यी १७ कम्पनी र १४ म्युचुअल फण्डमा छ एनएलजी इन्स्योरेन्सको लगानी
काठमाडाैं । एनएलजी इन्स्योरेन्सले विभिन्न १७ वटा पब्लिक कम्पनीमा सेयर लगानी गरेको छ । एनएलजीले १७ पब्लिक कम्पनी र १४ वटा म्युचुअल फण्डमा २३ करोड १२ लाख रपैयाँ बढी लगानी गरेको छ । जसमध्ये ३ बैंकसहित ५ कम्पनीको संस्थापक सेयरमा लगानी रहेको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरमा ११ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले समग्र सेयर बजारमा लगानी गरेकोमध्ये करिब ५० प्रतिशत लगानी नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरमा लगानी गरेको हो । यसैगरी, ७ लाख २७ हजार रुपैयाँ ग्लोबल आईएमई बैंकको संस्थापक सेयरमा, ३ करोड ९५ लाख ३६ हजार रुपैयाँ सिटिजन्स बैंकमा, माछापुच्छ्रे क्यापिटलमा ५७ लाख ५० हजार र एनआईसी एशिया बैंकको संस्थापक सेयरमा १८ लाख ८० हजार रुपैयाँ रहेको छ । १४ म्युचुअल फण्डमा लगानी कम्पनीले विभिन्न १४ वटा म्युचुअल फण्डमा लगानी गरेको छ । लक्ष्मी ईकुटी फण्डमा १ करोड ३८ लाख ९४ हजार, मेगा म्युचुअल फण्ड एकमा २५ लाख, नबिल ब्यालेन्स फण्ड तीनमा १ लाख ६६ हजार, सनराइज ब्लू चिप फण्ड एकमा २५ लाख, लक्ष्मी उन्नति कोषमा १५ लाख १३ हजार, एनआईसी एशिया डायनामिक फण्ड एकमा २५ लाख, कुमारी ईकुटी फण्ड एकमा २५ लाख र सानिमा लार्ज क्याप फण्डमा २५ लाख रुपैयाँ कम्पनीले लगानी गरेको छ । त्यसैगरी, एनआईबीएल समृद्धि फण्डमा २५ लाख, एनआईसी सेलेक्ट ३० फण्डमा ५० लाख, प्रभु सेलेक्ट फण्ड एकमा ७५ लाख, एनएमबी सरल बचत फण्डमा ९५ हजार, आरबीबी म्युचुअल फण्ड एकमा २५ लाख र आरबीबी म्यूचुअल फण्ड दुई मा ३० लाख रुपैयाँ लगानी रहेको छ । ८ लघुवित्त सेयरमा पनि लगानी कम्पनीले ८ वटा लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गरेको छ । फष्ट माइक्रो फाइनान्सको सेयरमा ६४ लाख ९ हजार, फरवार्ड माइक्रो फाइनान्स लघुवित्तको सेयरमा १८ लाख ७६ हजार, साना किसान लघुवित्तमा १३ लाख ६८ हजार, समिट लघुवित्तको सेयरमा १४ लाख ८१ हजार, विजय लघुवित्तमा १५ लाख १६ हजार, मिर्मिरे लघुवित्तमा १५ लाख ५६ हजार र इन्फिनिटि लघुवित्तको सेयरमा १७ लाख ७ हजार रुपैयाँ लगानी गरेको छ । यसैगरी, आरएसडीसी माइक्रो फाइनान्सको सेयरमा २४ लाख ७८ हजार रुपैयाँ लगानी गरेको छ । यसका साथै कम्पनीले हिमालयन डिस्टिलरीको सेयरमा ४१ हजार, अपि पावरको सेयरमा १० लाख २७ हजार र यूनाईटेड मोदी हाइड्रो पावरको सेयरमा २ हजार रुपैयाँ लगानी गरेको छ ।
उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ । बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौँ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट छलफल गर्छौँ ।’ सह–महामन्त्री बुर्लाकोटीले भने,’बैठकमा पार्टीको रानीतिक, साङ्गठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ ।’
हिमाल हेर्दै घरबासमा रमाउदै विदशी पर्यटक
गलकोट । पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास– घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् । प्रकृतिकरुपमा विधिकिरणका कारण भकुण्डेले विदेशी पर्यटकलाई मोहनी लगाएको छ । घरबासमा पुगेका विदेशी पर्यटकले अर्गानिक खानाका परिकारसँगै हिमाल हेर्न पाउने भएपछि भकुण्डे पुग्ने जो कोही पर्यटकले घरबासको प्रशंसा गरेकै हुन्छन् । केही पर्यटक हेलिकप्टरमार्फत घरबासमा आएका छन् । तर पाँच वर्षदेखि नियमित रुपमा भकुण्डे आइरहने विदेशी पर्यटक भने विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छन् । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा अहिले युकेका पाँच जना र अमेरिकाका एक गरी छ जना विदेशी पर्यटक पुगेका छन् । उनीहरुले यहाँबाट देखिने हिमालले मोहनी प्रतिक्रिया दिएका छन् । बुधबार मात्रै पर्यटन व्यवसायी महादेव शर्माको नेतृत्वमा भकुण्डे पुगेका छ विदेशी पर्यटक तीन दिन घरबासमै बस्नेछन् । उनीहरुको पहिलो रोजाइ हिमालको दृश्य परेको छ । बिहान उठ्नासाथ आँखै अघिका हिमाल देख्दै अर्गानिक साग, सिस्नु, कोदो र भट्टको परिकार खाँदा छुट्टै आनन्द आएको युकेदेखि भकुण्डे घुम्न आएका म्यागीले प्रतिक्रिया दिए । ‘आफूले भकुण्डेको तस्बिर र भिडियो देखेकै कारण यहाँ आएको थिएँ, पुराना घर स्वच्छ हरियाली वातावरणमा बसेर हिमाल हेर्दा निकै आनन्द लाग्यो’. म्यागीले भने, ‘यस ठाउँमा आउने जो कोहीले यो रमाइलो पल बिर्सन सकिदैन होला ।’ विदेशी पाहुनाले घरबास सञ्चालकसँगै कोदो टिप्ने, साग केलाउने र अन्य घरायसी काममासमेत सघाउने गरेका छन् । घरबासमा विदेशी पर्यटकको आठौँ समूह लिएर आएको पर्यटन व्यवसायी महादेव शर्माले बताए । शर्माले भेगन समूहमा आबद्ध विश्वका पर्यटक एक पटक भकुण्डे आउने चाहना व्यक्त गरेको बताए । उनले यहाँबाट देखिने हिमाल, सनराईज र सनसेट, हरियाली वातावरण र सिस्नो, ढिँडो र गुन्द्रुक लगायतको परिकारले पाहुनालाई मोहनी लगाउने गरेको जानकारी दिए । शर्माकै पहलमा भकुण्डेमा पाँच वर्ष अघिमात्रै विदेशी पर्यटक भित्रिएका थिए । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) रोजाइमा पर्नुको काराण यहाँको आतिथ्यता, कला संस्कृति र प्राकृतिक मनोरमको दृश्य रहेको अनुभव शर्माले सुनाए । उनले भकुण्डे आएको पाहुँनालाई आगमी वर्षदेखि मुस्ताङसमेत लैजानेगरी समय थप गर्ने बताए । भकुण्डे जिल्ला सदरमुकामदेखि तीन घण्टाको पैदलमार्फत पुग्न सकिन्छ । अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले पछिल्लो समय स्वदेशी पर्यटक मात्रै नभएर अमेरिका, युके, क्यानडा, जापान, चीन र कोरियाबाट विदेशी पर्यटक आउने गरेको बताए । उनीहरुले आफ्नो घरको आगनबाट देखिने धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशङ्खलाले मोहनी लगाउने गरेको बताउने गरेको थापाको भनाइ छ । ‘संस्थागत रुपमा महादेशव शर्माको पहलमा यहाँ विदेशी आउन थाल्नुभयो,अन्य सङ्घ संस्थाबाट आउनुभएका विदेशी पर्यटकलाईसमेत भकुण्डे घुमाउन ल्याउनुहुन्छ, अहिले घरबासमा स्वदेशी र विदेशी पर्यटक दुबैको आकर्षण छ, यहाँ अर्गानिक खानाको परिकार र प्राकृतिक दृश्य नै पहिलो रोजाइ हो’, घरबास सञ्चालक थापाले भने, ‘भेगनमा आबद्ध पर्यटकले हामीलाई खान बनाउनेदेखि खेतबारीको काममा समेत सघाउन खोज्नुहुन्छ, उनीहरुले यहाँको कामको विषयमा जान्न खोज्नुहुन्छ, गाउँमा बसेर विदेशी पर्यटकलाई घरबासको माध्यमबाट स्वागत सत्कार गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।’ नेपालको खेतीपाती र कला–संस्कृतिका विषयमा बाह्य पर्यटकलाई चासो हुने भएकाले उनीहरूले परीक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुग्ने गरेको पाइन्छ । मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आबद्ध विदेशी पर्यटकले त्यहाँको समुदाय र विद्यालयलाई समेत विभिन्न सहयोग गदै समेत आएका छन् । बाह्य पर्यटकको मुख्य रोजाइमा हिमशङ्खला, खानपान र कला–संस्कृति नै रहेको थापाले बताए । घरबासमा एक रातमा ८० जना पर्यटक बस्ने व्यवस्था छ । घरबास सञ्चालकले गाउँमै उत्पादित आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो र गुन्द्रुकको स्वाद लिन पाइन्छ । २०७३ सालमा स्थापना भएको जिल्लाकै पहिलो अतिथि सत्कार घरबासमा मगर समुदायका १५ घर समावेश गरिएका छन् । घरबास सञ्चालनमा आएसँगै यहाँका स्थानीयहरु खेतीपातीको कामसँगै आयआर्जनमा जोडिएका हुन् । भुकण्डेको शिरमा रहेको मुलाबारी भ्यूटावर, मध्यभागमा रहेको बराह ताल पर्यटक लोभ्याउने अतिरिक्त माध्यमसमेत रहेका छन् । रासस
टप एयरलाइन्सको दुःखद अवसान, बैंकले सम्पत्ति जफत गर्दा मालिकको विदेश पलायन
