विकासन्युज

महासंघको विधान सर्वसम्मत संसोधन, प्रत्यक्ष निर्वाचित अध्यक्ष, कार्यकाल दुइ बर्ष मात्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार सम्पन्न विशेष साधारण सभाले सर्वसम्मत रुपमा विधान संसोधन गरेको छ । महासंघको विधान २०४९ मा गरिएको सातौ संसोधनले संस्थागत बिकासतर्फ महत्वपूर्ण निर्णय गरेको छ । महासंघको अध्यक्ष प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । कार्यकाल दुइ बर्षको हुनेछ । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । नयाँ संसोधन अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने बार्षिक साधारण सभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन गर्नेछ । महासंघ कार्यकारिणी समितिमा तीन जना उपाध्यक्ष रहँदै आएकोमा पाँच पुर्याइएको छ । यसैगरि एक जना वरिष्ठ उपाध्यक्ष रहनेछ । वरिष्ठ उपाध्यक्षको चयन पनि कार्यकारिणी समितिले गर्नेछ । जिल्ला नगरतर्फ एक थप गरि दुइ जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । यसैगरि महिला उपाध्यक्ष रहने पनि व्यवस्था गरिएको छ । महिला उपाध्यक्षलाई कार्यकारिणी समितिले चयन गर्नेछ । तर यसका लागि कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य रहेको हुनुपर्ने व्यवस्था गरिएको छ । महिला उपाध्यक्षको सभापतित्वमा महिला उद्यमी परिषद पनि महासंघमा गठन हुने व्यवस्था गरिएको छ । महासंघको नेतृत्व तहमा महिला सहभागिता बढाउन जिल्ला नगर, वस्तुगत र एसोसिएट तर्पm महिला सदस्य निर्वाचित हुने गरि आरक्षणको व्यवस्था गरिएको छ । महासंघ अन्तर्गतको नेपाल युवा उद्यमी फोरमका अध्यक्ष महासंघ केन्द्रिय कार्यकारिणी समितिमा पदेन सदस्यका रुपमा रहने व्यवस्था पनि नयाँ विधानमा गरिएको छ ।

अण्डाको समर्थन बिक्री मुल्य तोकियो, ठुलो अण्डाको प्रतीक्रेट ४८५ रुपैयाँ

काठमाडौं । अण्डाको समर्थन बिक्री मुल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक सघले अण्डाको समर्थन बिक्री मुल्य तोकेको हो । संघको मंसिर २७ गते बसेको बैठकमा समर्थन बिक्री मूल्य तोक्ने सहमति भएको हो । मध्यम किसिमको प्रतीक्रेट ४ सय ७० रुपैयाँ तोकिएको छ भने ठुलो अण्डा प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए । संघका अनुसार चितवनलाई आधारमानी मंसिर २८ गतेदेखि अण्डाको समर्थन बिक्री मुल्य लागू हुनेछ । उक्त मूल्यमा कारोबार गर्न संघले अनुरोध गरेको छ । चितवनबाट लोड भइ देशभरीको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ लाग्नेछ ।

नेपाल एसबिआई बैंक पनि मर्जरका लागि जोडी खोज्दै, सीएसआर खर्चले सीमा नाघ्यो

काठमाडौं । नेपाल एसबिआई बैंक सञ्चालकहरूको सुविधा वृद्धि गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले संचालकहरूलाई दिइने बैठक भत्ता तथा स्थानीय संचालकहरूलाई प्रदान गरिने पत्रपत्रिका तथा समाचार सामग्री वापतको मासिक खर्च वृद्धि गर्नेछ । यस्तै, कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने तथा प्राप्ति गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, सभाले बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशतका दरले ३९ करोड ९० लाख ५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ६.८५ प्रतिशतका दरले ७१ करोड ९२ लाख ६० हजार रुपैयाँ नगद गरी कुल १०.६५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । साथै, गत वर्ष बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ८८ करोड ८७ लाख १५३.१८ रुपैयाँ खर्च गरेको छ । जुन कम्पनी ऐन, २०६३ ले निर्धारण गरेको सीमा नाघेकालेसो खर्च अनुमोदन गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड, नेपाली रुपैयाँ झन् कमजोर बन्यो

