विकासन्युज

सीईडीबी होल्डिङ्सको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । सीर्डडीबी होल्डिङ्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । कम्पनी सञ्चालक समितिले हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । यस सम्बन्धमा सीईडीबी होल्डिङ्स र मुक्तिनाथ क्यापिटलबीच सम्झैता पनि भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँको १ः०५४५ अनुमातमा अर्थात १ सेयरबराबर नयाँ ०.५४५ कित्ता सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्न लागेको छ । हकप्रद निष्कासनसम्बन्धी प्रस्ताव गत असोज २१ गते आयोजित वार्षिक साधारणसभाले अनुमोदन गरिसकेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई नगदसहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार ५५९.४९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको अगाामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सुनको मूल्य १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार ९ सय रुपैयाँले  बढेर १ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

बैंकको कर्जा लगानी लक्ष्यभन्दा आधा, राष्ट्र बैंक चिन्तित

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी लक्ष्यको भन्दा आधा देखिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्फको कर्जा १२.५ प्रतिशतको लक्ष्य राखेकोमा असोज मसान्तसम्म ६.२ प्रतिशतमात्रै कर्जा प्रवाह भएको हो । यस्तै, राष्ट्र बैंकले विस्तृत मुद्राप्रदाय १२.० प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशत रहेको उल्लेख गरेको छ । राष्ट्र बैंकले लक्ष्यअनुरूप कर्जा लगानी नभएको बताएको छ भने अब विस्तारै कर्जा लगानी बढ्ने अनुमान गरेको छ । यस्तै, राष्ट्र बैंकले मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो ३ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको उल्लेख गरेको छ । २०८१ असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.१८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.४९ प्रतिशत रही वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको उल्लेख छ । कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८१ असोज मसान्तमा १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा उल्लेख गरिएको छ । मौद्रिक नीतिमा उल्लिखित ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दरलाई ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा आएको उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर ३.०० प्रतिशत रहेको बताइएको छ ।

