विकासन्युज

धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता

काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असार महिना यताको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । लक्ष्मीनिया गाउँपालिकाको गाउँसभा हुन नसक्दा खातासम्म सञ्चालन नभएकाले वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् । आफूहरुले असार महिनायताको भत्ता पाउन नसकेको लक्ष्मीनिया गाउँपालिकाकी कुमारी मण्डलले गुनासो गरिन् । भत्ता नपाउँदा धेरै समस्यामा परेको उनले बताइन्। उनले भनिन्, ‘मेरै गाउँको अध्यक्ष हुन् तर पटकपटक भेटेरै गुनासो गर्दा समेत सुन्नुहुन्न ।’ यता अर्का वृद्धले छोराछोरीले घरमा खर्च नदिने र पालिकाले पनि भत्ता नदिँदा निकै मर्कामा परेका बताए । उनले भने, ‘भत्ताकै भरमा आफ्नो खर्च चलाइरहेका थियौं तर पटकपटक धाउँदासमेत असारपछि भत्ता पाएका छैनौं ।’ लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादवले प्रमुख प्रशासकीय अधिकृतका कारण यो समस्याको सिर्जना भएको आरोप लगाए । उनले प्रमुख प्रशासकीय अधिकृतको असक्षमताका कारण गाउँसभा नहुँदा पालिकाको खातासम्म सञ्चालन हुन नसकेको बताए । पालिकाको खाता सञ्चालन नभएकै कारण भत्ताहरुका साथै कर्मचारीहरूले तलवसम्म पाउन नसकेको बताए । यही विषयलाई लिएर लक्ष्मीनिया गाउँपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरूका साथै नागरिक समाजले दबाबमूलक कार्यक्रमसमेत गरेका छन् ।

रिलायन्स फाइनान्स र लुम्बिनी लायन्सबीच प्रायोजन सम्झौता

काठमाडौं । रिलायन्स फाइनान्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को टीम लुम्बिनी लायन्ससँग प्रायोजन सम्झौता गरेको छ । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाले हस्ताक्षर गरे । सम्झौतापश्चात अब रिलायन्स फाइनान्सले लुम्बिनी लायन्ससँग आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागिता जनाउने छ । सीईओ श्रेष्ठले यस साझेदारीले रिलायन्स फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने वचनबद्धतालाई उजागर गर्ने प्रष्ट पारे । लुम्बिनी लायन्स फ्रेन्चाइज, जसको नेतृत्व नेपाल राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्दैछन् । नेपाल प्रिमियर लिगमा आठवटा फ्रेन्चाइज भाग लिनेछन् र प्रतियोगिता ३० नोभेम्बर २०२४ देखि सुरु हुनेछ । लुम्बिनी लायन्सले ४ डिसेम्बर २०२४ मा विराटनगर किङ्ग्ससँग आफ्नो पहिलो खेल खेल्नेछ।

भिभो बन्यो एनपीएलको आधिकारिक स्मार्टफोन साझेदार

काठमाडौं । भिभोले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग नेपाल प्रिमियम लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदारको रूपमा सहकार्य गर्ने भएको छ । ‘हिमालयको महोत्सव’को रूपमा चिनिने यो प्रतियोगिता मङ्सिर १५ देखि पुस १ सम्म आयोजना हुँदैछ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा यो साझेदारीको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल लिउ, क्यानका सचिव पारस खड्का लगायत दुवै संस्थाका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । यो साझेदारीले भिभोको खेलकुद क्षेत्रप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ । आईपीएल र युईएफए युरो कपजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत साझेदार रहिसकेको भिभोले अब नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । कार्यक्रममा बोल्दै भिभो नेपालका सिइओ माइकल लिउले भने, ‘नेपालको सर्वाधिक प्रतीक्षित क्रिकेट प्रतियोगिता एनपीएलसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । खेलकुदको माध्यमबाट नेपाली जनतासँग जोडिन पाउनु हाम्रो लागि गौरवको विषय हो।’ प्रतियोगिताको अवधिभर भिभोले विभिन्न डिजिटल तथा भौतिक गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ । यसमा अन्तरक्रियात्मक प्रतियोगिता, प्रविधि प्रदर्शनी तथा दर्शकमैत्री कार्यक्रमहरू समावेश छन् ।

मौद्रिक नीतिको समीक्षा: पर्ख र हेरको रणनीतिमा

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन ले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको जनाएको छ । सीबीफीनले प्रेस विज्ञप्ति जारी गर्दै पहिलो त्रैमासिक समीक्षा मौन बसेको भन्दै आगामी समीक्षामा व्यावसायिक माग सम्बोधन गर्न आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकको विशेष पहलका कारण अर्थतन्त्रका बाह्य सूचकहरूमा निरन्तर सकारात्मक सुधार आउँदै गरेको परिप्रेक्ष्यमा अर्थतन्त्रका आन्तरिक सूचकहरू भने झन शिथिल हुँदै गएको तत्कालीन परिस्थिति र आम अपेक्षाहरूलाई सुक्ष्मरूपमा अध्ययन तथा विश्लेषणसहित समग्र आर्थिक, व्यावसायिक एवं बैंकिङ गतिविधिहरूलाई जीवन्त बनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । गत श्रावणमा आएको २०८१/८२ को मौद्रिक नीतिले आमरूपमा आशा र उत्साह जगाएकोमा सीवीफीनले समयसापेक्ष मौद्रिक नीतिको स्वागत गर्दै आगामी निर्देशन तथा समीक्षाहरूमार्फत समयानुकूलरूपमा थप नीतिगत सहजता हुनुपर्ने आवश्यकता बोध गराएको थियो । विज्ञप्तिमा मौद्रिक नीतिले अपनाएका नीतिगत व्यवस्थाहरू कार्यान्वयनबाट मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम हुँदै गएको भएपनि बैंक तथा वित्तीय संस्थाहरूको खराब/निष्क्रिय कर्जा एवं गैरबैंकिङ सम्पत्तिमा निरन्तररूपमा बृद्धि भइरहेको, अपेक्षाकृतरूपमा कर्जा लगानी हुन नसकेको पनि उल्लेख छ । निजी क्षेत्रको मनोबलसमेत खस्किरहेको वर्तमान परिस्थितिका बीच जारी भएको समीक्षाले पछिल्लो समयमा विकसित विविध घटनाक्रमहरूलाई नीतिगत सम्बोधन गर्नुपर्ने सीबीफीनको माग छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा शुक्रबार सार्वजनिक गरेको थियो । [pdf id=525592]

पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने नाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष शुक्रबार बिहान देखाइएको छ । गत एक वर्षसम्म पशुपतिनाथ मन्दिरको माथिल्लो तलामा यी सामग्री सुरक्षित राखिएको भनी आज देखाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मार्ग शीर्ष कृष्ण औँसीका अवसरमा यही मङ्सिर १६ गते बिहान पनि अर्को वर्षका लागि सुरक्षित राखिँदै छ भनी आममानिसलाई देखाउने परम्पराअनुसार यो देखाउने कार्यक्रम रहेको उनले बताए । पशुपति क्षेत्रमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न हजारौँ भक्तजनको घुइँचो लागेको थियो । काठमाडौं महानगरपालिका वडा नं ९ बत्तिसपुतलीबाट पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न पशुपतिनाथ मन्दिरको पश्चिम मूल ढोकाअघि लाममा बसेका सुरेश नेपालले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका यस्ता सामग्री हेर्ने रहरले आफू आएको बताए । यस्ता सामग्री भावी पुस्ताका लागि पनि सुरक्षित गरिनुपर्ने उनको सुझाव छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मीको सहयोग लिएर पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान प्रदर्शन गरिएको थियो । मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन देशभरबाट धेरै भक्तजन दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउने अवसर पारेर पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष देखाउने परम्परा सुरु भएको कोषले जनाएको छ । बत्ती बाल्न आउनेको पशुपति क्षेत्रमा घुइँचो मार्ग शीर्ष कृष्ण त्रयोदशीको राति आज पशुपतिनाथमा बत्ती बाल्न आउने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । बत्ती बेलुकी बाल्ने भए पनि रातभर बसेर महादीप दान गर्न उपयुक्त स्थानको खोजीमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो । कति भक्तजन त बिहीबार राति पशुपति क्षेत्र आइपुगेको कोषका प्रवक्ता अधिकारीले उल्लेख गरे । उनका अनुसार सबैलाई सहज रूपमा बसेर बत्ती बाल्न सक्नेगरी सबै व्यवस्थापन गरिएको छ । आज रातभर बत्ती बाली शनिबार बिहान वाग्मतीमा सेलाएर भक्तजनले पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्छन् । यसो गरेमा दिवङ्गत पितृले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ । पशुपति क्षेत्रमा लाग्ने बालाचतुर्दशीको सबै तयारी पूरा भएको पनि कोषले जनाएको छ । बत्ती बाल्न शुल्क नलाग्ने पनि कोषले स्पष्ट पारेको छ । रातभर बत्ती कुरेर बस्न नसक्ने भक्तजनका लागि मात्र कोषले आफैँ रसिद काटेर दुई हजार एक सय रुपैयाँ लिने सदस्य सचिव डा मिलनकुमार थापाले बताए । आफैँ बत्ती कुरेर बस्ने भक्तजनका लागि भने कुनै शुल्क नलाग्ने उनले जानकारी दिए ।

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो । मेडिकल व्यवसायी प्रसाईं साइबर अपराधको कसूरमा मंसिर ५ गते पक्राउ परेका हुन् । यसअघि आइतबार उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको थियो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए । अहिले प्रहरीले प्रसाईंमाथि व्यवसायीहरुलाई धम्क्याएर चन्दा मागेको आरोपमा पनि अनुसन्धान गरिरहेको छ ।

रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शुक्रबारको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो साढे ३ बजे आजका लागि बयान सकिएको हो । आइतबार थप बयान लिइने जिल्ला सरकारी वकिलले जनाएको छ । कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याइएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । रवि कात्तिक २ गते पक्राउ परेका थिए ।

जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा टीम जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता गरेको छ । नेपाल सेरामिक इण्डस्ट्रीले गुणस्तर र लोकप्रिय नेपोभिट टायल्स विगत ३ वर्षदेखि उत्पादन गर्दै आएको छ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल शनिबारबाट सुरु हुन लागेपछि क्रिकेट क्षेत्रमा उत्साह छाएको छ । यसै क्रममा नेपोभिट टायल्सले पनि जनकपुरको टिम जनकपुर बोल्ट्ससँग डेकोर पार्टनरमा सम्झौता गरेको छ । हस्ताक्षर समारोहमा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र नेपोभिट टायल्सका अध्यक्ष शम्भुनाथ झाले सम्झौतापत्र आदानप्रदान गरेका थिए । समारोहमा नेपोभिट टायल्सका अध्यक्ष शम्भुनाथ झाले भने , ‘नेपोभिट टायल्सलाई जनकपुर बोल्टसँग जोड्न पाउनु सम्मानको कुरा हो, जसले दृढ संकल्प र टिमवर्कको प्रतिनिधित्व गर्दछ ।’