समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छ : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने आफैँभित्र पनि कोही भए उनीहरुलाई सफल हुन दिन नहुने बताए । संविधानको मर्म र भावना विपरित संसद विघटन गरेर देशलाई फेरि एउटा भुमरितर्फ लैजाने प्रयासका बिरुद्ध पुनः एकीकृत हुनुपर्ने आवश्यकता औंल्याए । विगतको जस्तै संविधान मिच्ने, संसदलाई विघटन गर्ने कसरत हुन दिनु नहुने बताए । देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा शतर्क हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । ‘हाम्रो अगाडि मैले जहिले पनि आज भोलि भन्ने गरेको कुरा के छ भने हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने हामी भित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ’, उनले भने । अध्यक्ष दाहालले संविधान आवश्यक मात्रामा संशोधन गर्नुपर्ने तर संविधानका पक्षधरहरु गम्भीर हुन जरुरी रहेको बताए । आफूले केही नराम्रा काम गरेको स्वीकार गरेको पनि जानकारी दिए ।
विगतमा लगाइएका नियन्त्रणमुखी नीतिहरू अहिलेको सरकारले पनि परिवर्तन गरेन : अध्यक्ष अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८ औं वार्षिकात्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले वर्तमान सरकार र अर्थमन्त्रीप्रति निजी क्षेत्रको ठूलो आशा भएपनि आशा गरे जस्तो काम हुन नसकेको गुनासो गरेका हुन् । उनले सरकारले शिथिल र मन्दीबाट माथि उठाउने धेरै प्रतिवद्धता आएपनि अर्थतन्त्रलाई सुधार गर्नेको लागि प्राथमिकतामा पर्न नसकेको बताए । अध्यक्ष अग्रवालले विगतमा लगाएका नियन्त्रणमुखी नीतिहरू अहिले पनि सरकारले परिवर्तन गर्न नसकेकोमा गुनासाे गरे । उनले अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरू सरकारको नीतिगत कारणले देखिएको दाबी गरे । उनले आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पाएकाे खण्डमा मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औधोगिक क्षेत्र सुधार हुनेमा जाेड दिए । अध्यक्ष अग्रवालले भने, ‘वर्तमान सरकार आएपछि मुलुकको आर्थिक सुधार हुने आशा पलाएको थियो । सरकारको प्रतिवद्धता धेरै आयो । तर आर्थिक सुधार सरकारको प्राथमिकतामा पर्न सकेको छैन । आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पायौं भने मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औधोगिक क्षेत्र सुधार हुन्छ ।’ उनले केही समय अघि उच्च रूपमा बैंकको ब्याजदर वृद्धि हुँदा व्यवसायीहरूले ऋण तिर्न नसक्दा धेरै उद्योगी व्यवसायीहरू बैंकको कालोसूचीमा परेको बताए । उनले नेपालमा पछिल्लो ३० वर्षमा १ लाख १० हजार र पछिल्लो दुई वर्षमा ७५ हजार बढी कालोसूचीमा परेको बताए । अध्यक्ष अग्रवालले निजी क्षेत्रको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा शिथिलता आएको पनि बताए ।
प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ, छोटो समयमा धेरै आम्दानी गर्न सकिने
रामपुर । रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक लाख ५० हजार रुपैयाँ बढी आम्दानी गर्छन् । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छन् । रामपुर नगरपालिका–३ गण्डकीढिकस्थित कालीगण्डकी करिडोरको सडक छेउमा दुवाडीको घर छ । करिब एक रोपनी जग्गा प्याजका बिरुवा उत्पादन गर्न छुट्याएको उनले बताए । लामो समयदेखि निरन्तर रूपमा नर्सरी तयार गरी प्याजका बिरुवा उत्पादन तथा बिक्री गर्दै आएको उनको भनाइ छ । उनका अनुसार बिरुवा बिक्री गरेर एक सिजनमा एक लाख ५० हजार रुपैयाँबढी आम्दानी हुन्छ । ‘बिरुवा उत्पादन गर्न धेरै समय नलाग्ने, कम लगानीमा मनग्ये आम्दानी लिन सकिन्छ’, दुवाडीले भो, ‘स्थानीय तथा बाहिरबाट आउने व्यापारीले यहाँबाट बिरुवा खरिद गरी लैजानुहुन्छ ।’ प्याज खरिद गर्न आउने ग्राहकले बन्दा, काउली, ब्रोकाउली, गोलभेँडालगायत बिरुवा खोज्ने भएकाले यी बिरुवा पनि उत्पादन थालेको उनले जानकारी दिए । दुवाडीका अनुसार प्याज एक रुर्पयाँको तीनवटा, काउली पाँच रुपैयाँको एउटा, हाइब्रिड बन्दा पाँच रुपैयाँको एउटा, स्थानीय बन्दा पाँच रुपैयाँको दुईवटा, ब्रोकाउली १० रुपैयाँको एउटा बिक्री भइरहेको छ । ‘प्याजका बिरुवा उत्पादनलाई प्रमुख व्यवसाय बनाएको छु । यहाँ आउने ग्राहकको सजिलोका लागि अन्य तरकारीका बिरुवा पनि उमार्ने गरेको हुँ’, उनले भने, ‘एकै ठाउँमा आफूलाई चाहिएको सबै जातका बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सहज भएको छ ।’ आफूले रोप्न बिरुवा खरिद गर्दा रोजेर लैजान नदिएपछि अर्को वर्षदेखि आफैँले उत्पादन थालेको दुवाडीले बताए । आधाकिलो प्याजको बिउबाट व्यवसाय सुरु गरेको भन्दै बिरुवा उत्पादन राम्रो हुँदै गएपछि क्षेत्रफल पनि बढाउँदै लगेको उनले उल्लेख गरे । यहाँ उत्पादित बिरुवा काठमाडौं, पोखरा, नारायणगढ, तानसेन, बुटवल, स्याङ्जा, तनहुँ, नवलपरासीलगायत विभिन्न स्थानमा खपत हुने गरेको छ । यसवर्ष एक लाख ५० हजार रुपैयाँ बढीको आम्दानी हुने अनुमान गरिएको उनकी श्रीमती मतिकला दुवाडीले बताइन् । बिरुवा उखेल्ने र बिक्री गर्ने काममा श्रीमान्श्रीमती दिनभर खटेर काम गर्छौं । यात्रुले गाडी रोकेर बिरुवा खरिद गर्नाले उनीहरूलाई उखेलेर बेच्न भ्याइनभ्याइ हुने मतिकलाले बताइन् । ‘यात्रुले हरियाली बिरुवा देखेपछि गाडी रोकेर लैजाने गर्नुहुन्छ । हामीले तयारी बनाएर राखिदिने गरेका छौँ’, उनले खुसी हुँदै भनिन् । रामपुर–६ स्थित प्याक्लुक बस्ने राधिका बस्यालले पनि करिब एक रोपनी जग्गामा नर्सरी तयार पारेर बिरुवा उत्पादन गर्छिन् । प्याज, काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा उत्पादन सँगसँगै हुने भएकाले एक सिजनमा एक लाख रुपैयाँबढी आम्दानी हुने गरेको उनले जानकारी दिइन् । तरकारी खेतीको तुलनामा छोटो समयमा बढी आम्दानी हुने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उनको अनुभव छ । पछिल्लो समय घरायसी प्रयोजनका लागि घर–घरमा काउली, बन्दा, ब्रोकाउली, प्याज, गोलभेँडालगायत बिरुवा लगाउने चलन बढेकाले बजारीकरणको समस्या नभएको बस्यालले बताइन् । छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय बिरुवा उत्पादनमा किसानको आकर्षण बढेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । ठूलो परिमाणमा उत्पादन गर्ने किसानलाई शाखाबाट प्राविधिक तथा तालिमलगायतमा सहयोग गरिने उनको भनाइ छ ।
पर्यटनमन्त्रीद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी, सांसद बजगाईंले आफूविरुद्ध गलत प्रसार गरेको आरोप
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले पार्टीकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रूपमा आफूविरुद्ध गलत प्रचार गरेको आरोप लगाउँदै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन् । मन्त्री पाण्डेले अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार उजुरी दिएको उनको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृङ्खलाबद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा गलत प्रचार गर्दै आएको मन्त्री पाण्डेले दिनुभएको उजुरीमा उल्लेख छ । उजुरीमा भनिएको छ, ‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान तथा निष्ठामा धावा बोल्नेगरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भिर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ । लोकतन्त्र र विधिको शासनमा यस्ता अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ ।’ सांसद बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै गत मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । मन्त्री पाण्डेले आफ्नो चरित्रमा आँच पुगेको भन्दै यसबारे आवश्यक अनुसन्धान गरी कारबाही गर्न उजुरी दिएका हुन् ।
जीवन बीमाको नाफा २ अर्ब : सिटिजनको उच्च वृद्धि, सरकारी कम्पनीको घट्यो
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमास (साउन, भदौ र असोज) मा जीवन बीमा कम्पनीहरूले करिब २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छ । नेपालमा सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरूले पहिलो त्रैमासमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो नाफा गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा १८.६४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा जीवन बीमाको खुद नाफा १ अर्ब ६२ करोड १३ लाख रुपैयाँ थियो । यो अवधिमा सबैभन्दा धेरै नाफा हिमालय लाइफले आर्जन गरेको छ । हिमालयन लाइफले २५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा नेपाल लाइफले २० करोड ५४ लाख र रिलायबल लाइफले १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा वृद्धि गर्नेमा सिटिजन लाइफ अग्रस्थानमा रहेको छ । सिटिजनले गत आवको सोही अवधिको तुलनामा ८३.३३ प्रतिशतले नाफा वृद्धि गरेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसैगरी, रिलायबल लाइफ इन्स्योरेन्सको खुद नाफा ६६.९१ प्रतिशतले वृद्धि भएको छ भने एशियन लाइफलको खुद नाफा ४२.१९ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको खुद नाफा ३५.६२ प्रतिशतले वृद्धि भएको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीम कम्पनीको खुद नाफा ९४.१७ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा ३ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनी चालु आवको पहिलो त्रैमासमा २२ लाख रुपैयाँमा सीमित भएको छ ।
घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगको हेटौडा कार्यालयले बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो । उनले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस माग गरेका थिए । आयोगले उक्त रकम घुस लिइसकेको अवस्थामा साहलाई नियन्त्रणमा लिएको हो । अनुसन्धानको सिलसिलामा जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग ७८ हजार घुसररिसवत माग गरी लिएको पुष्टी हुन भएको आयोगले जनाएको छ । आयोगले वीरेन्द्र प्रसाद साह कानुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७८ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
बीमा प्राधिकरण र एएसएनबीच समझदारी, बीमा क्षेत्रमा थप योगदान पुर्याउने विश्वास
काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपाल (एएसएन)बीच बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र एएसएनका अध्यक्ष प्रेक्षा माथेमाले प्राधिकरणको केन्द्रीय कार्यालयमा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे। समझदारीपत्रमा प्राधिकरण र सोसाइटीले बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गरी बीमा क्षेत्रमा थप योगदान पुर्याउनका लागि आपसी समझदारी गर्ने लगायतका विषयहरू समेटिएका छन् । यसैगरी, प्राधिकरण र सोसाइटीको साझेदारीमा बीमा तथा बीमाङ्कीय विज्ञानसम्बन्धी अध्ययन एवम् अनुसन्धानसम्बन्धी कार्य गर्ने, यससम्बन्धी ज्ञानको आदानप्रदान गर्ने र तालिम, कार्यशाला तथा सम्मेलन आयोजना गर्ने उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) पनि उपस्थित थिए ।
बिजुली निर्यातमा अर्को सफलता, ४० मेगावाट बंगलादेशलाई बिक्री
काठमाडौं । नेपाल सरकारलाई बिजुली निर्यातमा थप अर्को सफलता मिलेको छ । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको हो । शुक्रबार नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका तर्फबाट भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत निर्यातको औपचारिक सुरुवात गरेका छन् । नेपालबाट पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात गरिएको सुरु भएको छ । नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रबारबाट बंगलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो । नेपालले ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरेको छ । शुभारम्म कार्यक्रममा बोल्दै ऊर्जामन्त्री खड्काले बङ्लादेशमा नेपालबाट विद्युत निर्यात सुरु हुनु दक्षिण एशियामा विद्युत व्यापारमा कोशेढुङ्गा सावित भएको बताए । उनले विद्युत निर्यातको लागि गत असोजमा नै त्रिपक्षीय सम्झौताअनुसार आजदेखि भारत हुँदै बंगलादेशमा विद्युत निर्यात सुरु भएको बताए । बंलादेशमा विद्युत निर्यातको लागि सहजिकरणको लागि भुमिका खेल्ने भारत सरकार र बंलादेश सरकारलाई धन्यवाद दिए । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो । नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट करिव ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बंगलादेश विद्युत निर्यात गर्दा भारतको एनटीपसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रशारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्नेछ । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो । नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट करिव ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बंगलादेश विद्युत निर्यात गर्दा भारतको एनटीपसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रशारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्ने छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रशारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेशनमा विद्युत पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रशारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रशारण लाइनमार्फत बंगलादेश विद्युत पुग्नेछ । नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत निर्यात मध्यान्ह साढे १२ बजेबाट सुरु भएको हो । यस वर्ष (सन् २०२४)को वर्षायाममा विद्युत निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बंगलादेशतर्फ पुनः विद्युत निर्यात सुरु हुनेछ ।