विकासन्युज

नेपाल टेलिकमको एनटी क्रिकेट धमाका प्याक सार्वजनिक, ६९९ रुपैयाँमा ३०० जीबी डेटा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै नेपाल टेलिकमले एनटी क्रिकेट धमाका प्याक सार्वजनिक गरेको छ । नेपाल टेलिकमले बिहीबार प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको मीट एन्ड ग्रीट कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रूपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गरे । यस योजनाअन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ६९९ रुपैयाँमा ३०० जीबी डेटा उपलब्ध हुनेछ, जसमा प्रतिदिन १० जीबी डेटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ । यसैगरी ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डेटा उपलब्ध हुनेछ, जसमा ५ जीबीको लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टलसमेत समावेश गरिएका धमाका प्याकहरूको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको छ । २०८१ मङ्सिर १४देखि आगामी पौष ६ गते सम्म लागू हुने एनटी क्रिकेट धमाका प्याकहरू मोबाइलबाट *१४१५*११# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत खरिद गर्न सकिनेछ । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले एनपीएलका खेलहरू सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकून् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको बताइन् । यसका साथै कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनसक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि स्मार्टसेल लगायतका उपकरणका साथसाथै क्रिकेट एसोसियन अफ नेपाल (क्यान) को अनुरोधमा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान एफटीटीएच नि:शुल्क जडान कार्यसमेत सम्पन्न गरिसकिएको छ ।

केबलकारमा क्रान्ति, कमालको कमाइ

काठमाडौं । नेपालमा पूर्वाधार क्षेत्रले विस्तारै विकासको फड्को मारिरहेको छ । यातायात पूर्वाधारमा नयाँ किसिमका प्रविधिको विकासले आवागमनमा थप सहजता र सरलता भइरहेको छ । विगतमा लामो समय हिड्नुपर्ने समस्याबाट मानिसहरु बाहिर निक्लिदै छन् । घण्टौंसम्म गर्नुपर्ने यात्रा सेकेण्डभरमा भइरहेको छ । त्यस्तो पूर्वाधारको एउटा उदाहरण हो-केबलकार । हाल देशका विभिन्न ठाउँमा केबलकार सञ्चालनमा छन्, जहाँ प्रत्येक केबलकारमा लक्जरी होटल रिसोर्ट निर्माण गरिएका छन् भने कतै निर्माणको क्रममा छन् । अब केबलबार यात्राका लागि मात्रै होइन, पर्यटक बढाउने गतिलो साधन पनि बनेको छ । व्यवसायीको व्यवसाय गर्ने पहिलो रोजाइ केबलकार बनिरहेको छ । पछिल्लो समय विस्तारै मानिसहरू नयाँ-नयाँ ठाउँ पुग्ने अनि घुम्ने संस्कृतिको पनि विकास हुँदै गएको पाइन्छ । जसकारण केबलकारको सञ्चालन सफल बन्न पुगेको हो । हाल सञ्चालनमा रहेका आधा दर्जन केबलकारहरूले सेवा दिइरहेका छन् । धार्मिक रूपले महत्त्वपूर्ण मानिएका कतिपय पर्यटकीय क्षेत्रहरू केबलकार सञ्चालनमा आइसकेपछि खुब चर्चामा छन् । धेरै समय लगाएर पैदल हिँडेर गन्तव्यमा पुग्नुपर्ने कष्टपूर्ण बाध्यतालाई समेत