ब्रायन लाराले गरे डीपलको ब्याटमा हस्ताक्षर
काठमाडौं । क्रिकेट लिजेन्ड ब्रायन लाराले डीपलको क्रिकेट ब्याटमा हस्ताक्षर गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा लाराले क्यानका सचिव तथा डीपल इभिजका ब्रान्ड एम्बेसडर पारस खड्का र नेपालमा डीपलका मालिक विष्णुकुमार अग्रवालको उपस्थितिमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा क्रिकेट लिजेन्ड लाराले प्रख्यात क्रिकेट होस्ट एन्ड्रयू लियोनार्डसँग क्रिकेटप्रतिको आफ्नो लगाव र अविस्मरणीय कथा साझा गरेका थिए । नेपाल प्रिमियर लिग (एनपीएल) का क्रिकेटरहरू र अन्य क्रिकेट उत्साहीहरूले ब्रायन लारासँग उनको विरासत र क्रिकेट करिअरका बारेमा कुराकानी गरेका थिए । कार्यक्रममा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डीपलका ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । डीपल १६२ वर्षको विरासत भएको चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी चाङ्गानको भविष्यवादी र बुद्धिमानी उप-ब्रान्ड हो । ८ महिनाअघि नेपालमा लन्च गरेपछि डीपल इभीका ६५० युनिटहरू बिक्री भइसकेका छन् । डीपल ईभीजमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले, जेस्चर कन्ट्रोल तथा हेडरेस्ट र आउटडोर स्पिकरहरू लगायत १५ भन्दा बढी पहिलो पटक आविष्कार गरिएका फिचरहरू छन् जसले यसलाई छोटो अवधिमा नेपाली बजारमा सबैभन्दा लोकप्रिय ईभी बनाएको छ ।
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २ सय मूल्यले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मोटरसाइकल तीनजना सवार हुँदा…
काठमाडौं । झापाको दमक नगरपालिका–१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार जिल्ला झापा गौरादह नगरपालिका-५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन् । यसैगरी मोटरसाइकल चालक जिल्ला मोरङ रतुमाई नगरपालिका–८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रनाउ चन्दले बताए । मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एनएलजी इन्स्योरेन्सको हकप्रदमा अब पुस १६ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । मंसिर ११ गतेदेखि बिक्री खुला गरिएको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले अब पुस १६ गतेसम्म आवेदन दिन सक्नेछन् । पुस १ गतेसम्म आवेदन दिने समय तोकिएको भएपनि सो समयमा पूर्ण आवेदन नपरेपछि थप गरिएको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५६ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले कात्तिक २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रिय कार्यालय, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
आज लिग चरणको अन्तिम खेल, प्लेअफमा पुग्न कर्णालीले जित्नैपर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुदैँछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ः१५ बजे सुरु हुने सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । सुदूरपश्चिम रोयल्सले यसअघिका ६ खेलमध्ये ५ खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । १० अङ्कसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ । कर्णाली याक्सले भने यसअघिका ६ खेलमध्ये ४ खेलमा मात्रै विजयी भएको छ । ८ अङ्कसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अङ्कसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ । यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले हार्यो भने काठमाडौं गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ । काठमाडौं गुर्खाज पनि ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।
पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित, कार्यसमितिमा क-कसले जिते ? (मतसहित)
काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छिन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले ४ हजार २८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरे । उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरी विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरे । महासचिवमा रामप्रसाद दाहालले ४ हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरे । सचिव खुलामा रमेश खतिवडाले तीन हजार चार सय मत प्राप्त गरी जित निकाले सचिव महिलामा सोनी शर्माले ४ हजार ३४७ मत प्राप्त गरी विजयी भइन् । त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले ३ हजार ५३५, सचिव मधेशीमा अशोककुमार तिवारीले ३ हजार ८५८ मत प्राप्त गरी विजयी भए। सचिव दलिततर्फ प्रकाश धौलाकोटीले ४ हजार ११०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत प्राप्त गरी जित हासिल गरे । कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले ३ हजार ८४७ मत प्राप्त गरी विजयी भए । कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले ५२७ मत र शङ्कर खरेलले ४४२ मत, मधेस प्रदेश सदस्यमा राजु विश्वकर्मा २९७ मत र राजेशकुमार कर्णले ३७६ मत प्राप्त गरी विजयी भए । बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिकले ३६८ र नारायणप्रसाद अधिकारीले ४५० मत प्राप्त गरी विजयी भएका छन् । गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी ३३० मत, केवी रानाले ३८१ मत प्राप्त गरे भने लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेलले ५६० मत र विकास बन्जाडेले ४७३ मत प्राप्त गरी विजयी भए । कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डेले २८८ र नगेन्द्रप्रसाद उपाध्यायले ३२१ मत प्राप्त गरी जित निकाले । सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायरले ३९७ र सुरेश पन्तले ३ सय मत प्राप्त गरी विजयी भए । उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्तले ४५९ र सूर्य सुवेदीले ६६८ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ । प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओलीले ४ सय र सविता शर्माले ४८७ मत प्राप्त गरी विजयी भए । संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरीले २०९ र मनुका कुँवरले ३०१ मत प्राप्त गरी जित निकालिन् । खुला सदस्यमा छविलाल तिवारीले ३ हजार ४७०, भूपेन्द्र आचार्यले ३ हजार ५८२, मुकुन्दप्रसाद भण्डारीले ३ हजार ७२१, रामेश्वर कार्कीले ३ हजार ६३० र लवदेव ढुङ्गानाले ३ हजार ८३० मत प्राप्त गरी निर्वाचित भए । मधेसी महिलातर्फ रुवीकुमारी रौनियारले ४ हजार १८५, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वाले ३ हजार ७३७ मत, खस आर्य महिलामा लिला शाह योगीले ३ हजार ८१० मत प्राप्त गर्दा दलित महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित भएकी छिन् । दलित सदस्यमा सिकेन्द्र पासवानले ३ हजार ३१६ मत प्राप्त गरी विजयी हुँदा दलित सदस्यमा सावित्री रसाइली (निर्विरोध) निर्वाचित भएका छन् । आदिवासी जनजाति सदस्यमा भरत जर्घा मगरले ४ हजार ५० मत प्राप्त गरी विजयी भए भने आदिवासी महिला सदस्यमा देविका घर्ती मगर निर्विरोध निर्वाचित भएका थिए । मधेसी सदस्यमा राजकरण महतोले ३ हजार ८९३, मधेसी सदस्य महिलामा ललिताकुमारी साहले ४ हजार ४०९ मत प्राप्त गरी निर्वाचित भए । अपाङ्गता भएका सदस्यमा भूपराज बस्यालले ३ हजार ५५७, अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामीले ४ हजार ३७३ मत प्राप्त गरी विजयी भए । लेखा समिति संयोजकमा केसी लामिछानेले ४ हजार १९४ मत प्राप्त गरी निर्वाचित हुँदा सोही समितिको सदस्य खुलामा केशवप्रसाद बोहराले ४ हजार १२५ र लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेलले ४ हजार ८९ मत प्राप्त गरी जित निकाले । महासङ्घको निर्वाचन यही मंसिर २८ गते भएको थियो ।
युके पाउण्डको भाउ १७१.५९ रुपैयाँमा झर्याे, यस्तो छ आजको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.३७ रुपैयाँ र बिक्रीदर १३५.९७ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.१७ रुपैयाँ र बिक्रीदर १४२.८० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.८३ रुपैयाँ र बिक्रीदर १७१.५९ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.६३ रुपैयाँ र बिक्रीदर १५२.३० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.१४ रुपैयाँ र बिक्रीदर ८६.५२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.१२ रुपैयाँ र बिक्रीदर ९५.५४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३५ रुपैयाँ र बिक्रीदर १००.