वैदेशिक रोजगारबाट फर्किएर कृषिमा रमाउँदै जयसवाल
नवलपरासी । वैदेशिक रोजगारका लागि इजरायल गएका रामग्राम–५ का ४५ वर्षीय नरेश जयसवालले स्वदेश फर्किएपछि व्यावसायिक रूपमा कृषि पेसामा आबद्ध भएका छन् । पाँच वर्ष इजरायल बसेर फर्केपछि दुई वर्षदेखि उनले व्यावसायिक कृषि पेसा गर्दै आएका हुन् । जीविकोपार्जन र आम्दानीका लागि विदेश जानुभन्दा स्वदेशमा कृषिकर्मबाट मनग्ये आम्दानी गर्न सकिने जयसवालले बताए । वार्षिक एक हजार रुपैयाँका दर जग्गा भाडामा लिएर खेती सुरु गरेको भन्दै पाल्हीनन्दन गाउँपालिका र रामग्राम नगरपालिकाभित्रका जग्गाधनीसँग सम्झौता गरेर ३५ बिघा जग्गामा धानखेती गरिरहेको उनले जानकारी दिए । यस वर्ष एक सय टन धान उत्पादन भएको जनाउँदै जयसवालले ३५ बिघामध्ये २९ बिघा भाडामा लिएको र बाँकी छ बिघा पैतृक सम्पत्ती रहेको बताए । सो जग्गामा सावित्री, रामधान, चैते–५ लगायत जातका धान लगाएको उनको भनाइ छ । कृषि खेतीमा आफूलाई लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयले गत वर्ष उत्कृष्ट कृषकका रूपमा ५१ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरेको जयसवालले जानकारी दिए । पुरस्कारपछि आफूलाई थप हौसला मिलेको उनले उल्लेख गरे । बिउ उत्पादन गर्न जयसवालले नवलपरासीमा ‘आरोही सिड्स’ कम्पनी सञ्चालन गरेका छन् । उक्त कम्पनीबाट आधुनिक जातका धान, मकैलगायतका बिउ स्थानीयलाई उपलब्ध गराउँदै आइएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले बताए । पछिल्लो समय यहाँका किसानको व्यावसायिक कृषिमा आकर्षण बढन थालेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदिश गुप्ताले बताए । केहीवर्ष अघिसम्म जीविकोपार्जनका लागि मात्र परम्परागत खेती गर्दै आएका यहाँका किसान अहिले व्यावसायिक खेतीमा आबद्ध हुन थालेका उनको भनाइ छ ।
ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ मा विल्सको चयन
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्णायक विजय हासिल गरेपछि बिहीबार मन्त्रिमण्डलका पहिलो सदस्यको नियुक्तिको घोषणा गरेका छन् । उनले रुसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेर निवर्तमान प्रशासनको नीतिलाई तोड्ने आफ्नो मनसाय रहेको संकेत गरेका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले आफ्नो चुनावी अभियानका व्यवस्थापक सुसी विल्सलाई ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’को रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका हुन् । डेमोक्र्याटिक नेता तथा अमेरिकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्ने ट्रम्पको विजयले चुनावको दुई दिनमा नै र ह्वाइट हाउस फर्कनुभन्दा साढे दुई महिनाअघि नै अमेरिकी र विश्व राजनीतिमा तरङ्ग पैदा गरेको छ । रुसी राष्ट्रपति पुटिनले गत जुलाईमा भएको एक र्यालीमा हत्याको प्रयासपछि ट्रम्पले आफूलाई सम्हाल्ने तरिकाका लागि ‘साहसी’ भएको भन्दै प्रशंसा गरेका थिए । अरबपति ट्रम्पले पछि एनबीसी न्यूजसँग भनेका थिए, ‘मैले मलाई वर्षौंदेखि बारम्बार प्रशंसा गर्दै आएका पुटिनसँग ऐलेसम्म कुरा गरेका छैन । मलाई लाग्छ हामी कुरा गर्नेछौं ।’ सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता बाइडेन र पुटिनबीच कायम रहेको चीसो सम्बन्धबाट यो भूकम्पीय परिवर्तन हो र ट्रम्पले किएभलाई अमेरिकी समर्थनको आलोचना गरेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यसअघि उक्त द्वन्द्वमा शान्ति सम्झौता गर्ने बताएका थिए तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार ट्रम्पसँग कुरा गर्दै युद्धविरामको आह्वान ‘खतरनाक’ भएको बताएका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङ यसअघि ट्रम्पलाई बधाई दिने विदेशी नेताहरूको सूचीमा सामेल भइसकेका छन् । ह्यारिसले चुनाव अभियानका क्रममा तानाशाहसँग धेरै मित्रवत व्यवहार गरेको भन्दै आलोचना गरेका थिए । ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने आफ्नो योजनालाई दोब्बर बनाउँदै यसको ‘कुनै विकल्प नभएको’ एनबीसीसँग बताएका छन् । ट्रम्पले फ्लोरिडास्थित आफ्नो रिसोर्टमा आफ्नो ट्रान्जिसन टिममा काम गर्न थालेपछि बाइडेनले शान्तिपूर्ण र ‘व्यवस्थित’ तरिकाले सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए । सन् २०२० को चुनावमा ट्रम्पले आफ्नो पराजय स्वीकार्न इन्कार गरेको भएपनि यसको विपरीत ८१ वर्षीय अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई ‘तापक्रम घटाउन’ आग्रह गरेका थिए । डेमोक्र्याट नेताले ट्रम्पलाई ह्वाइट हाउसमा वार्ताका लागि निमन्त्रणा गरेका छन् । तर बाइडेनका प्रवक्ताले भने ट्रम्पको टोलीले कानुनी सङ्क्रमण प्रक्रिया सुरु गर्न अनुमति दिने महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर नगरेको बताएका छन् । यद्यपि बाइडेनले आफ्नो उमेरको बावजुद दोस्रो कार्यकालका लागि चुनाव लड्ने प्रारम्भिक निर्णय जुलाईमा अन्तिम समयमा पद छोड्नुअघि र उपराष्ट्रपति ह्यारिसलाई बागडोर सुम्पिनुभन्दा पहिले नै पार्टीमा औंला उठिसकेको छ । ह्वाइट हाउसले बाइडेनलाई कुनै पछुतो नभएको बताएको छ । अर्थतन्त्र र आप्रबासी समस्यालाई लिएर व्यक्त भएका मतदाताको चिन्ताले ट्रम्पको जितलाई प्रेरित गरेको छ । ट्रम्पको पहिलो क्याबिनेट चयन वाइल्सलाई उनको टोलीमा व्यापक समर्थन प्राप्त छ र बुधबार बिहान उनको विजय भाषणको क्रममा विशेष गरी स्टेजमा बोलाइएको थियो । ट्रम्पले भने, ‘सुसी कडा, स्मार्ट, नयाँ हुनुहुन्छ, विश्वव्यापी रूपमा उहाँलाई प्रशंसा र सम्मान छ। सुसीले अमेरिकालाई फेरि महान बनाउन अथक प्रयास जारी राख्नुहुनेछ ।’ ट्रम्पले बाइडेनद्वारा हस्ताक्षरित धेरै नीतिहरूलाई उल्ट्याउने अपेक्षा गरिएको छ । रासस
प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर राणाले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको जानकारी दिए । प्रस्तावित न्यायाधीशद्वयले न्यायालय सुधारका कार्ययोजना प्रस्तुत गरेका थिए । समितिमा प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरीसमेत परेको थियो । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
मेडिकल कलेजको व्यवसाय बढ्दै, यस्तो छ ८ कलेजको तीन वर्षको आम्दानी
काठमाडौं । पछिल्लो समय मेडिकल कलेजको व्यवसाय बढ्दै गएको छ । विगतका वर्षहरूको तुलनामा सन् २०२३ मा ८ वटा मेडिकल कलेजको व्यापार बढेको देखिएको हो । विकासन्यूजलाई प्राप्त तथ्यांकअनुसार ८ वटा मेडिकल कलेजले २०२३ मा कुल १२ अर्ब १४ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । २०२२ मा यी ८ वटा कलेजले ११ अर्ब ६८ करोड ८० लाख रुपैयाँको व्यवसाय गरेका थिए । यो एक वर्षको अवधिमा ८ वटा मेडिकल कलेजको व्यवसाय करिब ४ प्रतिशतले बढेको देखिन्छ । यस समाचारमा हामीले देशका ठूला ८ वटा मेडिकल कलेजले विगत तीन