राष्ट्र बैंकको अनुमतिबिनै खाता रोक्का, फुकुवा गर्न पनि निर्देशन नचाहिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली संशोधन गरेको छ । राष्ट्र बैंकले बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन पहिलो संशोधन गरेको बताएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी सो विनियमावली संशोधन गरेको हो । राष्ट्र बैंकले प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी देहायबमोजिमको व्यहोरा खुलाई राष्ट्र बैंकसमक्ष लिखित रूपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिने व्यवस्था गरेको छ । तर, सम्बन्धित विशेष ऐनले तोकेको अधिकार प्रयोग गरी अख्तियारप्राप्त निकायले इजाजतपत्रप्राप्त संस्थामा गरेको पत्राचारबमोजिम सोझै खाता रोक्का वा फुकुवा गर्न यस व्यवस्थाले बाधा नपर्ने संशोधित विनियमावलीमा उल्लेख छ । त्यस्तो पत्राचारबमोजिम कुनै खाता रोक्का वा फुकुवा भएमा सोको जानकारी इजाजतपत्रप्राप्त संस्थाले राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्ने उल्लेख छ । खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकारप्राप्त अधिकारीले आंशिक रोक्का रहेको खाता फुकुवा, निश्चित रोक्का रहेको खाता फुकुवा वा सम्पूर्ण रोक्का रहेको खाता फुकुवा गर्न अनुरोध गरेबमोजिम रोक्का रहेका खाता फुकुवा गर्न राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई निर्देशन दिनेछ । तर, रोक्का रहेको खाता अदालतको आदेशबमोजिम फुकुवा गर्न इजाजतपत्रप्राप्त संस्थालाई राष्ट्र बैंकको निर्देशन अनिवार्य नहुने विषय संशोधनमा थप गरिएको छ । यसरी खाता फुकुवा गरिएको जानकारी राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्नेछ । यस विनियमावलीमा जुनसुकै कुरा लेखेको भएतापनि भूलवश वा कुनै कसुर गरी कुनै व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खातामा रकम जम्मा गरिएको भन्ने इजाजतपत्रप्राप्त संस्थालाई लिखित/मौखिक जानकारी प्राप्त भएमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले सो को यकीन गरी अल्पकालीन अवधिको लागि त्यस्तो खाता रोक्का गर्न सक्नेछन् । यसरी रोक्का राखेको खाता ४८ घण्टाभन्दा बढी अवधिको लागि रोक्का राख्न परेमा राष्ट्र बैंकमार्फत पुनः रोक्का गराउनुपर्ने व्यवस्था संशोधित व्यवस्थामा उल्लेख छ । कुनै कसुरको अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीले कुनै व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खाता विवरण माग गर्नु परेमा राष्ट्र बैंकमार्फत माग गर्नुपर्नेछ । तर प्रचलित कानुनबमोजिम अख्तियारप्राप्त अधिकारीले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाको खाताको विवरण इजाजतपत्रप्राप्त संस्थालाई पत्राचार गरी सोझै माग गर्न सक्ने व्यवस्था विनियमावलीमा उल्लेख छ । कुनै कसुरको अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीले कुनै ग्राहकको इजाजतपत्रप्राप्त संस्थामा रहेको सेफ डिपोजिट भल्ट/लकर रोक्का राख्नुपर्ने भएमा राष्ट्र बैंकसमक्ष अनुरोध गर्नुपर्नेछ । तर प्रचलित कानुनबमोजिम सेफ डिपोजिट भल्ट/लकर सोझै रोक्का गर्ने व्यवस्था भएमा अख्तियारप्राप्त अधिकारीले कुनै ग्राहकको इजाजतपत्रप्राप्त संस्थामा रहेको त्यस्तो सेफ डिपोजिट भल्ट/लकर रोक्काका लागि इजाजतपत्रप्राप्त संस्थालाई सोझै पत्राचार गर्न सक्ने व्यवस्था विनियमावलीमा उल्लेख गरिएको छ ।
यौन भिडियो बनाएको आरोपमा ‘फुटबलर’ ह्वाङलाई चार वर्षको जेल सजाय माग
काठमाडौं । दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर ह्वाङ उइ–जोलाई गैरकानुनी रुपमा यौन सम्बन्धको भिडियो बनाएको अभियोगमा अदालतमा दोषी ठहर गर्दै चार वर्षको जेल सजायको माग गरिएको छ । अभियोजकहरूले ‘सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्ट’मा ३२ वर्षीय र ह्वाङलाई चार वर्षको जेल सजायको माग गरेका थिए। नटिङ्घम फरेस्टका पूर्व स्ट्राइकरले सहमतिबिना एक महिलासँग यौन सम्बन्ध राखेको भिडियो बनाएको सुनुवाईका क्रममा स्वीकार गरेको र आफूमाथि दया देखाउन आग्रह गरेको एएफपीले बिहीबार प्राप्त गरेको फैसलापूर्वको कागजातको एक अंशमा उल्लेख छ । ‘हाल टर्कीको क्लब अलान्यास्पोरबाट खेल्दै आएका ह्वाङले सुरुमा आफू निर्दोष रहेको दाबी गरेका थिए’, अभियोजकले भनेका छन्, ‘यद्यपि उनले अहिले गल्ती स्वीकारेका छन्, तर उनले मुद्दा अघिको आरोपलाई अस्वीकार गरेका छन् ।’ पीडितहरूलाई भएको अपूरणीय क्षतिको लागि ह्वाङ सन्तुष्ट भएको वा नभएको पनि सुनुवाईका क्रममा प्रश्न गरिएको थियो । ह्वाङले न्यायाधीशलाई दिएको बयानमा भनेका छन्, ‘मैले गरेको गल्तीका कारण पीडितहरूले दुःख पाएका छन्, म क्षमा याचना गर्दछु । म अत्यन्त उदारताको लागि हार्दिक अनुरोध गर्दछु।’ ह्वाङलेले यो घटनालाई ‘ऐनाको प्रतिबिम्ब’ का रुपमा प्रयोग गरेर खेलाडीका रुपमा लगनशील भएर जीवन यापन गर्ने बताएका छन् । कोरियाली भाषामा ‘मोल्का’ भनेर चिनिने ‘स्पाइ क्यामेरा’ को सहयोगमा बनाइने भिडियोहरू सामान्यतया पुरुषहरूले बनाउने र पैसाका लागि बेच्ने गर्छन् । उनीहरूले महिलाहरूले शौचालय र अन्य ठाउँहरूमा गरेका ‘गोप्य गतिविधि’ वा ‘गोप्य यौन सम्बन्ध’को फुटेजलाई पनि यसरी दुरूपयोग गर्नेगरेको पाइन्छ । सन् २०२३ को जुनमा उनकी भाउजूले ह्वाङलाई ब्ल्याकमेल गर्ने प्रयासस्वरूप उनको ‘गोप्य अश्लील भिडियो’ पोस्ट गरेपछि यो स्क्यान्डल प्रकाशमा आएको थियो। उनी अहिले ब्ल्याकमेल गरेको आरोपमा तीन वर्षको जेल सजाय काटिरहेका छन् । पीडितपक्षका एक वकिल ली युन–युइले अभियोजनकर्ताले चार वर्षको जेल सजायको मागलाई स्वागत गरेका बताएका छन् । ‘अभियोजन पक्षले चार वर्षको जेल सजायको माग गरिरहेको छ, यो कम से कम सान्त्वनादायी छ,’ वकिल लीले सुनुवाईपछि पत्रकारसँग भने, ‘उनको महिला यौनकर्मी (ग्राहक) लाई सम्पूर्ण मामलामा ‘गहिरो चोट’ लागेको थियो। ह्वाङलाई गत वर्षको नोभेम्बरदेखि राष्ट्रिय टोलीबाट निलम्बन गरिएको थियो । उनले दक्षिण कोरियाका लागि ६२ खेलमा १९ गोल गरेका छन् । ह्वाङलाई डिसेम्बर १८ मा सजाय सुनाइने छ । रासस