८० रुपैयाँ, जापानी येन १० को खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०३ रुपैयाँ र बिक्रीदर ३६.१९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१३ रुपैयाँ र बिक्रीदर ३७.३० रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८६ रुपैयाँ र बिक्रीदर ३७.०२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.४२ रुपैयाँ र बिक्रीदर ३०.५६ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३३ रुपैयाँ र बिक्रीदर १२.३८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४१ रुपैयाँ र बिक्रीदर १७.४९ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४३९.७६ रुपैयाँ र बिक्रीदर ४४१.७० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.०७ रुपैयाँ र बिक्रीदर ३६०.६६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.६१ रुपैयाँ र बिक्रीदर ३५३.१७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
सडक सुविधाले रोकिएन कुइनेखानीको बसाइसराइ
गलेश्वर (म्याग्दी) । गुजुमुज्ज ढुङ्गे घर । तीन वर्षअघि जोडिएको सडकबाहेक कुइनेखानी गाउँमा अन्य विकासका पूर्वाधार पुगेको छैन । आधुनिक विकासका पूर्वाधार नपुगेकैले यस गाउँलाई जिल्लाकै कुमारी गाउँ पनि भनिन्छ । रघुगंगा गाउँपालिका–८ मा पर्ने यही कुइनेखानी गाउँ पछिल्लो समय उजाड र कुरुप देखिन थालेको छ । पाँच वर्ष अघिसम्म ९६ घर परिवारको बसोबास रहेको यस गाउँमा हाल ४३ घर परिवारको मात्रै बसोबास रहेको स्थानीय तबहादुर छन्त्यालले बताए । तीन वर्षअघि सडक सञ्जाल जोडिएर साना सवारीसाधन गुड्न थालेसँगै गाउँ रित्तिन थालेको हो । ‘मोटरबाटो त आयो तर, मोटर चढेर गाउँ आउने भन्दा गाउँ छाडेर बसाइँ सर्ने बढे,’ रघुगंगा गाउँपालिका–८ का वडासदस्य अगेन्द्र छन्त्यालले भने, ‘बसाइँसराइका कारण गाउँ युवाविहीन भएको छ ।’ कुइने टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालका अनुसार गाउँमा सडक आए पनि विकासका अरु पूर्वाधार नहुँदा सुविधाको खोजीमा गाउँ छाडेर बसाइँ जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । गाउँमा मोटरबाटो आएपछि सदरमुकाम बेनी जान दिनभर पैदल हिँड्नुपर्ने बाध्यता हटेपनि अरु समस्या उस्तै छ । “मोटर चढेर बेनी पुग्न एक हजार दुई सय भाडा लाग्छ । बाटो राम्रो छैन । खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्यलगायतका सुविधाबाट हामी वञ्चित छौँ,’ उनले भनृे । भौगोलिक विकटताले गर्दा एक गाउँबाट अर्को गाउँ जान दिनभर पैदल यात्रा गर्नुपर्छ । विकट गाउँबस्तीका कारण यस वडाको सम्पर्क कार्यालय सदरमुकाम बेनीबाटै सञ्चालन हुँदै आएको छ । गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सामान्य बिरामी हुँदा आधारभूत उपचार पाउने सुविधा गाउँमा छ । अधिकांशले छोराछोरीको शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहर झर्नुपरेको बताउने गरेका छन् । वैदेशिक रोजगारमा गएकाले आफ्ना बालबच्चा र परिवारलाई सहरमा राख्न थालेसँगै गाउँमा विद्यालय विद्यार्थीविहीन हुन थालेको छ । कक्षा ८ सम्म पठनपाठन हुने कुइने आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या नभएकै कारण अघिल्लो शैक्षिक सत्रदेखि तह घटाएर कक्षा पाँच सम्म मात्रै पठनपाठन गराउन थालिएको छ । केन्द्रीय विद्युतीकरण नपुगेको यस गाउँमा स्थानीयले लघु जलविद्युतबाट विद्युत् उपभोग गर्दै आएका थिए । त्यो पनि बाढी पहिरोले निरन्तर क्षति पु¥याएपछि हैरानी बेहोर्नुपरेको छ । कुइनेटो परेको खर्कमा तामाखानी भएकाले यस ठाउँको नाम कुइनेखानी रहन गएको बूढापाकाहरुको भनाइ छ । खानी खन्ने क्रममा कुइनेखानीमा छन्त्याल समुदायको बसोबास रहन गएको स्थानीय ७८ वर्षीय टेकबहादुर छन्त्यालले बताए । खानी खन्ने काम बन्द भएपछि यहाँ बसोबास घट्दै गएको उनको भनाइ छ । हाल यहाँका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । आर्थिक रुपले सम्पन्नहरु बेनी, पोखरा, बुटवल, दाङ, भैरहवा लगायतका ठाउँमा बसाइँ गएका छन् । यहाँका प्रत्येक स्थानीय तहका गाउँबस्तीमा हाल सडक सञ्जाल जोडिएको छ । स्थानीयले उत्पादन गरेका तरकारीलगायत फलफूल बजारमा बिक्री गर्नसमेत सहज भएको छ । तर पनि यहाँका अधिकांश विदेश पलायन भएका छन् । बस्तीमा मान्छे बस्न छाडेपछि गाउँका धेरै घरमा ताला लगाइएको छ ।