केबलकारले हटाइदिएको छ । पर्यटकलाई आकर्षित गराउने उद्देश्यले सञ्चालमा ल्याइएका आधा दर्जन केबलकारहरू हाल नेपालका डाडाँकाडाँमा छन् । हाल नेपालमा जम्मा १८ वटा केबलकार रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालयले जनाएको छ । व्यावसायिक रूपमा ८ वटा केबलकार मात्रै सञ्चालनमा छन् भने १० वटा केबलकारको निर्माण प्रक्रिया अन्तिम चरणमा छ । पछिल्लो समय देशैभरि केबलकार विस्तार गर्ने लक्ष्यअन्तर्गत निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । मनकामना केबलकार, कुरिन्टार, गोरखा चन्द्रागिरि केबलकार, थानकोट, काठमाडौं कालिञ्चोक केबलकार, कुरी, दोलखा अन्नपूर्ण केबलकार, पामे, पोखरा मौलाकाली केबलकार, गैंडाकोट, नवलपुर लुम्बिनी केबलकार, गोलपार्क, बुटवल, बन्दीपुर केबलकार, डुम्रे बन्दीपुर, सिदार्थ केवलकार, बुटवल पाल्पा नुवाकोट सञ्चालनमा रहेका छन् । यस्तै, पाथीभरा मन्दिर, ताप्लेजुङ, जालपादेवी लम्कीचुहा, मोहन्याल, कैलाली सिकलेस मादी गाउँपालिका, कास्की, छिम्केश्वरी मन्दिर, तनहुँ चम्पादेवी चाल्नालखेल, चप्पादेवी पोखरा मुक्तिनाथ, पोखरा, पर्वत म्याग्दी, मुस्ताङ रहेका छन् । यस्तै, फुलचोकी, नागार्जुन, खामणादेवी सिद्धबाबा निर्माण तयारीको अवस्था रहेका छन् । वि.सं २०५५ साल मंसिर ८ गतेबाट सर्वप्रथम नेपालमा यात्रु बोक्ने केबलकारका रूपमा मनकामना केबलकार सञ्चालनमा आएको थियो । त्यसपछि लामो समयसम्म कतैपनि केबलकार बनेका थिएनन् । पछिल्ला केही वर्षयता भने व्यवसायीहरूबीच केबलकार बनाउने प्रतिस्पर्धा चलिरहेको देखिन्छ । व्यवसायीले केबलकारमा होटलसहित एक खर्ब बढी लगानी गरेका छन् । अहिले सञ्चालनमा रहेका केबलकारले आम्दानी पनि राम्रो गरिरहेको बुझिएको छ । सञ्चालनमा रहेका ८ केबलकार मनकामना केबलकार मनकामना केबलकार सञ्चालनमा आएको साढे दुई दशक भइसकेको छ । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबलकारमा प्रायः जसो मानिसहरूको भीड लाग्ने गर्दछ । चितवनको कुरिनटार (इच्छाकामना गाउँपालिका-४) बाट गोरखाको मनकामना (सहिद लखन गाउँपालिका-३) जोडेर २६ वर्षअघि मनकामना केवलकार निर्माण गरिएको हो । २०५३ कात्तिक २२ मा मनकामना दर्शन प्रालि स्थापना भएको थियो । २०५४ माघ अन्तिमबाट निर्माणको काम सुरु भई २०५५ मंसिर ८ बाट केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । नेपालमा केबलकार चिनाउने काम मनकामना केबलकारले गरेको हो । १ हजार ३ सय २ मिटरको उचाइमा केबलकारमार्फत पुगिन्छ । केबलकारले वार्षिक साढे ११ लाख यात्रुलाई सेवा दिँदै आइरहेको मनकामना केबलकार प्रालिका नायब महाप्रबन्धक उज्ज्वल श्रेष्ठले जानकारी दिए । उनका अनुसार सञ्चालनमा आएदेखि हालसम्म २ करोडसम्म यात्रुले सेवा लिइसकेका छन् । केवलकारमा ३४ वटा गोन्डला (डब्बा) छन् । एउटा गोन्डलामा छजना यात्रु अट्छन् । केबलकार चढेको भाडा ७ सय ७० रुपैयाँ रहेको छ । केबलकारमा सेवा लिने कुल यात्रुमा ७० प्रतिशत नेपाली, २६ प्रतिशत भारतीय र अन्य विदेशी यात्रु ४ प्रतिशत रहेका छन्। कुरिनटारबाट ३.