कुमारी बैंक र ग्लोबल आइएमईका सेयरधनीले बिक्रीमा राखे सेयर
काठमाडौं । कुमारी बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंक र लघुवित्त संस्थाको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो । कुमारी बैंकका अनुसार संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २९ हजार ५४४ कित्ता सेयर बिक्रीमा राखिएको हो । यस्तै, ग्लोबल आइएमई लघुवित्त संस्थाको संस्थापक सेयरधनी दिलिप घलले आफ्नो नाममा रहेको ८ हजार ७११ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंक र लघुवित्तको सेयरमा संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । खरिद इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधि भित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।
गरिमा विकास बैंकको साढे ३ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार संस्थापक समूहका सेयरधनीहरूमध्ये केही सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । जसमा २ लाख ५१ हजार १५२ कित्ता र १ लाख ८ हजार १३० कित्ता गरी कुल ३ लाख ६० हजार ८२ कित्ता सेयर बिक्रीमा राखिएको हो । जसमध्ये २ लाख ५१ हजार १५२ कित्ता सेयरका लागि संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् भने १ लाख ८ हजार १३० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले पनि खरिद गर्न पाउने छन् । खरिद इच्छुकले बैंकमा सम्पर्क गर्नुपर्नेछ ।
स्थिर रह्यो अमेरिकी डलरको भाउ, यूरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.८८ रुपैयाँ र बिक्रीदर १३५.४८ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.४३ रुपैयाँ र बिक्रीदर १४३.०६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.२१ रुपैयाँ र बिक्रीदर १७१.९७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.१० रुपैयाँ र बिक्रीदर १५३.७८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.७६ रुपैयाँ र बिक्रीदर ८८.१५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३५ रुपैयाँ र बिक्रीदर ९६.७८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.६४ रुपैयाँ र बिक्रीदर १०१.०९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९९ रुपैयाँ र बिक्रीदर ९.०३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६३ रुपैयाँ र बिक्रीदर १८.७१ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९० रुपैयाँ र बिक्रीदर ३६.०६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.०० रुपैयाँ र बिक्रीदर ३७.१७ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९३ रुपैयाँ र बिक्रीदर ३.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३४ रुपैयाँ र बिक्रीदर ३०.४८ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३६ रुपैयाँ र बिक्रीदर १२.४२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४१ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४३८.९६ रुपैयाँ र बिक्रीदर ४४०.९२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.७५ रुपैयाँ र बिक्रीदर ३५९.३४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.३५ रुपैयाँ र बिक्रीदर ३५१.९१ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
सुपरमाई हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज मंसिर १६ गते अन्तिम दिन रहेको छ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते बुकक्लोज गर्दैछ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर सहित) गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते लिसरा रिसेप्सन्स नक्सालमा १०औँ वार्षिक साधारण सभा दिउँसो ४ बजे बोलाएको छ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेछ ।
लिवर्टी इनर्जीको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले मंसिर १६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशत अर्थात् १ः०.५० को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लिवर्टी इनर्जीको कार्यालय, प्रभु बैंक बेशिसहर, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको भोटेओडार, ग्लोबल आइएमई बैंकको दोर्दी लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आइआरएन डबल बी प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताए । त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ । महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् । सर्वपक्षीय बैठक सम्पन्न निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गरेका छन् । हरेक वर्षझैँ यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ । मुख्यमन्त्री सतीश सिंहका साथै विश्व हिन्दू परिषद्का पदाधिकारीले अयोध्यास्थित श्रीराम मन्दिरका पुजारीलगायत श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अगुवालाई हालै अयोध्याको भ्रमण गरी विवाहपञ्चमीमा सरिक हुन आमन्त्रण गरेका थिए ।
आज स्थानीय तहको उपनिर्वाचन, ४१ पदका लागि ३७६ उम्मेदवार प्रतिस्पर्धामा
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ ।
चक्रवात ‘फेनजल’को आंशिक प्रभाव, गण्डकी र कर्णाली प्रदेशमा हल्का हिमपात
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।