विकासन्युज

सपोर्ट लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । कार्तिक ४ गते बसेको लघुवित्तको सञ्चालक समितिले चुक्ता पूँजीको १४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये १३.७७५ प्रतिशत बोनस र ०.७२५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय भएको लघुवित्तले जनाएको छ । लघुवित्तको हाल १० करोड ७६ लाख १८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ ।  

पाडीबाछी हुर्काउन ६० लाख ४० हजार रुपैयाँ अनुदान वितरण

तनहुँ । गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन ६० लाख ४० हजार रुपैयाँ अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन १० हजार रुपैयाँका दरले उक्त अनुदान रकम प्रदान गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा तीन सय ३१ आवेदन परेकामध्ये छनोटमा परेका तीन सय २७ किसानले अनुदान पाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएपछि कार्यक्रम प्रभावकारी बन्दै गएको केन्द्र प्रमुख डा राजेशकुमार चौधरीले जानकारी दिए । पहिलो वर्ष एक सय, दोस्रो वर्ष दुई सय र तेस्रो वर्ष छ सय चारवटा पाडी–बाछीका लागि बजेट विनियोजन गरिएको थियो । गत वर्षको तुलनामा यस आवमा तीन सयवटा पाडीबाछी हुर्काउनका लागि बजेट विनियोजन भएको छ, चौधरीले भने, “बजेट घटेर आएका कारण यस वर्ष पाडीबाछी हुर्काउने सङ्ख्यामा कमी आएको छ ।” पाडी–बाछी हुर्काउन अनुदान पाउन यस वर्ष आवेदन खोलिसकेको र किसानबाट आवेदन आउने क्रम जारी छ । यस वर्ष ३० लाख रुपैयाँ बजेट विनियोजन भएको सो केन्द्रले जनाएको छ । जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा धेरै बन्दीपुरमा दुई सय २१, व्यास नगरपालिकामा दुई सय आठ, आँबुखैरेनीमा ८४, भानुमा ४५, म्याग्देमा २५, देवघाटमा १२, शुक्लागण्डकीमा आठ र ऋषिङमा एकवटा छनोटमा परेको थियो । आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइएको उनले बताए । एकजना पशुपालक किसानले बढीमा पाँच वटासम्म पाडीबाछीका लागि अनुदान पाउनेछन् । अनुदान पाउन पाडीबाछीको उमेर एक वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड रहेको केन्द्रले जनाएको छ । बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडीबाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिइएको केन्द्रका प्रमुख चौधरीले बताए । रासस

साढे ९ करोडको सेयर स्वामित्व रहेका चार ठूला सेयरधनी कामना सेवाबाट बाहिरिए, तीन लगानीकर्ताको आगमन

