कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश पारित
काठमाडौं । कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले १८ औं वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ । उक्त वार्षिक साधारण सभा बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ । त्यसै गरि सभाले १०० रुपैया दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
अमेरिकी राष्ट्रपति चुनाव : ७६ अर्बपति ह्यारिस र ४९ अर्बपतिको साथ ट्रम्पलाई, यस्ता छन् आर्थिक प्रतिबद्धता
काठमाडौं । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावको विषयलाई लिएर अर्बपतिहरू पनि विभाजित भएका छन् । राष्ट्रपतिका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् । राष्ट्रपतिको चुनावको विषयलाई लिएर अर्बपतिहरूले पनि पक्ष विपक्ष लिन थालेका छन् । उनीहरूले आफूलाई समर्थन गरेका उम्मेदवारलाई आर्थिक सहयोग गरेर साथ दिइरहेका छन् । फोब्र्सले हाल सार्वजिनक गरेको एक रिपोर्टले ह्यारिसले ७६ जना अर्बपतिको समर्थन पाएकी छन् भने ट्रम्पले ४९ जनाको समर्थन पाएका छन् । फोब्र्सको रिपोर्टका अनुसार ट्रम्पभन्दा ह्यारिसले बढी धनाड्यको साथ पाएकी छन् । हालसम्म २८ अर्बपतिहरुले ह्यारिसलाई खुलेरै १ मिलिनर डलरभन्दा बढी चन्दा दिइसकेको रिपोर्टमा उल्लेख छ । एलन मस्कले खुलेरै ट्रम्पलाई साथ दिएका छन् । एलन मस्कले अहिलेसम्म ट्रम्प समर्थक सुपर पीएसी (राजनीतिक कार्य समिति) लाई ४७५ मिलियन डलर प्रदान गरिसकेको विभिन्न समाचार संस्थाहरूले उल्लेख गरेका छन् । अर्बपति मार्क जकरबर्ग र वारेन बफेट भने मौन रहेको रिपोर्टमा उल्लेख छ । ह्यारिसलाई समर्थन गर्ने अर्बपति -ब्ल्यांक (एटलान्टा फल्कन्स) -रीड हफम्यान (लिंक्डइन) -विनोद खोस्ला (खोस्ला भेन्चर्स) -डस्टिन मस्कोविट्ज (फेसबुक) -स्टिभन स्पिलबर्ग (होलिउड निर्देशक) -टोरी बर्च (फेशन डिजाइनर) -रीड हेस्टिंग्स (नेटफ्लिक्स) -क्रिस लार्सेन (रिपल) -लौरिन पावेल जोब्स (एप्पल) यी अर्बपतिहरूले ह्यारिसलाई समर्थन गरेका छन् । ह्यारिसले आर्थिक स्थिरताको नीति ल्याउन सक्ने अनुमान गर्दै ती अर्बपतिहरुले उनलाई साथ दिएको रिपोर्टमा उल्लेख छ । यस्तै ट्रम्पलाई पनि ४९ जना अर्बपतिले खुलेरै समर्थन गरेका छन् । ट्रम्पले आफुलाई उच्च धनी र श्रमिक वर्गको वकालत गर्ने नेताको रुपमा प्रस्तुत भइरहेका छन् । यी हुन् ट्रम्पका अर्बपति समर्थक -एलन मस्क (एक्स) -मिरियम एडेलसन (लास भेगास स्याण्ड्स कर्प) -डन अहर्न (लास भेगास कन्सट्रक्सन) -डियान हेनड्रिक्स (एबीसी सप्लाई) -लिन्दा म्याकमहोन (डब्ल्यूडब्ल्यूई) -स्टिभ वाइन (वाइन रिसोर्ट्स) -टिलमेन फर्टिट्टा (ह्यूस्टन रोकेट्स) -जोन पॉल्सन (पॉल्सन एक कं.) -थोमस सिबेल (सिबेल सिस्टम्स) मौन अर्बपति विश्व प्रख्यात केही अर्बपतिहरूले यो चुनावमा उम्मेदवारको विषयमा मौनता देखाएका छन् । उनीहरुले कुनै पनि उम्मेदवारलाई समर्थन गरेका छैनन् । उनीहरू अहिले तथष्ठ रहेका छन् । अमेजनका संस्थापक जेफ बेजोसले कुनै पनि उम्मेदवारको सार्वजनिक रूपमा समर्थन गरेका छैनन् भने सेयरका बादशाह भनेर चिनिने वारेन बफेटले पनि कुनैको समर्थन गरेका छैनन् । तर उनी डेमोक्र्याट भनेर चिनिन्छन् । फेसबुकका मालिक मार्क जकरबर्गले ट्रम्पसँग निजी छलफल गरेका छन्, तर उनले पनि कुनै उम्मेदवारलाई समर्थन गरेका छैनन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आधिकारिक रूपमा कुनै उम्मेदवारलाई समर्थन गरेका छैनन् तर जुलाईमा दिएको एक अन्तर्वार्तामा उनले ह्यारिसप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए । जेपी मोर्गन च्यासेस बैंकका सीईओ जेमी डिमनले पनि