पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने
काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय-जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए । ‘जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरू, मेयरसहित जनप्रतिनिधिहरू तथा स्थानीयहरूको उल्लेख उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरेका छौं । अब काम द्रुत गतिमा हुन्छ,’ निर्माण कम्पनीका सञ्चालक केदेमले भने । पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशीढुङ्गा बन्ने बताउँदै केवलकार निर्माणकार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने मेयर मादेनले बताए । यस अघि केबलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको र शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए । पौडेलले अबको १५ महिना भित्र केबलकार चड्न पाइने जानकारी दिए । उनका अनुसार पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्नेछ ।
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको लर्काे, नेपाल एयरले दुबई र क्वालालम्पुर उडान भर्दै
काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् । ‘गौतमबुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलोपटक यती धेरै सङ्ख्यामा उडान हुन लागेको छ, यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरु बढ्नेछन् र यात्रुहरुको आकर्षण पनि बढ्नेछ,’ उनले भने । नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ । साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ । गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ । उडान तालिकाअनुसार आज बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण हुँदैछ । यो विमान भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किनेछ । यसअघि १० महिना उडान भरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ । यस्तै फ्लाई दुबईको विमान पहिलोपटक भैरहवा विमानस्थलमा अवतरण हुँदैछ । आज दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आउने महाप्रबन्धक तिवारीले जानकारी दिए । भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाडौं भएर दुबई फर्किने तालिका छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई-भैरहवा र भैरहवा-काठमाडौं-दुबई उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सको भैरहवाबाट दुबई र क्वालालम्पुर उडान नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान भर्दैछ । शुक्रबारका लागि निर्धारित नेपाल एयरलाइन्सको विमानको उडान समेत आजलाई सारिएको महाप्रबन्धक तिवारीले बताए । नेपाल एयरलाइन्सले प्राविधिक कारण देखाउँदै शुक्रबारको उडान शनिबारलाई सारेको जनाएको छ । नेपाल एयरलाइन्सको विमान काठमाडौंबाट भैरहवा अवतरण गरी दुबई उड्ने विमानस्थलले उडान तालिका बनाएको छ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा साताको मङ्गलबार एक उडान भर्नेछ । यो एयरलाइन्सको विमान बिहान ७ बजे भैरहवा अवतरण हुनेछ । यो गन्तव्यमा नेपाल एयरलाइन्सले अघिल्लो वर्ष उडान सुरु गरेको थियो । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । पछि प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो । फ्लाई दुबईले कात्तिकदेखि दुबई-भैरहवा र भैरहवा-काठमाडौं हुँदै दुबई उडान भर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए । विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन् । सुरुआती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरुप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ । अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेकाले सोही बमोजिम आवश्यक प्राविधिक जनशक्तिदेखि सबैखाले तयारी गरिएको छ । प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ । अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ । अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ । प्राविधिक पक्ष व्यवस्थापन गरिएको छ । विमानस्थलमा २१ यात्रुसेवा काउन्टर छन् । उपकरण जडान भई अटोमेसनको काम भएको छ । टिआइएको स्तरोन्नति सुरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को स्तरोन्नतिको काम शुक्रबार रातिदेखि सुरु भएको छ । काठमाडौं विमानस्थल मर्मत र विस्तारको काम सुरु भएकाले गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिना विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको विमानस्थलका अधिकारीले बताएका छन् । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज घोषण गरेको छ ।
आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौं । आज विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ । सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ । विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य रहको छ ।
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनीले तिर्न थाले विद्युतीय सेवा कर
काठमाडौं । नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन् । ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत तथा सूचना अधिकारी ध्रुवप्रसाद पाण्डेका अनुसार हालसम्म दर्ता भएका २० कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा कारोबार मूल्यको दुई प्रतिशत डिएसटी तिर्न थालेका हुन् । आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनले नेपालमा पहिलोपटक विद्युतीय सेवा कर (डिएसटी) को व्यवस्था ल्याएको थियो । यो व्यवस्था कार्यान्वनयमा आएको दुई आर्थिक बितिसक्दा पनि नेपालमा विद्युतीय सेवा दिइरहेका सबै कम्पनीलाई डिएसटीमा आवद्ध गर्न भने सकिएको छैन । कार्यालयका अनुसार हालसम्म गुगल एसिया प्यासिफिक प्राइभेट लिमिटेड, गुगल आयरल्यान्ड लिमिटेड, गुगल डिजिटल इङ्क, लिङ्क्डइन सिङ्गापुर प्राइभेट लिमिटेड, एनसीएस पिअर्सन इन्कर्पोरेसन लिमिटेड, अमेजन डट कम सर्भिस एलएलसी र अमेजन वेभ सर्भिस इन्कर्पोरेसन लिमिटेडलगायत कम्पनी छन् । त्यस्तै, इब्स्को इन्टरनेसनल इन्कर्पोरेस, मेटा प्लाटफम्र्स आयरल्यान्ड लिमिटेड, माइक्रोसफ्ट रिजनल सेल्स प्राइभेट लिमिटेड, एडब सिस्टोम्स सफ्वेयर आयरल्याण्ड लिमिटेड, नेटफ्लिक्स प्राइभेट लिमिटेड, जोहो कर्पोरेसन प्राइभेट लिमिटेड, प्रोमेट्रिक जापान कम्पनी लिमिटेड, एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए), पिअर्सन एजुकेसन लिमिटेड, एप्पल डिस्ट्रिब्युसन इन्टरनेसनल लिमिटेड र एप्पल सर्भिस प्राइभेट लिमिटेड ठूला करदाता कार्यालयमा दर्ता छन् । नेपालले केही समयअघिमात्र सर्तसहित प्रतिबन्ध फुकुवा गरेको टिकटक पनि डिएसटी तिर्ने भएको छ । हालसम्म नेपालमा दर्ता भएका कम्पनीमध्ये गुगल एसिया प्यासिफिक प्राइभेट लिमिटेड विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन मध्येको एक गुगलको माउ कम्पनी हो भने सामाजिक सञ्जालहरू फेसबुक (इन्स्टाग्राम र ह्वाट्सएपसमेत), टिकटक र लिङ्क्डइन पनि दर्ता भएका छन् । दर्ता भएका अरु कम्पनीमध्ये एनसीएस पिअर्सन इन्कर्पोरेसनले विभिन्न खालका मोबाइल एप्लिकेसन बनाउने गर्छ भने इब्स्को इकर्पोरेसनले रिसर्च प्लेटफर्म र डाटाबेस व्यवस्थापनसँग सम्बन्धित कम्पनी हो । माइक्रोसफ्ट पनि सफ्टवेयर निर्माण र सूचना प्रविधिका क्षेत्रा विश्वकै ठूलो कम्पनीमध्ये एक हो । आर्थिक ऐनमा डिएसटीको विषय राखिएसँगै नेपालमा विद्युतीय सेवा