काठमाडौं । कामना सेवा विकास बैंकबाट चार ठूला संस्थापक बाहिरिएका छन् भने नयाँ तीन ठूला लगानीकर्ता थपिएका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असारसम्म हाथवे इन्भेष्टमेन्ट नेपालसहित गणेशबहादुर श्रेष्ठ, ओमकार गौचन र राजेन्द्रनिधि कोइराला बैंकबाट बाहिरिएका हुन् । आव २०७९/८० को असारसम्म बैंकमा हाथवे इन्भेष्टमेन्टको ०.९४ प्रतिशत अर्थात् ३ लाख ९ हजार ८९३ कित्ता, गणेश बहादुर श्रेष्ठको ०.७३ प्रतिशत अर्थात् २ लाख ३९ हजार ३४३ कित्ता, ओमकार गौचनको ०.७२ प्रतिशत अर्थात् २ लाख ३५ हजार ८३६ कित्ता र राजेन्द्रनिधि कोइरालाको ०.५४ प्रतिशत अर्थात् १ लाख ७५ हजार ८५७ कित्ता सेयर स्वामित्व थियो । तर, गत वर्ष भने यी ठूला संस्थापक बैंकबाट बाहिरिएका हुन् । बैंकका अनुसार इन्टेग्रा सोर्सेस प्रालि, माया होल्ड प्रालि र लिला गौचन बैंकको नयाँ संस्थापक सेयरधनीका रूपमा थपिएका छन् । इन्टेग्रा सोर्सेस प्रा.लिको १.५५ प्रतिशत अर्थात् ५ लाख ९ हजार ८९२ कित्ता, माया होल्ड प्रालीको ०.७२ प्रतिशत अर्थात् २ लाख ३६ हजार ४२० कित्ता र लिला गौचनको ०.७० प्रतिशत अर्थात् २ लाख २८ हजार ८३५ कित्ता सेयर खरिद गरी ठूला सेयरधनीको सूचीमा समावेश भएका हुन् । यस्तै, विभिन्न आधा दर्जन संस्थापक सेयरधनीले आफ्नो स्वामित्व घटाएका छन् । संस्थापक कमलराज उदय, देवानसिंह थापा, मदन खनाल, रामप्रसाद पोखरेल, चक्रपाणि बास्तोला, भरतराज कोइराला र दीपक खरेलले आफ्नो स्वामित्व घटाएका हुन् । अघिल्लो वर्ष १.०२ प्रतिशत अर्थात् ३ लाख ३६ हजार ५ कित्ता सेयर स्वामित्वसहित कमलराज उदय बैंकको छैठौं ठूला सेयरधनी थिए । तर, गत वर्ष ०.७१ प्रतिशत अर्थात् २ लाख ३३ हजार ९४३ कित्तासहित १६औं नम्बरमा झरेका हुन् । यस्तै, देवानसिंह थापाको ०.७३ प्रतिशत अर्थात् २ लाख ४० हजार ८०६ कित्ता, मदन खनालको १.०७ प्रतिशत अर्थात् ३ लाख ५२ हजार ९७ कित्ता, राम प्रसाद पोखरेलको ०.९५ प्रतिशत अर्थात् ३ लाख १० हजार १४८ कित्ता, चक्रपाणी बास्तोलाको ०.८२ प्रतिशत अर्थात् २ लाख ७० हजार १९३ कित्ता, भरतराज कोइरालाको ०.५९ प्रतिशत अर्थात् १ लाख ९३ हजार ५५७ कित्ता सेयर स्वामित्व छ । बैंकमा गत असारसम्म २४ ठूला सेयरधनी रहेका छन् । बैंकको सबैभन्दा ठूलो सेयरधनी भने तुलसा पाण्डे रहेकी छन् । बैंकमा पाण्डेको २.४३ प्रतिशत अर्थात् ७ लाख ९८ हजार ४०६ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, सीता आचार्यको १.७६ प्रतिशत अर्थात् ५ लाख ७६ हजार ८५७ कित्ता, श्रीराम पाण्डेको १.३९ प्रतिशत अर्थात् ४ लाख ५४ हजार ५३८ कित्ता, सीताराम उप्रेतीको १.३७ प्रतिशत अर्थात ४ लाख ४८ हजार ८४ कित्ता, मदन खनालको १.०७ प्रतिशत अर्थात् ३ लाख ५२ हजार ९७ कित्ता, रविबहादुर थापाको ०.९३ प्रतिशत अर्थात् ३ लाख ५ हजार ४५८ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, भीमप्रसाद तुलाचनको ०.८२ प्रतिशत अर्थात् २ लाख ६७ हजार ८९७ कित्ता, बाबुराम पन्तको ०.७९ प्रतिशत अर्थात् २ लाख ५८ हजार ८४ कित्ता, भीमराज अधिकारीको ०.७६ प्रतिशत अर्थात् २ लाख ४९ हजार ५७५ कित्ता, प्रकाश क्षेत्रीको ०.७४ प्रतिशत अर्थात् २ लाख ४४ हजार ३७५ कित्ता, राजकुमार आमात्यको ०.६६ प्रतिशत अर्थात् २ लाख १५ हजार ७७७ कित्ता सेयर स्वामित्व रहेको छ । गौमाता इन्भेष्टमेण्ट कम्पनीको ०.५६ प्रतिशत अर्थात् १ लाख ८३ हजार ९९ कित्ता, क्यालिवर इन्भेष्टमेन्ट कम्पनीको ०.५२ प्रतिशत अर्थात् १ लाख ७१ हजार २१४ कित्ता, भक्तराम ज्ञवालीको ०.५१ प्रतिशत अर्थात् १ लाख ६७ हजार ६१२ कित्ता सेयर स्वामित्व रहेको छ ।