वर्षमा गरेको व्यवसायको विश्लेषण गर्ने प्रयास गरेका छौं । आश्विन्स मेडिकल कलेज ललितपुरको भैंसेपाटीमा रहेको आश्विन्स मेडिकल कलेजले सबैभन्दा धेरै व्यवसाय गरेको छ । यो अस्पतालले २०२४ को मध्यसम्म २ अर्ब २ करोड ८० लाख रुपैयाँको व्यवसाय गरेको छ । यस मेडिकल कलेजले २०२३ मा २ अर्ब ८३ करोड ४० लाख बराबरको व्यवसाय गरेको थियो । यस मेडिकल कलेजले २०२२ मा २ अर्ब ७९ करोड १० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । यस्तै, २०२१ यो मेडिकल कलेजले २ अर्ब २२ करोड ६५ लाख रुपैयाँको व्यवसाय गरेको थियो । २००७ सालमा स्थापना भएको आश्विन्स मेडिकल कलेज एण्ड अस्पताल ३ सय शय्याको छ । जसले बहु–विशेषज्ञता स्वास्थ्य सेवा सुविधा पनि दिरहेको छ । यो अस्पतालले चिकित्सा, शल्यक्रिया र डायग्नोस्टिक सेवाहरूको विस्तृत श्रृङ्खला प्रदान गर्दै आएको छ । १ सय १२ रोपनी जग्गामा रहेको यो अस्पताल व्यावसायिक घराना महतो ग्रुपले सञ्चालन गरेको हो । यसको अध्यक्ष डा. उपेन्द्र महतो हुन् । चितवन मेडिकल कलेज सन् २००६ मा चितवन जिल्लाका डाक्टरहरूको समूहले स्थापना गरेको यो निजी कलेज हो । जसलाई पछि २०२४ जनवरी २५ मा सार्वजनिक लिमिटेडमा रूपान्तरण गरिएको थियो । यस अस्पतालले विभिन्न विशेषज्ञता क्षेत्रमा उन्नत डायग्नोस्टिक सुविधासहितको सेवा प्रदान गरिरहेको छ । त्रिभुवन विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चितवन मेडिकल कलेजले २०२३ मा १ अर्ब ८७ करोड ८० लाखको व्यवसाय गरेको छ भने २०२२ मा २ अर्ब ७ करोड ९० लाखको व्यवसाय गरेको छ । यो कलेजले २०२१ मा भने १ अर्ब ८७ करोड ८० लाखको व्यापार गरेको थियाे । तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने पछिल्लो समय यस मेडिकल कलेजको आम्दानी बढ्दै गएको छ । यूनिभर्सल मेडिकल कलेज रुपन्देहीको भैरहवामा रहेको यूनिभर्सल मेडिकल कलेजले पनि व्यवसाय बढाउँदै गएको छ । १९९८ मा निजी मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको यो कलेजले २०२३ मा १ अर्ब ४७ करोड ९० लाखको व्यवसाय गरेको छ । यस मेडिकल कलेजले २०२२ मा १ अर्ब ३९ करोड २० लाखको व्यापार गरेको छ भने २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यवसाय गरेको छ । ५०० शय्याको अस्पताल रहेको यो कलेजमा विद्यार्थीहरूले व्यावहारिक प्रशिक्षणका लागि अस्पतालमा काम गर्दै आइरहेका छन् । यस कलेजमा एमबीबीएस, बीडीएस (दन्त चिकित्सा), बीएससी नर्सिङ, बी फार्मा लगायत विभिन्न स्नातक कोर्सहरूका साथै स्नातकोत्तर कोर्सहरू पढाइ हुँदै आइरहेका छन् । मणिपाल कलेज पोखरामा रहेको मणिपाल मेडिकल कलेज नेपालको सबैभन्दा पुरानो मेडिकल कलेज हो । यसको पूरा नाम मणिपाल कलेज अफ मेडिकल साइन्सेस हो । १९९४ मा भारतको मणिपाल ग्रुपले स्थापना गरेको यो मेडिकल कलेजले एमबीबीएस, बीडीएस र अन्य स्वास्थ्य विज्ञानका विभिन्न कार्यक्रमहरू प्रदान गर्दै आइरहेको छ । दक्ष चिकित्सक उत्पादन गर्न र नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना भएको यो कलेजमा अत्याधुनिक प्रयोगशाला, लाइब्रेरी र अनुभवी प्राध्यापकहरू छन् । यस कलेजको आफ्नो मणिपाल शिक्षण अस्पताल पनि छ, जसमा विद्यार्थीहरूले क्लिनिकल प्रशिक्षण प्राप्त गर्छन् । कलेजले २०२४ को मध्यसम्म ७४ करोड ३० लाख रुपैयाँको व्यवसाय गरेको छ भने २०२३ मा १ अर्ब २१ करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । कलेजले २०२२ मा १ अर्ब ९ करोड ९० लाखको सञ्चालन आम्दानी गरेको थियो भने २०२१ मा १ अर्ब ७ करोड ७० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । नेशनल मेडिकल पर्साको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज नेपालको एक प्रसिद्ध मेडिकल कलेज हो । यो कलेज २००१ मा देवदह मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको संस्थापक समूहले स्थापना गरेको थियाे । नेशनल मेडिकल कलेज नेपालकै उत्कृष्ट चिकित्सा शिक्षण संस्थाहरूमा गनिन्छ र यो नेपाल मेडिकल काउन्सिल र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त छ । यहाँ एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ र अन्य स्नातक र स्नातकोत्तर तहका स्वास्थ्य विज्ञान कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यो कलेजमा अत्याधुनिक प्रयोगशालाहरू, लाइब्रेरी र अनुसन्धान केन्द्रहरू उपलब्ध छन् । नेशनल मेडिकल कलेजसँगै अस्पताल पनि छ, जसले विद्यार्थीहरूको क्लिनिकल प्रशिक्षणलाई सशक्त बनाउँदै आएको छ । ७५० भन्दा बढी शय्या भएकाे यो कलेजले पनि आफ्नो आम्दानी बढाउँदै गएको छ । यस मेडिकल कलेजले २०२३ मा १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ भने २०२२ मा १ अर्ब १९ करोड ४० लाख र २०२१ मा १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । यस मेडिकल कलेजको पनि आम्दानी बढ्दै गएको देखिन्छ । काठमाडौं मेडिकल कलेज काठमाडौं मेडिकल कलेज काठमाडौंको सिनामंगलमा अवस्थित छ । यो कलेजको स्थापना १९९७ मा भएको हो । कलेज त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ । यो कलेजले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ र एमडी/एमएसजस्ता विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्दै आइरहेको छ । यो कलेजको आफ्नै अस्पताल छ, जहाँ विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सिक्न सक्छन् । अस्पतालले विभिन्न आन्तरिक चिकित्सा, शल्यचिकित्सा, प्रसूति-स्त्री रोग, बाल रोग, मनोविज्ञानलगायतका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यो मेडिकल कलेजले २०२३ मा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने २०२२ मा १ अर्ब २८ करोड ८० लाख र २०२१ मा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । मेडिकल कलेजको आम्दानी पनि बर्सेनि बढ्दै गएको देखिन्छ । नेपाल र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको कलेजले विद्यार्थीहरूलाई नवीनतम् चिकित्सा प्रविधि सिकाउँदै आएको छ । किष्ट मेडिकल कलेज किष्ट मेडिकल कलेज नेपालको एक प्रमुख मेडिकल कलेज हो । जुन ललितपुरको इमाडोलमा छ । यसको स्थापना २००६ मा भएको थियाे । यो कलेज नेपाल मेडिकल काउन्सिल र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त छ । कलेजले एमबीबीएस, बीडीएस र बिएससी नर्सिङजस्ता विभिन्न स्नातक स्तरका स्वास्थ्य विज्ञानका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकाे छ । किष्ट मेडिकल कलेजसँगै किष्ट मेडिकल कलेज शिक्षण अस्पताल पनि छ । जसले ५०० भन्दा बढी शैय्यासहितका विविध स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको छ । कलेजमा अत्याधुनिक प्रयोगशाला, पुस्तकालय र मेडिकल प्रविधि छन् । कलेजले विद्यार्थीहरूको सैद्धान्तिक र प्रयोगात्मक अध्ययनलाई सहज बनाउँदै आएको छ । कलेजमा अत्याधुनिक उपकरण