कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
काँक्रेविहार । पछिल्लो समय कर्णाली चारवटा सडकले जोडिएको छ । विकासको पहिलो शर्त कर्णालीका लागि सडक नै हो । दश वर्ष अघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर थप, थप आँशु चुहाउँदै नुन, चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर लिने गरेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य वस्तु बजारसम्म लिनका लागिसमेत सहजै सवारी साधनको प्रयोग हुँदै आएको छ । तीन तहका सरकारको सक्रिया पहलकदमीका कारण गाउँगाउँमा सडक पुग्दा कर्णालीवासीको जीवनस्तरमा समेत सुधार आएको छ । कर्णालीका १० वटा पालिकामा अझै सडक पुग्न नसकेको सडक विभागको तथ्याङ्कले बताउँछ । यस्तै, कर्णाली प्रदेशका १० स्थानीय तहको केन्द्रमा सडक सञ्जाल पुगेको छैन । त्यसमा डोल्पाको ६ स्थानीय तह से–फोक्सुन्डो, मुड्केचुला, जगदुल्ला, छार्का ताङ्सोङ, अदानचुली र ताजाकोट गाउँपालिकाको केन्द्र पनि सडकको पहुँच छैन । से–फोक्सुन्डोमा ३५ दशमलव ४ किमि, मुड्केचुलामा १० किमि, जगदुल्लामा २६ किमि, छार्का ताङ्सोङ ७५ किमि, अदानचुलीमा २४ र ताजाकोटमा २६ किमि नयाँ सडक निर्माण गर्नुपर्ने विभागको अनुमान छ । यसैगरी, कालीकोटका चार स्थानीय तह पचालझरना, नरहरिनाथ, महावै र शुभकालिका गाउँपालिकाको केन्द्रमा पनि सडक पुगेको छैन । पचालझरनामा आठ किमि, नरहरिनाथमा १६ किमि, महावैमा नौ किमि र शुभकालिकामा १२ किमि नयाँ सडक निर्माण गर्नुपर्ने देखिएको छ । प्रदेश सरकारले सडक सञ्जाल नपुगेका स्थानीय तहमा यही आर्थिक वर्षभित्र सडक पुर्याउने लक्ष्यका साथ काम गर्ने योजनाका साथ अगाडि बढेको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए । कर्णालीमा कति बन्यो त सडक कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा नौ हजार छ सय ८६ दशमलव ६२ किलोमिटर सडक बनेको छ । जुन, नेपालको कूल सडकको १२ दशमलव ०४ प्रतिशत हो । कर्णालीका सडकमा ३० हजार तीन सय ६७ सवारीसाधन गुड्छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीका अनुसार कर्णालीमा सङ्घीयतापछि मात्र पनि सडकमा राम्रो प्रगति भएको छ । प्रदेश सरकार गठन भएपछि एक सय ५६ दशमलव ७६ किलोमिटर सडक कालोपत्र गरिएको छ । ग्राभेल सडक ६ सय १ दशमलव ०५ किलोमिटर खनिएको छ । कच्ची सडक दुई हजार आठ सय २२ दशमलव ३३ किलोमिटर निर्माण भएको छ । नालासहितको स्तरोन्नति गरिएको सडक चार सय ६८ दशमलव ४१ किलोमिटर छ । यस प्रदेशमा प्रदेश सरकारले ३९ वटा मोटरेबल निर्माण गरेको छ । पालिकासँग जोड्ने अधिकांश सडक स्थानीय सरकारले गर्दै आएका छन् । डोल्पामा जाने मुख्य सडक कुनै पनि कालोपत्रे भएका छैनन् । त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र बगरबाट बाला त्रिपुरासुन्दरी मन्दिरसम्म पुग्नका लागि झण्डै दुई किलोमिटर सडक पिच गरिएको छ । कर्णालीमा सबैभन्दा बढी सडक भएको जिल्लामा दैलेख अग्रिणी स्थानमा रहेको छ । यहाँ पक्की सडक चार सय ५२ दशमलव २ किलोमिटर छ । ग्राभेल सडक एक सय ८५ दशमलव ७ किलोमिटर र कच्ची सडक दुई हजार तीन सय १० दशमलव आठ किलोमिटर गरी जम्मा सडक दुई हजार नौ सय ४८ दशमलव ७ किलोमिटर छ । यस्तै सुर्खेतमा पक्की दुई सय ७८ दशमलव २१, ग्राभेल