अँध्याराेमा बस्न बाध्य छन् बाँकेको खयरभट्टीका स्थानीय

नेपालगञ्ज (बाँके) । भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । जिल्लाको राप्तीसोनारी–४ र १ को सो गाउँमा विद्युत् जडानका लागि स्थानीयले बारम्बार आग्रह गरे पनि विद्युतीकरण नहुँदा स्थानीय विभिन्न काम गर्न सास्ती झेल्न बाध्य भएका बताएका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरपरिवारले विद्युतकाे सुविधा नपाउँदा खानेपानी र सिँचाइको अभाव झेलिरहेको स्थानीय प्रकाश नेपालीले जानकारी दिए । उनले पछिल्लोपटक केही घरमा धारा जडान भए पनि खानेपानीको समस्या समाधान नभएको उल्लेख गर्दै विद्युतीकरण भएपछि खोलामा बग्ने पानीको सदुपयोग गरेर खानेपानीको समस्या सधैंका लागि अन्त्य हुने विश्वास व्यक्त गरे । उनले काम गर्न लागेको एक वर्षमा पनि खम्बा गाड्ने र तार तान्ने काम पूरा नभएको जानकारी दिँदै नेपाल विद्युत् प्राधिकरणलाई पनि ताकेता गर्न आग्रह गरे । उक्त क्षेत्रमा विद्युतीकरणका लागि पाँच सय ६० स्टिल ट्युबलर खम्बा गाडिएको छ भने केही अझै बाँकी छ । त्यहाँका स्थानीयको मुख्य आयस्रोत बाख्रापालन, कुखुरापालन र बनकसको डोरी बनाएर बेच्ने रहेको बताइएको छ । सो डोरी बेच्न स्थानीय भारतको बजारमा जाने गर्छन् । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा विद्युतीकरणका लागि पोल गाड्ने काम सम्पन्न भएको र केही बाँकी रहेको जानकारी दिँदै तार तान्ने काम हुन नसकेको बताए । उनले भने, ‘अहिले तत्कालका लागि काम स्थगन भएको छ, तिहारपछि काम सम्पन्न हुन्छ ।’ सो क्षेत्रमा १३ किलोमिटरमा विद्युत् लाइन जोड्नुपर्ने अवस्था रहेको बताइएको छ । तीन करोड ५० लाख रुपैयाँ हाराहारीमा सो क्षेत्रमा विद्युतीकरणका लागि ठेक्का दिइएको थियो ।

पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघामा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए । सुस्ता –३ र ४ नं वडाको बीचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरी ताल निर्माण गर्न लागिइएको हो । ताल निर्माणका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ खर्च गरिसकेको अधिकृत भुसालले बताए । तालको वरिपरि फुटपाथ, उद्यान, वरिपरि विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यता बनाइने उनले जानकारी दिए । पालिकाभित्रका पर्यटकीय सम्भावनाका स्थललाई पहिचान गरी गाउँपालिकाले पर्यटन विकासका नीति अगाडि बढाएको पालिका अध्यक्ष टेकनारायण उपाध्ययले बताए । तालमा माछापालनसमेत गरिने छ । लामो समयदेखि घोलाका रूपमा रहेकाले यसको खासै महत्व थिएन तर अब ताल बनेपछि पर्यटन विकास हुने उनले जानकारी दिए । ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ । पहिलो चरणमा घोलाभित्र रहेका झाडी तथा फोहरलाई सफा गरिएको छ । गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलको पहिचान गर्ने काम गरिरहेको छ । पर्यटन विकासमार्फत आम्दानीका स्रोत व्यवस्थापन गर्ने गाउँपालिकाको उद्देश्य छ । रासस

विश्व बजारमा तहल्का पिट्दै भारतीय गाडी, सबैभन्दा बढी निर्यात गर्ने गाडी बन्यो मारुती सुजुकी