०२ किलोमिटर केवलकारको दूरी १० देखि १२ मिनेटमा पार गरिन्छ । अहिले ५५ करोडको लागतमा मनकामना केवलकार हाताभित्र रिसोर्ट निर्माणको काम भइसकेको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभाहल र रेस्टुरेन्ट सेवा उपलब्ध हुने मनकामना प्रालिले जनाएको छ । चन्द्रागिरि केबलकार काठमाडौं उपत्यकामा पहिलोपटक निर्माण भएको केबलकार हो रचन्द्रागिरी केबलकार । यो केबलकार थानकोटबाट भालेश्वर मन्दिर जोड्नेगरी २०७३ साउन १ गतेदेखि सञ्चालनमा आएको थियो । यसमा यात्रु बोक्ने ३८ वटा गोन्डला छन् । यसको दूरी २.४ किलोमिटर रहेको छ । केबलकार चढेको करिब १२ मिनेटमा गन्तव्यमा पुगिन्छ । केवलकार सञ्चालनमा आएपछि भालेश्वर मन्दिरक्षेत्र पर्यटकीय गन्तव्य बनेको छ । दुई हजार पाँच सय ५१ मिटर उचाइमा भएकाले यो ठाउँमा पुगेर काठमाडौं उपत्यका देख्न पाइन्छ । यो ठाउँमा पुस–माघमा हिउँ पर्ने भएकाले हिउँ खेल्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्छ । केबलकार चढेको भाडा ८ सय २५ रुपैयाँ छ । यो ठाउँमा सुविधासम्पन्न लक्जरी होटल सञ्चालनमा छन् । होटलमा एक सयवटा कोठा छन् । केवलकार सञ्चालनमा आएको दुई वर्षपछि रिसोर्ट सञ्चालनमा आएको हो । भ्यु टावरबाट काठमाडौं उपत्यकासहित लस्करै देखिने हिमालहरू नियाल्न सकिन्छ । पछिल्लो समय यो ठाउँ घुम्ने र रमाउने गन्तव्य बन्दै आएको छ । कतिपय गर्मी छल्नका लागि पनि चन्द्रागिरिको डाँडामा पुग्ने गरेका छन् । यहाँ साना बालबालिकालाई छुट्टै खेल्ने र रमाउने ठाउँको पनि निर्माण गरिएको छ । वार्षिक रूपमा ७ देखि ८ लाखले यो केबलकार चढ्ने चन्द्रागिरि रिसोर्टका सेल्स म्यानेजर सुमित ढुङ्गेलले जानकारी दिए । कालिञ्चोक केबलकार दोलखास्थित कालिञ्चोक केबलकार सबैभन्दा उच्च ठाउँमा निर्माण गरिएको छ । दोलखाको चरिकोटबाट १८ किलोमिटर दूरी हिँडेपछि पुगिने यो केबलकार चढेर करिब ३ हजार ८ सय मिटर उचाइसम्म पुगिन्छ । २०७५ कात्तिक १७ गतेदेखि यो केबलकार सञ्चालनमा आएको हो । यसमा चारवटा गोन्डला छन् । एउटा गोन्डलामा ८ जना यात्रु अट्छन् । कुरी बजारबाट कालिञ्चोक मन्दिर नजिकसम्म ९ सय मिटर लामो दूरी रहेको छ । केवलकारबाट झरेर वरिपरिको हिमशृंखला नियाल्दै करिब १० मिनेट पैदल हिँडेर मन्दिरसम्म पुग्न सकिन्छ । ५ मिनेट केवलकारको यात्रा गरेपछि डाँडामा पुगिन्छ । यो ठाउँमा मन्दिर दर्शनसँगै केवलकार चढ्न आउने आन्तरिक पर्यटक बर्सेनि बढिरहेका छन् । सार्वजनिक बिदाका दिन केवलकार चढेर मन्दिरसम्म जाने यात्रुको भीड लाग्छ । नेपालीसँगै भारत र बंगलादेशबाट समेत धार्मिक पर्यटक कालिञ्चोक पुग्ने गरेका छन् । हिउँ पर्ने मौसममा काठमाडौंदेखि हिउँ खेल्न र घुम्न जानेहरू धेरै हुन्छन् । छिनछिनमै मौसम बदलिरहने यो ठाउँमा पुग्नेहरू रोमाञ्चित बन्छन् । यहाँको वरिपरिको दृश्यले मोहित बनाउँछ। अहिलेसम्म यसको लगानी ६० करोड रुपैयाँ पुगिसकेको छ । केवलकारको भाडा प्रतियात्रु छ सय रुपैयाँ तोकिएको छ। केवलकार सञ्चालनमा आएपछि यो क्षेत्रका होटलहरू खुल्ने क्रम बढेको छ । यो केबलकारको निर्माण गर्न तीन वर्ष लागेको थियो । अन्नपूर्ण केबलकार कास्कीको सेदीबगरबाट पर्यटकीय गन्तव्य सराङकोट जोड्नेगरी अन्नपूर्ण केवलकार निर्माण गरिएको छ । यसको निर्माण थाल्दै गर्दा कोभिड-१९ को महामारी सुरु भयो । त्यसैले चार वर्ष लगाएर निर्माण कार्य सम्पन्न भएको यो केवलकार २०७९ फागुन ६ गतेबाट सञ्चालनमा आएको थियो । यो जापानी प्रविधिमा निर्माण गरिएको केवलकार हो । यसमा १७ वटा गोन्डला छन् । एउटा गोन्डलामा ८ जना यात्रु अट्छन् । यसको दूरी २.