कुनैको समर्थन गरेका छैनन । जेपी मोर्गन च्यासेस अमेरिकाको सबैभन्दा ठूलो बैंक हो । ब्रिजवाटर एसोसिएट्सका संस्थापक रे डालियोले पनि कुनैको समर्थन गरेका छैनन् । गूगलका सह–संस्थापक सेर्गेई ब्रिन, ल्यारी एलिसन र केन ग्रिफिन पनि यो चुनाबमा मौन छन् । यस्ता छन् प्रतिबद्धता ह्यारिसले चुनावको प्रचारप्रसारमा पहिलो प्राथमिकता नै कामकाजी परिवारहरूको खाना र आवासको खर्च कम गर्ने प्रयास हुने बताएकी छन् । उनले किराना सामानको मूल्यवृद्धि नियन्त्रण गर्ने र पहिलो पटक घर किन्नेहरूलाई सहुलियत दिने तथा माग पूर्ति गर्न आवास क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धता गर्दै आएकी छन् । ट्रम्पले मूल्यवृद्धि अन्त्य गर्ने र अमेरिकालाई पुनः सबैका लागि सहज तथा कम खर्चिलो बनाउने प्रतिबद्धता गर्दै आएका छन् । उनले बैंकको ब्याजदर घटाउने, कागजपत्र नभएका आप्रवासीहरूलाई फिर्ता पठाएपछि आवास क्षेत्रमा परेको दबाव कम गर्न सकिने बताउँदै आएका छन् । ट्रम्प खर्बौँ डलर राजस्व घट्ने गरी कर कटौती गर्ने पक्षमा उभिएका छन् । ट्रम्पले आफ्नो चुनावी अभियानमा करनीतिलाई केन्द्रमा राखेका छन्। उनले विदेशबाट आयात हुने वस्तुमा १० देखि २० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् भने चीनबाट आयात हुने वस्तुमा थप कर लगाउने योजना अघि सारेका छन् ।
सिटिजन्स बैंकका ग्राहकलाइ एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा छुट
काठमाडौं । सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच समझदारी भएको छ । बैंक र बानेश्वरमा रहेको एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
बजार ४३ अंकले बढ्यो, एक हाईड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट
काठमाडाैँ । आज बुधबार सेयर बजार परिसूचक नेप्से ४३.२२ अंकले वृद्धि भएर २ हजार ७ सय ४२.८८ बिन्दुमा रोकिएको छ । यस दिन १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर किनबेचबाट ५ अर्ब ६६ करोड बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको कारोबार भएको छ । नेपाल फाइनान्सको १५ करोड ९ लाख रुपैयाँ बढीको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४ लाख, एनआईसी एशिया बैंकको १४ करोड ७५ लाख, गुडविल फाइनान्सको १३ करोड २० लाख र हाईड्रोइलेक्टीसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीको १३ करोड १३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस दिन कारोबारमा आएका २०५ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य यथावत रहेको छ । आज सबैभन्दा धेरै विजय लघुवित्त वित्तिय संस्था, इस्टर्न हाईड्रोपावर, समता घरेलु लघुवित्त, आत्मनिर्भर लघुवित्त र सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च बढोत्तरी आएको छ । यसैगरी, अपर स्यानजे हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ । आज सबै उपसूचकमा हरियाली छाएको छ । ट्रेडिङ उपसूचक ३.४४ प्रतिशतले बढ्दा बैंकिङ उपसूचक १.९८ प्रतिशतले वृद्धि भएको छ ।
विपद्पछिको पुनःनिर्माणको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाइने बताएका छन् । प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवास र पुल निर्माणबारे निर्णय गरिने जानकारी गराए । उनले बाढी र पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडक अवरुद्ध भएकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले सीमित बजेटका बावजुद सकभर मागेरभन्दा आफ्नै बलबुतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिए । सो अवसरमा सहभागी प्रतिनिधिमण्डलले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एक मात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएपछिको जिल्लाको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएको थियो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलसमेत सहभागी रहेको सो भेटघाट कार्यक्रममा सांसदहरु रामकुमार राई, सरस्वती बजिमय, कोशी प्रदेश सांसदहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत उपस्थित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक बिक्री