काठमाडौं । भारतको सर्वोच्च अदालतले संकटमा परेको जेट एयरवेजलाई लिक्विडेसनमा लैजान आदेश दिएको छ । यो सँगै सन् २०१९ मा एक अर्ब २० करोड डलरको ऋणसहित पतन भएको एयरलाइन्सको पाँच वर्ष लामो कानुनी प्रक्रिया समाप्त भएको छ । कुनै बेला देशको दोस्रो ठूलो एयरलाइन्स रहेको जेट एयरवेजले पाँच वर्षअघि आर्थिक समस्या सामना गर्नु परेपछि यसका विमानहरू ग्राउन्डेड हुनुका साथै सञ्चालन रोकिएकाे थियो । ऋणदाताहरूले सोही वर्ष कम्पनी टाट पल्टेकाे उद्घाेष गरेका थिए । गत वर्ष राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरणले दिवालीयापन समाधान प्रक्रियाको हिस्साका रूपमा संयुक्त अरब इमिरेट्सका व्यापारी मुरारीलाल जालनसहितको खरिदकर्ता समूहलाई एयरलाइन्सको स्वामित्व हस्तान्तरण गर्न अनुमति दिएको थियो । तथापि समाधान प्रक्रिया कसरी कार्यान्वयन गरियो भन्ने बारेमा ऋणदाताहरूले उठाएका चिन्ताहरूले अदालती अपिलहरू निम्त्याएको थियो । भारतको सर्वोच्च अदालतले बिहीबार स्वामित्व हस्तान्तरणलाई खारेज गर्दै स्वामित्व हस्तान्तरणले अधिग्रहणका लागि कानुनी सर्तहरू पूरा नगरेको र खरिदलाई अगाडि बढ्न अनुमति दिनु ‘कानुनमा विकृत र अस्थिर’ हुने बताएको छ । अदालतले मुम्बईको दिवालिया अदालतलाई एयरलाइन्सको सम्पत्तिको बिक्री गर्ने प्रक्रिया हेर्ने ‘लिक्विडेसन सुरु गर्नका लागि आवश्यक औपचारिकताहरू’ सुरु गर्न आदेश दिएको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशको उड्डयन क्षेत्र कडा प्रतिस्पर्धी छ र खराब व्यवस्थापन, अत्यधिक लाभप्रद र प्रतिकूल बजार अवस्थाको संयोजनका कारण धेरै एयरलाइन्सहरू समस्यामा परेका छन् । भारतमा एकपछि अर्को एयरलाइन्स कम्पनीमा समस्या सिर्जना भइरहेको छ । बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका कम्पनीको धितो जफत गरिरहेका छन् । यसले लगानीकर्ता तथा ठूला उद्योगीहरु विदेश पलायन हुन बाध्य भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ऋणग्रस्त भारतीय बजेट एयरलाइन गो फर्स्टले गत वर्ष अमेरिकी एयरोस्पेस कम्पनी प्र्याट एन्ड ह्विटनीको ‘दोषपूर्ण’ इन्जिनहरूलाई यसको आधा फ्लिटको ग्राउन्डिङका लागि दोष दिँदै दिवालियापन संरक्षणका लागि दायर गरेको थियो । राज्यको स्वामित्वमा रहेका बैंकहरूलाई करोडौं डलरको ऋण तिर्न असफल भएपछि सन् २०१२ मा किङफिसर एयरलाइन्स बन्द भएको थियो । यसका मालिक बियर उद्योगपति विजय माल्याले चार वर्षपछि भारत छोडेर भागेका थिए । उनी घरमा वित्तीय धोखाधडीका आरोपहरूको सामना गर्न लन्डनबाट सुपुर्दगीविरुद्ध लडिरहेका थिए । रासस
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु
चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको हो । यसका लागि आवश्यकपर्ने उपकरण एक करोड ५० लाख रुपैयाँमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा सुरु गरिएको हो । उनका अनुसार एक जना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो । तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा सुरु गरिएको उनले जानकारी दिए । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार यसअघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो । केही नमूना काठमाडौं जाने गर्दथ्यो । नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उनले जानकारी दिए । बाहिर पठाउँदा ३० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा १२ हजार रुपैयाँ मात्रै लाग्ने गर्दछ । अस्पतालमा रक्त क्यान्सरका बिरामी धेरै नै हुने भएकाले बिरामीलाई सहज भएको छ । उनले भने ‘छिटो रोग पहिचान गर्न पनि सहज भएको छ ।’ कार्यकारी निर्देशक डा पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफू लागिरहेको बताए । अस्पतालमा थन्किएर बसेको सिटी स्क्यान मर्मत गरेर सञ्चालनमा ल्याइएको छ,भने लामो समयदेखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याइदै छ ।