४ किलोमिटर छ । सेदीबगरबाट सराङकोट पुग्न केवलकारमा ९ मिनेट लाग्छ । असारको अन्तिमदेखि भदौबाहेक यो केबलकार बिहान ५ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुन्छ । त्यतिबेला वर्षाको समय भएकाले सूर्य नदेखिने हुँदा ९ बजेबाट मात्र केवलकार चलाइने गरिएको छ । अघिपछि सबेरै केवलकार चढी सराङकोट पुगेर सूर्योदय हेर्नेको भीड लाग्छ । यो आन्तरिक तथा बाह्य दुबै पर्यटकलक्षित केवलकार हो । सेदीबगरबाट केवलकार चढेर १ हजार ५ सय ६४ मिटर अग्लो सराङ्कोट पुगिन्छ । नेपालीहरूका लागि केवलकारको भाडा ७ सय रुपैयाँ तोकिएको भने अन्य सार्क मुलुकका पर्यटकका लागि एक हजार रुपैयाँ र अन्य देशका पर्यटकका लागि १२ डलर तोकिएको छ । यहाँ ६० फिट अग्लो पाँचवटा मुख भएको गणेशको मूर्ति बनाइँदैछ । यसले धार्मिक पर्यटकको आवागमन बढाउने विश्वास अन्नपूर्ण केबलकारको छ । हालसम्म यो केवलकारमा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । हाल सराङकोट पुग्न केबलकार सजिलो माध्यम बनेको छ । मौलाकाली केबलकार नवलपरासीको गैंडाकोटबाट मौलाकालिका मन्दिर जोड्नेगरी केबलकार निर्माण गरिएको छ । २०८० वैशाख १ गतेबाट सञ्चालनमा आएको मौलाकाली केवलकार निर्माण गर्न १३ महिना लागेको थियो । यसमा १२ वटा गोन्डला छन् । केवलकारले गैंडाकोटस्थित मौलाकालीको फेदीबाट मौलाकालिका मन्दिर जोड्ने काम गरेको छ । १ हजार २ सय मिटर दूरी रहेको केवलकार चढेर ५ मिनेटमा मन्दिर पुगिन्छ । केवलकारबाट मौसम खुल्दा गैंडाकोट र नारायणगढ बजार देख्न पाइन्छ । चितवनको सौराहा, मेघौली, कसरालगायतका पर्यटकीय क्षेत्र घुम्न जानेहरू प्रायः मौलाकालिका मन्दिरलाई गन्तव्य नबनाई फर्कंदैनन् । गएको एक वर्षमा दुई लाख ७५ हजार धार्मिक पर्यटकले केवलकार चढेको मौलाकाली केबलकारले जनाएको छ । केवलकार सञ्चालनमा आएपछि नेपालीहरू मात्र होइन, विदेशी पर्यटक पनि घुम्न आउने गरेका छन् । मौलाकालिका मन्दिर ५ सय ६१ मिटर उचाइमा छ भने मौलाकाली केवलकार ५ सय २७ मिटर उचाइमा छ । केवलकारबाट झरेर थोरै पैदल हिँडेपछि मन्दिरमा पुगिन्छ । शान्त वातावरण भएकाले मन्दिर वरिपरिको दृश्यले सबैलाई लोभ्याउँछ । प्रायः यो ठाउँमा केवलकार चढेर मन्दिर दर्शनका लागि आउनेहरूको भीड लाग्छ । त्यस्तै, केवलकार छेउमै ठूलो रिसोर्ट निर्माण भइरहेको छ । दुई महिनाभित्र मौलाकाली डाँडामा होटल सञ्चालनमा आउनेछ । केवलकारको भाडा पाँच सय ५० रुपैंयाँ छ । यसमा २ अर्बको लगानी भएको छ । लुम्बिनी केबलकार लुम्बिनी केबलकार २०८० जेठ १५ गतेबाट सञ्चालनमा आएको हो । यसको निर्माण गर्न १४ महिना समय लागेको थियो । यसले रुपन्देही र पाल्पा जोड्ने काम गरेको छ । यो लुम्बिनी प्रदेशमा निर्माण गरिएको पहिलो केवलकार हो । यसमा यात्रु बोक्ने गोन्डला २५ वटा छन् । यो केवलकारले बुटवलको गोलपार्कबाट पाल्पाको वसन्तपुर जोड्छ । यसको दूरी २.