पाँच सय ८३ दशमलव ९३ र कच्ची नौ सय ३४ दशमलव ६६ गरी जम्मा एक हजार सात सय ९६ दशमलव ८२ किलोमिटर सडक छ । जाजरकोट जिल्लामा पक्की एक सय ११, ग्राभेल ४० दशमलव ५ र कच्ची नौ सय ७१ गरी एक हजार एक सय २२ दशमलव ५ किलोमिटर सडक छ । यस्तै रूकुम–पश्चिममा पक्की एक सय ३३, ग्राभेल ५७ र कच्ची एक हजार दुई सय ५२ गरी जम्मा एक हजार चार सय ४२ किलोमिटर सडक छ । सल्यानमा पक्की एक सय ६२, ग्राभेल नौ र कच्ची तीन सय ९२ गरी जम्मा पाँच सय ६३ किलोमिटर सडक सञ्जाल रहेको छ । हुम्लामा पक्की दुई र कच्ची दुई सय ८३ गरी जम्मा दुई सय ८५ किलोमिटर सडक छ । कालीकोटमा पक्की ७४ र कच्ची तीन सय ७५ दशमलव ५ गरी जम्मा चार सय ४९ दशमलव ५ किलोमिटर सडक छ । यस्तै, जुम्लामा पक्की ४९, ग्राभेल ९२ दशमलव ५ र कच्ची तीन सय ८२ दशमलव ६ गरी जम्मा पाँच सय २४ दशमलव १ किलोमिटर सडक छ । मुगुमा पक्की चार, ग्राभेल ५२ र कच्ची तीन सय १५ गरी जम्मा तीन सय ७१ किलोमिटर सडक छ । डोल्पामा भने पक्की सडक नै छैन । हालसम्म जम्मा एक सय ८५ किलोमिटर कच्ची सडक निर्माण भएको छ । यसरी कर्णाली प्रदेशमा पक्की एक हजार दुई सय ६५ दशमलव ४१, ग्राभेल एक हजार २० दशमलव ६५ र कच्ची सात हजार चार सय १ दशमलव ५६ गरी जम्मा नौ हजार ६ सय ८७ दशमलव ६२ किलोमिटर सडक निर्माण भइसकेको छ । सङ्घीयतापछि मुलुकका तीनवटै तहका सरकारले सडक निर्माणलाई तीव्रता दिइरहेका छन् । कर्णालीको ७९ वटै स्थानीय सरकारले पनि हरेक आर्थिक वर्षको बजेटमा सबैभन्दा धेरै बजेट सडक निर्माणमा खर्चिंदै आएका छन् । सङ्घ सरकारले कर्णालीमा कर्णाली करिडोर, भेरी करिडोर, मध्यपहाडी लोकमार्ग तथा मदनभण्डारी सडकले कर्णालीलाई छोएका छन् । भेरी करिडोरले सुर्खेत, सल्यान, जाजरकोट, रूकुम पश्चिम हुँदै डोल्पाबाट चीनको तिब्बत जोड्ने लक्ष्य लिएको छ । यसलाई त्रिदेशीय सडकको रूपमा विकास गर्ने लक्ष्य समेत लिइएको छ । लुम्बिनी प्रदेशको नेपालगञ्ज जमुनाह र भारतको उत्तर प्रदेशको रोपैडियासँग यो सडक जोडिएको छ । नेपाल–भारत सिमाना जमुनादेखि नेपाल–चीन सिमाना हिल्सासम्म जोड्ने सडक कर्णाली राजमार्गको नामले चिनिन्छ । बाँकेको जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत, दैलेख–कालीकोट (खुलालु)–बाजुरा, हुम्लाको सिमकोट–हिल्सा गरी जम्मा पाँच सय ३८ किलोमिटर लामो यो सडक कर्णालीको मुख्य समृद्धिको मार्ग हो । सुर्खेत–तल्लो डुङ्गेश्वर, सातखम्ब–दुल्लु पिपलकोट, खुलालु–मान्म–नाग्म–जुम्ला हुँदै मुगुसम्म सडक तीन सय दुई किलोमिटर सडक छ । यी दुई सडकले साविकका कर्णालीको लागि समृद्धिको मार्गका रूपमा स्थापित हुँदै आएको छ । मध्यपहाडी लोकमार्ग रूकुम पूर्वबाट रूकुम पश्चिम हुँदै जाजरकोट दैलेख जोड्ने गर्दछ । त्यस्तै रूकुम पश्चिम र सल्यानलाई जोड्नका लागि राप्ती लोकमार्गको रहेको छ । जसले दाङबाट सल्यान हुँदै रूकुम पश्चिम जोड्ने काम गर्दछ । अर्को लुम्बिनीबाट रूकुम हुँदै जाजरकोट, जुम्ला मुगुको रारासम्म जोड्न लुम्बिनी–रारा राजमार्गको कामसमेत चालु अवस्थामा रहेको छ । यो सडक जाजरकोटको कुशे गाउँपालिकामा चालु अवस्थामा छ । कर्णालीमा निर्माण हुने अधिकांश सडक आयोजनालाई प्रर्याप्त बजेट नहुँदा काममा बाधा पुग्दै आएको यहाँका जनप्रतिनिधि बताउँदै आएका