बुटवल-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न, १२ सय मेगावाट विद्युत् भार बोक्न सक्ने
काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका–५ सम्मको साढे २१ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी बिहीबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनदेखि नयाँ बुटवलसम्मको २२० केभी प्रसारण लाइनलाई चार्ज गरिएको हो । नयाँ बुटवल–बर्दघाट प्रसारण लाइन सञ्चालनमा आएसँगै नयाँ बुटवलबाट हेटौंडासम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार भएको छ । प्रसारण लाइनले करिब १ हजार २ सय मेगावाट विद्युत् भार बोक्न सक्ने छ । कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न म्याग्दीको दानाबाट सुरु भई नयाँ बुटवल सबस्टेसनमा अन्त्य हुने कालीगण्डकी करिडोर र नयाँ बुटवल-नयाँ भरतपुर-हैटौंडासम्मको २२० केभी प्रसारण लाइन लिङ्क बनेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरबाट पूर्व–पश्चिम विद्युत प्रवाहका लागि २२० केभीको मेरुदण्ड तयार भएको र यसबाट भोल्टेजमा सुधार भई समग्र प्रणालीको विश्वसनीयता बढ्ने बताए । ‘आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् ढल्केबर हुँदै भारततर्फ निर्यात गर्न र हिउँदयाममा अपुग विद्युत् आयात गरी पश्चिमतर्फ पठाउन सहज हुनेछ, नयाँ बुटवल-गोरखपुर दोस्रो सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युत् आयात/निर्यातको थप ढोका खेल्ने छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘मुख्य रूपमा कालीगण्डकी तथा मर्स्याङ्दी र ती नदीहरूका सहायक खोलानालाबाट उत्पादित विद्युत् प्रवाहका लागि सहज हुनेछ ।’ मर्स्याङ्दी नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन हुँदै नयाँ भरतपुर सबस्टेसनमा समाहित हुने छ । नयाँ भरतपुरबाट विद्युत्लाई हेडौंडा र नयाँ बुटवलतर्फ पठाउन सकिने छ । भारतसँगको नयाँ बुटवल-गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको नयाँ बुटवल–बर्दघाट प्रसारण लाइनको अनुमानित लागत करिब एक अर्ब रुपैयाँ छ । सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको साढे चार किलोमिटर चार सर्किट (मल्टी सर्किट) लाइन निर्माण गरिएको छ । सोही मल्टिसर्किट टावरमा कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन जोडिएको छ । मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत र द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण तथा वितरण प्रणालीको विस्तार एवम् सदृढीकरण गर्न आयोजना सुरु गरिएको हो । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृतिमा पूरा गर्नुपर्ने लामो प्रक्रिया, कोभिड–१९को महामारी, चुरे क्षेत्रमा पर्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्नेलगायत कारण प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले उल्लेख गरे । प्रसारण लाइन निर्माणका लागि पावर चाइन सेप्को १ सँग २०७६ पुसमा ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता २०७७ असारमा कार्यान्वयनमा आएको थियो ।
भिजन लुम्बिनीले लाभांश नदिने, सेयरधनीको हात खाली
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ ।
नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा सुरु, नयाँ नेतृत्व चयन गर्ने
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा शुक्रबार काठमाडौंको हिल्टन होटलमा सुरु भएको छ । महासंघको तेस्रो महासभाको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे। अध्यक्ष भेषराज लोहनीले सभाले नयाँ नेतृत्वसमेत चयन गर्ने बताए । उनले महासभाले विगतदेखि उठाइरहेका घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने विषयका प्रस्तावहरू रहेका जानकारी दिए । यस्तै, उनले सेयर कारोबारका लागि स्टक मार्केटजस्तै घरजग्गा कारोबारको लागि ल्याण्ड मार्केटको अवधारणा र हाउजिङ ल्याण्डपुलिङ अवधारणाहरू ल्याउनुपर्ने विषयलाई जोड दिएको बताए । अध्यक्ष लोहनीले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउनको लागि ब्रोकर लाइसेन्सका कुराहरू पनि महासभामा समावेश गरिने उल्लेख गरे । सभामा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बर अफ कर्मसका अध्यक्ष कम्लेसकुमार अग्रवाल, उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालको सहभागीता रहेको छ ।
नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) फूलबारी, पोखरा बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण ग्राहकहरुलाई लक्षित गरी मणिपाल टीचिङ हस्पिटल र मणिपाल कलेज अफ मेटिकल साईन्स्मा विभिन्न स्वास्थ्य सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्र नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत, दीपक कुमार देको उपस्थितिमा बैंकका गण्डकी प्रदेश प्रमूख, मिन वहादूर गूरुङ तथा मेडिकल ग्रुपका प्रमूख कार्यकारी अधिकृत, अनिल ओदूभिलबिच सम्पन्न भएको हो । सो कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमूख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा मेटिकल ग्रूपका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको बैंकले जनाएको छ । यस सम्झौताबाट ग्राहकबर्गले बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरुमा १० देखि १०० प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।
सम्पदा लघुवित्तको राहत वितरण कार्यक्रम सम्पन्न
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रामटारले बाढीपिडितहरूलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । राहत कार्यक्रम सिन्धुली जिल्लाको सुनकोशी गाँपालिका रामटार स्थित संस्थाको शाखा कार्यालय रामटारमा मंसिर २२ गते सञ्चालन भएको थियो । कार्यक्रममा प्रमुख अतिथी सुनकोशी गाँउपालिका वडा नं ५ का वडाध्यक्ष सुरथ कुमार बसेल, अतिथीहरुमा सोही गाँउपालिका वडा नं ५ का चन्द्र बहादुर श्रेष्ठ, वित्तीय संस्थाको असुली मुकाम नार्गाजुनको अधिकृत प्रेम बहादुर कार्की लगायत सुरक्षा निकाय प्रतिनिधी तथा अन्य समाजसेवि लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । अविरल वषाले सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकाको वडा नं १,२,३,४ र ५ काभ्रे जिल्लाको रोशि गाँउपालिका को वडा नं ११ र १२ र रामेछाप जिल्लाको खाडादेवी गाँउपालिका वडा नं १ र २ का बाढि पहिरोबाट अति प्रभावित शाखा कार्यालय रामटारमा आवद्ध सदस्यहरुलाई राहत स्वरुप जनही १ बोरा चामल, २ किलो दाल, १ लिटर तेल र १ प्याकेट नुन का दरले वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथीले सम्पदा लघुवित्त संस्थाले कर्जा बचत मात्र नभई दुख परेका सदस्यहरूलाई यसरी राहत वितरण गरेकोमा संस्थालाई हार्दिक धन्यवाद व्यक्त गरेक थिए । संस्थाको पहुचँ हाल ४५ जिल्लामा १५५ वटा शाखा कार्यालय मार्फत १ लाख ७८ हजार भन्दा बढि सदस्यहरूमा सेवा प्रवाह रहेको शाखा प्रमुख सविना सेन्चुरीले जानकारी गराइन् ।
मुग्लिन-पोखरा सडक ५ दिन अवरुद्ध हुने
दमौली । मुग्लिन-पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ ।
तोलामा १२ सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
बढ्यो मस्कको सम्पत्ति, ४०० अर्ब डलर पार गर्ने पहिलो व्यक्ति
एलान मस्क काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति बढेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार बिहीबार मस्कको नेटवर्थ बढेर ४४७ अर्ब डलर पुगेको छ । यससँगै उनी ४०० अर्ब डलरको आँकडा पार गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । विश्वको दोस्रो धनी व्यक्ति अमेजनका जेफ बेजोसको कुल सम्पत्ति मस्कको भन्दा निकै कम छ । बेजोसको कुल सम्पत्ति २४९ अर्ब डलर रहेको छ । एकै दिन कमाए ६३ अर्ब डलर मस्कले एकैदिन ६२.८ बिलियन डलर कमाए । उनको एक दिनको कमाइ विश्वका धेरै अर्बपतिभन्दा बढी छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार विश्वको २३ औं धनी व्यक्तिको कुल सम्पत्ति ६३.२ बिलियन डलर छ । उनको एक दिनको कमाइले विश्वका कैयौं धनीहरूको कुल सम्पत्तिलाई पछाडि पारेको छ । यो वर्ष मस्कले अहिलेसम्म २१८ अर्ब डलर कमाइसकेका छन् । यदि उनको एक वर्षको कमाइलाई उनको कुल कमाइ मान्ने हो भने पनि उनी विश्वको चौथो धनी हुनेछन् । २ सय अर्ब डलरभन्दा बढीको कुल सम्पत्तिको हिसाबले एलन मस्कपछि दुई जना मात्र छन् । यसमा जेफ बेजोस र मेटाका मार्क जुकरबर्ग छन् । जुकरबर्गको कुल सम्पत्ति २२४ बिलियन डलर छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । उनको कम्पनी टेस्लाको सेयर बढेपछि मस्कको सम्पत्ति बढेको हो । नोभेम्बर ५ मा भएको निर्वाचनमा ट्रम्प विजयी भएका थिए । नोभेम्बर ४ मा टेस्लाको सेयर मूल्य २४२.८४ थियो । हिजो (बिहीबार) यसको मूल्य ४२४.७७ छ । यस्तो अवस्थामा ट्रम्पको जितपछि टेस्लाको सेयर करिब ७५ प्रतिशतले बढेको छ । टेस्ला बाहेक मस्कको सम्पत्ति उनका अन्य कम्पनीहरू एक्सएआई, स्पेसएक्स आदिमार्फत पनि बढेको छ ।