विकासन्युज

विराटनगर किंग्स १२७ रन बनाएर अलआउट, गुप्टिलले सर्वाधिक ५५ रन जोडे

  काठमाडौं । नेपाल प्रिमिर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्स १२७ रन बनाएर १९ ओभरमा अलआउट भएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनपुर किंग्सले १९ ओभरमा अलआउट गरेको हो । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडे । अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरलाई सस्तोमा समेट्न बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । हर्ष थक्कर र किशोर महतोले दुईदुईर मोहमद मोहसिन र माइकले एकएक विकेट लिएका छन् ।

एनपीएल विजेताले १.११ करोड र उपविजेताले ५० लाख पाउने, उत्कृष्ट खेलाडीलाई ६२ लाखको कार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिमले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले उद्घाटन खेलसँगै आज सो पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने क्यानले घोषणा गरेको छ । सम्झौता अनुसार एनपीएलमा उत्कृष्ट हुने नेपाली खेलाडीले लिग सकिएपछि ६२ लाख बराबरको ओमोडा ई–५ कार प्राप्त गर्नेछन् ।

डाटा सेन्टर सञ्चालन गर्न गुगलले किन्यो फिनल्याण्डमा जग्गा

काठमाडौं । गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूरोमा जग्गा खरिद गरेको छ । गुगलले सन् २०११ देखि फिनल्याण्डमा डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ । फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डाटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डाटा सेन्टरमा हाल करिब ४०० पूर्णकालिक कर्मचारी कार्यरत छन् । स्थानीय सञ्चारमाध्यमका रिपोर्टका अनुसार यस वर्षको मे महिनामा अमेरिकी टेक कम्पनीले आफ्नो हमिना क्याम्पस विस्तार गर्न एक अर्ब युरोको नयाँ लगानी घोषणा गरेको छ, जसले आगामी दुई वर्षमा थप रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

जनकपुरले टस जित्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्टसले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । यस्तै, न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन् । जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् । विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् । टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् ।

भारतमा आँधीका कारण विद्यालय बन्द, तमिलनाडुमा अवतरण गर्ने

काठमाडौं । भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिएका छन् । साथै, सयौं मानिसहरूलाई सुरक्षित आश्रयस्थलहमा सारिएको छ । चक्रवात फेङ्गलले ७०÷८० किलोमिटर प्रतिघण्टाको हावाको साथ तमिलनाडु राज्यमा अवतरण गर्ने पूर्वानुमान गरिएको भारतको मौसम ब्यूरोले जनाएको छ । पूर्वानुमानले माछा मार्ने मानिसहरूलाई पानीबाट टाढा रहन आग्रह गर्दै बढ्दो छालहरूले तल्लो तटीय क्षेत्रहरूमा बाढीको खतरा निम्त्याउने जनाएको छ । तमिलनाडुका धेरै जिल्लाहरूमा विद्यालय तथा कलेजहरू बन्द गरिनुका साथै कम्तिमा ४७१ जनालाई राहत शिविरहरूमा सारिएको इकोनोमिक टाइम्स अखबारले जनाएको छ । पछिल्लो समयमा चक्रवातहरू–उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा टाइफुन जस्तै –उत्तरी हिन्द महासागरमा नियमित खतराको रुपमा देखा परेका छन् । यस हप्ताको सुरुमा श्रीलङ्काको तटमा फेङ्गलले ६ जना बालबालिका सहित कम्तीमा १२ जनाको ज्यान लिएको थियो । वैज्ञानिकहरूले जीवाश्म ईन्धनहरू जलनबाट सिर्जित जलवायु परिवर्तनका कारण विश्वको तापमान वृद्धि हुदाँ आँधी बेहरी अझै शक्तिशाली हुँदै गइरहेको चेतावनी दिएका छन् ।

एनपीएलको अफिसियल अम्पायर पार्टनर नेपाल पे, खड्का र प्रधानले गरे सम्झौता

काठमाडौं । नेपाल प्रिमियर लिग २०२४ को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे, नेपालको आफ्नै क्यूआर बनेको छ । एनपीएल २०२४ को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे हुने गरी क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सम्झौता भएको हो । क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालको पहिलो क्रिकेट लिग एनपीएल आजदेखि टियूको क्रिकेट मैदानमा शुरु हुँदैछ । राष्ट्रिय स्तरको भुक्तानीका पूर्वाधारहरू प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपालपे क्यूआरमार्फत एनपीएल २०२४ मा औपचारिक रुपमा आवद्ध भएको हो । उक्त साझेदारीले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्नुका साथ यसको विकासमा टेवा पुग्ने विश्वास लिइएकोे छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नृपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्दै आएको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्यूआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एप तथा कनेक्टआइपीएसबाट नेपाल पे क्यूआरमा सहजै भुक्तानी गर्न सक्ने ब्यवस्था रहेको छ ।

ग्लोबल आइएमई बैंक बन्यो सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमई बैंकका डीसीईओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । ‘बैंकले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएको हो । बैंकले खेलकुदलाई अझ उचाइमा पुर्‍याउन आफ्नो दायित्व बुझेर यो सम्झौता गरी मुख्य प्रायोजन गरेको हो र यो सहकार्यका लागि उत्साहित छौं,’ पोखरेलले भने । क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् । सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ । सुदूरपश्चिमको टिममा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनाष बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) रहेका छन् ।

क्रिकेटको उमङ्गसँगै एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ । एनपीएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउन एनसेलले सधैँ अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याक संचालनमा ल्याएको छ । यी अफरहरू अन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजा लिन सक्ने छन् । यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । यी प्याकहरु लिने ग्राहकले एनपीएलका खेलहरु प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुनेछन् । सधै अन प्याक अन्तर्गत ग्राहकहरूले ३९९ रुपैयाँदेखि १ हजार ४९९ रुपैयाँसम्मको कुनै पनि प्याकको खरिदमा ग्राहकले यूट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउनेछन् । यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइन मार्फत कुनै पनि समयमा जहाँ भए पनि हेर्न सक्नेछन् । त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ । ग्राहकहरूले ५० रुपैयाँमा १ दिनको समयसिमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्ने छन् । १२५ रुपैयाँमा ३ दिन, १९९ रुपैयाँमा ७ दिन र ९९९ रुपैयाँमा २८ दिन समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइन मार्फत लिन सकिन्छ । भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७ दिनको लागि १४९ रुपैयाँ र २८ दिनको लागि ४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ । माथि उल्लेखित सधंै अन, अनलिमिटेड डेटा प्याकहरू, र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहकहरु एनपीएल खेलहरु मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुनेछन् । यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, ५० रुपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), १०० रुपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउँनेछन् । त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री वितरण गर्नेछ । यस सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु हो । नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलको लागि सहकार्य गरेको छ । यस साझेदारी अन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरको रुपमा एनसेल रहेको छ । यस साझेदारी अन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुरÞ्याउने विश्वास लिईएको छ ।