६ किलोमिटर रहेको छ । बुटवलबाट केवलकार चढेर १२ मिनेटमा वसन्तपुर पुगिन्छ । केवलकार चढेको भाडा ७ सय ५० रुपैयाँ छ । यो केबलकार नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेर निर्माण गरिएको हो । यसले वसन्तपुरमा पर्यटकीय गतिविधि बढाउन सघाउ पुर्‍याएको छ । त्यहाँ कामाख्या भगवतीको मन्दिर छ । त्यसैले दर्शन गर्न आउने धार्मिक पर्यटकको भीड लाग्छ । बुटवल–भैरहवाको गर्मी छल्न वसन्तपुर पुग्नेको लर्को लाग्छ । यो केवलकार ९ सय ६० मिटर उचाइमा निर्माण गरिएको छ । यसलाई नेपाली र भारतीय पर्यटकले गन्तव्य बनाउँदै आएका छन् । यो केवलकार तयार हुँदासम्म डेढ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यो ठाउँमा १ सय ५० वटा कोठा क्षमताको पाँचतारे होटल निर्माणको क्रममा छ । अत्याधुनिक सुविधासहित तीन वर्षभित्र यसको निर्माण पूरा गर्ने लक्ष्य छ । यो केबलकार ५ अर्बको लगानीमा निर्माण भएको हो । बन्दीपुर केबलकार बन्दीपुर केबलकार विसं २०८१ जेठ ३१ गतेदेखि सञ्चालनमा आएको हो । तनहुँको बन्दीपुर गाउँपालिका– ४ स्थित केबलकार चोकमा रहेको यो बटम स्टेसनको ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । केबलकारबाट बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिरको दर्शन गर्न सकिन्छ । केबलकारबाट ९० डिग्रीको उकालोजस्तो देखिने चट्टान आरोहण गरे झैं साहसिक अनुभूति लिन सकिन्छ । केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिन्छ । निर्माणाधीन १७ तले कुइन टावर नामको पाँचतारे होटल आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केबलकारको ३१ गोण्डला छन्, तीमध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् । प्रतिघण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको यो केबलकार विभिन्न सिफ्ट गरेर हाल दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चलाइने गरिएको छ । यो केबलकार १.०७ किलोमिटरको दूरीमा रहेको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि, गणेश, मनास्लु, लामटाङ हिमाल रेन्जको अवलोकन गर्न सकिन्छ । सिद्धार्थ केबलकार सिद्धार्थ केबलकार हालै सञ्चालनमा आएको हो । यसको निर्माण सिद्धार्थ केबलकार कम्पनी र करिब एक सय जना लगानीकर्ताले गरेका हुन् । ती एक सय जना लगानीकर्तामा ८० जनाभन्दा बढी बुटवलकै बासिन्दा रहेका छन् । यसले बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म जोड्ने काम गरेको छ । सुरुआती समयमा दैनिक पाँच हजार यात्रु आवतजावत गर्ने र अधिकतम दैनिक दस हजारसम्म यात्रु बोक्दै आइरहेको छ । यस केबलकारमा यात्रु बोक्ने २५ वटा गोन्डला रहेका छन् । केबलकार चढेको भाडा ७५० रुपैयाँ रहेको छ । यो केबलकार १.