नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
काठमाडौं । भूमि समस्या समाधान समितिले नाप जाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक निलवाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको थियो । उक्त क्षेत्र चलनचल्तीमा ‘बोदे गाउँ’का नामले चिनिँदै आएको पुरानो नेवारी बस्ती हो । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ४२१ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो । पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गर्ने भएका छन् ।
‘शक्ति होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न र मुलुक तथा जनताको सेवा गर्न फर्किएको बताएका छन् । झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवाले बिहीबार सन्देश जारी गर्दै यस्तो बताएका हुन् । स्वास्थ्य उपचारपछि स्वदेश फर्किन पाउँदा आफू भावनाले भरिएको उल्लेख गर्दै देउवाले स्वास्थ्यप्रति चासो राख्ने, चिन्ता गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । आफू विनम्र सेवकका रूपमा सुन्न, सिक्न र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुन फर्किएको उनको भनाइ छ । देउवाले नेपाली कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल नभई दशकौंको राजनीतिक संघर्षबाट आफ्नो अस्तित्व र मर्यादा जोगाउन सफल पार्टी भएको उल्लेख गरेका छन् । उनले बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत अग्रज नेताहरूको त्याग र योगदानलाई कहिल्यै बिर्सन नहुने बताएका छन् । उनीहरूको विरासतलाई गौरवको पदकका रूपमा मात्र नभई जनताको विश्वासका रूपमा ग्रहण गर्नुपर्ने देउवाको भनाइ छ । देउवाले पछिल्लो समय युवा पुस्तामा देखिएको असन्तुष्टि, पीडा र परिवर्तनको चाहनालाई आफूले गम्भीर रूपमा बुझेको बताएका छन् । नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको उल्लेख गर्दै उनले बदलिँदो विश्वसँगै कांग्रेस पनि समयको गतिअनुसार अघि बढ्नुपर्ने बताएका छन् । गत भदौमा भएको जेनजी आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि उनले स्मरण गरेका छन् । लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जातजाति, क्षेत्र र समुदायका अधिकारका लागि अघिल्लो पुस्ताले लामो संघर्ष गरेको भन्दै उनले त्यस ऐतिहासिक योगदानलाई नकारात्मक भाष्यबाट हेर्न नहुने बताएका छन् । उनले लोकतन्त्रमा सत्ता अस्थायी हुने तर जनताको मन बुझ्ने नेता सधैं स्मरणीय हुने धारणा पनि राखेका छन् । राजनीतिक यथार्थका जटिलतालाई इमानदारीपूर्वक स्वीकार गर्दै जनताको इच्छालाई सर्वोच्च मानेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । देउवा गत वर्षको फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुरमा उपचारपछि उनी थप उपचारका लागि हङकङ पुगेका थिए । विदेशमा रहँदा देउवाले विभिन्न निकायलाई पत्र पठाउँदै साउनभित्रै स्वदेश फर्किने जानकारी गराएका थिए । सोहीअनुसार आज उनी नेपाल फर्किएका हुन् । देउवा स्वदेश फर्किएसँगै कांग्रेसको आन्तरिक राजनीतिमा समेत उनको सक्रियता बढ्ने अपेक्षा गरिएको छ। कांग्रेस संस्थापनइतर पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला देउवा स्वदेश फर्किएका हुन् । उक्त भेलामा देउवा पनि सहभागी हुने बताइएको छ ।
१२ अर्ब बढी ऋण भएका व्यवसायी खड्कालाई लाग्यो डेढ करोडको मुद्दा
काठमाडौं । दाङको गढवा गाउँपालिकामा राप्ती नदीको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन तथा सङ्कलन ठेक्कामा व्यापक अनियमितता र राजस्व नोक्सानी भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको । आर्थिक वर्ष २०७६/०७७ को ठेक्का प्रक्रियामा गाउँपालिकाका तत्कालीन जनप्रतिनिधि, कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतोमा १ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सरकारी राजस्व हिनामिना गरिएको अभियोगपत्रमा उल्लेख छ । गढवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा राप्ती नदी क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि. बुटवलसँग भ्याट बाहेक २ करोड ८२ लाख ९७ हजार ६९२ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । अभियोगपत्रका