ट्रम्पको शुल्कको धम्कीले युरोपका अटो दिग्गज सशंकित, फरारीलाई भने छैन तनाव

काठमाडौं । युरोपका धेरै अटो कम्पनीहरू अमेरिकी शुल्कको खतराबाट दबाबमा छन् । निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो कार्यकालको सुरुवातमै चीन, क्यानडा र मेक्सिकोमा भारी शुल्क लगाउने वाचा गरे, जसले अटो उद्योगका आपूर्ति श्रृंखलामा खलल पुर्‍याउने र लगानीकर्ताहरूलाई उच्च लागतबारे चिन्ता जगाउने सम्भावना छ । ट्रम्पले प्रस्ताव गरेका उपायहरूमा चिनियाँ उत्पादनहरूमा १० प्रतिशत थप शुल्क र क्यानडा तथा मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क समावेश छ । ट्रम्पले ट्यारिफ लगाउने कुरा गरेसँगै अटो सेयरहरू घटे । यसले अमेरिका र युरोपका निर्माताहरूका लागि गम्भीर परिणामहरू निम्त्याउन सक्छ । तीमध्ये धेरैले मेक्सिकोमा कारखाना बनाएका छन् र अटो पार्ट्स आपूर्तिकर्ताहरूमा निर्भर छन् । ट्रम्पको पहिलो शुल्क घोषणामा युरोपको उल्लेख नभएको कुरा युरोपेली संघका नीति निर्माताहरूका लागि सुखद समाचार मानिनेछ । तर २७ राष्ट्रको यो समूहले ट्रम्पले चाँडै नै युरोपको अटो क्षेत्रमा ध्यान दिने सम्भावनाबारे चिन्ता गरेको छ । यता फरारी भने अधिकांश असरबाट सुरक्षित रहने अपेक्षा गरिएको छ । ‘चाहे शुल्क जुनसुकै होस्, उनीहरूले फरारी अमेरिकामा उत्पादन सुरु गर्ने छैनन् । सबै कुरा इटालीको मारानेल्लोमै हुन्छ,’ मर्निङस्टारकी इक्विटी विश्लेषक रेल्ला सस्किनले सीएनबीसीलाई बताइन् । ‘फरारीको कुरा गर्दा चाहे १० प्रतिशत, २० प्रतिशत वा ३० प्रतिशत शुल्क भए पनि उनीहरूले सजिलै उपभोक्ताहरूमा मूल्य हस्तान्तरण गर्न सक्छन् । किनभने गाडीको मूल्य पहिलै नै महँगो भए पनि उनीहरूका लक्षित ग्राहकहरू छन्,’ उनले थपिन् । मर्निङस्टारकी सस्किनका अनुसार युरोपबाट आउने सबै सामानमाथि ३० प्रतिशत जति उच्च अमेरिकी शुल्कले पनि सम्भावित ग्राहकहरूलाई फरारी किन्नबाट रोक्न सक्दैन । ‘यो हास्यास्पद छ, तर यस्तै हो,’ उनले भनिन् । आरबीसी क्यापिटल मार्केट्सका ग्लोबल अटो विश्लेषक टम नारायणले यस विचारलाई दोहोर्‍याउँदै फरारीले मूल्य वृद्धिलाई सजिलै ग्राहकमाझ हस्तान्तरण गर्न सक्ने देखिने बताए । ‘यो समयले मात्र बताउने कुरा हो, तर यो सहीजस्तो देखिन्छ,’ केप्लर चुभ्रेक्सका थमस बेसनले बताए । फरारी यस वर्ष युरोपमा आफ्ना प्रतिस्पर्धी कार निर्माताहरूलाई पछि पार्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । मिलान-सूचीबद्ध कम्पनीको सेयर मूल्य यस वर्ष ३४ प्रतिशतभन्दा बढीले बढेको छ, जुन फ्रान्सको रेनल्ट वा जर्मनीको मर्सिडिज-बेन्ज ग्रुपजस्तै अन्य कम्पनीहरूसँगको तुलनामा निकै बढी हो । ‘हामी फरारीले अमेरिकामा उत्पादन सुरु गर्ने अपेक्षा गर्दैनौं,’ ओड्डो बीएचएफका अटो विश्लेषक एन्थोनी डिकले बताए । पोर्शे केही फरक जर्मनीको पोर्शेका लागि भने थप अमेरिकी शुल्क ‘धेरै ठूलो चुनौती’ हुने सम्भावना रहेको बेसन बताउँछन् । फरारीजस्तै, पोर्शे पनि केवल इटालीमा उत्पादन हुन्छ, फक्सवागन स्वामित्वमा रहेको पोर्शेले परम्परागत रूपमा जर्मनीमा आफ्नो लक्जरी मोडलहरू उत्पादन गर्दै आइरहेकाे छ । ‘पोर्शे केही फरक छ,’ मर्निङस्टारकी सस्किनले भनिन् । ‘उनीहरूले १० प्रतिशत शुल्क हस्तान्तरण गर्न सक्नेछन् । तर ३० प्रतिशतजस्तो ठूलो शुल्क ग्राहकमा हस्तान्तरण गर्न केही कठिन हुन सक्छ,’ उनले भनिन् । पोर्शेको सेयर मूल्य यस वर्ष झण्डै २६ प्रतिशतले घटेको छ ।

खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि जुट्यो १८ लाख

तनहुँ । बन्दीपुर गाउँपालिका–१ बेलभन्ज्याङस्थित खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि १८ लाख रुपैयाँ जुटेको छ । मन्दिर पुनर्निर्माण समितिका सल्लाहकार टीकाराम गिरीका अनुसार उक्त रकम देउसीभैलो एवं दाताबाट प्राप्त भएको हो । मन्दिर निर्माणका लागि ३० लाख रुपैयाँ आवश्यक पर्ने उनले बताए । बन्दीपुर गाउँपालिकाले भने चार लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । अर्थ सङ्कलनमा सहयोग जुटाउने अभियानमा मन्दिर पुनर्निर्माण समिति र सल्लाहकार समितिका पदाधिकारी जुटेका छन् । हरेक वर्ष यो मन्दिरमा शारदीय अष्टमीको र चैत्राष्टमीका दिनमा मेला लाग्ने गर्छ । औँसी र एकादशी दिनबाहेक अन्य दिन नित्य पूजा हुने गरेको छ । विसं २०३२ मा स्थानीय सन्तबहादुर थापाको अगुवाइमा मन्दिर निर्माण भएको हो ।

