प्रशिक्षकको योजना अनुसार जित्यौं : कप्तान साह, अबका खेलमा विराटनगर किङ्ग्स बलियो बन्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेटको उद्घाटन खेलमा सफलता हासिल गरेको जनकपुर बोट्ल्सका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरूआत गर्न पाउँदा खुसी लागेको बताए । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको एनपिएलको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई आठ विकेटले पछि पार्दै जित निकालेको थियो । कप्तान शाहले आफ्नो टोली प्रतियोगिताका लागि तयारी अवस्थामा रहेकाले पनि जित हासिल गर्न सहज भएको बताए । उनले मुख्य प्रशिक्षक पुबुदु दासानायकेको योजनाअनुसार खेलाडीले खेलेकै कारण प्रतियोगितामा सुखद सुरूआत गर्न सफल भएको बताए । त्यसैगरी, विराटनगर किङ्ग्सका ब्याटर मार्टिन गप्टिलले सुरूआतमा ब्याटिङ गर्न केही अफ्ठ्यारो भएको बताउँदै आगामी खेलमा विराटनगरले सुधार गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पहिलो खेलमा राम्रो गर्न सकिएन आगामी खेलमा बलियो भएर आउनेछौँ ।’ विराटनगरले दिएको १२८ रनको लक्ष्यलाई जनकपुरले १५ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । त्यसअघि विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रनको योगफल बनाएको थियो । एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन । यही मङ्सिर १७ गते भने दुई खेल हुनेछ । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ । त्यस्तै, दिउँसो १ः१५ बजे हुने दोस्रो खेलमा जनकपुर बोट्ल्सले कर्णाली याक्ससँग खेल्नेछ । स्वदेशी तथा विदेशी खेलाडीको वर्चस्व रहेको एनपिएलमा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलले नेपाली दर्शकमा रहेको क्रिकेट मोह फेरि एकपटक उजागर गर्नुका साथै दर्शकको व्यवस्थित सहज प्रवेशका लागि थप मेहेनत गर्नुपर्ने पाठ आयोजकहरूलाई पढाएको छ । दर्शकको प्रवेश व्यवस्थित हुन नसक्दा मैदान बाहिर भीडभाड मात्र होइन नाराबाजी, ढुङ्गामुढा र लाठी चार्ज समेत भयो भने केही दर्शक घाइते भए । घाइते हुनेमा सुशील अकुलिया, अजय तामाङ, शिशिर गौतम, शङ्कर आचार्य, दानबहादुर राउत, केशव मेगी र प्रेम खड्गी रहेका छन् । घाइतेलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो । क्रिकेटप्रेमी दर्शकहरू आयोजकप्रति रुष्ट भएका छन् । उनीहरूले व्यवस्थापनको पाटो अत्यन्त फितलो देखिएको र अनाहकमा दर्शकलाई दुःख दिएको भन्दै आयोजकप्रति रोष प्रकट गरेका हुन् । मैदानको दक्षिणतर्फ रहेको मुख्य प्रवेशद्वारमा टिकट र पास लिएका दर्शकले समेत प्रवेश गर्न निकै सङ्घर्ष गर्नु पर्यो । दर्शकहरू एक लाइन नहुँदा सुरक्षाकर्मीले प्रवेश दिएनन् र झन्डै झडप हुने अवस्था सृजना भएको थियो । त्यहाँ अत्यधिक भीड भएपछि दक्षिण पूर्वी प्रवेशद्वारमा पुगेका दर्शकले त्यहाँ पनि प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हल्का लाठी चार्ज गरेको थियो भने दर्शकहरूले ढुङ्गामुढा गरेका थिए । यसबारे सोध्दा नेपाल क्रिकेट एसोसिएसन क्यानका प्रवक्ता छुम्बी लामाले प्रवेशलाई व्यवस्थित गराइएको भए पनि मूल प्रवेशद्वारबाट एकै पटक दर्शकहरू पस्न खोज्दा समस्या सृजना भएको बताए । त्यस्तै, रङ्गशाला परिसर बाहिरबाट खेल हेर्न खोज्ने दर्शकका कारण केही ठाउँमा समस्या भएको उनको भनाइ छ । ‘भीडभाडका कारण कतिपय टिकट लिएका दर्शकले पनि प्रवेश नपाउनु भएको गुनासो आएको छ । हामीले यसबारे अनलाइन भुक्तानी प्रणाली (खल्ती) सँग कुरा गरेका छौँ । त्यस्ता दर्शकको टिकट स्क्यान गरेर प्रवेश भए/नभएको यकिन गर्ने प्रवेश गर्न नपाएको देखि फिर्ता गर्ने वा अर्को दिनको टिकट उपलब्ध गराउने भन्नेबारे निर्णय गर्नेछौँ,’ उनले भने ।
पेट्रोलको मूल्य बढ्यो, ग्यासको यथावत
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी आयल निगमले प्रतिलिटर १ रुपैयाँले पेट्रोलको मूल्य बढाएको हो । यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले बढेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको भने मूल्य यथावत् रहेको निगमतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सँगै पहिलो वर्गमा पेट्रोलको मूल्य १५७.५० रुपैयाँ, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम भएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल रहेका छन् ।
