विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकले ११७ जना नवनियुक्त अधिकृतहरूलाई दियो पूर्व सेवाकालीन तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम दिएको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका ११७ जना नवनियुक्त अधिकृतहरूलाई चौध दिने पूर्व सेवाकालीन तालिम बिहीबारबाट काठमाडौंमा सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्देश्य कार्यान्वयनमा यो ठूलो संख्याको जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताए । जनताको ठुलो विश्वास बैंकप्रति रहेको हुँदा व्यावसायिक ढंगबाट कार्य गर्ने सोच बनाउनु पर्ने बताए । उनले विभिन्न प्रक्रियापश्चात बैंकले एकपटक ठूलो संख्यामा युवा अधिकृतहरूलाई नियुक्ति दिएर बैंकिङ क्षेत्रमार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताए । उनले अरू सहायक स्तरका कर्मचारीहरूको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि बैंकले दिने सेवा र उत्पादकत्व बढ्ने बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले नवनियुक्त सहायक प्रबन्धक, उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक तहका जम्मा ११७ जना अधिकृतहरूलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथसमेत गराएका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीहरूलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापा र तालिम तथा सिकाइ विभागका विभागीय प्रमुख पद्यालक्ष्मी जिसीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अस्ट्रेलियाले घातक एभियन इन्फ्लुएन्जाको लागि तयारी कोष बढायो

अस्ट्रेलिया सरकारले बर्डफ्लुको घातक स्ट्रेनको सम्भावित आगमनको लागि तयारी बढाउन नयाँ कोषको प्रतिवद्धता जनाएको छ । सरकारले अस्ट्रेलियालाई एभियन इन्फ्लुएन्जाको स्ट्रेनबाट जोगाउन जैविक सुरक्षा, वातावरणीय र सार्वजनिक स्वास्थ्य उपायहरूका लागि थप ९५ मिलियन अस्ट्रेलियाली डलर (६३.९ मिलियन अमेरिकी डलर) को घोषणा गरेको छ । अस्ट्रेलिया एक मात्र महादेश हो, जहाँ स्ट्रेन पत्ता लागेको छैन । विश्वव्यापी प्रकोपले २०२१ देखि जंगली चराहरू र केही स्तनपायी प्रजातिहरूको मृत्यु भएको छ । विज्ञहरूले चेतावनी दिएका छन् कि अस्ट्रेलियामा दक्षिणी वसन्त र गर्मीको लागि प्रवासी चराहरू देशमा आइपुग्दा महामारी फैलिनसक्छ ।