हिमालको अस्तित्व मेटिएर जाने चिन्ता, आगामी कोपमा पनि हिमालकै मुद्दा प्राथमिकतामा
काठमाडौं । बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् । रामकृष्ण ढकालको स्वरमा गुञ्जिने यो गीत हरेक नेपालीहरुको मनमनमा गुञ्जिरहन्छ सदाबहार । गीतले भनेको जस्तै सधैँभर हिमाल देख्न नपाइने हो कि भन्ने डर पनि उत्तिकै छ । विश्वव्यापी रुपमा बढिरहेको जलवायु परिवर्तनको असरले हाम्रा यी सेता हिमालहरु कतै कलापत्थरमा त परिणत हुने होइन ? हाम्रा भावी पुस्ताका लागि हिमाल थियो रे अनि हिमाल सेतै हुन्थे रे भन्ने एकादेशको कथा जस्तो त हुने होइन ? यी र यस्ता प्रश्नहरुले गीतले भने जस्तै बिहान उठेर हिमाल हेर्न सधैँ नपाइएला कि भन्ने चिन्ता पनि छ । हिमालकै कारण त हो नि नेपाली भूभाग साँच्चै प्रकृतिको बेजोड सङ्गम बनाएको । यहाँका हिमालदेखि तालतलैयाले लगाएको मोहनीले त हो नि पर्या–पर्यटकहरुको नेपाल आकर्षणको मुख्य गन्तब्य बन्न सफल भएको । यसैको अस्तित्व जलवायु परिवर्तनको असरले समाप्त गरेमाको पर्यटक आउला नेपाल ? अनि कस्तो देखिएला नेपाल ? हिमालको महत्व अपार भएर नै होला कवि तथा गीतकारहरुले हिमालको महिमा बोकेको रचनाहरु रचेका । नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको स्व.माधवप्रसाद घिमिरेको यो कविताको हरफहरुले पनि हिमालको महत्वको महिमा प्रस्तुत गरेको छ । उनले सायद हिमाल नै नरहलाकी भन्ने चिन्ताले पनि होला, हिमाल रहेन भने नेपाल र नेपालीको नै अस्तित्व छैन भन्ने सन्देश कवितामार्फत दिएका छन् । नेपालीको मनमा अखण्डित रूपमा स्वदेश वा विदेश जहाँ बसेका भए पनि हिमाल बसेकै हुन्छ । हिमालको अस्तित्व कसरी जोगिएला भन्ने चिन्ता उत्तिकै छ । विश्व समुदायसामु पनि हामीले हाम्रो हिमाल जोगाउनुपर्छ भनेर गुहार माग्दै आइरहेका छौँ । ती धनि र विकसित मुलुकहरुमा भएको औद्योगिक विकासका कारण वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढेर जलवायु परिवर्तनको असर विश्वभर निम्ताएको छ । हामीले गर्दै नगरेको गल्तीको सजाय हामीले भोग्नुपर्ने ? अव हाम्रो हिमाल जोगाउने जिम्मा तिमीहरुको हो भनेर नेपालले विश्व समुदायसामु आवाजहरु बुलन्द रुपमा उठाउँदै आइरहेको छ । हिमाललाई नजिकबाट निहाल्दै आएकाहरु पनि हिमालमा हिउँ घटेर कतै हिमालको अस्थित्व नै नाश हुने हो कि भनेर उत्तिकै चिन्तत छन् । सोलुखुम्बु जुनुबेंसीमा जन्मिनुभएकी ङिमी शेर्पा पहिलो महिला पर्वतारोहीका रुपमा परिचित छन् । शेर्पाले २०४२ सालमा बिनाअक्सिजन माउन्ट नुप्से (७८६५ मिटर) आरोहणपछि पहिलो पर्वतारोहीको रुपमा इतिहास बनाएका छन् । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरलाई उनले नजिकबाटै साक्षत्कार गरेका छन् । ‘जलवायु परिवर्तनको असरका कारण हिमालमा हिउँ नै बाँकी नरहला कि भन्ने चिन्ता लाग्छ, हिमाली क्षेत्रका मानिसहरुमा पर्ने असरले हिमाली क्षेत्रमा नै मानिस नहुने हो कि चिन्ता छ’, उनी भन्छन्, ‘हिमालका लागि हिँउ श्रृङ्गार हो, जलवायु परिवर्तनको असरले हिमालमा हिउँ नै नरहे हिमालको मात्रै के अस्तित्व ।’ पर्यटन व्यवसायीसमेत रहेका आङ्छिरिङ शेर्पा उमेरले ७० नाघे । लामो समय हिमालकै काखमा हुर्किएर खेलेकाले पनि त्यो हिमाल र यो हिमालका बारेमा जानकार छन् उनी । ‘हामी सानो छँदा त हिमाल सबै सेता थिए, अब हेर्दाहेर्दै हिमालमा हिउँ पातलियो । कालापत्थरहरु देखिन थाले’, उनी भन्छन्, ‘यस्तै हो भने त अवको २० वर्षमै हिमालको अस्थित्व मिटिन्छ कि भन्ने चिन्ता लाग्छ । अनि हिमाल हिर्न भनेर पर्यटक आउन छाड्लान हाम्रो व्यवसाय पनि धरापमा पर्नेछ ।’ सोलुखुम्बुमा जन्मिएका शेर्पा जलवायु परिवर्तनका हिमालमा परेको असरले कुन बेला ठूलो विपद्को सामना गर्नुपर्ने हो उत्तिकै चिन्तत छन् । पहिला र अहिलेमा देखिएको फरकमा अन्तर पाउँछन् उनी । भन्छन्, ‘भन्दा मान्छेले नपत्याउलान्, त्यो इम्जा छो हिमताल थिएन । सानो हिमनदी थियो । त्यहाँ त बच्चा हुँदा हामी चिप्लेटी खेल्थ्यौ । सन् १९६२ तिर सानो कुवा जस्तो बन्यो । अहिले त त्यति ठूलो ताल बनिसक्यो, हिउँ पग्लिएर । यस्तै पग्लिँदै जाने हो भने हिमाल त कति कुरुप देखिन्छ होला है ।’ जलवायु परिवर्तनका असरका कारण पर्वतीय क्षेत्र जोखिममा रहेको भन्दै शेर्पाले अव हिमाली क्षेत्रका मानिस बसाई सरेर जानुपर्ने अवस्था आइसकेको बताए । ‘यदि हिमाली क्षेत्रका मानिसहरु नै त्यहाँ भएनन् भने हिमालको रहन, सहन संस्कृति हेर्न चाही को आउँला ? है । अनि त्यहाँ आउने पर्यटक पनि देख्नै पाउलान् हाम्रा पुस्ताले,’ शेर्पा भन्छन् । फोटो पत्रकारसमेत रहेकी पूर्णिमा श्रेष्ठ अहिले साहसी पर्वतारोहीको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेकी छन् । गोरखा आरुघाटमा जन्मिएकी श्रेष्ठलाई सानोमा टाढाबाटै हिमाल हेर्दा हिमालले लोभ्याएको थियो । हिमालकै नजिक जान पाए कस्तो हुन्थ्यो होला ? भन्ने लाग्थ्यो पूर्णिमालाई । जहाँ इच्छा तहाँ उपाय भने झैँ उनले विश्वकै अग्लो पर्वत सगरमाथा पटकपटक चढिसकिन् । हिमालको अस्तित्व मेटिने चिन्ता जलवायु परिवर्तनका कारण मनै लोभ्याउने हिमालहरुको अस्तित्व मेटिएर त जाने होइन ? भन्ने चिन्ता उत्तिकै छ उनलाई । ‘हिमाल अझै चढिरहन मन छ, तर हिमपहिरोले कतै पुरिने पो हो कि डर पनि छ’, श्रेष्ठ भन्छिन्, ‘हिमालका हिउँ हराएर गयो भने के होला ? भन्ने लाग्छ । हिमाल जाँदा अहिले पनि कलापत्थरहरु देखिन्छ । अनि हिमाल चढ्नेहरुलाई जोखिम पनि छ ।’ जलवायु व्यवस्थापनका लागि प्रतिकार्य रणनीति २०८० अनुसार जलवायुजन्य र जलसम्बन्धी प्रकापहरूले जीउज्यान, धनमाल र सम्पत्तिमा गम्भीर क्षति पुर्याएका छन । वायुमण्डलीय तापक्रमका वृद्धिले हिउँ पग्लन क्रम बढको छ र नयाँ हिमताल बनेको रणनीतिमा उल्लेख छ । ‘विद्यमान हिमतालका आकार बढेका छ । यसबाट हिमताल फुटी बाढी आउन खतरा थपिएका छ । अन्य क्षेत्रका तुलनामा हिमालय क्षेत्रमा कम्तिमा पनि ०.३ दखि ०.७ डिग्री सेल्सियस तापक्रम बढ्न प्रक्षेपण गरिएका छ,’ रणनीतिमा भनिएको छ । हिमालमा के हुनसक्छ अन्य असर ? हिमालमा जलवायुले पारेका असरका कारण हिमालको अस्तित्व सकिने, पानीको स्रोतहरु सुक्ने, हिमताल फुट्ने, हिमपहिरो जाने, पर्यटक घट्ने, बसाइँ सर्नुपर्ने अवस्था आएर त्यहाँका संस्कृति लोभ हुने लगायतका असर देखिने बताउँछन् । पर्वतीय क्षेत्रका मुद्धामा पैरवी गर्दै आएकी जलवायु अभियन्ता गीता पाण्डे । पर्वतीय क्षेत्रमा जलवायुले पारको असर न्यूनीकरण तथा अनुकूलनका लागि निरन्तर पैरवी आवश्यक रहेको उनको सुझाव छ । जलवायु परिवर्तनसम्बन्धी २१ औँ विश्व सम्मेलन फ्रान्सको पेरिसमा सम्पन्न भएको थियो । पेरिस सम्झौतावमोजिम तापक्रमका वृद्धि १.५ डिग्री सेल्सियसमा कायम भए तापनि यस २१ औँ शताब्दीका अन्त्यसम्ममा हिमालय क्षेत्रका ३६ प्रतिशत हिमताल पग्लन प्रक्षेपण गरिएका छ । इसिमोडका हालका अध्ययनअनुसार ६५ प्रतिशत हिमपिण्ड सकिएको छ । यस शताब्दीका अन्त्यसम्म पानीका उपलब्धता घट्ने उल्लेख छ । नेपाल सरकारले आगामी ३० वर्ष (विसं २०७८–२१०८) का लागि तयार गरेको राष्ट्रिय अनुकूलन योजनामा विगतका तुलनामा वर्षामा आएका कमीले गर्दा नदी खोलामा पानीका बहाव कम भएकाले आव २०७७/७८ मा ६.९ प्रतिशत जलविद्युत् उत्पादन घटेको उल्लेख भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा तापक्रमका वृद्धिदर वार्षिक ०.०५६ डिग्री सेन्टिग्रेड रहको छ । हिन्दुकुश हिमालयका मूल्याङ्कन प्रतिवदन अनुसार विश्व तापक्रम वृद्धि पेरिस सम्झौताबमाजिम १.