छन् । निर्माण भएका सडक समयमै काम गराएर अपेक्षित लक्ष्य हासिल गर्न सके कर्णालीलाई सडक समृद्धि गर्न धेरै समय नलाग्ने देखिन्छ । हाल यिनै निर्माण भएका सडकबाट कर्णालीका स्याउदेखि अन्य भारी मात्रामा जडीबुटी निर्यात हुँदै आएको छ । छिन्चु–जाजरकोट–दुनै–मरिम तीन सय १७ किलोमिटर सडकलाई भेरी करिडोरले चिनिन्छ । यो साविकको भेरी अञ्चलबाट जोडिएर साविकको कर्णालीको डोल्पा हुँदै चीनसँग जोड्ने कर्णालीको अर्को महत्त्वपूर्ण सडक हो । कहिले हुन्छ त सुधार कच्ची कटानले भारी मात्रामा फड्को मारेको कर्णालीका सडक अब पक्की कहिले होलान त ? यो प्रश्नले सबैको ध्यान तान्छ । भेरी करिडोर हुँदै उपल्लो डोल्पाको फोक्सुण्डो ताल हुँदै सात सय वर्ष पुरानो शे गुम्बामा पुग्नेको दैनिक प्रश्न यही हुन्छ । पर्यटकीय मार्गको रूपमा रहेको यो मार्गमा दैनिक धुलाम्य भएर तराईबाट हिमालको टुप्पोमा पुग्दा सबैको साझा गुनासो भनेकै पक्की सडकको लागि हो । प्रत्यक वर्ष प्रदेश सरकारले ल्याउने बजेट तथा सङ्घीय सरकारले ल्याउने बजेटमासमेत यही कुरामा भारी बहस हुँदै आएको छ । त्यस्तै अर्को कर्णाली करिडोरका दुई भागमा समेत अझैँ पक्की बन्न नसकेको अवस्था छ । कर्णाली करिडोर हुँदै रारा पुग्नेदेखि अर्को मार्गबाट हुम्लाको सिमकोट हिल्सा, मानसरोबर पुग्नेको कथा उही सडककै रहेको छ । धुलाम्य सडकमा मृत्युलाई जित्दै मानसरोबार पुग्ने तथा रारा पुग्नेले सडक नै पहिलो आधारका रूपमा माग राख्दै आएका छन् । प्रदेश सरकारले आफ्नो औकातले सकेसम्म काम गरिरहेको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा बताउँछन् । तीन तहका सरकारसँग समन्वय गरेर कर्णालीमा सडक सम्मृद्धि ल्याउने काममा लागिरहेको उनको भनाइ छ । व्यापार प्रवर्द्धन र कृषक लाभान्वित कर्णाली करिडोर साविकको कर्णालीका जुम्ला र मुगुमा पुग्दा त्यहाँ उत्पादन भएको स्याउले हाल बजार पाएको छ । विदेशी भूमिबाट आउने स्याउ विस्थापित भएको उद्योग वाणिज्यसँग सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए । उद्योगी तथा व्यवसायीलाई सङ्घले कर्णालीकै उत्पादनलाई जोड दिन पटकपटक पत्राचार गरेको उनी बताउँछन् । उत्ता डोल्पामा उत्पादन हुने स्याउसमेत सडक मार्गबाट देशका ठूला सहरमा पुग्ने गरेको छ । कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रमा लगानी गर्दै अर्गानिक उत्पादनलाई जोड दिएका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग मिलेर आफ्नै मिल निर्माण गरेर कर्णालीलाई चिनाउने काममा लागेको छ । कर्णालीकै मूल्यवान लोगो बनाइ खाद्यान्नलाई विश्वमा चिनाउने काम कर्णालीबाट सुरू भइसकेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले बताए । कर्णालीमा उत्पादन भएको जडीबुटीसमेत सडक मार्गहुँदै सजिलै प्रशोधन केन्द्रमा पुग्न थालेको छ । जाजरकोटकोमा रहेको प्रशोधन केन्द्रदेखि अन्य ठाउँमा समेत सडक मार्गबाटै आउने गरेको छ । सडक मार्ग अधिकांश ठाउँमा पुगेकै कारण दैनिक खाद्यान्नको ढुवानी हुँदा भान्सासमेत सस्तो भएको छ । खाद्यान्न अभाव भयो भन्दै विगत जस्तो आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य भइसकेको मन्त्री शाहको भनाइ छ । त्यस्तै सडक मार्ग हुँदै अधिकांश ठाउँमा आयोडिनयुक्त नून पुग्ने गरेको छ । भनेकै समयमा पालिकास्तरबाट नुन पाउने गरेको छ । सडकले व्यापक रूपमा गतिलिएसँगै विकास निर्माण काममासमेत सहज भएको छ । कर्णालीमा जनयुद्धपछि मात्र विकासले गति लिएको देखिन्छ । रासस