काठमाडौं । साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान कङले लेखेका विभिन्न पुस्तकका १० लाख प्रतिभन्दा बढी पुस्तक एक हप्ताभित्रै स्थानीय स्तरमा बिक्री भएको कोरियाली पुस्तक बिक्रेताले बुधबार जनाएको छ । लघु कथाकार र उपन्यासकार हानको म्यान बुकर पुरस्कार विजेता ‘द भेजिटेरियन’ का लागि उनी विदेशमा परिचित छन् । उनको ‘द भेजिटेरियन’ अङ्ग्रेजीमा अनुवाद गरिएको पहिलो उपन्यास हो । नोबेल पुरस्कार जित्ने पहिलो एसियाली महिला लेखिका समेत बनेकी ५३ वर्षीया लेखिकालाई ‘ऐतिहासिक आघातको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने गहन काव्यात्मक गद्यका लागि’ छनोट गरिएको स्वीडिश एकेडेमीले गत साता जनाएको थियो । हानले नोबेल पुरस्कार जितेको घोषणापछि दक्षिण कोरियामा उनका कृति र उनको लेखन शैलीबारे सनसनी मच्चिएको छ । नोबेल पुरस्कार घोषणापछि प्रमुख पुस्तक पसल र प्रकाशन गृहहरूको वेबसाइटहरूमा उनका कृतिहरूको माग ह्वात्तै बढेको थियो । दशौं हजार मानिसहरूले उनका कृतिको माग गर्न थालेपछि बजारमा उनका कृतिहरूको अभाव देखिएको छ । गत बिहीबारको नोबेल घोषणापछि बुधबार बिहानसम्म ई–बुकसहित कम्तीमा १० लाख ६० हजार प्रति बिक्री भइसकेको तीन प्रमुख पुस्तक पसल तथा अनलाइन खुद्रा बिक्रेता क्योबो, अलादिन र येस २४ ले एएफपीलाई बताएका छन् । क्योबोका प्रवक्ता किम ह्युन जुङले एएफपीसँग भने, ‘हानका पुस्तकहरू अत्यधिक बिक्री भइरहेको अनुभव भएको छ । यो अवस्था हामीले यसअघि कहिल्यै देखेका थिएनौं ।’ अनलाइन पुस्तक पसल अलादिनका अनुसार हानले नोबेल पुरस्कार विजयपछि गत वर्षको अब्टुबर १५ सम्मको तुलनामा उनका पुस्तकको बिक्रीमा एक हजार २०० गुणाले वृद्धि भएको छ, साथै, समग्र दक्षिण कोरियाली साहित्यको बिक्रीमा नाटकीय रूपमा वृद्धि भएको छ । उनलाई सहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणासँगै कोरियाली साहित्यको समग्र बिक्री अघिल्लो वर्षको तुलनामा १२ गुणाले वृद्धि भएको छ । हालसालै हानले पढेको उल्लेख गरेका जुडिथ शालान्स्कीको ’इन्भेन्ट्री अफ लस’ र ज्याँ ज्याक रुसोको ‘एटलस डे बोटानिक एलेनटेरियल’ नामक दुई पुस्तकको बिक्री पनि बढेको अलादिनले बताएको छ । क्योबो बुक सेन्टरले आफूसँग यकिन तथ्यांक नभए पनि हानका पुस्तकहरू अन्य नोबेल पुरस्कार विजेताहरूको तुलनामा नाटकीय रूपमा बढी बिक्री भएको जनाएको छ। क्योबोका कर्मचारीले एएफपीसँग भने, ‘हामी केही समयदेखि प्रकाशन उद्योगमा छौं, तर यो सम्पूर्ण अवस्था हामीमध्ये केहीलाई पनि असाध्यै अवास्तविक लाग्छ ।’ दक्षिण कोरियालीहरू यो समाचारले अति हर्षित भएका छन् । हानले उच्च शिक्षा हाँसिल गरेको सियोलको योन्सेई विश्वविद्यालयमा हानको प्रसंशा गर्दै ब्यानरहरू टाँगिएका छन् । ब्यानरमा हानले नोबेल पुरस्कार जितेकोमा खुशी व्यक्त गर्दै लेखिएको छ, ‘साहित्यमा नोबेल पुरस्कार जितेकोमा पूर्व छात्र हान काङलाई बधाई छ, योन्सेई विश्वविद्यालय उनलाई आफ्नो पूर्व विद्यार्थी भनेर चिनाउन पाउँदा गोरवान्यित बनेको छ ।’ उनको गृहनगर ग्वाङ्जुमा सन् १९८० मा एउटा नरसंहार भएको थियो जसले हानको प्रशंसित उपन्यास ’ह्युमन एक्ट्स’लेख्न उनलाई प्रेरित गरेको थियो । हानका पुस्तकहरूको माग पूरा गर्न केही छापाखानाहरूले सप्ताहन्तमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको स्थानीय रिपोर्टहरूले जनाएका छन् । ‘सन् २००६ मा कम्पनीमा आबद्ध भएदेखि म यति धेरै व्यस्त कहिल्यै भएको थिइनँ’, अलादिनका एक कर्मचारीले एएफपीसँग भने, ‘यो सबै धेरै खुशीको कुरा भएको छ ।’ रासस