दिइरहेका कम्पनीहरु कर प्रणालीमा दर्ता हुने र त्यसले राजस्वमा पनि उल्लेख्य योगदान गर्ने अपेक्षा गरिएको थियो । यस्ता कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भएपनि अझै अधिकांश कम्पनीहरू भने कर प्रणाली बाहिर छन् । विद्यमान आर्थिक ऐनको व्यवस्थाअनुसार नेपालमा विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आयवर्षअनुसार आफ्नो कारोबारको विवरण तथा कारोबार मूल्यको दुई प्रतिशत कर दाखिला गर्नुपर्छ । तर ठूला करदाता कार्यालयमा दर्ता हुन नआएका कम्पनीलाई कसरी आवद्ध गराउने र कर तिराउने भन्ने स्पष्ट व्यवस्था आर्थिक ऐनमा छैन । नेपालमा सेवा दिइरहेका सबै सूचना प्रविधि क्षेत्रका लागि यस्तो कर प्रणाली बाध्यकारी हुन नसक्दा अधिकांश कम्पनी कर प्रणालीभन्दा बाहिरै रहेको देखिन्छ । चालु आर्थिक वर्षको आर्थिक ऐनले डिएसटी लाग्ने कारोबार मूल्य २० लाख रुपैयाँबाट बढाएर तीस लाख पुर्याएको थियो । जसअनुसार वार्षिक रू तीस लाखसम्मको कारोबारमा भने अहिले यस्तो कर लाग्दैन । त्यस्तै, आर्थिक ऐनले तोकिएको समयभित्र विवरण दाखिला नगरेमा वार्षिक कारोबार रकमको शून्य दशमलव एक प्रतिशत प्रतिवर्षका दरले हुने रकम शूल्क लाग्ने र कर तिर्नुपर्ने तोकिएको मितिभित्र कुनै व्यक्तिले कर दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था रहेको छ । यसरी दाखिला गर्नुपर्ने कर रकम कम दाखिला गरेमा वा लुकाए छिपाएमा त्यसरी कम गरेको कर रकमको ५० प्रतिशत जरिवानासमेत लाग्नेछ व्यवस्था ऐनमा छ । तर विदेशमा सेवा दिइरहेका कम्पनीहरूले नेपालमा कर तिर्नका लागि अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था आर्थिक ऐनमा भने कहीँ पनि राखिएको देखिँदैन । नेपालभित्र सेवा दिइरहेका सामाजिक सञ्जाललगायत विद्युतीय सेवा दिने कम्पनीहरुलाई करको दायरामा ल्याउन नसक्दा ठूलो परिमाणमा राजस्व गुमिरहेको सरकारी अध्ययनलेसमेत देखाएका छन् । तत्कालीन राजस्व परामर्श समितिले तयार पारेको ‘राजस्व दायरा वृद्धिका सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन, २०७९’ ले पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालमार्फत हुने विज्ञापनबाट मात्रै ठूलो रकम बाहिरी रहेको उल्लेख गरेको छ । ‘नेपालमा कानुनी रूपमा दर्ता नभएका सामाजिक सञ्जालमा विज्ञापन गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । त्यस्ता सामाजिक सञ्जालहरूले वार्षिक अर्बौं रुपैयाँ नेपालबाट विदेशतर्फ लगिरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ । राजस्व परामर्श समितिको प्रतिवेदनले डाटा पोर्टल डट कमको तथ्याङ्कलाई उदृत गर्दै सन् २०२२ सम्ममा नेपालमा फेसबुकका एक करोड ३३ लाख प्रयोगकर्ता रहेको उल्लेख गरेको छ । ‘बजारसम्बन्धी अनुसन्धान गर्ने कम्पनी स्टाटिस्टाकाका अनुसार फेसबुकको प्रति बिज्ञापनकर्ता विज्ञापन आम्दानी सन् २०२१ मा ४० दशमलव ९६ अमेरिकी डलर पुगेको छ । उक्त आय सन् २०२० मा ३२ दशमलव ०३ अमेरिकी डलर बराबर थियो,’ राजस्व परामर्श समितिको प्रतिवेदनमा भनिएको छ, ‘यसप्रकारले हेर्दा नेपाली प्रयोगकर्ताले विज्ञापन हेरेवापत फेसबुकले वार्षिक ६० अर्बभन्दा बढी रकम आय गर्दै आइरहेको छ ।’ यो तीन वर्ष पूरानो तथ्याङ्क हो । हालसम्म नेपालमा कति कम्पनीले विद्युतीय सेवा दिइरहेका छन ? र उनीहरूको अनुमानित वार्षिक कारोबार कति छ ? भन्ने विस्तृत अध्ययने भने भएको देखिदैन । रासस
नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राडा मरहठ्ठा नियुक्त
