बीमा प्राधिकरणको कार्यवाहक अध्यक्ष बने दाहाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी मदन दाहालले पाएका छन् । अर्थ मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि अर्थमन्त्रालयका सहसचिव दाहाललाई कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिएको हो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि दाहालले कार्यवाहककाे जिम्मेवारी पाएका हुन्। दाहाल प्राधिकरणको सञ्चालक समितिका सदस्य हुन् । मन्त्रालयका अनुसार बीमा ऐन २०७९ को दफा (६) बमोजिम दाहालले प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका हुन् । उनी सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका छन् ।
सूर्य नेपाल काठमाडौं ओपन जारी : तेस्रो दिन निरज शीर्षस्थानमा, सदभाव एक स्ट्रोकले पछि
काठमाडौं । डिफेन्डिङ च्याम्पियन निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा उक्लिएका छन् । ५४ होलको खेल सकिँदा निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् । एमेच्योर सदभाव पनि पनि ४-अन्डर ६४ स्कोर गर्दा समग्रमा ९-अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए । दोस्रो दिनका लिडर विष्णुप्रसाद शर्माले १-ओभर ६९ को खराब प्रदर्शन गर्दा समग्रमा ६-अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा तल झरे । समग्रमा ५-अन्डर १९९ सहित दिनेश प्रजापति चौथो स्थानमा यथावत रहे । उनले आज १-अन्डर ६७ को स्कोर निकाले । एमेच्योर गल्फर राहुल विके समग्रमा २-अन्डर २०२ सहित पाँचौं स्थानमा रहे । उनले पनि आज १-अन्डर ६७ मा खेल सकाए । इभन-पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १-अन्डर २०३ सहित छैटौं स्थानमा छन् । नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन-पार २०४ सहित सातौं स्थानमा उक्लिए । उनले तेस्रो दिनको खेल १-अन्डर ६७ मा सकाए । समग्रमा २-ओभर २०६ बनाएका वसन्त राज गुरूङ, रामे मगर र प्रदीप कुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहे । वसन्त र रामेले ३-अन्डर ६५ र प्रदीपले इभन-पार ६८ को स्कोर दर्ज गरे । रोयल नेपाल गल्फ क्लबमा निरज शीर्षस्थानमा उक्लने क्रममा सुरुवात राम्रो गरे । दोस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । नवौं होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे । यसपछि १०औं र ११औं होलमा बर्डी प्रहार गरे भने १२औं होलमा बोगी खेल्दै ब्याक नाइनमा १-अन्डर ३३ को स्कोर निकाले । सदभावले बोगीरहित स्कोर कार्ड बनाउने क्रममा कुल चार बर्डी प्रहार गरे । फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन ३-अन्डर ३१ मा सकाए । उनले चौंथो, दशौं, तेर्हौं र सत्रौं होलमा बर्डीको सफलता प्राप्त गरे । विष्णुले फ्रन्ट नाइन १-अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक-एक सट खेर फाले । ब्याक नाइनमा भने उनले लय गुमाए । १०औं होलमा बर्डी प्रहार गरेपनि १५औं, १६औं र १७औं होलमा बोगी खेप्दै २-ओभर ३६ मा सकाए । कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागि खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश: ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन् । साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ ।
विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि
काठमाडौं । विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भई कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको नेपाल राष्ट्र बेंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई २० खर्ब ८ अर्ब १५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९ खर्ब २ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा २८.४ प्रतिशतले वद्धि भई २४ खर्ब ७ अर्ब २० करोड कायम भएको छ । २०८१ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचक आर्थिक वर्ष २०८१/८२ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत र ३१.४ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए । २०८१ असार मसान्तको तुलनामा २०८१ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०२ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.१८ प्रतिशतले अवमूल्यन भएको थियो । २०८१ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३४.७४ रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर १३३.३६ रुपैयाँ रहेको थियो ।
यस्तो छ देशको पछिल्लो समयको आर्थिक अवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ४ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा मासिक रिपोर्ट सार्वजनिक गरेको छ । देशको केन्द्रीय बैंकसमेत रहेको राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार देशका महँगी, सरकारको खर्च लगायतका सूचांकहरू निराशाजनक छ । त्यसैगरी, विदेशी विनिमय सञ्चिति ह्वात्तै बढेको छ । देशमा भित्रिनै रेमिट्यान्स पनि सकारात्मक दिशातिर गइरहेको देख्न सकिन्छ । हेरौं देशको वर्तमान अवस्थाको आर्थिक सूचकहरू वार्षिक बिन्दुगत आधारमा २०८१ को कार्तिक महिनामा मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । २०८० को कार्तिक महिनामा यस्तो मुद्रास्फीति ५.३८ प्रतिशत रहेको थियो । गत वर्षको भन्दा यस वर्षको कार्तिक महिनामा महँगी बढेको तथ्यांकले देखाउँछ । आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेकोछ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको छ । कार्तिक मसान्तससम्म ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको कार्तिक महिनासम्ममा ४ खर्ब ७८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको छ । गत आवको कार्तिक महिनासम्ममा १ खर्ब ५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा रहेको थियो । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भई २०८१ कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भइ १६ अर्ब ७० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई २० खर्ब ८ अर्ब १५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा २८.४ प्रतिशतले वद्धि भई २ खर्ब ४७ अर्ब २० करोड कायम भएको छ । २०८१ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ । आव २०८१/८२ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको ठम्याई छ । नेपाल सरकारको खर्च ४ खर्ब १५ अर्ब २ करोड र राजस्व परिचालन ३ खर्ब २३ अर्ब २४ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।
उपभोक्ता मुद्रास्फीति बढ्यो, कुन प्रदेशको कति ?
काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक महिनामा उपभोक्ता मुद्रास्फीति बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेकोमा यो वर्ष ५. ६० रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.९८ प्रतिशत र ४.९९ प्रतिशतले रहेका छन् । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३३.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.१५ प्रतिशत र घ्यू तथा तेलको ९.२९ प्रतिशतले बढेको छ भनेमरमसला उप-समूहको १.४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको१.२८ प्रतिशत र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.४१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३५ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५७ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.२४ प्रतिशतले बढेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.१९ प्रतिशतले र सहरी क्षेत्रका ५.३९ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१९ प्रतिशत, मधेश प्रदेशको ५.७२ प्रतिशत, बागमती प्रदेशको ५.३५ प्रतिशत, गण्डकी प्रदेशको ४.६९ प्रतिशत, लुम्बिनी प्रदेशको ५.१० प्रतिशत, कर्णाली प्रदेशको ३.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.५७ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ५.७२ प्रतिशत, पहाडको ५.१५ प्रतिशत र हिमालको ६.७८ प्रतिशत रहेको छ ।
अत्यधिक बीमा नीति र अर्थतन्त्रको आन्तरिक अवस्था सुधार गर्न अर्थमन्त्रीसमक्ष संघको पहल
काठमाडौं । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र निर्वतमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडललाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा नेपालको निर्जीवन बीमाका उच्च प्रिमियम दर तथा अन्यायिक नीतिहरूसहित औद्योगिक/व्यावसायिक क्षेत्रका विद्यमान मुख्य समस्याहरू र नेपालको अर्थतन्त्रको आन्तरिक अवस्थाबारे अवगत गराई त्यसको सुधारार्थ तत्कालै आवश्यक कदम चाल्न आग्रह गरिएको छ । अध्यक्ष अनुपम राठीले गत मंगलबार अर्थमन्त्रीसमक्ष ज्ञापनपत्रमार्फत निर्जीवन बीमाका अत्यधिक दर तथा अन्यायिक नीतिहरूबारे उल्लेख गर्दै भारतसहित अन्य मुलुकको तुलनामा नेपालको निर्जीवन बीमाको दर ५० देखि २०० प्रतिशतसम्म उच्च रहेको, आतंकवादलगायत कतिपय अनावश्यक एवं नगण्य जोखिमहरूको समेत अनिवार्य रूपले बीमा गर्नु पर्ने बाध्यकारी नीति न्यायोचित नरहेको, वस्तुहरु प्रतिका जोखिमहरुको वर्गिकरण बैज्ञानिक तवरले नगरिएको, बीमा शुल्क गणना गर्ने कार्यविधि प्रष्ट नरहेको, बीमित स्वयंले बीमा शुल्क गणना गर्न सक्ने व्यवस्था नरहेको, बीमा गराउँदाको कमिशन दर न्यून गरिएको लगायतका अवस्थाहरुबाट समेत नेपाली उत्पादन र उपभोग्य वस्तुहरुको लागत खर्च उच्च हुन गएको बताएका थिए । साथै, अध्यक्ष राठीले नेपालको भौगोलिक, आर्थिक, सामाजिक, राजनैतिक लगायतका परिवेशहरुलाई ध्यानमा राखेर नेपालको बीमा प्रिमियम दर भारत तथा अन्य मुलुकको भन्दा न्यून वा समान गरिनु पर्ने, नेपालका अपेक्षित जोखिमहरुको अवस्थाहरुको मात्र ऐच्छिक रुपले बीमा गर्न मिल्ने व्यवस्था मिलाउनु पर्ने, औद्योगिक/व्यावसायिक वस्तुहरूको जोखिमको वर्गीकरण अन्य देशसरह वैज्ञानिक तवरले गरिनुपर्ने, बीमा शुल्कको गणना प्रष्ट, पारदर्शी र समान रूपले हुने र नियामक निकायले तोके बमोजिम भए/नभएको डिजिटल माध्यमबाट हेर्न मिल्ने व्यवस्था मिलाउनु पर्नेलगायतका सुझावहरू प्रस्तुत गरेका थिए ।
४ महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडाैं । चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा भित्रिने रेमिट्यान्स ९.१ प्रतिशतले वृद्धि भएको छ । चालु आवको कार्तिक महिनासम्म ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा ४ खर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । गत आवको सोही अवधिमा रेमिट्यान्स २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.५६८ अर्ब २६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ५२१ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । यो ४ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ जना रहेका छन् । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ जना रहेका थिए ।
सिप्रदी ट्रेडिङ र बोसबीच सम्झौता, एफआईपीसम्बन्धि मर्मतसम्भार न्यून मूल्यमा हुने
काठमाडौं । टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र मोबिलिटी इकोसिस्टममा प्रविधि तथा सेवाप्रदायक कम्पनी बोस लिमिटेडबीच सम्झौता भएको छ । एक विशेष समारोहबीच टाटा कमर्सियल गाडीमा जडान भएका बोस एफआईपीहरूको मर्मत तथा सम्भारसम्बन्धि सेवाका लागि सम्झौता भएको हो । उक्त सम्झौतापश्चात् अब टाटा कमर्सियल गाडीहरूको एफआईपीसम्बन्धि मर्मत सम्भारकार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा न्यून खर्च र निश्चित मूल्यमा गर्न पाउनेछन् । यो सेवा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूबाट प्राप्त गर्न सकिने छ। कम्पनिले जेन्यूइन पार्ट्सहरूमा ६ महिनासम्मको वारेन्टी सुविधा पनि प्रदान गर्ने जनाइएको छ ।