२७ वर्षपछि सञ्चालनमा आयो टीकापुर विमानस्थल, १२ यात्रु बोकेको तारा एयरकाे विमान अवतरण
टीकापुर । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १:४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो । पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गरेका थिए । विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । त्यसअवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौं–टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताए । ‘गत निर्वाचनमा पनि मैले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको थिएँ, आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि मेरो प्रयास रहनेछ ।’ टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौंदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिए । विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौं–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौं उडान हुनेछ । टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिए । ‘यति एयरलाइन्सले काठमाडौं–नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । यसका लागि एकमुष्ट काठमाडौं–टीकापुरको एकतर्फी भाडा नौ हजार निर्धारण गरिएको छ’, उनले भने । उनले लामो प्रयासपछि विमानस्थल सञ्चालन सम्भव भएको उल्लेख गर्दै यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे, पर्यटन राज्यमन्त्री चौधरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला, उद्योग वाणिज्य सङ्घ टीकापुर, व्यावसायी तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीलगायतलाई विशेष भूमिका निर्वाह गरेकामा धन्यवाद व्यक्त गरे । उक्त उडानको टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौंको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ । साथै यात्रुहरूले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन्। विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ । सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्न थप सहज हुनेमा विश्वास व्यक्त गरे । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौंबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२:३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १:२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २:०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौं आउने तालिका छ । त्यसैगरी काठमाडौंदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ । साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँच दिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् । मन्त्री भण्डारी आइतबार औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ । मन्त्री भण्डारी र दक्षिण कोरियाका राज्यमन्त्रीबीच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयू सम्झौता गरिने जनाइएको छ । कोरियामा रहेका लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने विषयमा समेत छलफल हुने उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।