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.४८ रुपैयाँ र बिक्रीदर १३६.०८ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि गत मंसिर २६ गते सबैभन्दा धेरै खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ थियो । डलरले बनाएके मूल्यलाई समेत तोड्दै नेपाली रुपैयाँ झनै कमजोर बनेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.२९ रुपैयाँ र बिक्रीदर १४२.९२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.६७ रुपैयाँ र बिक्रीदर १७३.४३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.८९ रुपैयाँ र बिक्रीदर १५३.५६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८० रुपैयाँ र बिक्रीदर ८७.१९ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.७७ रुपैयाँ र बिक्रीदर ९६.२० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.८० रुपैयाँ र बिक्रीदर १०१.२५ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९० रुपैयाँ र बिक्रीदर ८.९४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०६ रुपैयाँ र बिक्रीदर ३६.२२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१६ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०० रुपैयाँ र बिक्रीदर ४.०२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८९ रुपैयाँ र बिक्रीदर ३७.०५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५३ रुपैयाँ र बिक्रीदर ३०.६७ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४७ रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३६ रुपैयाँ र बिक्रीदर १२.४२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०८ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४२ रुपैयाँ र बिक्रीदर १७.५० रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.५३ रुपैयाँ र बिक्रीदर ४४२.४८ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.१७ रुपैयाँ र बिक्रीदर ३६०.७६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.९० रुपैयाँ र बिक्रीदर ३५३.४५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ भने राति मौसम सफा रहने छ । शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

वायुसेवा सञ्चालकले सगरमाथा राष्ट्रिय निकुञ्जको निर्देशन नटेर्ने, उडान जारी राख्ने

काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि सङ्घले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो । सङ्घले बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकप्टरहरूले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर गएर उडानमा लगाएको रोक पालना गर्न बाध्य छैनौँ । सदस्य वायुसेवा कम्पनीहरूले हाल उडान गरिरहेका गन्तव्यहरूमा प्राधिकरणसँग अनुमति लिई उडानलाई निरन्तरता दिने जानकारी गराउँछौँ,’ भनेको छ । साथै सङ्घले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ । गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान गर्न नदिने भन्दै सङ्घलाई पत्राचार गरेको थियो ।

बीवाईडी एम सिक्सको बुकिङ खुल्याे, १ लाख ५० हजारसम्म छुट

काठमाडौं । बीवाईडी एम सिक्सको बुकिङ खुला भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एम सिक्सको बुकिङ खुला भएकाे जनाएकाे हो । कम्पनीका अनुसार बुकिङ गर्नेहरूले १ लाख ५० हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । बीवाईडी एम सिक्स नेपालकै पहिलो ७ सिटर एमपीभी हो । यसको मूल्य ५५ लाख र ६० लाख १५ हजार रुपैयाँ रहेकाे छ । गाडीमा ५५.४ र ७१.८ किलोवाट आवर क्षमताका ब्याट्री हुनेछन् भने १०० किलोवाटको मोटर हुने जनाइएकाे छ । कम्पनीले केही महिनाअघि राइट ह्यान्ड ड्राइभ भर्सनको एम सिक्स उत्पादन गरेको हो । यो कारमा पनि बीवाईडीको अत्याधुनिक नयाँ प्रविधिको ब्लेड ब्याट्री दिइएको कम्पनीले उल्लेख गरेकाे छ ।  

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित सदस्यहरूले लिए शपथ

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान)को नवनिर्वाचित सदस्यहरूको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सदस्यहरूको सपथ तथा पदभार कार्यक्रम सम्पन्न भएको हो । अधिवक्ता वासुदेव रिजालले नवनिर्वाचित सदस्यहरूको सपथ तथा पदभर ग्रहण गराएका हुन् । एसोसिएसनको ३०औं साधारणसभाले आगामी दुई वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । जसको अध्यक्षमा सागर ढकालले बाजी मारेका थिए प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारेका हुन् । उनका प्रतिद्वन्द्वी तिमिल्सिनाले ४३ मत प्राप्त गरेका थिए । बिहीबार सर्वसम्मत रूपमा एसोसिएसनको अध्यक्ष चुन्ने प्रयास भए पनि पनि तिमिल्सिना र ढकालबीच सहमति नजुटेपछि शुक्रबार निर्वाचन भएको थियो । कार्यसमिति उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् । सदस्यमा विशालकुमार अग्रवाल, प्रियन्सु अग्रवाल, जयन्त श्रीवास्तव र जेलिना कँडेल छन् । यसअघि ब्रोकर कम्पनीका दुई एसोसिएसन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपाल रहँदै आएकोमा २८ कात्तिकदेखि मर्ज भएर एउटै बनेको थियो ।