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश वडाल सहभागी छन् । बैठकमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायत विषयमा छलफल हुने जनाइएको छ । गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो ।
कृषि बीमा : आजदेखि ठूला किसानले ५० प्रतिशत मात्र अनुदान पाउने
काठमाडाैँ । आज अर्थात कार्तिक एक गतेदेखि कृषि बीमा अनुदानको नयाँ व्यवस्था लागु भएको छ । आज देखि कृषि तथा पशुपंक्षी बीमा गर्ने किसानले पाउने अनुदान रकम नयाँ संरचना अनुसार लागु भएकाे छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि अनुदान वितरणको लागि निर्माण गरेको नयाँ कार्यविधि आज देखि लागु हुनेछ । कार्यविधि अनुसार आज देखि बीमा गर्ने ठुला किसानले ५० प्रतिशत अनुदान पाउने छन् भने साना किसानले ८० प्रतिशत नै अनुदान पाउने छन् । ५० लाख भन्दा कम बीमांंक रकम भएको बीमा गर्ने किसानले बीमा शुल्कमा ८० प्रतिशत अनुदान पाउने छन् । त्यसैगरी, ५० लाख देखि एक करोड रुपैयाँसम्म बीमांक रकमको बीमा गर्ने किसानले ६५ प्रतिशत र एक करोड भन्दा धेरै बीमांक रकम भएको बीमा गर्दा बीमा शुल्कको ५० प्रतिशत अनुदान पाउने कार्यविधिमा उल्लेख छ । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले कृषि तथा पशुपंक्षी बीमा अनुदानका लागि २ अर्ब ६ करोड रुपैयाँ छुट्ट्याएको छ ।
टाटा सन्सको आईपीओको प्रतीक्षामा भारतीय सेयर बजार, नोएल टाटाको रणनीति के हो ?
काठमाडौं । अर्बपति रतन टाटाको निधनपछि उनकाे स्थानमा नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेका छन् । उनी पल्लोनजीका मिस्ट्रीका ज्वाइँ हुन् । यही कारण अहिले टाटा सन्सको आईपीओलाई लिएर विभिन्न किसिमका अड्कलबाजी सुरु भएको छन् । टाटा सन्सको आईपीओ छिट्टै आउन सक्छ भन्ने कुरासँग सम्बन्धित व्यक्तिले बताउन थालेका छन् । रिजर्भ बैंक (आरबीआई)ले सेप्टेम्बर २०२५ सम्म यसको लिस्टिङकाे लागि समय दिएको छ। एसपी ग्रुप लिस्टिङ चाहन्छ टाटा ग्रुपकाे होल्डिङ कम्पनी टाटा सन्स हो । यसमा शापूरजी पलाेनजी ग्रुप (एसपी ग्रुप) को १८.५ प्रतिशत सेयर छ । एसपी समूहले टाटा सन्सलाई जतिसक्दो चाँडो लिस्टिङ गर्न चाहन्छ ताकि तिनीहरूको कम्पनीको सेयरको उचित मूल्य थाहा पाउन सकियोस् । यससँगै एसपीले केही सेयर बेचेर ऋण तिर्न पनि सकाेस् । सेप्टेम्बर १६ मा सम्पन्न टाटा सन्सका सेयरधनीहरूको वार्षिक साधारणसभामा एसपी समूहले पनि यो मुद्दा उठाएको मिडियामा खबर आएको छ । टाटा भारतको सबैभन्दा मूल्यवान ब्रान्ड हो, जसको मूल्य यस वर्षकाे जुनमा २८.