तनहुँ जलविद्युत् आयोजनाको एक हजार चार सय ९३ मिटर लामो सुरुङ निर्माण
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ । उक्त कार्यका लागि पेनस्टक पाइप जडानकार्य अन्तिम चरणमा पुगेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए । आयोजनाको सुरूङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज- २ को निर्माणकार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । विद्युतगृहका सिभिल संरचना निर्माणकार्य पनि अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ । स्वीजयार्ड निर्माण, विद्युतगृहमा रहने उपकरण जडानलगायतका कार्य भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ । प्याकेज- ३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ । सञ्चारविज्ञ गौतमका अनुसार ३४ दशमलव ७ किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हालिएको छ भने ६९ वटा टावर खडा गरिएको छ । उक्त प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशत रहेको छ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्यले गति लिइरहेको छ । मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको आयोजनाका म्यानेजिङ डाइरेक्टर किरणकुमार श्रेष्ठले बताए । उहाँका अनुसार ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ को सिमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गर्न लागिएको छ । ‘प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ,’ उनले भने, ‘क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ ।’ मुख्य बाँध निर्माण छिट्टै सुरू गर्न लागिएको छ । प्याकेज-१ को निर्माण प्रगति करिब ३६ प्रतिशत छ । प्याकेज-१ को निर्माण सोङ दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि नेपाल, जेभीले गरिरहेको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यसका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
माघ १० गतेदेखि विमानस्थल ८ घण्टामात्र बन्द हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी माघको दोस्रो हप्तापछि ८ घण्टा बन्द हुने भएको छ । कात्तिक २३ गतेयता प्रत्येक दिन १० घण्टा उडान बन्द हुँदै आएको विमानस्थल माघको दोस्रो हप्तापछि ८ घण्टा बन्द हुने भएको हो । जसमा नागरिक उड्यन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले कार्तिक २३ गतेदेखि विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी ३ प्याकेजमा विमानस्थलको स्तरोन्नतिको काम गरिरहेको छ । प्राधिकरणले एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा १५ अर्ब खर्च हुनेगरी काम सुरु गरेको थियो । हाल विमानस्थल स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थलमा समानान्तर ट्याक्सी वे, इन्टरनेशनल एप्रोन, ह्यांगर एप्रोनलगायत संरचना विस्तारका लागि रात्रिकालीन उडान राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा बन्द गरेको थियो । अब भने आगामी माघ १० गतेदेखि राति ८ घण्टामात्रै विमानस्थल बन्द