काठमाडौं । चालु आर्थिक वर्ष २०२४/२५ को पहिलो त्रैमासमा भारतबाट सवारीसाधन निर्यात वार्षिक आधारमा १४ प्रतिशतले बढेको छ । मुख्यतया यात्रुवाहक सवारी र दुई पाङ्ग्रे सवारीसाधनको कन्साइमेन्ट बढेकाले कुल निर्यात बढेको सवारी उत्पादकहरूको संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) को तथ्यांकले देखाएको छ । सियामको तथ्यांकअनुसार भारतको सवारीसाधन निर्यात अघिल्लो वर्षको यही अवधिमा २२ लाख ११ हजार ४ सय ५७ युनिटको तुलनामा अप्रिल–सेप्टेम्बरमा १४ प्रतिशतले बढेर २५ लाख २८ हजार २ सय ४८ इकाइ पुगेको छ । सियामका अध्यक्ष शैलेश चन्द्रले भने, ‘ल्याटिन अमेरिका र अफ्रिकाजस्ता बजार जहाँ कुनै न कुनै कारणले सुस्तता थियो, अहिले स्थितिमा सुधार आएको छ । जसका कारण निर्यातको आँकडा बढेको छ ।’ विभिन्न अफ्रिकी देश र अन्य क्षेत्रहरूले मुद्राको अवमूल्यनका कारण चुनौतीहरूको सामना गर्नुपरेको थियो । यी देशहरूले अत्यावश्यक वस्तु आयातमा ध्यान केन्द्रित गरेकाले यसले उनीहरूको सवारी आयातलाई असर गरेको छ। विभिन्न विदेशी बजारमा मौद्रिक संकटका कारण  गत आव २०२३/२४ मा सवारीसाधन निर्यात ५.५ प्रतिशतले घटेको थियो । गत आव कुल निर्यात ४५ ललाख ४ सय ९२ इकाइ थियो भने २०२२/२३ मा ४७ लाख ६१ हजार २ सय ९९ इकाइ थियो । चालु आव पहिलो त्रैमासमा कुल यात्रुवाहक सवारी निर्यात वार्षिक रूपमा १२ प्रतिशतले बढेर ३ लाख ७६ हजार ६ सय ७९ इकाइ पुग्यो भने आव २०२३/२४ को सोही अवधिमा यो संख्या ३ लाख ३६ हजार ७ सय ५४ इकाइ रहेको छ । देशको सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकी १ लाख ४७ हजार ६३ इकाइ निर्यात गरी शीर्ष स्थानमा छ । कम्पनीको निकासी १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा मारुतीले १ लाख ३१ हजार ५ सय ४६ सवारीसाधन निर्यात गरेको थियो । त्यसैगरी, हुन्डाई मोटर इन्डियाले चालु आव पहिलो ६ महिनामा ८४ हजार ९ सय सवारीसाधन निर्यात गरेको छ, जुन अघिल्लो २०२३/२४ को अप्रिल-सेप्टेम्बर अवधिमा ८६ हजार १ सय ५ इकाइ थियो । यो एक प्रतिशतले घटेको हो । चालु आव अप्रिल-सेप्टेम्बर अवधिमा दुई पाङ्ग्रे सवारीसाधन निकासी गत वर्षको सोही अवधिमा १६ लाख ८५ हजार ९ सय ७ इकाइको तुलनामा अघिल्लो आव सोही अवधिमा १६ प्रतिशतले बढेर १९ लाख ५९ हजार १ सय ४५ इकाइ पुगेको थियो । समीक्षा अवधिमा स्कुटर निकासी १९ प्रतिशतले बढेर ३ लाख १४ हजार ५ सय ३३ इकाइ पुगेको छ भने मोटरसाइकल निकासी १६ प्रतिशतले बढेर १६ लाख ४१ हजार ८ सय ४ इकाइ पुगेको छ । आर्थिक वर्षको पहिलो ६ महिनामा व्यावसायिक सवारीसाधनको निर्यात वार्षिक १२ प्रतिशतले बढेर ३५ हजार ७ सय ३१ युनिट पुगेको छ । यद्यपि, यस अवधिमा तीन पाङ्ग्रे सवारीसाधनको निर्यात आर्थिक वर्ष २०२३/२४ को सोही अवधिमा १ लाख ५५ हजार १ सय ५४ इकाइको तुलनामा एक प्रतिशतले घटेर १ लाख ५३ हजार १ सय ९९ इकाइमा पुगेको छ । एजेन्सी