र अनुसन्धानको सुविधा पनि उपलब्ध छन् । यो कलेजले पनि आम्दानी बढाउँदै लगेको छ । नेपाल र विदेशका अनुभवी प्राध्यापक र चिकित्सकहरू रहेको यस मेडिकल कलेजले पनि विद्यार्थीहरूको शैक्षिक स्तरलाई बढाउने प्रयास गर्दै आएको छ । कलेजले २०२३ मा ७८ करोड ८० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ भने २०२२ मा ६८ करोड ८० लाख रुपैयाँ र २०२१ मा ५१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । किष्ट मेडिकल कलेजले नेपालमा गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्दै दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ । गण्डकी मेडिकल कलेज गण्डकी मेडिकल कलेज नेपालको एक प्रतिष्ठित चिकित्सा शिक्षा संस्था हो, जुन पोखरामा अवस्थित छ । २००७ मा स्थापना भएको यो कलेजले नेपाल मेडिकल काउन्सिल र मेडिकल काउन्सिल अफ इन्डिया र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त गरेको छ । यस मेडिकल कलेजमा एमबीबीएस, बीडीएस, बिएससी नर्सिङ र अन्य स्वास्थ्य विज्ञानसम्बन्धी स्नातक कार्यक्रमहरू सञ्चालित छन् । यो कलेजको पनि आफ्नै शिक्षण अस्पताल छ, जसमा ७५० भन्दा बढी शैय्या छन् । यो कलेजमा अत्याधुनिक प्रयोगशाला, पुस्तकालय र अनुसन्धान केन्द्रहरू पनि छन् । यस मेडिकल कलेजले २०२३ मा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने २०२२ मा १ अर्ब १५ करोड ७० लाख र २०२१ मा १ अर्ब ७ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । यस मेडिकल कलेजको व्यवसाय पनि हरेक वर्ष बढ्दै गएको देखिन्छ । साढे १५ अर्ब ऋण खोज्दै ८ वटा मेडिकल कलेजले ऋणका लागि रेटिङ गराएका छन् । मेडिकल कलेजहरूले ऋणका लागि विभिन्न रेटिङ एजेन्सीमा रेटिङ गराएका छन् । ८ वटा मेडिकल कलेजले कुल १५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबर ऋणका लागि रेटिङ गराएका हुन् । ललितपुरको भैंसेपाटीमा रहेको आश्विन्स मेडिकल कलेजले ४ अर्ब ८४ करोड २० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ भने पोखराको मणिपाल मेडिकल कलेजले २ अर्ब ऋणको लागि रेटिङ गराएको छ । यस्तै, पोखराकै गण्डकी मेडिकल कलेजले ८२ करोड ५० लाख, चितवन मेडिकल कलेजले २ अर्ब ४१ करोड, नेशनल मेडिकल कलेजले ९५ करोड, काठमाडौं मेडिकल कलेजले १ अर्ब ६१ करोड ४० लाख र किष्ट मेडिकल कलेजले १ अर्ब ५० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको रेटिङ एजेन्सीहरूले जानकारी दिएका छन् ।
सालझण्डी ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशतमात्रै काम, पर्यटकलाई सास्ती
बलेवा । निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी-ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ । निर्माण कम्पनीको सुस्त कामका कारण गति लिन नसकेको आयोजनाले आरोप लगाउने गरेको छ । आयोजनाले पनि एक दुई स्थानमा मात्र ठेक्का लगाएर अन्य स्थान अलपत्रै छाडेको छ । सडक अलपत्र पर्दा याममा ढोरपाटन हिँडेका पर्यटकले सास्ती खेप्दै आएका छन् । अझै पनि बागलुङभित्रको ६१ किमीमध्ये अधिकांश ट्र्याक मात्रै खुलेको छ । त्यो पनि यसअघि नै ग्रामीण सडकको रूपमा खुलेको खण्डमा त परिवर्तन नै भएको छैन । जिल्लाभित्रको ६१ किमी सडकमध्ये बुर्तिबाङदेखि ढोरपाटन पुग्ने सडकभित्रको पनि २२ किमी खण्डको ठेक्का अलपत्र छ । बुर्तिबाङ फल्लेघर ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द, ओमबुद्ध