आईआईएमएस कलेजले गर्यो टेड एक्स आईआईएमएस कार्यक्रम सम्पन्न
काठमाडौं । काठमाडौंको धोबीधारास्थित आईआईएमएस कलेजले टेड एक्स आईआईएमएस कार्यक्रमको आयोजना गरेको छ । टेड एक्स यस्तो कार्यक्रम हो, जहाँ प्रेरणादायी ज्ञान र सन्देश बाँडिन्छ । स्थानीय वा अन्तर्राष्ट्रिय विशेषज्ञ, उद्यमी, अनुसन्धानकर्ता, कलाकारहरूले आफ्नो आफ्नो प्रेरणादायक विचारहरू प्रस्तुत गरिन्छ । टेड एक्स एक विश्वव्यापी पहल हो, जसले स्थानीय समुदायलाई प्रत्यक्ष वक्ता र टेड टक भिडियोहरू प्रस्तुत गर्दै कार्यक्रम आयोजना गर्ने अवसर दिन्छ । यो विचारहरू साझा गर्ने प्लेटफर्म हो जसको मुख्य उद्देश्य फैलाउन योग्य विचारहरू अनुसन्धान र खोजी गर्नु हो । नवीन र अनौठा विषयहरू प्रस्तुत गरेर मान्छेको सोचमा परिर्वतन ल्याउन टेड एक्स कार्यक्रमको आयोजना गरिन्छ, आईआईएमएस कलेजले पनि न्यूनतम मापदण्ड पुरा गरी यो कार्यक्रम सञ्चालन गर्न लाइसेन्स पाएको छ । यस्ता कार्यक्रमले पेशागत र व्यक्तिगत सम्बन्ध विस्तार गर्न सुनौलो अवसर हुने कलेजले जनाएको छ । कार्यक्रममा चलचित्र निर्माता आशुतोष बराही, प्राध्यापक तथा अनुसन्धानकर्ता सुदन झा, शारीरिक तथा मानसिक फिटनेस प्रशिक्षक तेन्जीन गुरुङले आफ्नो विचार राखेका थिए । उनीहरूले कृत्रिम बौद्धिकतामा प्रगति र यसका नैतिक प्रभाव, समग्र शिक्षामार्फत विद्यार्थीहरूको कल्याणको प्रवर्द्धन, नवीकरणीय ऊर्जाको भविष्य, मानसिक स्वास्थ्यको सचेतना र वकालत र सांस्कृतिक सम्पदा र संरक्षणका विषयमा आफ्ना विचार राखेका थिए ।
विराटनगर किङ्सलाई हराउँदै जनकपुरको विजयी सुरुवात
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले पहिलो खेलमा विराटनरग किंग्सलाई हराउँदै विजयी सुरुवात गरेको हो । मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले २ विकेट मात्र गुमाएर १३१ रन बनाउदै पूरा गर्यो । मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाए । कप्तान अनिल शाह व्यक्तिगत ५ रनमा आउट हुँदा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए । तर, त्यसपछि मिलान्था र हर्ष थाकरले मिलेर इनिङ्स तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एकरएक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । सोमबार दुई खेल हुनेछन् । सोमबार हुने पहिलो खेलमा काठमाडौं गुखार्ज र चितवन राइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।
गोसाइँकुण्डमा २२ हजार पर्यटक, डेढ करोड बढी राजस्व संकलन
काठमाडौं । हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक एवं बाह्य पर्यटक आउने क्रम जारी रहेको छ । लाङटाङ राष्ट्रिय निकञ्जका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर १४ गतेसम्म लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा २२ हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरिसकेको र हाल दैनिक २५ देखि ३० जनासम्म आउने गरेको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख श्यामकुमार साहका अनुसार निकुञ्जमा प्रवेश गरेवापत नियमानुसारको शुल्कबाट कूल १ करोड ६८ लाख ७५ हजार ८ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । नेपालीलाई १ सय रुपैयाँ, सार्क राष्ट्रका नागरिकलाई १ हजार ५ सय रुपैयाँ र अन्य देशका लागि ३ हजार रुपैयाँ निकुञ्ज प्रवेश गरेवापत शुल्क लिने कानुनी प्रावधान रहेको बताइएको छ । प्रत्येक वर्ष असोजदेखि पुस १५ र फागुनदेखि जेठ १५ गतेसम्म यी दुई याममा पर्यटकको आगमन हुने गरेको निकुञ्जले जनाएको छ । पर्यटकको सुविधाका लागि काठमाडौँमा भृकुटीमण्डप र रसुवाको धुञ्चे व्रावल तथा हेलम्बू पोष्टका स्थानबाट शुल्क लिने व्यवस्था मिलाइएको पर्यटकका अभिलेखकर्ता रेञ्जर केशव ढडारीले जानकारी दिए । पवित्रतीर्थ गोसाइँकुण्ड रहेका कारण आन्तरिक पर्यटक भने बढी मात्रामा गोसाइँकुण्ड केन्द्रित हुने गरेको बताइएको छ । रसुवाको उच्च भागमा रहेका हिमश्रृङ्खला, सेताम्मे हिमाल, ताल तलैया, ककरो भीर, उकाली ओराली भञ्ज्याङ चौतारी, स्थानीय भेषभूषा, भर्ना, स्थानीय परिकारका खाना एवं विविध प्राकृतिक सम्पदाले रम्न पाइने गरेको व्यवसायी बताउँछन् । पर्यटकीय मार्गको धुन्चे–गोसाइँकुण्ड, ठूलोस्याफ्रु, स्याफ्रु–लाङटाङका मार्गका सबै होटल तथा लज चालु रहेको र खान बस्न कुनै समस्या नहुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले जानकारी दिए । यस्तै गोसाइँकुण्ड तथा लाङटाङ पदमार्गमा भ्रमण गर्दा निस्कने फोहर तोकिएको स्थानमा मात्र फ्याक्न, बाटोमा भेटिने जनावरलाई माया गरी संरक्षण गरिदिन, कुनै पनि वनस्पति नकाट्न सबै यात्रुमा अनुरोध गरिएको वरिष्ठ संरक्षण प्रमुख साहले अनुरोध गरे ।