काठमाडौं । नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयले प्राडा मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो । विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहेका डा. मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराए । कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्राडा अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा मरहठ्ठाले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । कलेजका अस्पताल निर्देशकका रूपमा रहेर काम गर्दा हासिल गरेको अनुभव र सिकाइलाई प्रिन्सिपलको भूमिकामा काम गर्दा उपयोग गर्दै अधिकतम कलेजको हित र श्रीवृद्धिका लागि आफू लागिपर्ने उनको प्रतिबद्धता छ । त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिसकेका डा मरहठ्ठासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनसमेत भएर काम गरेको अनुभव छ । कलेज व्यवस्थापनले प्रिन्सिपल पदका लागि तीनजनाको नाम विश्वविद्यालयलाई सिफारिस गरेकोमा विश्वविद्यालयले प्राडा मरहठ्ठालाई प्रिन्सिपल नियुक्त गरेको हो । काठमाडौं विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा विश्वविद्यालयले नै प्रिन्सिपल नियुक्त गर्ने प्रावधान छ । यसअघि प्राडा प्रमोदकुमार क्षेत्रीले ६ वर्ष कलेजको प्रिन्सिपलको भूमिकामा थिए । पारिवारिक कारणले उनले राजिनामा दिएपछि नयाँ प्रिन्सिपल नियुक्त गरिएको हो ।
वेवारिसे अवस्थामा रहेको सामानसहितको ट्रक नियन्त्रणमा
काठमाडौं । भारतबाट अवैधरूपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको सामानसहितको ट्रक सशस्त्र प्रहरीले कार्तिक २२ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरवेडी इलाकाबाट नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट खटिएको सुरक्षा फौजले ना ४ ख ५७८४ नम्बरको ट्रकमा लोड गरी वेवारिसे अवस्थामा रहेको १ सय ४० किलो चिनी, ३३ बोरा धान र २० पोका भुजा बराद गरेको हो । बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ । उक्त सामान तथा ट्रकको भन्सार दाखिला मूल्य ४६ लाख १९ हजार ६ सय रुपैयाँ रहेको छ ।
सुर्खेतमा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु, २५ घाइते
दैलेख । सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । मृत्यु र घाइतेको पहिचान खुलेको छैन । आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गुराँस गाउँपालिका उपाध्यक्ष शिवा खड्काले दुर्घटनाका घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको बताए । तीस जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।
अमेरिकामा मनाइयो छठ
वाशिङ्टन डिसी । नेपालका तराई क्षेत्रमा महत्वका साथमा मनाइने छठपर्व अमेरिकामा पनि मनाइएको छ । नेपालीको बाहुल्यता रहेको अमेरिकाका न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायोलगायत राज्यमा स्थानीय मन्दिरमा गएर नेपालीले छठपर्व मनाइएका हुन् । मेरिल्याण्डको जर्मनटाउनमा रहेको नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टरले संयोजन गरेको छठ पर्वमा बिहीबार साँझ सन्ध्याकालमा अर्घ दिने नेपालीको बाक्लो उपस्थिति थियो । आयोजकका अनुसार स्थानीय समय अनुसार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिनेछ । आयोजक मोहन यादवले विभिन्न स्थानमा छठको लागि ठाउँ चयन गर्नु परेकामा विगत केही वर्षदेखि नेपालीले स्थापना गरेको मन्दिरमा मनाउन पाउँदा खुसी लागेको बताए । उनले बिहीबार व्रर्तालुले तीन दिनसम्म उपवास बसेर छठी माताको पूजा गरेका भन्दै यसमा युवा पुस्तालाई पनि सहभागी गराइएको जानकारी दिए । यादवले भने, ‘हामीहरूले यो प्रवासी भूमिमा हाम्रो सनातन धर्मको मूल्य मान्यता र यसको वैज्ञानिक कारणसहित दोस्रो पुस्तालाई छठ मनाउन उत्प्रेरित गरिरहेका छौँ । अमेरिकामा नेपाली रहेको स्थानमा कतिपयले आफ्नै घरमा, समूहमा मिलेर तथा मन्दिरमा गएर छठ पर्व मनाउने गरेका छन् ।’