संयुक्त निर्माण कम्पनीले तोकिएको समयमा ३० प्रतिशतमात्रै काम गरेर अलपत्र पारेको हो । तोकिएको समय सकेर थपिएको समयमा पनि कुनै प्रगति नभएको सालझण्डी-ढोरपाटन सडक आयोजनाका प्रमुख गागलबहादुर भण्डारीले बताए । त्यस बाहेकको खण्डमा त झनै काम भएको छैन । खुलेको ट्र्याकसमेत समयमा मर्मत नहुँदा वर्षातमा खसेका पहिरो त्यतिकै छ । निसीखोला तर्फको खण्डमा सडकको कामै नहुँदा गाउँपालिकाका जनप्रतिनिधिसमेत आक्रोशित छन् । ‘न आयोजनाले काम गर्छ, न हामीले लगानी गर्न पाउँछौं, जनताले हामीलाई सोधेको प्रश्नको उत्तर पनि दिन सकेका छैनौं, ‘ गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले भने, ‘सोह्रवर्षदेखि काम नभएपछि जनताले पनि आयोजनाको काम छैन भन्न थालेका छन् ।’ दोहोरो पर्ने डरले पालिकाले लगानी नगरेको उनले बताए । विसं २०६५ मा ट्र्याक खुलाउने काम भए पनि त्यस यता अधिकांश खण्ड अलपत्र छ । फलेघर तर्फको भने २०७८ को कात्तिकमा ठेक्का लागेको थियो । २०८१ को वैशाख ४ गते पूरा गर्ने लक्ष्यमा पटक–पटक म्याद थपेर पनि ३० प्रतिशत मात्रै काम भएको हो । त्यो पनि संरक्षण नभएर सबै भत्केको छ । चिप्लो र खाल्डैखाल्डा भएकाले यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन् । २५ करोड ६१ लाख रुपैयाँमा ठेक्का लिएकोमा अहिलेसम्म वित्तीय प्रगति पनि ३० प्रतिशतमाथि जान नसकेको हो । ठेकेदारले आगामी पुस मसान्तका लागि थप गरेको समयमा पनि प्रगति शून्य भएपछि उक्त ठेक्का तोड्नुपर्ने अवस्था आएको भण्डारीले बताए । आगामी असार मसान्तभित्र सक्ने भरपर्दो आधार नपाएमा ठेक्का रद्ध गरेर नयाँ प्रक्रियामा जानैपर्ने अवस्था रहेको उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले सडक अलपत्र पर्दा पर्यटक फर्केको र जिल्लाको राजस्व संकलनमासमेत असर परेको बताए । सडक अप्ठ्यारो भएकै कारण ढोरपाटनका गर्भवती, सुत्केरीहरुले समयमा उपचार पाउन नसकेको, नेपाली सेना र आरक्ष कार्यालयको रासन ढुवानीमासमेत असर परेको छ । यो सडक अलपत्र परेपछि आयोजनाले समयमा काम गर्न ताकेता गर्दै अहिलेसम्म ठेकेदार कम्पनीलाई १० पटक पत्राचार गरेको छ । दुई पटक बैठक बसेर बोलाइएको थियो । आयोजनाको पत्राचारको समेत बेवास्ता गरेपछि ठेकेदार कम्पनीको तीन करोड ५६ लाख रुपैयाँ बैंक जमानत पनि रोक्का गरिएको छ । लुम्बिनीमा आएका पर्यटकलाई ढोरपापटनसम्म लैजान सहज हुने उद्देश्यले यो सडक निर्माण थालिएको थियो । कूल एक सय ९७ किमी लामो सडकको अहिलेसम्म अर्घाखाँचीको १८ किमी मात्रै कालोपत्र भएको छ । सडक मर्मत नभएकै कारण ढुवानी समस्याले ढोरपाटनका किसानले फलाएको आलुसमेत समयमा बजार पठाउन सकेका छैनन् । रासस
बेइजिङले सयौं अर्ब डलरको सहयोग स्वीकृत गर्ने अर्थशास्त्रीहरूको अनुमान
चिनियाँ राष्ट्रपति सी जिनपिङ । फाइल तस्बिर । काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार तनाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर अधिकारीहरूले महत्त्वपूर्ण बैठक टुङ्ग्याउँदा चीनले शुक्रबार आर्थिक रूपमा रूग्ण उद्योग, वित्तीय संस्था तथा फर्मका लागि ठूलो समर्थन प्याकेज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । अर्थशास्त्रीहरूले बेइजिङले सयौं अर्ब डलरको सहयोग स्वीकृत गर्ने अनुमान गरेका छन्, जसमा ऋणग्रस्त स्थानीय सरकारका साथै बैंकहरूका लागि नगदमा ध्यान केन्द्रित गरिएको छ । यसै साता बेइजिङमा चिनियाँ कानुन बनाउने सर्वोच्च निकायको बैठकका लागि भेला भएका नीति निर्माताहरूले अमेरिकी मतदानमाथि नजर राखेका थिए । ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा चिनियाँ सामानमा कर वृद्धि गर्ने वाचा गरेका थिए र राष्ट्रपतीय निर्वाचनमा उनको विजय भएको सन्दर्भमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीन अमेरिकासँगको कारोबारमा थप सङ्कट आउनसक्ने आँकलनहरू गरिएका छन् । चीनमा लामो समयदेखि घरजग्गा तथा आवासीय कारोबारमा सङ्कट देखिनुका साथै र दैनिक उपभोगसम्बन्धी सामानको कारोबारमा सुस्तता आएको छ । पर्यवेक्षकहरूका अनुसार बेइजिङले अर्थव्यवस्थाका लागि लामो समयदेखि प्रतीक्षा गरिएको ‘बाजुका स्टिमुलस’ को साथ यो सङ्कटलाई कम गर्न प्रयास गर्न सक्छ । यद्यपि, सावधानीको विवरण आउन अझै समय लाग्न सक्छ । आईएनजीमा ग्रेटर चाइनाका प्रमुख अर्थशास्त्री लिन सोङले भने, ‘नीति निर्माताहरूलाई ट्रम्पको सम्भावित जीतलाई सम्बोधन गर्ने मौका दिनका लागि अक्टोबरको अन्त्यमा तय गरिएको बैठक पछि सारिएको थियो।’ ‘हाम्रो विचारमा ट्रम्पको जितसँगै नीतिगत समर्थन प्याकेजको सम्भावना केही हदसम्म बढ्नेछ,’ उनले थपे । युनाइटेड ओभरसिज बैंक (युओबी) का हियान वेल्थ म्यानेजमेन्टका प्रमुख सूचना अधिकारी क्वी वाङले भने, ‘ट्रम्पको जीत चीनका लागि नराम्रो होइन किनभने यसले बेइजिङलाई ठूलो प्रोत्साहनका लागि ‘दबाब’ दिन सक्छ ।’ सरकारी सञ्चारमाध्यमले यसै हप्ता अधिकारीहरूले स्थानीय सरकारको ऋणको सीमा बढाउने विधेयकको पुनरावलोकन गरेको जनाएका थिए । गत महिना घोषणा गरिएको यो कदमले अधिकारीहरूलाई विकासको लागि घरजग्गा बजारलाई लामो समयको मन्दीबाट बाहिर निकाल्ने उद्देश्यल अप्रयुक्त भूमिको अधिग्रहणको लागि थप उधारो लिन अनुमति दिनेछ । बेइजिङले सेप्टेम्बरमा आर्थिक गतिविधिलाई बढावा दिने उद्देश्यले ब्याजदर कटौती र केही घर खरीद प्रतिबन्धहरूलाई खुकुलो पार्न धेरै उपायहरूको थालनी गरेको जनाएको थियो तर विश्लेषकहरूले अहिलेसम्म विस्तृत विवरणको अभावमा भएको बताएका छन् । ‘ट्रम्पको पुनः निर्वाचनले अझ बढी तात्कालिकताको आवश्यकता प्रदान गर्दछ,’ विशेषज्ञहरू भन्छन्, ‘यद्यपि अधिकारीहरूले थप सरकारी ऋणको थुप्रोबाट बच्ने प्रयास गर्दा अझै सावधानी कायम हुन सक्छ ।’ नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीले भने, ‘कुनै पनि सम्भावित प्रोत्साहन रकमको आकार ठूलो हुन सक्छ, तर दबाब पनि त्यस्तै छ ।’ उनले थपे, ‘बजारले चाहेको आर्थिक वृद्धि अझै पनि प्राप्त गर्न सक्दैन ।’ चीनका प्रधानमन्त्री ली कियाङले चीनले सन् २०२४ का लागि पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेमा आफू ‘पूर्ण विश्वस्त’ रहेको बताएका छन् । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देशको निर्यात गत महिना दुई वर्ष भन्दा बढीको सबैभन्दा तीव्र गतिमा बढेको देखाएको छ । रासस
कारागारबाट दुई पटक भागेका प्रतिवादी छठ मनाउने क्रममा पक्राउ