६ बिलियन डलर थियो । के भन्छ रिजर्भ बैंक ? रिजर्व बैंकले टाटा सन्सलाई गैर-बैंकिङ फाइनान्स कम्पनी (एनबीएफसी) माथिल्लो तहमा वर्गीकृत गरेको छ । त्यस्ता कम्पनीलाई सूचीकरणका लागि सेप्टेम्बर २०२५ सम्मको समय दिइएको छ । यद्यपि, २०२३-२४ मा नै आफ्नो सम्पूर्ण ऋण २१ हजार ८१३ करोड भारु चुक्ता गरिसकेपछि कम्पनीले एनबीएफसीको माथिल्लो तहबाट वर्गीकरण गर्न भारतीय रिजर्व बैंकमा निवेदन दिएको छ । यसो गर्दा कम्पनी दर्ता नभएको कोर इन्भेस्टमेन्ट कम्पनी (सीआईसी) रहनेछ । त्यसपछि उसलाई सूची बनाउन बाध्य हुनेछैन । यस निवेदनमा रिजर्भ बैंकले अहिलेसम्म कुनै निर्णय गरेको छैन। अहिले अवस्था फेरिएको छ रतन टाटाको मृत्युपछि टाटा ट्रस्टको स्थितिमा परिवर्तन आएको छ । अब टाटा सन्सको ६५ प्रतिशतभन्दा बढी सेयर राख्ने नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेका छन् । नोएल टाटा पल्लोनजीका ज्वाइँ हुन् । त्यसैले नोएल टाटाले अघिल्लो नीतिमा परिवर्तन गर्न सक्ने विश्वास गरिएको छ । यद्यपि, टाटा सन्सको आईपीओबारे अड्कलबाजी जारी छ । स्वार्थको द्वन्द्वको घटना पर्दाफास यसैबीच टाटा सन्सले स्वार्थको द्वन्द्वको आरोपको सामना गर्न सक्छ । वास्तवमा वेणु श्रीनिवासन सन् २०१६ देखि टाटा सन्सको बोर्डमा छन् । सरकारले उनलाई सन् २०२२ मा आरबीआई बोर्डको सदस्यसमेत बनाएको थियो । विश्लेषकहरूका अनुसार वेणु श्रीनिवासन आरबीआई र टाटा दुवैको बोर्डमा रहनु गम्भीर विषय हो, यसले प्रत्यक्ष रूपमा स्वार्थको द्वन्द्व देखाउँछ । विश्लेषकहरू आरबीआई बोर्डमा श्रीनिवासनको पदले गर्दा टाटा ट्रस्टसँगको सम्बन्धका कारण नैतिक चिन्ता जन्माउँछ । टाटा सन्समा टाटा ट्रस्टको ठूलो प्रभाव छ । आरबीआईले के जारी गर्याे परिपत्र ? रिजर्व बैंकले अक्टोबर २२, २०२१ मा परिपत्र जारी गरेको थियो । यसअनुसार केही एनबीएफसीहरू स्टक एक्सचेन्जमा सूचीबद्ध हुनुपर्छ । यसमा विशेषगरी एसबीआर संरचनाको माथिल्लो तहमा वर्गीकृत कम्पनीहरूको लागि सेप्टेम्बर २०२५ सम्मको समय छ । सेप्टेम्बर १४, २०२३ मा आरबीआईले टाटा सन्ससहित माथिल्लो तहमा राखिएका १५ एनबीएफसीहरूको नाम जारी गरेकाे थियाे । तीमध्ये अधिकांश कम्पनी सूचीकृत भएका छन् । तर टाटा सन्सको सूचीकरणको प्रक्रिया अझै सुरु भएको छैन । एजेन्सी
नेपाल वायुसेवा निगमले गर्यो ६ अर्ब ३२ करोड ऋण भुक्तानी
काठमाडौं । नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको जानकारी दिएकाे हाे । निगमले दुई न्यारोबडी जहाजको असोज महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी गत असोज ३० गते मात्र ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । कोभिड-१९ का कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरी दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तातोपानी कुण्डमा दैनिक २०० जना बिरामी आउने