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो किसान सरल कर्जा योजना, आधार दरमा ०.५० प्रतिशत मात्रै प्रिमियम
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘किसान सरल कर्जा’ प्रडक्टको शुभारम्भ गरेको छ । बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रडक्टको शुभारम्भ गरेको हो । बैंकका अनुसार १० लाख रुपैयाँ भित्र एक लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिनेछ । कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नागरिक वा कानूनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुबै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने बैंकले जनाएको छ । आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यस कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । बैंकका अनुसार ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घररजग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने छ । कर्जाको बीमा गरिने छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट किसान सरल कर्जा प्रदान गरिने छ ।
१० विकास बैंकको ब्याजदर स्थिर, ३ बैंकले घटाउँदा सांग्रिलाले बढायो ब्याज
काठमाडौं । कात्तिक महिनामा तीनवटा विकास बैंकले ब्याजदर घटाएका छन् । कात्तिक महिनाका लागि नारायणी डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ७.५० प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेको थियो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको थियो । ग्रीन डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ७.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । यअसघि असोजमा बैंकले व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको थियो । तीन वटा विकास बैंकले घटाउँदा र अधिकांश बैंकले ब्याजदर स्थिर राख्दा सांग्रिला डेभलपमेन्ट बैंकले भने कात्तिकमा ब्याजदर बढाएको छ । सांग्रिला बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको छ । जबकी यसअघि असोजमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो । कात्तिकमा १० वटा विकास बैंकले भने ब्याजदर स्थिर राखेका छन् । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार विभिन्न १० विकास बैंकले कात्तिकमा ब्याजदर स्थिर राखेका हुन् । गरिमा विकास बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, सिन्धु विकास बैंक, मितेरी डेलभपलमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका हुन् । कर्णाली डेभलपमेन्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.५० प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको छ । यस्तै सिन्धु विकास बैंकले व्यक्तिगततर्फ ७.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत ब्याजदर तोकेको छ । कामना सेवा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, मितेरी डेलभपलमेन्ट बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेका छन् । गरिमा, ज्योति, मुक्तिनाथ, महालक्ष्मी, लुम्बिनी विकास बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेका छन् । यसअघि असोजमा यी बैंकहरूले सोही ब्याजदर तोकेका थिए ।