५ डिग्री सेन्टिग्रेड कायम गर्न सकिएमा पनि हिमालय क्षेत्रका तापक्रम त्यो भन्दा औसतमा ०.३ दखि ०.७ डिग्री सेन्टिग्रेड बढी हुने देखाएको छ । तापक्रम वृद्धि १.५ डिग्री सेन्टिग्रेडमा कायम राख्न सकिए पनि एक्काइसौ शताब्दीका अन्त्यसम्म हिमालय क्षेत्रबाट ३६ प्रतिशत हिउँ पग्लने अध्ययानले देखाएको छ । इसिमाडको तथ्यांकअनुसार हिन्दकुश हिमालय क्षेत्रका हिमनदीका अनुगमन र विश्लषण गर्दा हिमनदीका पिण्ड ६५ प्रतिशतले घटका पाइएको छ । पैरवीमा जोडबल निरन्तर गत वर्ष युएइको दुबईमा सम्पन्न भएको २८ औँ कोपमा पनि नेपालको नेतृत्व गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएका थिए । ‘म यहाँ ३० मिलियन नेपालीको सन्देश बोकेर आएको छु,’ प्रधानमन्त्री दाहालले सम्बोधनको सुरुमै भनेका थिए, ‘तापक्रम वृद्धिले हिमालय क्षेत्रलाई आक्रात पारिरहेको छ, हाम्रो हिमाल बचाउने सन्देश पनि लिएर आएको हुँ ।’ यस बेलामा पनि पर्वतीय क्षेत्रको मुद्धाले विश्व समुदायमा चर्चामा ल्यायो । कोपमा पहिलोपटक हिमालको मुद्दा छलफलमा समाहित गरियो । यसअघि नेपालले जोडदार रुपमा हिमालको मुद्दा कोपमा समाहित गराउन जोडबल गर्दै आइरहेको थियो । यसो त एक वर्षअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटेरेस चारदिने नेपाल भ्रमणमा आएका थिए । महासचिव गुटेरेसले भ्रमणमा रहेको बेलामा हिमालयबाट बगेका नदीहरुले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको भन्दै हिमालको प्रशंसा गर्न समेत भ्याए। यस्ता हिमनदी पग्लिएमा पानीको स्रोत समेत संकटमा पर्नसक्ने भन्दै उनले दिएको अभिव्यक्तिले पनि यो वर्ष मुख्य चर्चा पायो । यसले पनि कोपमा पर्वतीय क्षेत्रका मुद्दामा पैरवी गर्न नेपाललाई सहज भयो । महासचिव गुटेरेसले २८ औं कोप सम्मेलन शुरु हुनुअघि नेपालको भ्रमण गर्नु भएर पनि होला नेपाललाई बढी सम्झाएका थिए । नेपालको भ्रमणको क्रममा सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रलाई नजिकबाट साक्षात्कार गर्ने मौका पाएर पनि होला उनले हिमालमा परेको जलवायु परिवर्तनको असर पनि नकिजबाटै निहाले । ती अनुभवहरु विश्व सामुदायको अगाडि अभिव्यक्त गरे । हिमालमा जलवायु परिवर्तनको असर यसले हिमाली क्षेत्रको जनजीवनमा पारेको प्रभावलाई बताइदिएर विश्वको नै ध्यान ताने । उनको सम्बोधनले झण्डै एक सय ९२ देशका सहभागीको ध्यान खिच्यो । डेढ दशकदेखि नेपालले हिमालको मुद्दा उठाउँदै आइरहेको थियो । निरन्तर रुपमा उठाएको मुद्दा कोपमा समावेश होला भन्ने आशा हुन्थ्यो । तर हिमालका एजेन्डाले कुनै प्रथामिकता नै पाउन सक्दैनथ्यो । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ नै बाँकी नहरने भयो । अव कालापत्थरमा परिणत हुने हो कि भन्ने चिन्ता र चासो उत्तिकै रहेको छ सरोकारवालहरुमा । सन् २००९ मा डेनमार्कको कोपनहेगनमा सम्मन्न भएको १५औँ कोपमा भाग लिन पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेपाली प्रतिनिधि टोली सहभागी भएको थियो । त्यसबेलादेखि नै नेपालले हिमालको मुद्दालाई प्राथमिकता दिएर मुख्य एजेन्डास्वरुप कोपमा लिएर जाने गरेको थियो । जलवायु परिवर्तनको असरहरुको कारणले पर्वतीय क्षेत्रहरुको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परिरहेको नकारात्मक असरहरुका बारेमा नेपालले सन् २००९ देखि नै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले निरन्तर आवाज उठाउँदै आइरहेको छ । कोप २८ ले बढाएको उत्साह पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८ निर्णयका दस्तावेजमा समावेश गरिएसँगै नेपालका लागि यो महत्वपूर्ण र ऐतिहासिक निर्णय भएको थियो । यसले वर्षौदेखि सफल हुन नसकेको नेपालको लक्ष्य पूरा भएको छ । हिमालको एजेन्डाले