हुने भुलले बताए । उनका अनुसार कार्तिक २३ अघि विमानस्थल बिहान ६ बजे खुल्ने र राति १२ बजे बन्द हुने गर्थ्यो । १८ घण्टा खुल्ने विमानस्थल पछिल्लो समय १० घण्टा बन्द हुँदै आएको छ । सूचना अधिकारी भुलले भने, ‘माघ महिनापछि हल्का तातो सुरु हुन्छ । उडान पनि बढ्ने गर्छन् । आकाश पनि सफा रहने गर्छ । हुस्सु/कुहिरो पनि हट्ने भएकाले बिहानको बन्द गरेको एक घण्टाअघि र साझँको एक घण्टापछि गरी काम गर्ने योजना बनाएका छौं ।’ माघ दोस्रो हप्तादेखि बिहान ७ बजेदेखि राति ११ बजेसम्म विमानस्थल चल्ने उनको भनाइ छ । हाललाई भने साँझ १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको उनले जानकारी दिए । विमानस्थल स्तरोन्नतिको काम सकिएपछि साविककै समयअनुसार विमानस्थल सञ्चालन हुने सूचना अधिकारी भुलले जानकारी दिए ।
शताब्दी पुरानो व्यावसायिक घराना ‘ज्योति ग्रुप’ विभाजन, पद्मज्योतिले बनाए आफ्नै नामको ग्रुप
काठमाडौ । अन्ततः ज्योति ग्रुप दुई व्यावसायिक ग्रुपमा विभाजन भएको छ । एक शताब्दी पुरानो इतिहास भएको ज्योति समूह औपचारिक रूपमा अलग भएको हो । सम्पत्ति बाँडबाँफाडको विषयमा सुरु भएको विवाद अड्डा-अदालत हुँदै अन्ततः व्यावसायिक समूह नै विभाजन हुने अवस्था सिर्जना भएको हो । दाजुभाइ पद्म ज्योति र रूप ज्योतिले अब आ-आफ्नै व्यवसाय सञ्चालन गर्नेछन् । आइतबार दाजु पद्म ज्योतिले पद्म ज्योति ग्रुप स्थापना भएको घोषणा गरे । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले धेरै बाधा र चुनौतीहरू पार गरेर पद्म ज्योति समूह स्थापना भएको बताए । पद्म ज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको बताइएको छ । पद्म ज्योति । नयाँ व्यावसायिक समूह पद्म ज्योतिले लोगो पनि सार्जननिक गरेको छ । कलश र अष्टमंगल समावेश लोगोले संस्कृति, सकारात्मक सोच, परिवर्तन र अर्थपूर्ण प्रभावलाई समेट्ने बताइएको छ । यस समूह अन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ । समूहका अध्यक्षमा पद्म ज्योति रहनेछन् । उनले बुबा मणिहर्षको विरासतलाई अवलम्बन गर्दै नयाँ अध्याय सुरु भएको बताए । उनका अनुसार पद्मज्योति ग्रुप अन्तर्गत हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन् । पद्म ज्योतिले सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुहिद ज्योति र आरती ज्योतिलाई सँगै लिएर नयाँ अध्याय सुरु भएको बताए । साैरभ ज्योति । समूहका निर्देशक सौरभ ज्योतिले लामो विरासत बोकेको व्यावसायिक समूह छुट्टिनु परेको भन्दै दुःख व्यक्त गरे । काकासँगको व्यावसायिक सम्बन्ध बिग्रिए पनि अब यसलाई एउटा सिकाइ र पाठका रूपमा लिएर अगाडि बढ्ने उनको भनाइ छ । देशको पुरानो व्यावसायिक समूह ज्योति ग्रुप देशकै एक अग्रणी र परिचित समूह हो । मणिहर्ष ज्योतिले सन् १९२० मा व्यवसाय सुरु गरेका थिए ।
मस्क, बेजोस र गेट्सको साझा बानी जसले उनीहरूलाई अर्बपति हुन महत्त्वपूर्ण भूमिका खेल्यो