९० किलोमिटरको दुरीमा रहेको छ । १ अर्ब लगानीको यो केबलकार बन्न दुई वर्ष लागेको थियो । निमार्ण तयारीमा रहेका केबलकार पाथीभरा मन्दिर, पाथिभरा, ताप्लेजुङ जालपादेवी लम्कीचुहा, मोहन्याल, कैलाली सिकलेस, मादी गाउँपालिका, कास्की छिम्केश्वरी मन्दिर, छिम्केश्वरी, तनहुँ चम्पादेवी चाल्नालखेल, चप्पादेवी पोखरा मुक्तिनाथ, पोखरा, पर्वत म्याग्दी, मुस्ताङ फुलचोकी, ललितपुर नागार्जुन,काठमाडौं खाणादेवी, रामेछाप सिद्धबाबा, पाल्पा केबलकारबारे कार्यविधि बन्दै प्रशासन मन्त्रालयअन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख एवम् उपसचिव मोहनकुमार घिमिरेले निजी क्षेत्रको केबलकार आयोजनालाई ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना’ निर्धारण गर्नु स्वाभाविक भएको बताएका छन् । पछिल्लो समय केबलकार बनाउने कामतर्फ सबैले ध्यान दिनुपर्ने घिमिरेले उल्लेख गरे । ‘निजी क्षेत्रले केबलकारमा लगानी गर्न चाहन्छ भने राज्यले पनि सहजीकरण गर्नुपर्छ, यसमा कसैले अवरोध गर्नु हुदैनन् ,’ विकासन्यूजसँग कुरा गर्दै घिमिरेले भने, ‘केही नीतिगत केही कमजोरी छन् । हामी केबलकार सञ्चालन कार्यविधि र मापदण्ड छिट्टै ल्याउने तयारीमा छौं । यो चाँड नै लागू हुन्छ । हामीसँग प्राविधिक जनशक्ति छैन, जुन मन्त्रालयसँग प्राविधिक छ, त्यहीं मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्छौं । त्यसपछि सरकारसँग बसेर छलफल गछौं।’ उपसचिव घिमिरेले केबलकार निमार्ण गर्ने काम राम्रो भएको बताउँछन् । जमिनको जताततै नोक्सान, सडकका घुमाउरा बाटाभन्दा आम नागरिकलाई सहज र सजिलो खालको केबलकार भएको उनको भनाइ छ । अर्बौं लगानी लगाएर सडक खन्नुभन्दा केवलकारलाई नै राज्यले राष्ट्रिय प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । यस्तै, हाल केबलकारलाई नै अवसर दिनुपर्ने र त्यसमा आफ्नो पनि सर्मथन रहेको उनको भनाइ छ । के छ सम्भावना ? केबलकारका सम्भावना थुप्रै छन् । तर उक्त क्षेत्रमा रहेको जोखिम कम गरेर प्रोत्साहन गर्न सरकारले गर्नुपर्ने काममा सरकार, स्थानीय तह र सम्बन्धित निकायको ध्यान र चासो नजाँदा यो क्षेत्रको विकास जुन रूपमा अगाडि बढ्नुपर्ने थियो, त्यसरी अगाडि जान सकेको छैन । पछिल्लो दशक नेपालका विभिन्न व्यापारिक समूह तथा घरानाहरूबीच केबलकार बनाउने होडबाजी भने चलिरहेको छ । नेपालमा हालसम्म बनाइएका अधिकांश केबलकारमध्ये कुनैले राम्रै गरिरहेको पर्यटन विभागका निर्देशक तथा प्रवक्ता कालीबहादुर भुजेलले बताए । उनका अनुसार हाल देशका कुन ठाउँमा केबलकार चाहिने हो, सरकारले नै प्रारम्भिक अध्ययन गरेर लाइसेन्समा प्रतिष्पर्धा गराउनुपर्छ । प्रवक्ता भुजेल भन्छन्, ‘यदि निजी क्षेत्रले आम नागरिकका लागि सहज र सजिलोको लागि केबलकार निर्माण गर्छन् भने त्यो राम्रो हो, सरकाले यसमा सहयोग गर्नुपर्छ । तर निजी क्षेत्रले नाफामूलक हिसाबले मात्र सञ्चालन गर्छ भने त्यसलाई हटाइनुपर्छ ।’ यातायात पारवहनमा नागरिकलाई सुविधा दिनेभन्दा पनि नाफा कमाउने उद्देश्यमात्रै राखिएका यस्ता केबलकारको टावर हिमालपारिको जिल्ला मुस्ताङसम्म ठड्याउन खोजिँदैछ । पर्यावरणीय, सामाजिक, सुरक्षा र स्रोत संवेदनशीलता भएका यस्ता स्थानसम्म नाफा कमाउनकै लागि केबलकार विस्तार गरिनु हुँदैन ।