गलेश्वर । यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् । दशैंसँगै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताए । ‘असोज २९ देखि यहाँ दैनिक दुई सयजना बिरामी तथा पर्यटक स्नान गर्न आइरहनुभएको छ,’ अध्यक्ष खड्काले भने । उनकाअनुसार बिरामीको चाप बढेपछि आजदेखि दैनिक तीन घण्टाका दरले पुरुष र महिलालाई समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ । तातोपानी संकलन गरिएको तलाउमा एकपटकमा अधिकतम् चार सय जनाले स्नान गर्न मिल्छ । छोटो समयका लागि स्नान गर्नेलाई मुख्य कुण्ड बाहिर छुट्टै पोखरी बनाइएको छ । तातोपानीको मूलबाट बिरेनुनको गन्धसहित ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डमा स्नान गरेपछि बाथ, ग्यास्ट्रिक, गानोगोला, ढाड दुख्ने, घुँडा दुख्ने, स्किन एलर्जी, यात्रामा हुने घाउ खटिरा, मर्केको, चर्मरोगदेखि प्यारालाइसिसजस्ता रोग निको हुने विश्वास गरिन्छ । देशका विभिन्न अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय यहाँ आउन थालेका छन् । कुण्डमा हरेक सोमबार हुने सन्ध्याकालीन आरतीले बिरामीलाई आर्कषित गरेको छ । तातोपानीको मुख्य पोखरीमा स्नान गर्न प्रतिव्यक्ति तीनसय ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । उक्त टिकट खरिद गरेका बिरामीले पालोअनुसार एक हप्तासम्म स्नान गर्न पाउँछन् । मुख्य पोखरी बाहिरको पोखरीमा एक सय रुपैयाँको टिकटले दुई घण्टा स्नान गर्न पाइन्छ । तातोपानी कुण्डको आम्दानी कुण्ड परिसरका संरचना निर्माण, कर्मचारी व्यवस्थापन, स्थानीय सरस्वती माविका पाँच शिक्षकको तलब÷भत्तामा खर्च गरी नगरपालिकालाई २५ प्रतिशत दिने गरिएको छ । कुण्डमा वार्षिक २० हजार बढी बिरामी स्नान गर्न आउने गरेका छन् । २०४२ सालमा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षणसहित व्यवस्थापन गरी प्रचार गरेपछि अहिले प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो ।
बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण
काठमाडौं । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ । अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ । ‘माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको छ,’ उनले भने, ‘आज मौसम बिग्रिएर हिमाल नदेखिएकाले कुनै पनि माउन्टेन फ्लाइट भएनन् ।’ ‘आज विहान माउन्टेन फ्लाईट, उडान नम्बर १०० विमानको ‘कल साईन नाइन एन एजेएस’ विमानको दायाँ इन्जिनमा इण्डिकेटर समस्या देखिएको हुँदा विमानलाई काठमाडौं सुरक्षित अवतरण गराइएको छ, उक्त विमानलाई बुद्ध एयरका प्राविधिक टीमले चेकजाँच गरिरहेका छन्,’ बुद्ध एयरद्वारा जारी सूचनामा भनिएको छ । बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन् । टिकट लिएका यात्रुलाई अर्को उडानमा हिमालसम्म लगिने कम्पनीले जनाएको छ । काठमाडौंबाट माउन्टेन फ्लाईटमा गएका विमान हिमाल नदेखिएपछि फर्किएका सूचना अधिकारी कर्णले बताए । हिमाली भेगमा लागेको बाक्लो तुँवालोका कारण आज कुनैपनि माउन्टेन फ्लाइट नभएको कम्पनीले जनाएको छ ।