महँगी अझै बढ्न सक्छ : राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले महँगी अझै बढ्ने अनुमानग गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षामा महँगी अझै बढ्न सक्ने आँकलन गरिएको छ । विशेषगरी, भारतमा खाद्य बस्तुको महँगी बढेको र विश्वमा भइरहेको विभिन्न युद्धका कारण महँगी अझै बढ्न अनुमान सक्ने राष्ट्र बैंकले गरेको छ । भारतमा खाद्य समूहको मुद्रास्फीति उच्च रहेको अवस्थामा मध्यपूर्वी एशियाली मुलुकमा विद्यमान भू-राजनीतिक तनाव तथा थप जटिल हुँदै गएको रुस-युक्रेन युद्धका कारण आपूर्ति श्रृंखलामा व्यवधान पुग्नसक्ने र यसबाट उपभोक्ता मूल्यमा चाप पर्नसक्ने जोखिम भने यथावत रहने समीक्षामा उल्लेख छ । यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रयमाससम्म मुद्रास्फीति लक्षित सीमाभित्र रहेको छ । भारतमा पछिल्लो समय खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप पर्न गई विगत दुई महिनादेखि समग्र मुद्रास्फीति बढेको छ । अधिकांश केन्द्रीय बैंकहरुले नीतिगत दर घटाउन सुरु गरेको अवस्थामा समेत मुद्रास्फीतिमा चाप कायम रहेको कारण भारतीय रिजर्भ बैंकले नीतिगत दरलाई यथावत राखेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहन गई गैर-खाद्य समूहको मूल्यमा भने थप चाप नपर्ने अनुमान छ । यस पृष्ठभूमिमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक औसत मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र रहने अनुमान राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले भन्यो : लचिलो मौद्रिक नीतिलाई निरन्तरता दियौं, अब बैंकको कर्जा बढ्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीतिको निरन्तरता दिएको बताएको हो । अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले पर्यटक आगमनमा भएको वृद्धि, एयरपोर्ट लगायतका पर्यटन पूर्वाधारहरुको बढ्दो उपयोग, सूचना प्रविधि क्षेत्रको विस्तार तथा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति एवं क्षतिग्रस्त आयोजनाको पुन: निर्माणलगायतका कारण समग्र माग विस्तार हुने र त्यसबाट चालु आर्थिक वर्ष लक्षित आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने अनुमान गरेको छ । यस्तै, गत असोजमा आएको अतिभारी वर्षा र बाढीबाट करिब ४६ रुपैयाँ अर्बको आर्थिक क्षति भएको र सरकारले सडकमार्ग लगायतका पूर्वाधारको मर्मत तथा प्राकृतिक विपत्तिपछिको पुन: निर्माणका लागि उल्लेख्य खर्च गर्नुपर्ने भएकोले सार्वजनिक वित्त व्यवस्थापनमा केही चाप पर्ने राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा उल्लेख गरेको छ । तथापि, भौतिक पूर्वाधार निर्माणमा गरिने खर्चले अर्थतन्त्रका अन्य क्षेत्रहरू चलायमान बनाउन उल्लेख्य सहयोग पुग्ने र त्यसबाट लगानीका लागि बैंक कर्जाको मागसमेत बढ्ने अनुमान राष्ट्र बैंकको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म मुद्रास्फीति लक्षित सीमाभित्र रहेको, भारतमा पछिल्लो समय खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप पर्न गई विगत दुई महिनादेखि समग्र मुद्रास्फीति बढेको, अधिकांश केन्द्रीय बैंकहरूले नीतिगत दर घटाउन सुरु गरेको अवस्थामा समेत मुद्रास्फीतिमा चाप कायम रहेको कारण भारतीय रिजर्भ बैंकले नीतिगत दरलाई यथावत राखेको राष्ट्र बैंकले समीक्षामा उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहन गई गैर-खाद्य समूहको मूल्यमा भने थप चाप नपर्ने अनुमान राष्ट्र बैंकको छ । यस पृष्ठभूमिमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक औसत मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ । भारतमा खाद्य समूहको मुद्रास्फीति उच्च रहेको अवस्थामा मध्यपूर्वी एशियाली मुलुकमा विद्यमान भू-राजनीतिक तनाव तथा थप जटिल हुँदै गएको रुस-युक्रेन युद्धका कारण आपूर्ति श्रृंखलामा व्यवधान पुग्नसक्ने र यसबाट उपभोक्ता मूल्यमा चाप पर्नसक्ने जोखिम भने यथावत रहेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले विप्रेषण आप्रवाहमा भएको वृद्धिलगायतका कारण २०८१ असोजमा कायम विदेशी विनिमय सञ्चितिले १४.६ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था रहेको बताएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या वृद्धि भई विप्रेषण आप्रवाहमा समेत वृद्धि हुने अनुमानका आधारमा चालु आर्थिक वर्षको बाँकी अवधिमा पनि विदेशी विनिमय सञ्चिति सुविधाजनक रहने अनुमान राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको अवस्थालाई विश्लेषण गर्दै उपलब्ध साधनबाट आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने गरी तरलता व्यवस्थापन गर्दै आएको उल्लेख गरेको छ ।