पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरियो
काठमाडौं । पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा शतबीज छरिएको छ । प्रत्येक दिन मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिनमा पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको हो । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकैका क्षेत्रमा आज बिहानैदेखि दिवङ्गत पितृका नाममा शतबीज छर्ने भक्तजनको घुइँचो लागेको थियो । शुक्रबार बेलुकीदेखि पशुपति क्षेत्रमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानैदेखि शतबीज छर्ने र समापन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको शुक्रबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको थियो । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको कोषले जनाएको छ । बालाचतुर्दशीको पशुपतिनाथ मेला समापन गर्न पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताएका छन् । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ । धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने बताउँछन् । ‘भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ,’ उनले भने । वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारणा गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ । यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि प्रसिद्ध छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो । माता, पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीयरुपमा दीपदान एवं शतबीज रोपण गर्ने धर्मशास्त्रविद् गौतमले सुनाए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ । तर कूल परम्पराअनुसार कति भक्तजन भने शुक्रबार पनि बरखी बारेकै अवस्थामा पशुपतिनाथमा आएर बत्ती बालेका छन् । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ । धेरै भक्तजनले कोषले सार्वजनिक गरेको कार्यतलिका अनुसार नै शतबीज छरेका छन् ।
सुपर काबेली राष्ट्रिय प्रसारणमा जोडिँदै, एनएमबि र राष्ट्रिय वाणिज्य बैंक मुख्य लगानीकर्ता
काठमाडौं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३.५ मेगावाट रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ । उनका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसन (१३२ केभीए क्षमता) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । सिरिजङ्घा-८ याम्फुदिनको राते खोलामा अवस्थित विद्युत गृहबाट अमरपुर सब-स्टेसनसम्मको करिब ३१ किलोमिटर दूरीमा रहेका प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ । सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो । वि.सं २०७९ मङ्सिर अन्तिम साताबाट सुरु भएको आयोजना छोटो अवधिमै सम्पन्न भएको जनाइएको छ । करिब २ अर्ब ६३ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो आयोजना क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । आयोजनाको मुख्य लगानीकर्ता एनएमबि बैंक भई वित्तीय व्यवस्थापन गरेको थियो । यो आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह-वित्तीयकरणमा सहभागी राष्ट्रिय वाणिज्य बैंक रहेको छ । सोही क्षेत्रमा काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले २१.१३ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । यसले स्थानीय र राष्ट्रिय ऊर्जा उत्पादनलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको हो । स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सुरुमा वडा नं १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीलाई वडा नं १२ मा, मङ्गलबार र बुधबार वडा नं १६, २६ र २७ का सेवाग्राहीलाई वडा नं २७ मा र बिहीबार र शुक्रबार वडा नं १० र ३० का सेवाग्राहीका लागि वडा नं ३० स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सेवा दिइने छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्सरे मेसिन राखिसकेको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने उहाँले जानकारी दिनुभयो । कामपाले वडा नं ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं १४ बल्खु, वडा नं १९ कङ्केश्वरी, वडा नंं २६ लैनचौर र वडा नं ३० ज्ञानेश्वर, वडा नं १६ बालाजु, वडा नं २७ महाबौद्ध, वडा नं १२ टेकु र वडा नं ७ चाबहिलको स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ । नसर्ने रोग पहिचानका लागि परीक्षण महानगरपालिकाले निदानात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनका लागि ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आँकलन गर्ने तथ्याङ्क तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने जनाएको छ । विभागले हरेक महिनालाई सचेतना अभिवृद्धि गर्ने महिनाका रुपमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत गत वैशाख महिनामा दृष्टि (आँखा तथा वातावरण), जेठ महिनामा मुख तथा नाक, काम घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान, भदौमा उच्च रक्तचाप, असोजमा मधुमेह तथा मोटोपना र कात्तिकमा स्वस्थ्यकर खानपान तथा आरोग्य जीवन सचेतना महिनाका रुपमा निदानात्मक कार्यक्रम सञ्चालन भइसकेका छन् । मङ्सिरमा मिर्गौला तथा अन्य जटिल दीर्घरोग, पुसमा श्वासप्रश्वास तथा अन्य जटिल दीर्घरोग, माघमा मादकपदार्थ तथा सडक दुर्घटना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य र चैत महिनामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछन् ।
घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य
काठमाडौं । बागलुङको बरेङ गाउँपालिकामा घरमा सुत्केरी घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य भएको छ । गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गरेपछि दुई वर्षदेखि बरेङ ‘शून्य होमडेलिभरी’ बनेको हो । आर्थिक वर्ष २०८०÷८१ मा गाउँपालिकाले पाँचवटै वडाका स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरेपछि गर्भवती सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामै आउने गरेका छन् । महिलामा स्वास्थ्य सचेतना बढ्दै गएपछि कोही पनि गर्भवती महिला घरमा सुत्केरी नहुने बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले जानकारी दिए । गाउँपालिकाले ‘शून्य होमडेलिभरी’ बनाउनका लागि कार्यविधिनै बनाएर लागेको जनाउँदै प्रत्येक महिना स्वास्थ्यकर्मी गर्भवतीका घरमा पुगेर गर्भ जाँच गर्ने र परिवारका सबै सदस्यलाई समेत सचेत गराउने गरेको उजको भनाइ छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई सरकारले दिन २८ यसबाहेक थप १ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म यातायात खर्च दिने गरेको प्रमुख पुनले बताए । गत वर्ष पालिकाभर १३३ जनामा गर्भवतीमध्ये ७० जना गाउँपालिकाभित्रको बर्थिङ सेन्टरमा र अन्य सुविधा सम्पन्न अस्पतालमा पुगेर सुरक्षित सुत्केरी भएको उनको भनाइ छ । गाउँपालिकाले ‘पोषिलो नाङ्लो’ कार्यक्रममा र ‘पोषिलो झोला’ कार्यक्रम सञ्चालन गरेपछि स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ भन्ने चेतनाको वृद्धि भएको पुन बताउँछन् । ‘पहिला घरमै सुत्केरी हुने चलन थियो, अहिले त्यो पूर्णरुपमा अन्त्य गरेका छौँ, यस वर्ष ‘पोषिलो झोला’ कार्यक्रम छ, यस कार्यक्रममा झोलामा सुत्केरीलाई चाहिने पोषिलो खाने कुरा हुन्छ, स्वास्थ्य चेतनासम्बन्धी किताब र पोस्टर हुन्छन्, अर्को ‘पोषिलो नाङ्लो’ कार्यक्रम पनि छ, यो कार्यक्रमअन्तर्गत सुत्केरीलाई एक नाङ्लो पोषिलो र स्वास्थ्यवद्र्धक स्थानीय उत्पादन दिने गरेका छौँ,’ उनले भने । प्रमुख पुनले गाउँपालिकाभित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुने नसक्ने र शल्यक्रिया गर्नुपर्ने महिलालाई थप ५ हजार रुपैयाँ यातायात खर्च दिने गरेको बताए । वडामै पुगेर भिडियो एक्सरे गर्दानै सामान्य सुत्केरी हुने र शल्यक्रिया गर्नुपर्छ कि पर्दैन भन्ने थाहा हुने हुँदा त्यहीअनुसार गर्भवतीलाई जानकारी गराउने उनको भनाइ छ । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले ‘शून्य होमडेलिभरी’ बनाउनका लागि सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र आवश्यक उपकरण तथा औषधि व्यवस्थापन गरेको बताए । आर्थिक अवस्था कमजोर भएर कारण घरमै सुत्केरी हुने महिलालाई गाउँपालिकाले आर्थिक सहयोग गरेर स्वास्थ्य संस्थामा ल्याउने काम गरेको उनको भनाइ छ ।
व्यापार घाटा ३.५२ खर्ब रुपैयाँ, यस्तो छ देशको अर्थतन्त्र
काठमाडौं । चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा छ दशमलव एक प्रतिशतले कमी आई ३८ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । यस्तै, वस्तु आयातमा चार दशमलव दुई प्रतिशतले कमी आई ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको तुलनामा व्यापार घाटामा चार प्रतिशतले गिरावट आई ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ रहन गएको छ । यस्तै, विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई ४ खर्ब सात अर्ब ३१ करोड रुपैयाँ रहन गएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव पाँच प्रतिशतले वृद्धि भई ३ खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । चालु आवको पहिलो त्रयमासमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब एक अर्ब ६६ करोड रुपैयाँले बचतमा रहेको थियो । औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ । गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो । तरकारी तथा दलहन उप-समूहको उच्च मूल्य वृद्धिका कारण २०८१ असोजमा वार्षिक विन्दुगत आधारमा खाद्यान्न समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी समूहको मुद्रास्फीति क्रमशः आठ दशमलव ४८ प्रतिशत र छ दशमलव ८५ प्रतिशत रहेको थियो । गत असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दुई दशमलव ७८ प्रतिशत रहेको थियो । त्यसैगरी, तलब तथा ज्याला सूचकाङ्क तीन दशमलव ३६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकाङ्क पाँच दशमलव ६५ प्रतिशतले बढेको थियो । चालु आवको मुद्रास्फीतिलाई पाँच प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ । गत असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि सात दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि तीन दशमलव ४९ प्रतिशत रही वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा गत असोज मसान्तमा १४ दशमलव महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ । मौद्रिक नीतिमा उल्लिखित ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दरलाई पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा आएको छ । चालु आवको पहिलो त्रयमासमा बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दर तीन प्रतिशत छ । आर्थिक वर्ष २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२ प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२ दशमलव पाँच प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक विन्दुगत आधारमा गत असोज मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय १३ दशमलव तीन प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा छ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
दुलही झैँ सिङ्गारिएको कीर्तिपुर, ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ । स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ । यही मङ्सिर १२ गते नै टिकट बुक गरिसकेका इमाडोल निवासी रमण थापाले त्रिवि मैदानमा चर्चित विदेशी खेलाडीको खेल हेर्न आफू निकै आतुर रहेको बताए । त्यसो त एनपिएलमा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ । विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो । भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन् । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी-२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो । विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन । फ्रेन्चाइज टिम किन्नकै लागि करिब ३ करोड रुपैयाँ माथीसम्म खर्च गरेको छ । पोखरा एभेन्जर्सले करिब ३ करोड ५७ लाख रुपैयाँमा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि कम्तीमा १ करोड रुपैयाँभन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ । एनपिएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो । नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ । क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै क्यानले प्रतियोगिताको विजेता टोलीलाई ठूलै नगद पुरस्कार दिने भनिएता पनि हालसम्म के कति पुरस्कार दिने भन्ने विषयमा खुलाएको छैन । आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरले एनपिएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ । जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन् । जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् । दासानायकेले सुरुआतमा सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यसदौरान उनकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । त्यस्तै नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलोदशमा भएको विश्वकपमा सहभागितासमेत जनाएको थियो । उनकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोटल्स विश्वस्त रहेको छ । जनकपुरका कप्तान अनिल शाहले आफनो टोलीको तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको भन्दै टिम जित्नकै लागि मैदानमा उत्रिने बताए । विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना पूरा हुन लाग्दा खुसी लागेको बताउँदै जनकपुरविरुद्धको पहिलो खेलबाटै जित निकाल्ने गरी मैदानमा उत्रिने बताए । विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् । टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् । उक्त खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रशारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ । त्रिविमा अध्ययनरत विधार्थीलाई टिकट मुल्यमा छुट नेपाल प्रिमियर लिग (एनपीएल) मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानका अनुसार त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने खेलमा त्रिवि विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट दिने जानकारी दिएको छ । प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर किङ्ग्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ ।
