विकासन्युज

जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता

काठमाडौं । जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जंगली पंक्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी गरिएको छ । जापानको वातावरण मन्त्रालयले होक्काइदोमा दुई फरकफरक स्थानमा भाइरस फेला परेपछि यो निर्णय गरिएको जनाएको छ । मन्त्रालयका अनुसार, सेप्टेम्बर ३० मा ओटोब नगरमा एउटा मृत बाजमा र अक्टोबर ८ मा बेतसुकाई नगरमा जंगली हाँसको समूहमा भाइरस फेला परेको थियो । अधिकारीहरूले देशभरका जंगली चराहरूको कडा निगरानी गर्न आह्वान गरिरहेका छन्। बर्डफ्लुले सामान्यतया सङ्क्रमित पंक्षीसँग अत्यधिक सम्पर्कमा नआएसम्म मानिसमा खतरा उत्पन्न नगर्ने भए तापनि मृत चरा नछुन र चराको शंकास्पद मृत्युबारे कुनै पनि जानकारी स्थानीय अधिकारीलाई दिन सर्वसाधारणलाई आग्रह गरिएको मन्त्रालयले निर्देशन दिएको छ। जापानका विभिन्न क्षेत्रहरूमा बर्डफ्लु भाइरसको सङ्क्रमण धेरै पटक पत्ता लागेको रिपोर्टपछि, मन्त्रालयले राष्ट्रव्यापी सतर्कतालाई उच्चतम तहमा पुर्याएको छ । प्रशासनले भाइरसको फैलावटमा निगरानी र अनुसन्धानलाई तीव्र पार्ने प्रतिवद्धता जनाएको छ ।

लिवर्टी ईनर्जीले हकप्रद निष्काशनका लागि स्विकृति पायो

काठमाडाैँ। लिवर्टी ईनर्जी कम्पनीले हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाएको छ । कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशनका लागि बोर्डबाट स्विकृति पाएको जनाएको छ । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको हो । हाल कम्पनीको १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । हकप्रद सेयर विक्रीबाट ७५ करोड रुपैयाँ प्राप्त भएसँगै कम्पनीको कुल चुक्ता पुँजी २ अर्ब २५ करोड पुग्ने छ ।

प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्य सम्पादन गर्न समस्या भएको बताएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा ६९औँ प्रहरी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले प्रहरी समायोजन नहुँदाको यसको असर प्रदेश सरकारको काम कारबाहीमा पनि परेको छ भने । ‘गण्डकी प्रदेश सरकारले आफू मातहत नभए पनि प्रदेशभित्रका नागरिकको सुरक्षा, सेवा गरिरहेको सुरक्षाकर्मीलाई सहयोग गर्नेगरी कार्यक्रम र बजेट विनियोजन गरेको छ’, उनले भने, ‘प्रहरीलाई मात्रै यस वर्ष कार्यान्वयन हुने प्रहरी चौकीहरू निर्माण, तालिम केन्द्रको संरचना, प्रहरी अस्पतालको भौतिक संरचना निर्माण सिसिटिभी जडान, घेराबार र चौकीहरुको भौतिक पूर्वाधारका योजनामा १३ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ ।’ सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउन, आधुनिक प्रविधिसँग दक्ष बनाउन राज्यले अहिले भइरहेको भन्दा लगानी बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । गत वर्ष कार्यक्रम ढिला गरी स्वीकृत हुँदा कार्यान्वयनमा समस्या भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यस वर्ष केन्द्रको अर्थ र गृह मन्त्रालयबाट स्वीकृत भई प्रदेशको अर्थ मन्त्रालयले पनि स्वीकृत प्रदान गरिसकेका कारण कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढिसकेको छ भने । भौतिक पूर्वाधारलगायत योजनामा गत वर्ष प्रहरीका लागि प्रदेश सरकारले १६ करोड विनियोजन गरेको बताउँदै उनले सीमित साधन स्रोत र प्रदेश सरकारको बजेट नै गत वर्षभन्दा घटेकाले यस वर्ष केही कम भए पनि प्राथमिकताका आधारमा प्रहरीको माग अनुसारकै बजेट विनियोजन गर्दै आएको बताए । खोज तथा उद्धारमा प्रयोग हुने विपद् सामग्री हस्तान्तरण, तालिम, अभ्यास, सचेतनामूलक कार्यक्रम, लागुऔषध दुव्र्यसनी न्यूनीकरणका कार्यक्रम प्रदेश सरकारको सहयोगमा सञ्चालन हुँदै आएको बताउँदै उनले यसबाट केही हदसम्म प्रहरीहरूको मनोबल उच्च राख्न र सङ्गठनलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको बताए । प्रहरीलाई राज्य र आम नागरिकलाई शान्तिसुरक्षा दिनुपर्ने गहन जिम्मेवारी रहेका कारण सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको भन्दै मुख्यमन्त्रीले भने, ‘प्रहरी कार्यालयमा आफ्ना पीरमर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा झन्झट पैदा नगर्ने, पटक–पटक कार्यालय धाइरहनुपर्ने वातावरणबाट मुक्ति दिने, नागरिकहरूसँग शिष्ट व्यवहार गर्ने, आपत्कालीन सहयोग गर्नेजस्ता मानवीय कार्यलाई प्राथमिकता दिँदै अघि बढ्न सकेमा प्रहरीबाट नागरिकमा अझै प्रभावकारी सेवा पुग्ने देखिन्छ ।’ देशमा शान्तिसुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपत्का समयमा पनि नेपालमा सुरक्षा संयन्त्रहरूले निर्वाह गर्दै आएको भूमिकाको उनले प्रशंसा गरे । हरेक विपद्का समयमा राज्यको पहिलो उपस्थितीको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्दै आएको भन्दै उनले प्रहरी दिवस आम नागरिकको दिवस बन्नसक्ने कामना गरे । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रनामनि दुर्गा सिंहले कर्तव्य परायणता र जिम्मेवारितालाई आत्मसात् गर्दै प्रहरी सङ्गठन देश र जनताको सुरक्षार्थ निरन्तर खटिरहेको बताए । जनमुखी, पारदर्शी र नागरिकमैत्री प्रहरी छवि कायम गराउनेमा निरन्तर लागिरहेको प्रहरी सङ्गठन सीमित साधन र स्रोतका बाबजुद पनि क्रियाशील बनिरहेको उनले बताए । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख मुकुन्द मरासिनीले राज्यको कानुन कार्यान्वयन गराउनेमा प्रहरी सङ्गठन निरन्तर लागिरहेको धारणा राखे । कार्यक्रममा समाचार सम्प्रेषणमार्फत सहयोग पुर्याएवापत सञ्चारकर्मी रघुुराज वाग्ले लगायत विभिन्न विधामा उत्कृष्ट प्रहरी कर्मचारी, शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रहरी ब्यान्ड प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी दिवसका अवसरमा दिएको सन्देश प्रनामनि दुर्गा सिंहले पढेर सुनाएका थिए ।

