ र राति ४० डेसिबलभन्दा बढी ध्वनि निकाल्न पाइने छैन ।  यसैबीच घटनाका मृतक परिवारलाई सहिद घोषणा गर्ने, सरकारका तर्फबाट १० लाख र कोशी प्रदेश सरकारका तर्फबाट थप २ लाख रुपैयाँ राहत दिने, मृतक परिवारका एक सदस्यलाई रोजगारी दिने तथा घाइते एवं प्रभावितलाई राहत उपलब्ध गराउने सहमति भइसकेको छ ।  धार्मिक अगुवाहरूले आफ्ना समुदायका सदस्यहरूलाई शान्ति र संयम कायम राख्न अपिल गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आपसी संवाद, सम्मान र सहकार्यलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

ट्रम्पको १५ बुँदे शान्ति योजना नेतन्याहुद्वारा अस्वीकार, गाजा शान्ति प्रयास थप जटिल

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अघि सारिएको गाजासम्बन्धी १५ बुँदे शान्ति प्रस्ताव अस्वीकार गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री नेतन्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने अडान दोहोर्‍याएका हुन् ।  ट्रम्पको ‘बोर्ड अफ पिस’ मार्फत ल्याइएको प्रस्तावमा हमासले हतियार त्याग्नेसँगै गाजाबाट इजरायली सेना चरणबद्ध रूपमा फिर्ता हुने र त्यसपछि अन्तर्राष्ट्रिय स्थिरीकरण बल तथा नयाँ प्यालेस्टिनी प्रहरीमार्फत सुरक्षा व्यवस्थापन गर्ने उल्लेख छ ।  तर इजरायलले सेना फिर्ती र हमासको निःशस्त्रीकरणलाई समानान्तर रूपमा लैजान नसकिने स्पष्ट पारेको छ । नेतन्याहुका अनुसार हमासले हतियार बुझाएको पूर्ण सुनिश्चितता भएपछि मात्र सेना फिर्ता हुनेछ । अर्कोतर्फ, हमासले भने अमेरिकी मध्यस्थतामा आएको योजनाप्रति केही लचकता देखाएको थियोे । गाजाको प्रशासन नयाँ ढाँचामा चलाउन र अमेरिकी निगरानीमा हतियारसम्बन्धी छलफल गर्न तयार रहे पनि ‘निःशस्त्रीकरण’ को परिभाषा र कार्यान्वयनलाई लिएर अझै गम्भीर मतभेद कायम छ । यसैबीच, गाजामा युद्धविरामपछिको अवस्थामा पनि मानवीय क्षति रोकिन सकेको छैन । रोयटर्सका अनुसार युद्धविराम घोषणा भएयता मात्रै इजरायली कारबाहीमा १ हजार २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विश्लेषकहरूका अनुसार नेतन्याहुको यो पछिल्लो निर्णयले ट्रम्प प्रशासन र इजरायलबीचको सम्बन्ध तथा गाजाको भावी रणनीतिका विषयमा मतभेद बढाउने सङ्केत गरेको छ ।  दुवै पक्षबीच मुख्य बुँदामै सहमति जुट्न नसकेपछि गाजामा दीर्घकालीन शान्ति, पुनर्निर्माण र सुरक्षा व्यवस्थापनको प्रयास पुनः अनिश्चित बनेको छ ।

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन जना विजेतालाई सुनको बल हस्तान्तरण

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ ।  अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेता प्रमेश केसी, तिप्सिका राणा र सबिना थापालाई शुक्रबार काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केट परिसरमा आयोजित समारोहबीच जनही ३.५ तोलाको सुनको गोल्डेन बल हस्तान्तरण गरिएको छ ।  विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताले क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी सहभागिता जनाएका थिए ।  पुरस्कार ग्रहणपछि विजेताहरूले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता उपभोक्तामुखी अभियानहरू सञ्चालन गर्न अपेक्षा व्यक्त गरेका छन् ।  सोही समारोहमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रसमेत सार्वजनिक गरिएको थियो, जसमा समिर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेता घोषित भएका छन् ।  युवापुस्तामाझ लोकप्रिय बन्दै गएको यस इनर्जी ड्रिंक ब्रान्डले उपभोक्ताबाट प्राप्त उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री तथा सिर्जनात्मक अभियानमार्फत नयाँ अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