जाडो मौसममा लगाउनुहोस् यी जुत्ता, तातोसँगै देखिनेछ स्टाइलिस

केटा होस् या केटी हरेकले आफूलाई सुन्दर देखाउन चाहन्छ  । लगाउने लुगादेखि कपाल, अनुहार हातखुट्टा पनि त्यहीअनुसार चिटिक्क मिलाइएको हुन्छ । केही मान्छे त अझ खानेकुरा जस्तो खाए पनि लुक्समा चिटिक्क पर्ने हुन्छन् । अझ महिलाको गहना नै सौन्दर्य भनिन्छ । तर, चिसो बेलामा कसरी तातोसँगै स्टाइलिस्ट लुगाहरू लगाउने भन्ने पीर धेरैलाई हुन्छ । यस्तो अवस्थामा फेसन र स्टाइलिस देखिनका लागि विशेषगरी युवतीले फेसन र कम्फर्टका अनुसार आफ्नो जुत्ता छनोट गर्नुपर्छ । जसले गर्दा चिसोबाट जोगाउन सकियोस् र स्टाइलिस पनि देखिन सकोस् । आउनुहोस् आज हामी महिलाले चिसोमा कस्ता जुता  लगाउन सक्छन् ? यो विषयमा संक्षिप्त जानकारी दिनेछाैं ।  एन्कल बुट्स जुत्ता जाडोको लागि राम्रो विकल्प हो । यसले खुट्टालाई चिसोबाट बचाउने मात्र होइन, बरु स्टाइलिस पनि देखाउँछ । यस्तो अवस्थामा एन्कल  बुट्स लगाउन सकिन्छ । यी साना र ट्रेन्डी सुज हुन् जुन धेरै क्याजुअल र स्मार्ट क्याजुअल पोशाकहरूसँग राम्रोसँग मिल्दछन् । ओवर–द–नी बुट्स  यदि तपाईं चिसोबाट सुरक्षाका साथै स्टाइल चाहनुहुन्छ भने यी जुत्ताहरू उत्कृष्ट विकल्प हुन् । यो लुगा वा स्कर्टसँग राम्रो देखिन्छ । लङ्ग बुट्स  यसले तपाईंको खुट्टालाई पूर्ण रूपमा छोप्छ र चिसो हावाबाट बचाउँछ । तपाईं यसलाई जीन्स वा लेगिङसँग लगाउन सक्नुहुन्छ । फर-लाइन सुज (भुवावाला जुत्ता) यदि तपाईं जाडोमा हल्का र आरामदायक जुत्ता खोज्दै हुनुहुन्छ भने फर-लाइन स्यान्डल राम्रो विकल्प हुन सक्छ । यसले जाडोमा खुट्टा तातो राख्नुका साथै स्टाइलिस पनि देखाउँछ ।  

सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने बताएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने जनाएको हो । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति फैलाउन काम भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ,’ गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।

विदेशबाट एनईओ मार्फत पठाएको पैसा ज्योति विकास बैंकबाट झिक्न सकिने

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले एनईओ मनी ट्रान्सफरसँग नीतिगत साझेदारी गरेको छ । दुई पक्षबीच भएको सम्झौताले विदेशबाट एनईओ मनी ट्रान्सफरमार्फत पठाइएको रेमिट्यान्स रकम ग्राहकहरुले अब ज्योति विकास बैंकका नेपालभरका विभिन्न शाखाहरु मार्फत सजिलै प्राप्त गर्न सक्नेछन् ।  यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्ति र परिवारहरूले छिटो, सुरक्षित र सहज रुपमा वित्तीय सेवा लिने अपेक्षा गरिएको छ । एनईओ मनी ट्रान्सफरसँगको सम्झौताले बैंकको वित्तीय समावेशनलाई प्रवर्द्धन गर्न र वित्तीय समाधानका लागि विश्वसनीय साझेदारको रूपमा यसको स्थान सुदृढ गर्न प्रतिबद्धता प्रदर्शन गर्ने बताइएको छ । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूको सहजताको लागि विभिन्न सहकार्यहरू गर्दै विविध सुविधाहरू उपलब्ध गराउँदै आएको छ। साथै, डिजिटलाइजेसन सेवालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै, बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हितलाई उच्च प्राथमिकतामा राखेको दाबी गरेको छ ।