प्रधानमन्त्रीको कम्बोडियामा लगानी छ भनेर बोल्नु गल्ति भएको दुर्गा प्रसाईंको स्वीकार
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायीले आफ्नो गल्ति भएको स्वीकार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी कम्बोडियामा लगानी रहेको भन्दै सार्वजनिक गरेको कागजात सार्वजनिक गरेर गल्ति गरेको उनले स्वीकार गरेका हुन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)सँग बयान दिँदै उनले आफ्नो गल्ति भएको स्वीकार गरेका हुन् । उनले आफ्नो ह्वाट्सएपमा आएको कागज प्रमाणीकरण नगरी सार्वजनिक गर्नु गल्ति भएको बयान दिएका हुन् । प्रसाईंले दुई साताअघि युटुबरलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिअटा कम्पनीमा लगानी रहेको दाबी गरेका थिए । उनले सो कागजात सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध हालै आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान थालेको छ । पछिल्लो समय युटुबरलाई भेला पारेर उनले सरकार तथा विभिन्न व्यवसायीमाथि विभिन्न किसिमका आक्षेप लगाउँदै आएका थिए । यसअघि पनि उनी साइबर कसुरमा पक्राउ परेका थिए ।
चीनले महत्त्वपूर्ण धातु निर्यातमा प्रतिबन्ध लगाउने, टंग्स्टन खानी झन् नाफामूलक बन्ने
काठमाडौं । चीनले यस हप्ताको अन्त्यमा महत्त्वपूर्ण धातु टंग्स्टनको निर्यात सीमित गर्न थाल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जबकि यो धातुका लागि चिनियाँ आपूर्तिकर्ताहरूको विकल्पहरू पुनः सञ्चालनमा आउँदैछन् । पछिल्ला केही दशकमा चिनियाँ व्यवसायहरूले सस्तो टंग्स्टनलाई विश्व बजारमा प्रतिस्पर्धीहरूलाई कमजोर बनाउन प्रयोग गरेका थिए । आपूर्ति श्रृंखलाको ८० प्रतिशत नियन्त्रण गरेको स्थिति उल्टिने सम्भावना रहेको आर्गसले जनाएको छ । टंग्स्टन अत्यन्त कडा धातु हो, जसलाई हतियार र सेमिकन्डक्टरहरूमा प्रयोग गरिन्छ । ‘दुवै उद्देश्य’ (सैन्य वा नागरिक) मा प्रयोग गर्न सकिने वस्तुहरूको निर्यातलाई सीमित गर्ने नयाँ नियमको हिस्सा रूपमा चीनको वाणिज्य मन्त्रालयले यस महिनाको सुरुमा एउटा सूचना जारी गरेको थियो । यसले टंग्स्टन र अन्य महत्त्वपूर्ण खनिज उत्पादनहरू निर्यात गर्न चाहने व्यवसायहरूले लाइसेन्सको लागि आवेदन दिनुपर्नेछ । यी नयाँ मापदण्डहरू डिसेम्बर १ देखि लागू हुनेछन् । अमेरिका-चीन तनावले गैर-चीन टंग्स्टनको माग बढाएको छ । अमेरिकी रक्षा विभागले आफ्ना ठेकेदारहरूलाई जनवरी १, २०२७ देखि चीनबाट खनिएको टंग्स्टन किन्न प्रतिबन्ध लगाएको छ । हलगार्टन एन्ड कम्पनीका प्रमुख र खानी रणनीतिकार क्रिस्टोफर एक्लेस्टोनले भने, ‘टंग्स्टनमा चिनियाँहरूको लागि यो अलि ढिलो भएको छ ।’ ‘सबैलाई थप टंग्स्टन चाहिन्छ । टंग्स्टन उत्पादन बढाउन प्रेरित गर्ने मुख्य कुरा चिनियाँ प्रतिबन्ध होइन । यो प्रतिबन्धले टंग्स्टन खानीलाई अझ नाफामूलक बनाउँछ,’ उनले थपे । एक्लेस्टोनका अनुसार टंग्स्टनको मूल्यमा चीनको घोषणाले खासै प्रभाव पारेको छैन । धातुखानीलाई नाफामूलक बनाउन मूल्यहरू हालको लगभग ३३५ अमेरिकी डलर प्रति मेट्रिक टन एकाइभन्दा ५० डलरले माथि हुनुपर्ने अनुमान उनले गरेका छन् । आधिकारिक रेकर्डअनुसार अमेरिकाले सन् २०१५ देखि व्यावसायिक रूपमा टंग्स्टन उत्खनन गरेको छैन । तर यो वर्ष दक्षिण कोरियाको एक विश्वकै ठूलाे खानी उत्पादन पुनः सञ्चालनमा आउने तयारीमा छ । क्यानाडास्थित अल्मोन्टी इन्डस्ट्रीजले हालै दक्षिण कोरियाको साङडोङ खानी र प्रशोधन प्लान्ट पुनः सञ्चालनको नजिक पुगेको जनाएको छ । साङडोङ खानीले पहिलो चरणमा २५० प्रत्यक्ष रोजगारी र १ हजार ५०० अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । गत हप्ता यो साङडोङ खानी र ग्राइन्डिङ उपकरण जडानको साथ प्रशोधन प्लान्ट पूर्ण रूपमा खोल्न एक कदम नजिक आएको बताइएको छ । यो खानी सन् १९९४ मा बन्द भएको थियाे । प्राकृतिक स्रोतको उपलब्धताको विश्लेषण गर्ने सरकारी एजेन्सी अमेरिकी भूगर्भ सर्वेक्षणका धेरै सदस्यहरूले यस वर्षको सुरुमा साङडोङको भ्रमण गरेका थिए । चीन भित्र र बाहिर टंग्स्टनको माग बढ्ने अपेक्षा गरिएको छ । अमेरिकामा टंग्स्टन उत्पादन नभए पनि अमेरिकी भूगर्भ विभागले १२ राज्यहरूमा टंग्स्टनको पर्याप्त भण्डार रहेको पहिचान गरेको छ । अर्कोतर्फ, डेमेस्ने रिसोर्सेस नामक क्यानाडाली कम्पनीले इडाहोमा रहेको आईएमए टंग्स्टन खानीलाई खरिद गर्ने सम्झौता गर्न लागेको जनाइएको छ । (एजेन्सीको सहयोगमा)