काठमाडौं । पढाइलाई धेरैजसो ज्ञान, रचनात्मकता र व्यक्तिगत वृद्धिको प्रवेशद्वार मानिन्छ । अर्बपति एलन मस्क, जेफ बेजोस र बिल गेट्सका लागि पुस्तक पढ्ने बानीले उनीहरूको अतुलनीय सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको छ । यी तीन कम्पनीहरू फरक-फरक क्षेत्रमा काम गर्छन् तर तिनीहरूमा एउटा कुरा समान छ । यी तीनैजना धेरै शिक्षित मानिन्छन् । अध्ययनले नवीन विचारहरूलाई आकार दिनदेखि प्रेरणादायी उद्यमहरूसम्म जीवन र करिअरमा गहिरो प्रभाव पारेको छ । हामी यी धनी व्यक्तिहरूको पढ्ने बानीले उनीहरूको सफलतामा के-कस्तो प्रभाव पारेको छ भन्नेबारेमा संक्षिप्त रूपमा चर्चा गर्नेछाैं। जेफ बेजोस: किताबप्रेमीदेखि अमेजनसम्म विश्वको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस पुस्तकलाई बेजोड माया गर्छन् । उनको व्यापार साम्राज्य उनको पढाइको जोशबाटै सुरु भएको थियो । अमेजन १९९५ मा एक अनलाइन पुस्तक पसलको रूपमा सुरु भएको हो । यसले विश्वभरका मानिसहरूले पुस्तकहरू किनमेल गर्ने र पहुँच गर्ने तरिकामा क्रान्ति ल्यायो । साहित्यसँग व्यक्तिगत सम्बन्ध बेजोसले उपन्यासकार म्याकेन्जी स्कटसँग विवाह गरेका थिए । उनीहरू २५ वर्षसम्म सँगै रहे । बेजोस साहित्यको संसारमा, विशेष गरी विज्ञान कथामा गहिरोसँग डुबेका थिए । अमेजन अहिले पाठक र लेखकहरूका लागि शीर्ष प्लेटफर्म बनेको छ । एलन मस्क: किताबसँग सम्बन्ध एलन मस्कको किताबसँगको सम्बन्ध उनी दक्षिण अफ्रिकामा छँदाखेरि बाल्यकालदेखि नै सुरु भएको थियो । उनले दिनको १० घण्टासम्म किताब पढ्थे । विज्ञान कथा र विश्वकोशहरूप्रतिको आकर्षणले पछि टेस्ला, स्पेसएक्स र न्यूरालिंक सिर्जना गर्न सहयो गर्यो । ‘द हिचाइकर्स गाइड टु द ग्यालेक्सी’ जस्ता पुस्तकहरूमा मस्कको प्रारम्भिक एक्सपोजरले उनको कल्पनालाई मात्र होइन, समस्या समाधान गर्ने एउटा अनौठो दृष्टिकोण पनि प्रदान गर्यो । रकेट बनाउन कसरी सिके भनेर सोध्दा मस्कले भनेका थिए, ‘मैले किताबहरू पढेको छु।’ एआईको विकासमा मद्दत मस्कको साहित्यप्रतिको प्रेम उनको कम्पनीहरूमा पनि झल्किन्छ । उनको एआई एक्सएआई र यसको च्याटबोट ग्रोकएआईले ‘द हिचाइकर्स गाइड टु द ग्यालेक्सी’को विषयवस्तुहरूबाट प्रेरणा लिएको मानिन्छ । यो उनको प्राविधिक आविष्कारमा साहित्यले खेलेको भूमिकाको प्रमाण हो । बिल गेट्स: सिक्नको लागि कुनै उमेर बाधक छैन माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा पढाइको महत्त्वलाई निरन्तर जोड दिँदै आएका छन् । गेट्स हरेक दिन घण्टौंसम्म पढ्छन् र गैर-काल्पनिक कामहरूलाई प्राथमिकता दिन्छन् जसले संसारको बारेमा उनको बुझाइलाई व्यापक बनाउँछ । चिन्तन र सल्लाहको लागि पढाइ गेट्स धेरैजसो आफूले पढेको किताबको सूचीबारे मानिसहरूसँग साझा गर्छन् । आफ्ना अनुयायीहरूलाई पुस्तकहरू पढ्न सिफारिस गर्छन् । लीङ्कडीन पोष्टमा उनले युवाहरूलाई ‘धेरै पढ्न’ र आफूलाई मनपर्ने सीप खोज्न सल्लाह दिने बताएका छन् । उनी पुस्तकमार्फत सिक्न सकिन्छ भन्नेमा विश्वास गर्छन्।
पूर्व-पश्चिम रेल हाम्रो प्राथमिकता हो : मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व-पश्चिम रेल सरकारको प्राथमिकतामा रहेको बताएका छ्न् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री दाहालले एसियाको ट्रेड कनेक्टिभिटिका लागि रेलको आवश्यकता औंल्याउँदै सरकारले त्यस विषयई ध्यान दिएको बताए । यो पनि : नेपालमै गाडी निर्माण कम्पनी स्थापना हुनुपर्छ : मन्त्री दाहाल सरकारको नीति अटोबजारमैत्री भएन : नाडा अध्यक्ष चौधरी