महालक्ष्मी विकास बैंकको वातावरणमैत्री तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सोही अन्तर्गत महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनको लागि दिने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विधार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गर्ने गरी राउण्ड टेबल नेपाल सँग समझदारी गरेको छ । यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौं’ भन्ने परियोजनामा थप टेवा पुग्नेछ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै तिनकुने टोल सुधार समिति, काठमाण्डौंलाई फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ । ४०० भन्दा बढी घर धुरी रहेको उक्त टोलमा स्वच्छता र हरियाली प्रवद्र्घन गर्ने उद्देश्यका साथ ५० वटा डष्टबिन वितरण गरिएको हो । बैंकको सामुदायिक सरसफाईमा योगदान पुर्याउने दीर्घकालिन प्रतिबद्घता अनुरुप यस किसिमको सहकार्य गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता स्वरुप ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा सांस्कृतिक गहना र सम्बन्धित कलाकृतिहरुको प्रदर्शनका साथै विभिन्न रत्नादी भएको परम्परागत आभुषणहरुको प्रदर्शन गर्न आयोजित ‘पाटन हेरिटेज रनवे’ आयोजना गर्न आर्थिक सहयोग गरेको छ । त्यसै गरी दैनिक कामकाजलाई सहज रुपमा सञ्चालन गर्न आवश्यक पर्ने कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्ची जस्ता कार्यालय सामाग्री खरिद गर्न श्री शिव मन्दिर, बसडिलवा, सिदार्थनगर, रुपन्देहीलाई बैंकले आर्थिक सहयोग गरेको छ । यस पश्चात मन्दिर व्यवस्थापनलाई कार्यालय व्यवस्थापन र पत्राचार गर्न सहज हुनेछ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहेव रमेश बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा डडेल्धुराको परशुराम नगरपालिकाअन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव बोहरा विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । बोहराले राष्ट्रसेवकको रूपमा अहेव ओहदा/पद पाउने उद्देश्यले भक्तपुरबाट जारी भएको कम्युनिटी मेडिसिन एसीसमेन्ट तहको नक्कली प्रमाणपत्रहरू पेश गरेर २०७७ भाद्र ११ गते नियुक्ति लिएको अख्तियार दाबी छ ।

भिजन कार्टमा कुमारी बैंकका ग्राहकलाई ४० प्रतिशत छुट

काठमाडौं । कुमारी बैंक र भिजन कार्टबीच बैंकका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौताअनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकलाई इएम् शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम ४ हजार सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट दिइनेछ । साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखासम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइने जनाइएकाे छ । विगत २३ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाईहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।