पाएको प्राथमिकतासँगै चर्चा पनि पायो । यसै सन्दर्भमा गत कोप–२८ ले पहिलोपटक पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटको बारेमा निर्णय लिदै गत जुनमा भएको संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) अन्तर्गतको वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (एसबिएसटीए) को ६० औं बैठकमा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका विषय उठाइएको थियो । यसै सन्दर्भमा पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरुको समान धारणा कायम गरी आगामी दिनहरुमा सो सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउन गत मे २२ र २३ मा नेपाललगायत अन्य पर्वतीय मुलुकका प्रतिनिधिहरु, विषयविज्ञहरु एवम् साझेदार संस्थाहरु सम्मिलित पर्वतीय क्षेत्र, मानिस र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवादको आयोजना भएको थियो । उक्त सम्मेलनमा पनि हिमालमा परेको असर र आगामी रणनीतिको विषयमा व्यापक छलफल समेत भएको थियो । आगामी कोपमा पनि हिमालकै मुद्दा प्राथमिकतामा नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) हुँदैछ । नेपालको तर्फबाट उक्त कोप सम्मेलनमा भाग लिन राष्ट्रप्रमुख रामचन्द्र पौडेल नै सहभागी हुँदै छन् । उनले यस वर्षको कोपमा पनि हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउँदै छन् । एक सय ९२ भन्दाबढी मुलुकहरुको राष्ट्रप्रमुखदेखि उच्चपदस्थ अधिकारीहरु सामु उनले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जानकारी गराएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा. सिन्धु ढुंगानाले कोपमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असरलाई कोपको मुख्य एजेन्डा बनाइएको जानकारी दिएका छन् । थामेको हिउँपहिरोको उदाहरण अधिकांश कोपहरुमा नेगोशेसनमै निरनतर भाग लिई कोपमा नेपालको हितमा पैरवी गर्दै आएकी मञ्जित ढकालले पनि पर्वतीय क्षेत्रमा जलवायुले पारेको असरका उदाहरण दिँदै र जलवायुजन्य हानिनोक्सानीको एजेन्डामा जोड दिनुपर्ने बताएका छन् । ‘यही वर्ष सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक आएको बाढीले करोडौ क्षति पुगेको छ, यो ताजा हिमपहिरोको उदाहरणले यस पटकको कोपमा अझै पर्वतीय क्षेत्रको मुद्दाले प्राथमिकता पाउने आशा छ,’ कोपमा भाग लिन बाकु पुगिसकेका ढकालले भन्छन्, “मङ्गलबार र बुधबार अतिकम विकसित मुलुकहरुको समूह (एलडिसी)को बैठकसमेत भएको, एलडिसीको तर्फबाट साझा मुद्दाका रुपमा पर्वतीय क्षेत्रको सुरक्षाका पक्षमा पैरवी गर्ने तयारी भएको छ ।” रासस
इजिप्ट र क्यामरुनबीच आर्थिक सहयोग बढाउने सहमति
काठमाडौं । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले क्यामरुनसँग आर्थिक सहयोग बढाउन आफ्नो देशको प्रतिवद्धतालाई जोड दिएका छन् । अब्देलाट्टीले क्यामेरोनियन विदेशमन्त्री लेजेउने एमबेला एमबेलासँगको भेटपछि यस्तो टिप्पणी गरेका हुन् । दुई मन्त्रीबीच बाँध निर्माण, ऊर्जा र विद्युत पहुँचका क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो । बैठकमा दुईवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
धारापानी २२० केभी सबस्टेसन डेढ वर्षभित्र निर्माण सकिने, खुदी अन्तिम चरणमा