अनुसार ठेकेदार कम्पनीले २०७६ फागुन मसान्तको म्यादभित्र दोस्रो किस्ता बुझाएन । सम्झौता उल्लंघन भएपछि गाउँपालिकाले कार्यादेश रद्द गरी ठेकेदारको बैंक ग्यारेन्टी जफत गर्नुपर्ने कानुनी व्यवस्था थियो । तर, गाउँपालिकाका अधिकारीहरूले कारबाही नगरी ढिलासुस्ती गरेको आरोप अभियोगपत्रमा उल्लेख छ । २०७६ चैत ११ गतेदेखि मात्र देशभर कोभिड–१९ को कारण लकडाउन घोषणा गरिएको थियो । तर, लकडाउन र स्थानीय ‘राप्ती बचाउ संघर्ष समिति’ को आन्दोलनलाई बहाना बनाउँदै ठेकेदार कम्पनीले २५ प्रतिशत मात्र उत्खनन् गर्न पाएको भन्दै बैंक ग्यारेन्टी मिनाहाका लागि निवेदन दियो । सोही निवेदनका आधारमा २०७७ असार १० गते बसेको गाउँ सभाको बैठकबाट गैरकानुनी रूपमा १ करोड ४१ लाख ५० हजार बराबरको बैंक ग्यारेन्टी रकम मिनाहा गर्ने निर्णय गर्यो । फागुनमै म्याद नाघिसकेको अवस्थामा बदनियतपूर्वक सरकारी राजस्व घाटा गराउने नियतले उक्त निर्णय गरिएको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले उल्लेख गरेकाे छ । अख्तियारले यो प्रकरणमा गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लिका प्रबन्ध निर्देशक सहदेव खड्का, सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लिका प्रतिनिधि विकास पुन र सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि.लाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपितहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको पुष्टि गर्दै नोक्सानी भएको राजस्व रकम १ करोड ४१ लाख ५० हजार रुपैयाँ असुलउपर गरी हदैसम्मको सजाय र बिगो जफतको मागदाबीसहित अभियाेगपत्र दायर गरेको छ । यस विषयमा खड्कासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । निर्माण व्यवसायी खड्का नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष पनि हुन् । उनी भिमेश्वर ग्रुपका अध्यक्ष पनि हुन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार उनको कम्पनी सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लिले १२ अर्ब ३३ करोड ७० लाख रुपैयाँ लिएको छ । तथापि यो सन् २०२५ को तथ्यांक हो । यस निर्माण कम्पनीले सन् २०२५ मा ३ अर्ब ८१ करोड १० लाख, सन् २०२४ मा ३ अर्ब २५ करोड २० लाख र सन् २०२३ मा ४ अर्ब ५९ करोड ७० लाख रुपैयाँबराबरको आम्दानी गरेको रेटिङमा उल्लेख छ । अभियोगपत्रको पूर्णपाठ
सर्वोत्तम पेन्ट्सको ३४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको ३४ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनी र नेप्सेबीच बुधबार साधारण सेयर सूचीकृत गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य कायम रहेको ३४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो । कम्पनीले सर्वसाधारणतर्फ ग्लोबल आईएमई क्यापिटल लिमिटेडमार्फत निष्कासन तथा बिक्री गरेको ५ लाख ८० हजार कित्ता अर्थात् १७ प्रतिशत सेयर तथा संस्थापक सेयरधनीहरूले लगानी गरेको २५ लाख ४० हजार कित्ता अर्थात् ७५ प्रतिशत सेयरसमेत गरी कुल ३४ लाख कित्ता साधारण सेयर सूचीकृत गरिएको जनाएको छ । नेप्सेको सूचनाअनुसार कम्पनीको दोस्रो बजार कारोबार साउन २८ गतेदेखि सुरु हुनेछ । कम्पनीको प्रधान कार्यालय गोदावरी, कैलालीमा रहेको छ। सेयर सूचीकृत भएपछि सर्वोत्तम पेन्ट्सका सेयरधनीले दोस्रो बजारमार्फत सेयर कारोबार गर्न सक्नेछन् ।
काभ्रेमा नक्कली सुन र बिल देखाएर ठगी गर्ने लामा पक्राउ
काठमाडौं । काभ्रेमा नक्कली सुन र बिल देखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । ३२ वर्षीय अक्षय लामालाई सुनजस्तो देखिने धातुसहित प्रहरीले पक्राउ गरेको हो । लामाले सुन पसलको बिलसमेत बनाई नक्कली सुन दिई ठगी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रवक्ता रविन विष्टले जानकारी दिए । ‘सक्कली सुन भनेर सुन पसलको बिलसमेत बनाई नक्कली सुन दिई ठगी गरेका थिए,’ उनले भने । उनको कोठामा खानतलासी गर्दा ठगी मुद्दामा प्रमाण प्रयोगमा आउने दसीहरू फेला परेको उनले जानकारी दिए। लामा काभ्रेपलाञ्चोक बेथानचोक- ५ का हुन् ।
एनसेलले भन्यो– छानबिन प्रतिवेदन सार्वजनिक गरेर सरकारले गोपनीयताको हक उल्लंघन गर्यो