ब्यूटीसिएन व्यवसायबाट मासिक ४० हजार कमाई गर्दै पुनम जैसी

कञ्चनपुर । ब्यूटीसिएन (शृङ्गार) व्यवसायमा संलग्न भीमदत्त नगरपालिका–४ की २९ वर्षीया पुनम जैसीलाई परिवारको खर्च चलाउने पिरलो छैन । तालिम लिएर व्यवसाय सञ्चालन गरेकी उनको मासिक कमाई ४० हजार रुपैयाँ जति हुने गरेको छ । मासिक रूपमा आउने कमाइले उनको घर खर्च सहज रूपमा चल्न थालेको छ । घरभाडा, बालबालिकाको विद्यालय खर्च, लुगाफाटो, खाद्यान्न, नुनतेल, तरकारीको जोहो व्यवसायको कमाइले धान्दै आएको उनले बताइन् । अन्तरजातीय प्रेम विवाह गरेकी जैसीले सुरुका तीन वर्ष निकै कष्ट सहनुपर्यो । ‘महेन्द्रनगर बजारको सिद्धनाथ मन्दिरमा लाग्ने तीनमहिने मेलामा तीन वर्षसम्म बालबालिकाका खेलौना, शृङ्गारका सामान, जुत्ता चप्पललगायत सामग्री बेचेर ७०–८० हजार रुपैयाँ जति कमाइ हुन्थ्यो’, उनले भनिन्, ‘अठार जनाको संयुक्त परिवारमा बस्नुपर्दा त्यो कमाइले खर्च पुग्दैन्थ्यो ।’ तीन महिना मन्दिर छेउ बसेर सामान बिक्री गर्ने जैसीले बाँकी समय मजदुरी गरेर जीविका चलाउँदै आएकी थिइन् । ‘ ब्यूटिसीएन तालिममा सहभागी हुने मौका पाए’, उनले भनिन्, ‘निकै मेहनत गरेर एक लेभलसम्मको परीक्षा उत्तीर्ण गरेँ, आफ्नै व्यवसाय सञ्चालन गर्ने धोको थियो ।’ सीप सिकेर निपूण भए पनि व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजीको अभाव थियो । मन्दिरमा सामान बिक्री गरेको र मजदुरी गरेर खाइनखाइ राखेको ३० हजार रुपैयाँ रकम उनीसँग थियो । ‘घर नजिकैको सहकारीमा गएर व्यवसाय गर्ने इच्छा जाहेर गरेँ, पुँजी अभाव रहेका कुरा सुनाएँ’, उनले भनिन्, ‘सहकारीबाट ४० हजार रुपैयाँ कर्जाका रूपमा रकम पाएँ, आफूसँग रहेको र सहकारीको गरी ७० हजार रुपैयाँ रकमबाट व्यवसाय सुरु गरेँ ।’ ग्राहकको मागअनुसार सेवा दिन थालेपछि व्यवसाय अगाडि बढ्दै आएको उनले उल्लेख गरिन् । हाल पसलमा छ लाख रुपैयाँ बढीको ब्यूटिसीएन र शृङ्गारसम्बन्धीको सामान रहेको छ । पसलबाट कमाएको १४ लाख रुपैयाँ र श्रीमान्ले कमाएको १२ गरी २६ लाख रुपैयाँमा जैसीले महेन्द्रनगर बजार छेउमा एक कठ्ठा जग्गा घरेडी जोड्न भ्याएकी छन् । भाडाका घरमा बस्दै आएकी जैसीले यसै वर्ष आफ्नै घर निर्माण गर्ने सोच अघि सारेका छन् । ग्राहकको मन जित्न सके व्यवसायलाई अगाडि बढाउन सकिने उदाहरण उनले पेस गरेकी छन् । जैसीका दुई छोरी र एक छोरा छन् । छोराछोरीलाई उनले निजी अङ्ग्रेजी माध्यमको विद्यालयमा पढाउँदै आएकी छन् । स्वरोजगार भएपछि जीवन सहज रूपमा चल्न थालेकामा उनी सन्तुष्टि व्यक्त गर्छिन् । रासस

नेपालले अमेरिकालाई बेच्यो साढे ३८ लाखको छुर्पी

गलकोट । पछिल्लो समय यहाँ उत्पादित  छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौं हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक आठ करोड रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार चार सय १० रुपैयाँको छुर्पी अमेरिका निर्यात गरेको हो । दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । ‘दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ’, गौतमले भने । दुग्ध उत्पादक सहकारी संघमा एक हजार पाँच सय किसान आवद्ध छन् । संघले किसानबाट संकलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । संघले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ । सहकारीले गत आवमा सात करोड ८३ लाख रुपैयाँको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ । हाल सहकारी संघले छुर्पी प्रतिकिलो एक हजार दुई सय रुपैयाँमा बिक्री गर्दै आएको छ । सहकारीमा आवद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी संघमा १६ कर्मचारीले संकलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताए । कृषकले उत्पादन गर्ने, सहकारीले संकलन गर्ने र सहकारी संघले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ । दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत संघले बजारीकरण गर्दै आएको छ ।