काठमाडौं । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासों गाउँपालिका-१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। धारापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएकाे छ । खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरू जारी छन् । धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरूको निर्माण धमाधम भइरहेको प्राधिकरणले जनाएकाे छ । धारापानी र खुदी सबस्टेसनमा क्रमश: २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू रहने छन् । प्राधिकरणका अनुसार दुवै सबस्टेसनमा स्थानीय रूपमा विद्युत आपूर्तिका आवश्यक व्यवस्था गरिएको छ । निर्माण सम्पन्न भई सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति सुरु भएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमनमार्फत सबस्टेसन तथा प्रसारण लाइन निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी जनशक्ति थप गरी प्रसारण लाइन तथा सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन् । उनले धारापानी क्षेत्रका स्थानीयबासिन्दासँग पनि छलफल गरी सबस्टेसन तथा प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गर्न आग्रह गरे । ‘मर्स्याङ्दी करिडोर प्रसारण लाइनमा जोड्ने गरी सम्झौता गरिएका जलविद्युत् आयोजनाहरूको निर्माण सुरु भइसकेको छ, त्यसैले यो लाइन जतिसक्दो छिट्टो निर्माण सम्पन्न गर्नुपर्ने छ । समयतालिका, कामको गुणस्तरलगायतलाई विशेष ध्यान दिएर निर्माणलाई तीब्रता दिनुपर्ने छ,’ घिसिङले भने, ‘भौगोलिक विकटतालाई चिर्दै मनाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् त पुगेको छ तर भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको समस्या छ । आपूर्तिका सुधारका लागि पनि जतिसक्दो छिटो प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्नु पर्नेछ ।’ सबस्टेसन निर्माणस्थल वरपरका स्थानीय बासिन्दाले राखेका जायज माग पूरा गर्न आयोजना सधैं तयार रहेको बताउँदै उनले पर्यटकीयस्थल मनाङको विद्युत् आपूर्ति सुधारका लागि योजनाबद्ध रूपमा काम अगाडि बढाइसकिएको उल्लेख गरे । मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११४ किलोमिटर डबल सर्किट प्रसारण लाइनलाई तीन प्याकेजमा विभाजन गरी निर्माण अगाडि बढाइएको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६८ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । यसखण्डमा पर्ने १९९ वटा टावरमध्ये १२५ वटाको जग हालिएको छ । ६५ वटा टावर खडा गरिएको छ । बाँकी स्थानमा काम भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत लमजुङको उदीपुर र चितवनको भरतपुरमा २२० केभीका सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । तेस्रो प्याकेजअन्तर्गत धारापानी-खुदी-उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र धारापानी तथा खुदी सबस्टेसन निर्माणाधीन छन् । खुदी-उदीपुर करिब १६ किलोमिटर प्रसारण लाइन खण्डमा १७ वटा टावरको जग हालिएको छ । ८ वटा खडा गरिएको छ । यस खण्डअन्तर्गत बेसींसहर नगरपालिका-८ का केही स्थानीय बासिन्दाले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नु पर्ने र यदि लाइन नसार्ने भएमा मार्गधिकारमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने माग राख्दै विगत दुई वर्षदेखि निर्माणमा अवरोध गर्दै आएका छन् । उक्त स्थानमा १२ वटा टावर निर्माण गर्नुपर्ने बताइएकाे छ । टावर निर्माणका लागि जग्गा अधिग्रहणका लागि मुआब्जा रकम निर्धारण भई करिब ८० प्रतिशत जग्गाधनीले रकम बुझिसकेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङलाई भेटी खुदी-उदीपुर खण्डमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरे । निर्माणमा देखिएको अवरोध हटाउन स्थानीय प्रशासनकातर्फबाट सहजीकरण तथा समन्वय भइरहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले राष्ट्रिय प्राथमिकता प्राप्त प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गरिने बताए । खुदी-धारापानी खण्ड प्रसारण लाइन निर्माणका लागि अधिग्रहण गरिने निजी जग्गाको मूल्याङ्कनको प्रक्रियामा छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको समग्र अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।