विकासन्युज

मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो

काठमाडौं । मलेसियाको उत्पादक मूल्य सूचकांक अक्टोबरमा २.४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले देखाएको छ । जसले उत्पादक स्तरमा सामानको मूल्य परिवर्तन मापन गर्दछ । डिपार्टमेन्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले यो गिरावट मुख्यतया खानी क्षेत्रमा १७.३ प्रतिशतले घटेको बताएको छ । कच्चा तेल निकासीको सूचकांक २१.७ प्रतिशतले घटेको छ भने प्राकृतिक ग्यास निकासीको सूचकांक १.७ प्रतिशतले घटेको छ । त्यसबाहेक उत्पादन क्षेत्र पनि २.६ प्रतिशतले घटेको छ । कृषि, वन र मत्स्यपालन क्षेत्र १३.८ प्रतिशतले बढेको छ । उपयोगिता क्षेत्रका लागि खानेपानी परिसूचक ६.९ प्रतिशतले बढेको छ भने विद्युत र ग्यास आपूर्ति सूचकाङ्क ०.८ प्रतिशतले बढेको छ । मासिक आधारमा अक्टोबरमा उत्पादक मूल्य सूचकाङ्क ०.७ प्रतिशतले घटेको छ ।

‘रवि दाइलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान भइरहँदा रास्वपाका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन् । पोखराको प्रहरी हिरासतमा रहेका रविलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि हिजो साँझ काठमाडौं ल्याइएको थियो । काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा रविको बयान भइरहेको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो । यता उनको समर्थक र कार्यकर्ताहरुले भने माइतीघरको उनको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनर सलिको, प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम सुदूरपश्चिम रोयल्सको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) इन्स्योरेन्स पार्टनर बनेको छ । सलिको सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरका रूपमा रहने गरी सम्झौता भएको हो । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले सम्झौतामा हत्ताक्षर गरे । उक्त सम्झौताअन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यहरूको प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा र १ लाख बराबरको औषोधोपचार बीमाको व्यवस्था गरेको जनाएको छ । रोयल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खड्काले सलिकोसँगको आबद्धताले आफूहरू अत्यन्त उत्साहित भएको बताए । त्यस्तै, सलिकोका सीई‌ओ क्षेत्रीले सुदूरपश्चिम रोयल्ससँग सहकार्यको हात अगाडि बढाउन पाउँदा सिंगो सलिको परिवार अत्यन्तै हर्षित भएको कुरा बताए । क्षेत्रीले एनपीएलको यस ऐतिहासिक पहिलो संस्करणको उपाधि जित्नका निम्ति सुदूरपश्चिम रोयल्सको टिमलाई हार्दिक शुभकामनासमेत व्यक्त गरे ।

बागमती नदीमा छाडियो मेलम्चीको पानी

काठमाडौं । बालाचतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्चीखाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ । शुक्रबार साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ । बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्चीखाने पानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । उनले भने, ‘बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बागमतीमा छाड्दै आएको थियौँ, बिहीबारदेखि थप करिब चार करोड लिटर पानी बागमती नदी सफा गर्नका लागि छाडेका छौँ ।’ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई बालाचतुर्दशीका दिन पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्यकार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो ।

५ प्राविधिक एसपी एसएसपी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँच प्राविधिक उपरीक्षक (एसपी) हरू वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् । स्वास्थ्य उपसमूहको चिकित्सकतर्फका चार र इन्जिनियरतर्फको सूचना प्रविधिमा एक गरी पाँच जनालाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको हो । चिकित्सकतर्फ बढुवा सिफारिस हुनेहरूमा प्रहरी अस्पतालको रेडियोलोजी शाखामा कार्यरत डा. केदार खड्गी, मेडिसिन शाखामा कार्यरत डा. छन्दबहादुर बुढाथोकी, गण्डकी प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा. पवनकुमार राय र प्रहरी अस्पताल महाराजगञ्जको डेन्टल शाखामा कार्यरत डा. सुवर्ण कुँवर छन् । त्यसैगरी सूचना प्रविधितर्फका एसपी श्यामकुमार मण्डललाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको छ । उनी प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा कार्यरत छन् ।

धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे

काठमाडौं । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त भएका छन् । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंसिर १३ गतेदेखि लागू हुने गरी प्रवक्तामा घिमिरेलाई नियुक्त गरेका हुन् । धितोपत्र बोर्डमा उनी उपकार्यकारी निर्देशक छन् । यसअघि धितोपत्र बोर्डमा प्रवक्ताको भूमिकामा कार्यकारी निर्देशक डा नवराज अधिकारी थिए । करिब ११ महिनापछि धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको हो । मन्त्रिपरिषदको बैठकले गत मंसिर १० गते श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ : अर्थमन्त्री

भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताएका छन् । लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन अगाडि बढाउन अदालतले बाटो खोलिदिएकाले अब छिट्टै काम अघि बढ्ने उनको भनाइ थियो । भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको ४२औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री पौडेलले यस क्षेत्रकै लागि महत्वपूर्ण रहेको योजनाको डिपिआर निर्माणकै क्रममा केही पक्षले मुद्दा हालेकोमा अहिले अदालतले उक्त योजना अगाडि बढाउने पक्षमा फैसला गरेको बताएका हुन् । ‘राम्दीबाट सुरङ खनेर कालीगण्डकीको पानी दोभानमा तिनाउ नदीमा खसाल्ने र रुपन्देही, नवलपरासी र कपिलवस्तुमा डेढ लाख हेक्टरभन्दा बढी जग्गामा सिँचाइ सुविधा विस्तार गर्ने योजना हो’, उनले भने, ‘यससँगै करिब डेढ सय मेगावाट बिजुली उत्पादन गर्ने, पानी प्रशोधन गरि पिउनेयोग्य बनाउने र पर्यटन प्रवद्र्धनमा समेत सदुपयोग हुनेछ ।’ अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका विषयमा नकारात्मक कुरा नफैलाउन पनि आग्रह गरेका छन् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीका लागि मात्र नभइ नेपालकै लागि महत्वपूर्ण रहेको बताउँदै यसको सञ्चालन कुनै पनि हालतमा नरोकिने जिकिर गरे । ‘कसैलाई यो विमानस्थलको बारेमा बोल्न सङ्कोच लाग्छ भने यसको विरोध पनि नगरे हुन्छ’, उनले भने ‘हुन्न, बन्दैन, चल्दैन किन भन्ने ? सक्नुहुन्छ अलिकति योगदान गर्नुहोस, यसबारे सकारात्मक विषय लेखिदिनुहोस् ।’ नेपाल नेत्रज्योति सङ्घद्वारा विसं २०४० मङ्सिर १३ गते स्थापना गरिएको नेपाल नेत्रज्योति सङ्घ, श्री लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालले विगत ४२ वर्षदेखि अनवरत रुपमा आँखा रोगका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल यस अस्पतालले दैनिक औसतमा एक हजार दुई सय बहिरङ् सेवा तथा एक सय ५० आँखा रोगसँग सम्बन्धित विभिन्न शल्यक्रिया गर्दै आइरहेको नेपाल नेत्रज्योति सङ्घ रुपन्देहीका अध्यक्ष कमलराज जोशीले बताउनुभयो । आँखाको सुन्दरता बनाउने शल्यक्रिया, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दा, न्यून दृष्टि आँखाको व्यायाम, बालशङ्खा उपचार सेवालगायतका विशिष्टकृत सेवा पनि अस्पतालले उपलब्ध गराउँदै आएको छ । अस्पतालको शल्यक्रिया भवनको श्री नव सिर्जनशील कन्स्ट्रक्सन कम्पनी प्रालीसँग पहिलो चरणको कार्य दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २२ करोड २९ लाख रुपैयाँ, १० हजार ९७ मा कार्य सम्झौता गरिएको छ । भवनमा बिरामीको सुविधाका लागि करिब ९० शय्या क्षमताको जनरल वार्ड, डिलक्स कोठासमेत ३० कोठासहितको अन्तरङ्ग विभाग हुनेछ । भवनमा उच्चस्तरीय सुविधायुक्त करिब १२ कोठा रहेको शल्यक्रिया कक्ष हुनेछ ।