स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनमा सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

स्याङजा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङजा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए । उनले भने, ‘जिल्ला जिल्लाका व्यावसायी साथीहरू लगानीका लागि अवसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुदैन ।’ अध्यक्ष ढकालले भने, ‘यतिबेला बैंकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’ उनले यो डेढ वर्षको अवधिमा लगानी प्रवद्र्धनका लागि देश भित्र र बाहिर आफुहरूले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफुहरूकै पहलममा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानून शंशोधन गरेको जानकारी गराए । नीजि क्षेत्रले उठाउदै आएको मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्या लगायतका विषयमा आफुहरू निरन्तर लागिरहेको जानकारी गराए  ।

तिरुवनन्तपुरम विमानस्थलमा अडानी समूहको १३०० करोड लगानी, वार्षिक १२ करोड यात्रुलाई सेवा दिने

काठमाडाैं । अडानी एयरपोर्ट होल्डिंग्स लिमिटेड (एएएचएल) ले सन् २०२७ सम्ममा तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल (टीआरभी) को विस्तारका लागि १३०० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले ‘टीआरभी) ग्रोथ कन्क्लेभ’ मा यो घोषणा गरेको हो । त्यस अवसरमा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा ट्राभल तथा पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । विमानस्थलको सुविधामा उल्लेख्य वृद्धि गर्ने उद्देश्यले यस आयोजनालाई ‘प्रोजेक्ट अनन्त’ नाम दिइएको अडानी विमानस्थलले जनाएको छ । नयाँ टर्मिनल केरलाका प्रतिष्ठित मन्दिरहरूको आधारमा डिजाइन गरिनेछ । हाल यो विमानस्थल ४५ हजार वर्गमिटरमा फैलिएको छ र यसले वार्षिक ३२ लाख यात्रुलाई सेवा दिन्छ । विमानस्थलको डिजाइनमा क्यास्केडिङ स्टेप्स र टेरेस्ड स्तरहरू समावेश हुनेछन् । नयाँ टर्मिनलमा प्लाजा, होटल, अतिरिक्त प्रशासनिक ठाउँ र सुधारिएको कार पार्किङ सुविधा सबै एकै ठाउँमा हुनेछ । विमानस्थलको विस्तारपछि यसको आकार ४५ हजार वर्गमिटरबाट १ लाख ६५ हजार वर्ग मिटर पुग्ने छ । यसपछि यसले हरेक वर्ष करिब १२ करोड यात्रु ह्याण्डल गर्न सक्नेछ । अन्य अपग्रेडहरूमा एयरपोर्टमा नयाँ एयर ट्राफिक कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय कार्गो कम्प्लेक्स र रिमोट चेक–इन विकल्प समावेश छ । यी सबैले आधुनिक एयरपोर्ट अनुभवमा योगदान पुर्‍याउने विश्वास छ । अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेडले अक्टोबर २०२१ मा तिरुवनन्तपुरमको अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन, व्यवस्थापन र विकासको जिम्मा लिएको थियो । तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल राज्यको चार विमानस्थलमध्ये पहिलो हो । सन् १९३२ मा सुरु भएको यो एयरपोर्ट पहिले भारतीय एयरपोर्ट्स अथोरिटीको स्वामित्व र सञ्चालनमा थियो । एजेन्सी

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य तोलमा १३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । बजारमा मंगलबार तेजाबी सुनको मूल्य प्रति तोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बुधबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव

भोजपुर । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ । हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले तीस लाख रुपैयाँ बजेट विनियोजन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ । कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, डम्फु नाच र वाद्यवादन यन्त्रको प्रदर्शनी हुने जानकारी अध्यक्ष राईले दिए ।

कर छलेर ल्याइएका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बलले १० लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् । सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए । यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार आठ सय रुपैयाँ बराबरका कपडा बरामद गरेको थियो ।