पाँच वर्ष बित्दा पनि अस्पताल नबनेपछि ठेक्का रद्द गर्न मन्त्री लम्सालले दिए निर्देशन

काठमाडौं । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको गुल्मी अस्पतालको भवन पाँच वर्ष पुग्न लाग्दासमेत निर्माण पूरा हुन नसकेपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आइतबार अस्पतालको निरीक्षण गर्दै ठेक्का रद्द गरी नयाँ टेन्डर आह्वान गर्न निर्देशन दिएका छन् ।  अनुगमनका क्रममा निर्माण कम्पनी, इन्जिनियर र अस्पताल प्रशासनसँग प्रगति तथा ढिलाइको कारणबारे जानकारी लिँदै मन्त्री लम्सालले थप ढिलाइ अब कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।  करिब २५ करोड ९५ लाख ६४ हजार रुपैयाँ लागतमा पाँच तले भवन निर्माणका लागि २०७८ असार १८ गते सम्झौता भई २०८० असार १७ गतेभित्र सक्ने लक्ष्य राखिए पनि स्वच्छन्द–बानियाँ जेभीको लापरबाहीका कारण पटक-पटक म्याद थपिँदै आएको छ ।  भारत सरकारको आर्थिक सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत बन्दै गरेको यस भवनको भौतिक प्रगति ९१ प्रतिशतभन्दा बढी भएर करिब ६ करोड रुपैयाँ बराबरको काम बाँकी रहेको बताइए पनि नयाँ भवन समयमै नबन्दा गुल्मी अस्पताल अझै पुरानै भवनबाट सेवा दिन बाध्य छ ।  पर्याप्त वार्डको अभावमा बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोगिरहेका छन् भने नयाँ भवन सञ्चालनमा आएपछि व्यवस्थित ओपीडी, आपत्कालीन, प्रसूति, शल्यक्रिया, आईसीयू तथा विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको छ । वि.सं. २०११ मै ५० शय्यामा स्तरोन्नति भए पनि भौतिक पूर्वाधारको अभावमा सेवा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेले जिल्लावासीको लामो प्रतीक्षालाई ध्यानमा राखेर अब निर्माणमा जरा पनि ढिलाइ गर्न नहुने बताए ।

इरानका राष्ट्रपति पेजेस्कियान र सर्वोच्च नेता खामेनीबीच के भयो कुराकानी ?

काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो राष्ट्रपति कार्यकालको तेस्रो वर्षको सुरुवातमा इरानका सर्वोच्च नेता मोज्तबा खामेनीसँग भेटवार्ता गरेका छन् । इरानका सर्वोच्च नेताको वेबसाइटले उक्त भेटवार्ताबारे जानकारी दिएको हो । बीबीसी फारसीले सरकारी रिपोर्टलाई उद्धृत गर्दै जनाएअनुसार भेटवार्तामा देशका वर्तमान समस्या र जनताको दैनिक आवश्यकताहरू पूरा गर्ने विषयमा छलफल भएको थियो ।  साथै युद्धको वर्तमान अवस्था र आगामी दिनमा आइपर्न सक्ने चुनौतीबारे पनि कुराकानी भएको थियो । भेटवार्ताका क्रममा सैन्य क्षेत्रमा भइरहेको परिवर्तन, देशको वित्तीय तथा विदेशी मुद्रा स्रोत परिचालन, खर्च व्यवस्थापन र ऊर्जासँग सम्बन्धित विषयमा पनि छलफल भएको थियो ।  यसका साथै अन्य देशसँगको आर्थिक सम्बन्धबारे समेत विचार–विमर्श भएको जनाइएको छ । मोज्तबा खामेनीलाई इरानको तेस्रो सर्वोच्च नेता चयन गरिएपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन् । उनको कुनै नयाँ तस्बिर वा आवाजसमेत सार्वजनिक गरिएको छैन । यसअघि राष्ट्रपति पेजेस्कियानले मोज्तबा खामेनी सर्वोच्च नेता बनेपछि आफूले उनीसँग भेट गरिसकेको बताएका थिए । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेता मोज्तबा खामेनीसँग भेटवार्ता गरेको विषय सार्वजनिक भएको यो पहिलोपटक हो ।