काठमाडौं । सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुई पटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् । सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका उनी गयराती नेपाल—भारत सीमाको कोशी गाउँपालिका—८ पथरचट्टान भन्ने स्थानबाट पक्राउ परेका हुन् । छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका—८ बाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फरार प्रतिवादी रहेका विनायकलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउण्ड गोली समेत फायर गर्नुपरेको जनाएको छ । प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउको क्रममा प्रतिवादी भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन घुँडामुनी गोली फायर गर्नुपरेको बताए । भाग्न खोज्ने व्यक्ति आत्तिएर लडेपनि उनलाई गोली भने नलागेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए । घटना सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको सुनसरी प्रहरीले पक्राउ परेकाको हकमा कानून बमोजिमको कार्वाहीको प्रकृया अघि बढाइएको जनाएको छ । सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएका विनायककुमार यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट अपराधी ठहर भएका थिए । अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९/०७/२३ गते सुरूङ खनेर भागेका थिए । सो बखत उनीसँगै बङ्गलादेशी नागरिक सुव्रत बेन र भारतीय अपराधी धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए । झुम्का कारागारबाट भागेका विनायकलाई केहि समय पछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो । यद्यपी कैद भुक्तानकालागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी त्यहाँबाट समेत भूकम्प गएको मौका छोपी २०७२/१/१२ गते भागेका थिए । प्रहरीकाअनुसार झुम्का कारागारबाट सुरूङ खनेर भागेका १२ जनामध्ये हालसम्म नेपाल र भारतमा गरी ७ जना मात्रै पक्राउ परेका छन् ।
बाढीको क्षतिले साढे १० अर्बको दाबी, ४ कम्पनीलाई ६० प्रतिशत भार
काठमाडाैं । असोजको दोस्रो साता आएको अविरल वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा ठूलो धनजनको क्षति गर्यो । अविरल वर्षसँगै आएको बाढी-पहिरोले अरबौंको क्षति गरेको थियो । जसमध्ये बीमा कम्पनीहरूमा हालसम्म साढे १० अर्ब बढी रुपैयाँको दाबी पेस भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज २० गतेसम्म बीमा कम्पनीहरूमा १० अर्ब ५३ करोड २७ लाख रुपैयाँको दाबी पेश भएको हाे । जसमध्ये बीमा कम्पनीहरूले ४७ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी दिइसकेका छन् । साढे १० अर्बको दाबी पेस हुँदा ४ कम्पनीमा अत्यधिक भार पर्ने देखिएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, दि ओरिएन्टल नेपाल, शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्स १ अर्ब रुपैयाँ भन्दा बढीको दरले दाबी पेश भएको छ । सिद्धार्थ प्रिमियरमा २ अर्ब ५६ करोड १५ लाख रुपैयाँको दाबी पेश हुँदा ओरिएन्टलमा १ अर्ब ५० करोड ७ लाख, शिखरमा १ अर्ब ३ कराेड ९४ लाख र नेकोमा १ अर्ब २ करोड ४६ लाख रुपैयाँको लागि दाबी पेश भएको छ । उक्त ४ कम्पनीमा ६ अर्ब १३ करोड रुपैयाँभन्दा धेरैको दाबी परेको छ । जुन कुल दाबी रकमको ५८.२३ प्रतिशत हो । हालसम्म ४७ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ, जसमध्ये सबैभन्दा धेरै शिखरले भुक्तानी गरेको छ । शिखरले २५ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ भने सिद्धार्थ प्रिमियरले ७ करोड ६७ लाख, नेकोले २ करोड २३ लाख, हिमालय एभरेष्टले ३ करोड ५५ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ करोड ३८ लाख, आईजीआई प्रुडेन्सियलले १ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।