काठमाडौं । एनसेलले आफ्नो सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । कम्पनीले सरकारले संवेदनशील तथा गोप्य सूचना सार्वजनिक गरेर संविधान र प्रचलित कानुनले सुनिश्चित गरेको गोपनीयताको हक उल्लंघन गरेको दाबी गरेको छ । एनसेलका अनुसार मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णय र त्यसकै आधारमा साउन २७ गते सार्वजनिक भएको टंकमणि शर्मा दंगाल संयोजकत्वको ‘एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गरिएको छ । कम्पनीले सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँचको नाममा कानुनले गोप्य राख्नुपर्ने संवेदनशील विवरण सार्वजनिक गर्नु गलत भएको जनाएको छ । एनसेलले नेपालको संविधानले सुनिश्चित गरेको गोपनीयताको हकविपरीत सरकार अघि बढेको आरोप लगाएको छ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र सन्धि–सम्झौताअनुसार कानुनी उपचार खोज्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ । कम्पनीले प्रतिवेदन सार्वजनिक हुँदा नेपालको लगानी वातावरणमा समेत नकारात्मक सन्देश गएको दाबी गरेको छ । सरकार लगानीकर्ता र तथ्यांकको गोपनीयताप्रति प्रतिबद्ध छैन भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा गएको एनसेलको भनाइ छ । एनसेलले छानबिनका क्रममा संकलन भएका सूचना, विवरण तथा जानकारी पनि गोपनीय हुने दाबी गरेको छ । त्यस्ता विवरण कसुर अनुसन्धान, थप अनुसन्धान वा अभियोजनका लागि प्रयोग गर्न सकिए पनि सर्वसाधारणको पहुँच हुने गरी सार्वजनिक गर्न कानुनी आधार आवश्यक पर्ने छ । कम्पनीले संविधानको धारा २८ तथा वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ ले सम्पत्ति, लिखत, तथ्यांक, कारोबार, पत्राचार तथा विद्युतीय माध्यमलगायतका विषयमा गोपनीयताको अधिकार सुनिश्चित गरेको उल्लेख गरेको छ । त्यस्तै, आयकर ऐन, २०५८ र मूल्य अभिवृद्धि कर ऐन, २०५२ ले समेत करदाताको गोपनीयताको अधिकार सुनिश्चित गरेको एनसेलले जनाएको छ । प्रतिवेदन सार्वजनिक गर्दा कम्पनीका सेयरधनी, सञ्चालक तथा हितग्राहीको समेत मौलिक तथा कानुनी अधिकार प्रभावित भएको एनसेलको दाबी छ । कम्पनीले गोपनीयता भंग भएको विषयमा आवश्यक कानुनी निर्णय लिने चेतावनीसमेत दिएको छ । वैयक्तिक गोपनीयता सम्बन्धी ऐनले निषेध गरेका कार्य भएमा सजाय तथा क्षतिपूर्तिको व्यवस्था रहेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्ने जनाएको हो । एनसेलले सरकारको कदमबाट कम्पनीलाई अपूरणीय क्षति पुगेको दाबी गरेको छ । यसले लगानीकर्ताको विश्वास घटाउने र आगामी दिनमा नेपालमा लगानी तथा व्यवसाय प्रवर्द्धनमा समेत अवरोध पुग्ने कम्पनीको भनाइ छ ।
गरिमा समृद्धि योजनाले लाभांश नदिने
काठमाडौं । गरिमा विकास बैंक प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘गरिमा म्युचुअल फन्ड’ अन्तर्गत सञ्चालित बन्दमुखी योजना गरिमा समृद्धि योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण नगर्ने भएको छ । योजना व्यवस्थापक गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गरेको छ । बैठकले योजनाका इकाइधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले योजनाको आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरण स्वीकृत गरेको हो ।
स्वदेश फर्किए देउवा
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनलाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । पूर्वसभापति देउवाको स्वागतका लागि नेपाली काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधि लगायतका नेताहरू विमानस्थल पुगेका हुन् । देउवा गत वर्षको फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुरमा उपचारपछि उनी थप उपचारका लागि हङकङ पुगेका थिए । विदेशमा रहँदा देउवाले विभिन्न निकायलाई पत्र पठाउँदै साउनभित्रै स्वदेश फर्किने जानकारी गराएका थिए । सोहीअनुसार आज उनी नेपाल फर्किएका हुन् । देउवा स्वदेश फर्किएसँगै कांग्रेसको आन्तरिक राजनीतिमा समेत उनको सक्रियता बढ्ने अपेक्षा गरिएको छ। कांग्रेस संस्थापनइतर पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला देउवा स्वदेश फर्किएका हुन् । उक्त भेलामा देउवा पनि सहभागी हुने बताइएको छ ।