मौद्रिक नीतिको समीक्षालाई लिएर रियल स्टेट व्यवसायी आक्रोशित

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षामा आफ्ना मागहरू नसमेटिएको भन्दै रियल स्टेट व्यवसायी आक्रोशित भएका छन् । रियल स्टेट व्यवसायीहरूले मौद्रिक नीतिमार्फत रियल स्टेट क्षेत्रको नीतिगत सुधारको अपेक्षा गरेका थिए । उनीहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै सुधार गर्नुपर्ने विभिन्न नीतिगत व्यवस्थाको माग राखेका थिए । तर, त्यस्तो माग सम्बोधन नभएपछि व्यवसायीहरू चिन्तित बनेका हुन् । नेपाल जग्गा तथा आवास विकास महासंघ यस क्षेत्र सुधारको लागि विभिन्न ६ वटा सुझावसहितको माग गभर्नर अधिकारीसमक्ष प्रस्तुत गरेका थिए । उनीहरूले मसिंरको पहिलो साता सुझाव पेश गरेका थिए । जसमध्ये एउटा माग पनि सम्बोधन नभएपछि आफूहरू चिन्तित भएको महासंघका महासचिव विष्णुप्रसाद घिमिरेले बताए । घरजग्गाको कारोबार सुस्ताउँदा समग्रह अर्थतन्त्रमा नै नकरात्मक असर परेको र सो विषयमा गभर्नर अधिकारीले नबुझेको उनको भनाइ छ । यस्तै, महासचिव घिमिरेले रियलस्टेट कारोबार चलायमान हुँदा यहाँका उद्योगहरू पनि चलायमान हुँदै जाने र अर्थतन्त्र पनि चलायमान हुने बताए । अर्थविज्ञहरूले पनि रियल स्टेट कारोबार सुस्ताएका कारण आर्थिक मन्दि भएको उल्लेख गरिरहेको परिप्रेक्ष्यमा राष्ट्र बैंकले त्यस विषयको गम्भीर्यतालाई नजरअन्दाज गरेको उनको आरोप छ । यस्तै, नेपाल जग्गा तथा आवास विकास संघ अध्यक्ष विदुर धमलाले पनि नेपाल राष्ट्र बैंकले रियल स्टेट क्षेत्रलाई उपेक्षा गरेको बताए । उनले पनि रियल स्टेट क्षेत्र चलायमान बनाउने नीति अवलम्बन गर्दा अर्थतन्त्र नै चलायमान हुने बताउँदै राष्ट्र बैंकले यस विषयलाई वेवास्ता गरेकोमा उनले चिन्ता व्यक्त गरे । रियल स्टेट क्षेत्र चलायमान गर्न भन्दै महासंघले यी ६ सुझाव दिएको थिए १. अनुमतिप्राप्त रियल स्टेट कम्पनीलाई प्रवाह हुँदै आएको कर्जामा कर्जा र धितोको अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने  २. कर्जा र आम्दानीको अनुपात ८० प्रतिशत गर्नुपर्ने  ३. रियल स्टेट व्यवसाय गर्ने कम्पनीहरूलाई प्रदान गरिने कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्नुपर्ने  ४. रियल स्टेट कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्नुपर्ने  ५. अर्थतन्त्र चलायमान नभएको वर्तमान परिप्रेक्ष्यमा कर्जाको प्रिमियम घटाउनुपर्ने  ६. रियल स्टेट कर्जालाई वर्किङ क्यापिटल गाइडलाइन लागू नगर्नका लागि स्पष्ट निर्देशन दिनुपर्ने  यो पनि : राष्ट्र बैंकले भन्यो : लचिलो मौद्रिक नीतिलाई निरन्तरता दियौं, अब बैंकको कर्जा बढ्छ