नेपाल ऋण लिने अवस्थामा छैन, बिआरआई सहमतिमा कार्यान्वयन गरिने
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताएकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी उनले भनिन्, ‘बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ । हाल यसको कार्यान्वयन योजनाबारे छलफल जारी छ । यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा कार्यान्वयन हुनेछ ।’ मन्त्री डा राणाले अहिले नेपाल ऋण लिने अवस्थामा नरहेकाले चीन सरकारसँग यसै विषयमा छलफल भएको बताइन् । ‘यो परियोजना अनुदानमा कार्यान्वयन गर्न नेपाली काँग्रेसले औपचारिक निर्णय गरिसकेको छ । यो सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई अवगत छ । अनुदानमा नै यो परियोजना कार्यान्वयन गर्न हामीले छलफलहरु गरिरहेका छौँ,’ उनले भनिन् । नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ एवं सम्बन्ध रहेको र यो मैत्रिपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय–समयमा हुने उच्चस्तरीय भ्रमणको आदानप्रदानले महत्वपूर्ण योगदान भएको चर्चा गर्दै उनले आफ्नो यो भ्रमण पनि त्यसैको निरन्तरता रहेको बताइन् । चिनियाँ समकक्षीसँग शुक्रबार भएको भेटवार्ता द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा केन्द्रित रहेको उनले जानकारी दिइन् । दुवै देशमा विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको उनले बताइन् । चिनियाँ विदेशमन्त्रीसँग आफूले चीनसँगको व्यापार, पर्यटन, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक-सामाजिक साझेदारी वृद्धिमा जोड दिएको बताउनुभयो । चिनियाँ पक्षले पनि प्रस्तुत धारणाप्रति सकारात्मक जवाफ दिएको जानकारी परराष्ट्रमन्त्रीले दिइन् । साथै उनले द्विपक्षीय सम्झौता तथा समझदारीहरुलाई तदारुकताका साथ कार्यान्वयन गर्ने सहमति भएको बताइन् । यो भ्रमणबाट आपसी विश्वास अभिवृद्धि गर्न मद्दत पुगेको परराष्ट्रमन्त्रीले बताइन् ।
स्थानीय तहका रिक्त ४१ पदका लागि आइतबार मतदान हुँदै, सम्पूर्ण तयारी पूरा
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले जानकारी दिइन् । गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताइन् । आयोगका प्रवक्तासमेत रहेकी अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहतको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा निर्वाचन हुनेछ । काठमाडौंको काठमाडौं महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । दैलेखको दुल्लु नगरपालिका वडा नं १३, जाजरकोटको कुसे गाउँपालिका वडा नं ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, बझाङको सूर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ३७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता भएको थियो । मत परिणाम वेबसाइटमै मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइट धधध।चभकगति।भभिअतष्यल।नयख।लउ मा हेर्न सकिने आयोगले जनाएको छ । आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ । मतदाताले मतदान केन्द्रमा आफूलाई प्राप्त मतपत्र लिई गोप्य मतदान कक्षमा गएर मन परेको कुनै उम्मेदवारको चिह्न भएको कोठामा स्वस्तिक छापले मत सङ्केत गर्नुपर्छ । मतपत्र च्यातिएमा, मतदान अधिकृतको हस्ताक्षर नभएमा, दुई वटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मत सङ्केत गरेमा, स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा, निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मत सङ्केत गरेमा वा मतपत्रमा स्वस्तिक छाप बाहेक औँठा छाप, हस्ताक्षर आदिले मत सङ्केत गरेमा मत बदर हुने आयोगले जनाएको छ ।