सिंगो गाउँ नै तरकारीखेतीमा : वार्षिक भित्रिन्छ ८० लाख

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारीखेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारीखेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका हुन् । यहाँको नाथुरी, बाउनगाउँ, अधिकारीचौर, प्याङखोलाका प्रत्येक परिवारले प्लास्टिकका टनेलमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् । सुरुमा गाउँका अगुवा किसान कृष्णलाल कँडेलले थालेको तरकारीखेतीमा अहिले गाउँभरि बिस्तार भएको छ । कँडेलले विसं २०६९ देखि नै फाटफुट तरकारीखेती गर्न थालेका थिए । छ वर्षपछि सरकारी कृषि ज्ञान केन्द्रसहित विभिन्न सरकारी निकायले अनुदान दिन थालेपछि स्थानीय व्यावसायिक तरकारीखेती गर्न थालेका थिए । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने गाउँमा फलेका तरकारी बजार पु¥याउन त्यति समस्या छैन । नजिकै बुर्तिबाङ बजार हुँदा बिक्रीका लागि टाढा धाउनु पर्दैन । गाउँमा तरकारीखेती गर्न थालेपछि न्यून आय भएका परिवारको पनि आर्थिक अवस्था सुधार हुँदै गएको स्थानीय अगुवा किसान कृष्णलाल कँडेलले बताए । १२ वर्षअगाडि आफूले गाउँमा टनेलभित्र तरकारीखेतीको सुरुआत गरेपछि अहिले सिंगो गाउँ नै यसमा लागेको उनको भनाइ छ । तरकारीखेतीमा आबद्ध किसानले वार्षिक न्यूनतम दुई लाख रुपैयाँदेखि सात लाखसम्म आम्दानी गर्दै आएका कँडेल बताउँछन् । यस वर्ष ढोरपाटन–५ मा मात्रै तरकारी बेचेर ८० लाख रुपैयाँ भित्रिएको उनले जानकारी दिए । ‘गरे के नहुने रैछ र ?, मैले तरकारीखेती सुरु गर्दा गाउँलेले तरकारी पनि बिक्री हुन्छ भन्दै गिज्याउँथे, अहिले गाउँमा टनेलमा तरकारीखेती नगर्ने कोही छैन, तरकारीबाट आम्दानी राम्रो हुन थालेपछि पहिले हुँदा खानेहरु अहिले हुने खाने भए’, उनले भने, ‘पोहोर परार साल वार्षिक ५० लाखको तरकारी बिक्री हुन्थ्यो, यस वर्ष थप ३० लाख बढीको खायन आलुसमेत बिक्री गर्यौँ ।’ बारीमा काम गर्न थालेपछि धेरै युवा विदेश जानबाट रोकिएका छन् । जिल्लाको अन्य गाउँमा युवा विदेश पलायन हुँदा ढोरपाटनमा भने गाउँ जनशक्तिको अभाव छैन । व्यवसायिक तरकारीखेतीले गाउँलेको जीवनशैली नै बदलिएको स्थानीय किसान विष्णुकुमारी घर्तीले बताइन् । बजारमा तरकारीको भाउमा एक रुपता नहुँदा कहिलेकाहीँ मूल्य नपाउने उनको भनाइ छ । तरकारीखेतीबाटै घर खर्च चलाउने र छोराछोरी पढाउने गरेको घर्ती बताउँछिन् । उनले भनिन्, ‘तरकारीखेतीबाट आत्मसन्तुष्टि मिलेको छ, पहिले एक मुरी धान फल्ने खेतमा अहिले लाखौँको तरकारी फल्छ, मैले मात्रै होइन गाउँका धेरैले यो पेसा अङ्गालेका छन्, तरकारीमा रोग लागेन भने वर्षमा दुई/चार लाख रुपैयाँ कमाउन समस्या छैन ।’ तरकारीखेतीतर्फ किसानलाई आर्षित गर्न कृषि ज्ञान केन्द्र बागलुङले पनि सहयोग गर्दै आएको छ । यस क्षेत्रमा तरकारीखेती र खायन आलु उत्पादनका लागि करिब ८० लाख लगानी गरेको केन्द्रका सूचना अधिकारी कुमार पुनले जानकारी दिए । किसानलाई आवश्यक अनुदानसहित प्राविधिक सहयोग र उपकरणसमेत उपलब्ध गराउँदै आएको उनले बताए । रासस

आर्थिक मन्दीको बीचमा भोकमरीसँग संघर्ष गर्दै अफगानी नागरिक

काठमाडौं । अफगानिस्तानमा लाखौं मानिसहरू डरलाग्दो भोकमरीको सामना गरिरहेका छन् । दशकौंको युद्ध, विस्थापन, लामो खडेरी, उच्च बेरोजगारी, र अफगान सम्पतीहरूमा अमेरिकी प्रतिबन्धहरूपछि आर्थिक पतनलगायतले देशको गम्भीर खाद्यान्न अभावमा योगदान पुर्‍याएकाे छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानमा चारमध्ये एक जना भोकमरीको सामना गरिरहेका छन् । अफगान रेड क्रिसेन्ट सोसाइटीका प्रवक्ता मौलावी मुदस्सिर हमराजले अन्तर्राष्ट्रिय सहयोगको महत्त्वपूर्ण आवश्यकतामा जोड दिए । विश्व बैंकको दस्तावेजअनुसार अफगानिस्तानको वास्तविक कुल ग्राहस्थ उत्पादन (जीडीपी) पछिल्लो दुई आर्थिक वर्षमा २६ प्रतिशतले संकुचित भएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लालबहादुर थिङ

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । बैंक सञ्चालक समितिको असोज ३० गते सबेको बैठकले लालबहादुर थिङलाई सीईओमा नियुक्त गरेको हो । थिङ आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् । यसअघि त्रिलोकध्वज जोशीले विसं २०८० साउन २५ गते राजीनामा दिएपछि कायमुकायम सीईओको जिम्मेवारी बिपिनराज पोख्रेललाई दिइएको थियो । तर, बैंकले करिब १८ महिनापछि सीईओ पाएको हो ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६२ हजार ४००

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनप्रति दिन नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजीबी सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको छैन । चाँदी आजका लागि भने प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ ।

१५ प्रतिशत लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । लाभांश पारित गर्न स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा डाकेको छ । लघुवित्त सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले कात्तिक ३० गते बिहान ११ बजे काठमाडौंमा २३औं वार्षिक साधारणसभा बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरणपश्चात् लघुवित्तको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । यस्तै, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवदेन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण सेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदको निर्वाचन गर्नेछ । सभाले पुँजी वृद्धिअनुरूप हुने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र कुनै उपयुक्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारणसभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्ज । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् । चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए । चालु आवको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए । आव २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल९मोपेडसहित०को पार्टपूर्जा आयात भएका थिए । चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड १७ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरु आयात भएको छ ।